चाणक्यको प्रसिद्ध भनाइ छ, 'आफूले गल्ती गरेर सिक्ने लामो जीवन तिमीसँग छैन, त्यसैले अरूका गल्तीबाटै सिक ।'
०००
हाम्रो पेसा मात्र एउटै थिएन, बसाइ पनि सँगै थियो । अझ यसौ भनौं, मैले नै उसलाई प्रारम्भिक पत्रकारिता सिकाएको थिएँ । 'तिमी मेरो साथी मात्र होइनौ, गुरु पनि हौ, तिमीले नगरे कसले गर्छ ?' यसरी ऊ मबाट प्रेमपूर्वक वा जबरजस्ती आफ्नो काम निकाल्थ्यो । म उसका ती शब्दमा अधिकार र प्रेम दुवै पाउँथे ।
लाग्थ्यो, मैले एउटा गहिरो मित्र पाएँ ।
ऊ काठमाडौंको एउटा पत्रिकामा मनोरञ्जनसम्बन्धी रिपोर्टिङ गथ्र्यो । समाचार लेख्दालेख्दै ऊ एउटी नायिकाको प्रेममा पर्यो । बिस्तारै ती नायिका मेरो कोठा पनि आउन थालिन् । मित्रले मलाई अभिभावकका रूपमा चिनाएको थियो । उनीहरू मान्छेका आँखा छलेर सिनेमा हेर्न जान्थे, त्यसको वातावरण म मिलाइदिन्थें । कुनै रेस्टुराँमा डेटिङ जान्थे, खर्च म हालिदिन्थें । नायिकाको घरबाट फोन आएको अवस्थामा म कुनै बाहाना बनाइदिन्थें । यसरी म उनीहरूको प्रेमलाई सक्दो सहयोग गरिरहेको थिएँ ।
यसको अर्थ म सबै कुरामा सकारात्मक थिएँ भन्ने होइन । मित्रले सुन्दर नायिकालाई गर्लफ्रेन्ड बनाएकोमा सम्भवत: अलिकति ईष्र्या पनि गर्थें । नायिकालाई मित्रका केही कमजोरी पनि सुनाइदिन्थें । कहिलेकाहीँ उनीहरू नायिकाकै घरमा रात बिताउँथे । त्यति बेला दुवैलाई सचेत हुन आग्रह पनि गर्थें । कहिलेकाहीँ मित्रलाई 'तैंले सेतो हात्ती पाल्न खोज्दैछन्, आफ्नो हैसियत पनि हेर्' भनेर म कराइदिन्थें । यति हुँदाहुँदै पनि मैले उनीहरूको प्रेम बाहिरी व्यक्तिले थाहा नपाउन् भनेर ठूलो मेहनत गरिरहेको थिएँ । नायिकाको प्रेमको किस्सा बाहिर आएपछि उसको करियर बिग्रन सक्छ भन्ने मेरो चिन्ता थियो । व्यक्तिगत जीवनमा पत्रिकाले हस्तक्षेप गर्नु हुँदैन भन्दै आफ्नै पत्रिकामा समेत त्यो गोप्यता कायम राख्ने प्रयास गर्थे ।
नायिका चलचित्र नगरीमा माथि जान मेरो सहयोग चाहन्थिन् । हामी दुवै उनलाई माथि पुर्याउन सक्दो मेहनत गरिरहेका थियौं ।
हामी सारा निर्देशकहरूसँग उनको सिफारिस गरिरहन्थ्यौं । प्रेम साथीसँग थियो तर म उनको चिन्ता बढी नै गर्थें । यसबीच नायिकाका दुईवटा चलचित्र प्रदर्शन भए । उनको माग अचानक बढ्न थाल्यो । उनका वरिपरि नयाँ मानिस झुम्मिन थाले । हामी ती धनाढ्यहरूका अघि निरीह देखिन थाल्यौं ।
उनको लोकप्रियतासँगै उनीहरूबीच स-साना कुरामा ठाकठुक पर्न थाल्यो । नायिकाले साथीका धेरै कमजोरी देखाउन थालिन् । मेरो कोठामा रोएर जात्रा गर्न थालिन् । मैले मित्रलाई सम्झाउन थालें । नायिकाको पक्ष लिन थाले, किनभने मलाई साथीको स्पष्टीकरण भन्दा नायिकाको आँसुमाथि विश्वास थियो ।
साथीले मेरै कारण उसको प्रेम टुटेको वा मैले इष्र्यावश उसको प्रेममा भाँजो हालेको बुझ्यो ।
०००
आज सम्झन्छु, ती नायिकाले आफू चर्चित हुन म र मेरो मित्रलाई हतियार बनाएकी थिइन् । मित्रलाई प्रेमी र मलाई दाइको बन्धनमा बाँधेर दुई वर्ष आफ्नो स्वार्थ साँधिन् । मैले बेलैमा उसको सोच बुझ्न सकिनँ, जसका कारण साथीलाई अनावश्यक अर्ती बुद्धि दिनतिर लागें । मलाई गुरु मान्ने, जीवनको सबैभन्दा निकट मान्ने मेरो साथी आज चर्चित व्यक्ति भएको छ, तर ऊ मबाट धेरै टाढा छ ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !