CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » विगतमा भएका भयानक हत्याकाण्डका रहस्य खोल्न प्रहरी असमर्थ

विगतमा भएका भयानक हत्याकाण्डका रहस्य खोल्न प्रहरी असमर्थ



रानीबारी हत्याकाण्ड

मुस्किलले बाँचेकी थिइन्, ६ वषर्ीया आज्ञाश्री श्रेष्ठ १२ वर्षअघिको चर्चित रानीबारी हत्याकाण्डमा । आज्ञाश्रीका बा-आमा हेमन्त र अञ्जलीको ३१ असार ०५९ मा धारिलो हतियार प्रहार गरी एकाबिहानै बीभत्स हत्या भएको थियो । जीवनमरणको दोसाँधमा भेटिएकी आज्ञाश्रीका बारे कान्ति बाल अस्पतालका चिकित्सकले भनेका थिए, 'भगवान्ले बचाएका हुन्, यी बालिकालाई । राम्रोसँग शिक्षादीक्षा दिनूस् ।'
बा-आमा नभएको भन्ने अनुभूति नहोस् भनेर मामा ज्ञानेन्द्र प्रधानले भान्जीलाई आफ्ना छोराछोरीसँगै हुर्काए, पढाए । अहिले आज्ञाश्री प्लस टु पढिरहेकी छन् । ज्ञानेन्द्र भन्छन्, "मनमा कताकता डर लागिरहन्छ, कतै मामाहरूले मेरा बा-
आमाको हत्या हुँदासमेत न्यायका लागि केही गरेनन् भन्ने भान्जीलाई पर्ला कि ?"

यस्तै खिल र पीडा बोकेर बाँचेको करिब डेढ दशक बितिसक्यो, रानीबारी हत्याकाण्डका आफन्तको । तर, प्रहरीले हत्याको छेउटुप्पो केलाउन सकेको छैन । अपराधीसम्म पुग्ने कुनै 'क्लु' फेला पार्न सकेको छैन । त्यस हत्याकाण्डको चुरो खोज्न प्रहरीले अनुसन्धान समिति मात्रै १८ वटा बनायो । उपत्यकाका जघन्य अपराधका घटना अनुसन्धान गर्ने महानगरीय प्रहरी अपराध महाशाखा (केरकार)को नेतृत्व गर्ने प्राय: सबै प्रहरी अधिकृतले यो घटनाको फाइल पल्टाए । ज्ञानेन्द्र सम्झिन्छन्, "नयाँ जो आए सबैले अनुसन्धान गरेर देखाउँछौँ भने । तर, काम नभएसम्म हामीलाई प्रहरीका सबै कुरा गफ मात्रै लाग्छ ।"

घटनालगत्तै प्रहरीले श्रेष्ठ दम्पती भाडामा बसेको घरकी धनी गीता खड्कालाई पक्राउ गरेर तीन महिना थुनामा राखेको थियो । वैदेशिक रोजगार व्यवसायमा संलग्न खड्काले श्रेष्ठ दम्पतीको हत्या गराएको हुन सक्ने भन्दै प्रहरीले उनैलाई केन्दि्रत गरी अनुसन्धान गरेको थियो । तर, खड्काले घटनामा आफ्नो संलग्नता अस्वीकार गरिन् । उनका व्यावसायिक साझेदार रमेश न्यौपाने र मृतक हेमन्तकी पूर्वप्रेमिकालाई समेत प्रहरीले अनुसन्धानको दायरामा तान्यो । तर, केही फेला परेन ।

प्रहरीको अभिलेख अनुसार उक्त घटनाबारे १ सय ७० जनासँग बयान लिइएको छ । घटनालगत्तै तत्कालीन महाशाखा प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामचन्द्र खनालको संयोजकत्वमा गठित अनुसन्धान टोलीले घरधनी गीतालाई भेट्न नदिएको झोकमा श्रेष्ठ दम्पतीको हत्या गरेको हुन सक्ने आकलन गरे पनि निचोड दिन सकेन । त्यसपछि तत्कालीन इन्स्पेक्टर केपी शर्माको टोलीलाई समेत खटाएर महाशाखाले अनुसन्धान थाल्यो । उक्त टोलीले गीताको व्यावसायिक साझेदार पूर्ण गुरुङ दिल्लीमा रहेको खुलाएको थियो । गुरुङले नै हत्या गराएको हुन सक्ने औँल्याए पनि थप रहस्य खोल्न सकेन ।

प्रहरी संगठनले सम्भवत: सबैभन्दा बढी समिति बनाएर अनुसन्धान गरेको यही घटना हो । तैपनि, कुनै समितिले घटनाका पर्याप्त आधार र प्रमाण दिन सकेनन् । "अनुसन्धान समितिहरू घटनाको फेस सेभिङजस्तो मात्रै बने," प्रहरीका एक उच्च अधिकारी भन्छन् । रानीबारे हत्याबारे यति धेरै समिति बने कि अब प्रहरीले ती फाइल हेरेर अनुसन्धान गर्न खोज्दा कसरी अघि बढ्ने भनेरै ठूलो अन्योल हुने गरेको छ । पुरानो केस हेरिरहेका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी)का एक अनुसन्धान अधिकृत भन्छन्, "फाइल हेर्दा महाभारतजस्तो देखिन्छ ।"

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका तत्कालीन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गोविन्द थापाको सुपरिवेक्षणमा बनेको अनुसन्धान समितिले भने घटनामा संलग्न भन्दै दुई जनाको स्केचसमेत सार्वजनिक गरेको थियो । त्यसबाहेक कुनै उपलब्धि हात लागेको छैन । उक्त स्केच घटनाकी एक मात्र प्रत्यक्षदर्शी आज्ञाश्रीले समेत मिल्दोजुल्दो भनेको प्रधान बताउँछन् । भन्छन्, "धेरै कुरा त उनलाई समेत सम्झना छैन । तर, स्केच देखाउँदा यस्तै मान्छे थियो चाहिँ भन्छिन् ।" प्रहरीले हत्याको कारण फेला पार्न नसकेका यस्ता घटना देशभर करिब दर्जनको हाराहारीमा छन् ।



दसैँको उल्का : पाँचको हत्या

१० वर्षअघि दसैँको महाअष्टमीको रात ललितपुरको दक्षिणी भेग बडीखेलमा एकै परिवारका पाँच जनाको सामूहिक हत्या भएको घटनामा पनि प्रहरी अनुसन्धान अलमलमै छ । सिंगो देश दसैँको उल्लासमा डुबिरहेका बेला बडीखेलका भानु नगरकोटीको परिवारको पाँच जनाको इहलीला समाप्त पारिएको थियो । बा, आमा, दुई बहिनी र एउटा भाइ गुमाएकी सुनीता नगरकोटी अहिले पनि घटना कोट्याउनासाथ डाँको छाडेर रुन्छिन् ।

२२ माघमा नेपाल प्रतिनिधि घटना भएको स्थानमा पुग्दा सरिता दुई हातले अनुहार छोपेर निकै बेर रोइन् । उनका एक छोरा र एक छोरी बेलाबेला आमालाई हेर्दै अँध्यारो मुख लगाउँथे । सायद आमाको आँखा एक दशकदेखि रसाएको रसायै छ । "कसैले कुरा निकाल्नै हुँदैन, बिचरा रोइहाल्छिन्," छिमेकी राधिका केसीले भनिन्, "त्यो बखतको उल्का सम्झिँदा हामीलाई त कहाली लागरे आउँछ भने छोरीलाई कस्तो हुन्छ होला ?"

उक्त घटनामा भानुसहित उनकी पत्नी धनकुमारी, आठ वर्षकी छोरी सरस्वती (लुरी), १० वर्षकी अर्की छोरी भगवती (टुकुली) र १३ वषर्ीय छोरो रवीन्द्रको हत्या भएको थियो । सुनीतासहित अर्की दिदी सरिताको विवाह भएर अन्तै बस्ने हुँदा बाँचेका थिए । सुनीताले बडीखेलमै माइतीनजिकै विवाह गरेकी थिइन् भने सरिताले हरिसिद्धिमा । "सधैँ बुबा पाउरोटी लिएर बिहानै आउनुहुन्थ्यो, त्यो दिन अबेलासम्म नआएपछि हेर्न जाँदा हत्या भएको देखेर चिच्याएँ," सरिताले भनिन्, "किन कसले त्यसो गर्‍यो थाहा छैन ।"

आर्थिक हैसियत कमजोर थियो, नगरकोटी परिवारको । भानु नेपाल राष्ट्र बैंकमा पियन थिए भने श्रीमती धनकुमारी नजिकैको जंगलबाट निगाला ल्याएर र्‍याक बनाउँथिन् । धनकुमारीले कुखुरा र्फमसमेत खोलेकी थिइन् । सुनीता र सरितालाई गरिबीकै कारण नपढाए पनि नगरकोटी परिवारले तीन सन्तानलाई विद्यालय पठाएको थियो । छोरा रवीन्द्र बाँडेगाउँको लालीगुराँस बोर्डिङ स्कुलमा पढ्थे । "निकै राम्रो पढिरहेको थियो," रवीन्द्रलाई ट्युसन पढाउने बडीखेलकै गोपाल ओझा भन्छन् । परिवारले बिस्तारै आर्थिक जरो बलियो बनाउन सुरु गरिरहेकै बेला परिवारै सखाप पार्ने गरी हत्या भयो । "हामीले अब कहिल्यै सुखका दिन भोग्न नपाउने भयौँ," सुनीताले भनिन्, "बा-आमा नभएपछि सबैले हेप्दा रहेछन् । सानोमा खुब दु:ख पायौँ । अहिले झन् ठूलो दु:खमा पौडिरहेका छौँ ।"

घटनापछि प्रहरीले गाउँका प्राय: सबैलाई सोधपुछ गरेको थियो । शंकास्पद ८८ जनालाई थुनेर बयान पनि लियो । तर, केही उपलब्धि हासिल भएन । यो घटनामा समेत प्रहरीले अनुसन्धान टोली बनायो, ललितपुरमै कार्यरत तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज श्रेष्ठको नेतृत्वमा । श्रेष्ठको टोलीले सय पृष्ठको रिपोर्ट बुझाउनेबाहेक केही खुट्याउन सकेन ।

प्रहरीले व्यक्तिगत रिसइबी, सम्पत्तिजस्ता कुरालाई आधार मानेर अनुसन्धान गरेको थियो । तर, अहिलेसम्म घटनाको कारण र कर्ता खुलेको छैन । "हाम्रो परिवारै सकिने गरी कसले किन मार्‍यो थाहा नपाउँदा झनै पीडा हुँदो रहेछ," सरिता भन्छिन् । भानुको कुनै पनि गाउँलेसँग नराम्रो सम्बन्ध रहेको आफूलाई सम्झना नभएको छिमेकी राधिका बताउँछिन् । भन्छिन्, "सहयोगी र मिजासिला थिए । उनकी जहान पनि साह्रै मिहिनेती थिइन् ।" कसले हत्या गर्‍यो भन्ने थाहा नपाउँदा गाउँमा बस्नसमेत डर भइरहने उनको भनाइ छ । गाउँले कोही नौलो मानिस देख्नासाथ त्रस्त मुद्रामा सोधीखोजी गर्छन् । कतिपय त बोल्नै चाहँदैनन्, सोही घटना सम्झिएर ।



हाई प्रोफाइल हत्या

उपत्यकाकै अर्को हाई प्रोफाइल हत्या पनि रहस्यकै गर्भमा छ । काठमाडौँ, छाउनीका ५५ वर्षीय दिवाकर चन्दको दुई वर्षअघि हत्या भएको थियो । राजा त्रिभुवनका पनातिनी ज्वाइँ चन्दको लास हत्याको एक सातापछि मात्रै भेटिएको थियो । छाउनीमा घर भए पनि चन्द श्रीमतीसँग छोडपत्र गरेर धोबीघाटमा विष्णुजंग राणाको घरमा फ्ल्याट लिएर बसेका थिए । प्रहरी यो घटनाको अनुसन्धानका लागि परिवार वा निकटतम व्यक्तिसम्म पुग्न असफल छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकमा चन्द परिवारले धितो राखेको काठमाडौँ उत्तरढोकाको जग्गा विवाद, नुवाकोटको करिब तीन सय रोपनी जग्गा द्वन्द्वकालमा नेकपा माओवादीले कब्जा गरेर पछि व्यक्तिगत बनाएको जस्ता केही विवादास्पद विषयबारे प्रहरीले पत्तो पाए पनि हत्याको रहस्य उधिन्न सकेन । "यस्ता केही विवादका विषय भेटिए पनि अनुसन्धान अघि बढाउन कठिन छ । किनभने, यस विषयमा परिवारका मानिस बोल्न चाहँदैनन्," महाशाखाका एक प्रहरी भन्छन्, "छाडिदिऊँ अब यस्तो कुरा के गरिराख्नु भन्छन् । सूचना लिनै गाह्रो छ । बेवास्ता गर्छन् ।"



हेमकार हत्याकाण्ड

उपत्यका मात्रै होइन, मोफसलका हत्याकाण्डका कतिपय गुदी प्रहरीले निकाल्न सकेको छैन । २३ फागुन ०६२ मा नेपालगन्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारीबाहेक सबैको हत्या भयो । गुलामदेवी हेमकार, ८२, जगदेव हेमकार, ६२, सीतादेवी हेमकार, ४५, दीपक हेमकार, ३२, लाई सुतिरहेका बेला धारिलो हतियारले हत्या गरिएको थियो । घटनामा पसलमै काम गर्ने १५ वर्षीया रामसनिच्चर चौधरीसमेत मारिए । मृतक सबैको रुद्रघन्टी काटिएकाले प्रहरीले पेसेवर हत्याराको प्रयोग भएको हुन सक्ने बताए पनि अपराधीसम्म पुग्न सकेको छैन ।

घटनापछि प्रहरीले प्रधान कार्यालयबाटै डीएसपीको कमान्डमा अनुसन्धान टोली पठाएको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको अर्को टोलीसमेत खटाएको थियो । दुवै टोली घटनाबारे निष्कर्षहीन भए । करिब पाँच सय पृष्ठको अनुसन्धान प्रतिवेदन र मिसिल भने टोलीले तयार पारेको छ । "गणतन्त्र घोषणा हुन लागेको र राजतन्त्र फालिन लागेको समयको राजनीतिक तरलताले गर्दा घटनाबारे म आफैँले अनुसन्धान गर्न पाइनँ," तत्कालीन जिल्ला प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिव लामिछाने भन्छन्, "यो घटनालाई निष्कर्षमा पुर्‍याउन नसकेकामा ग्लानि महसुस हुन्छ । मेरो करिअरको दु:खद क्षण यही हो ।"



प्रहरी किन असफल ?

सुरुमै घटनाको अनुसन्धान गलत भएमा त्यसले घटनाको अनुसन्धानमा ठूलो असर गर्छ । सबुत-प्रमाण जुटाउने क्रममै त्रुटि देखिँदा घटना क्रमश: जटिल बन्दै जान्छ । "क्राइम सिन अनुसन्धानमा सबैभन्दा महत्त्वपूर्ण पाटो हो," पूर्वएआईजी नवराज ढकाल भन्छन्, "सुरुमा सबुत-प्रमाण कसरी जुटाइन्छ, त्यसको असर पछिसम्मै पर्छ ।"

गम्भीर र संगठित अपराधको अनुसन्धान गर्न विकसित देशका प्रहरीमा अनुसन्धानमा काबिल अधिकृतहरू रहने छुट्टै युनिट हुन्छ । नेपालमा उपत्यकाका लागि अपराध महाशाखा र देशभरका लागि सीआईबीको स्थापना भएको छ । तर, महाशाखाले परिसरलाई समेत दैनिक 'पुलिसिङ'का लागि सघाउनुपर्ने अवस्था छ । "घटनामा केन्दि्रत रहेर निरन्तर लागिरहने हो भने पुराना केस सल्टाउन सकिने रहेछ," गोँगबुमा हेम लामाको नौ वर्ष पुरानो हत्याका आरोपी पक्राउ गर्न सफल महाशाखाका एसएसपी पुष्कर कार्की भन्छन् ।

नेतृत्व फेरबदल हुनासाथ कामको प्राथमिकतासमेत तलमाथि पर्ने हुँदा असफल पुराना घटनाको चाङ बढ्दै जान्छ । फेरि प्रहरी अधिकारीहरू पुराना फाइल हेर्नभन्दा आफ्नो पालामा ठूला घटना नहोस् वा भएमा आफ्नै पालामा समाधान गरौँ भन्नेमा केन्दि्रत हुन्छन् । यस्तोमा पुराना केस प्राथमिकतामा पर्दैनन् ।

पूर्वएआईजी ढकालका अनुसार अनुसन्धान सफल पार्ने अधिकृतलाई बढुवाको नम्बर थपिदिने परिपाटी विकास नहुन्जेल पुराना फाइल पल्टाएर हेर्ने जाँगर कसैले चलाउँदैनन् । भन्छन्, "रिजल्ट निकाल्ने र ननिकाल्ने प्रहरी अधिकारीलाई मूल्यांकन गर्दा सच्याउनुपर्छ ।"

त्यसबाहेक अनुसन्धान पद्धतिमा प्रविधिको प्रयोग, स्रोतसाधनको कमीले समेत अनुसन्धान प्रभावित पार्छ । यिनै कारण प्रहरीको घाँटीमा जघन्य अपराधमा असफल अनुसन्धानका थुप्रै काँडा झुन्डिएका छन् । तर, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्यारा समातिएपछि पीडितहरूमा अपराधी फेला पर्न सक्ने झीनै भए पनि आशा भने पलाएको छ । "धेरै पुराना घटनाका मानिससमेत समातिरहेको रहेछ । हाम्रो परिवारै सिध्याउने को हो, चिन्न मात्रै पाए पनि ठूलो राहत हुने थियो," बडीखेलमा परिवारका पाँच जना सदस्य गुमाएकी सुनीता भन्छिन्, "नभए रोएरै जीवन जाने भयो ।"



२ सय ४० को बयान तर...

सम्भवत: समाधान हुन नसकेको सबैभन्दा पुरानो केस हो, ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्सका फादर ग्याफ्नेको हत्या । उनको हत्या भएको १७ वर्ष भइसकेको छ । २ सय ४० जनासँग बयान लिँदासमेत यसको चुरो खोतल्न प्रहरी असफल छ । झम्सीखेलस्थित निवासमै उनको हत्या भएको थियो ।



जसलाई बिस्र्यो प्रहरीले

सञ्चारमाध्यममा छाइरहने र 'हाई प्रोफाइल' पुराना केसका फाइल प्रहरीले बेलाबखत पल्टाउने गरे पनि 'लो प्रोफाइल'का फाइल हम्मेसि छुँदैन । जसको उदाहरण हो, ०५७ सालमा ललितपुरको लुभुमा भएको हत्या । लुभुमा भएको चक्रबहादुर थापाको हत्या प्रहरीले नै बिर्सिसकेको छ । यसबारे महानगरीय प्रहरी परिसर ललितपुरले अनभिज्ञता दर्सायो । परिसरका प्रवक्ता डीएसपी पवन गिरी भन्छन्, "दैनिक पुलिसिङ गर्दैमा ठिक्क हुन्छ । पुराना केस कहाँ हेर्नु ?" यो हत्याको फाइल महाशाखा र ब्युरो दुवैमा पुगेको छैन ।

काठमाडौँ, सीतापाइलामा कान्तिपुर काष्ठ उद्योग सञ्चालन गर्ने नातिकाजी सुवेदी र उनकी श्रीमती सानुको हत्या भएको एक दशक नाघ्न लाग्दा पनि प्रहरीले हत्यारा पहिल्याउन सकेको छैन । सुवेदी दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । १८ वषर्ीया छोरा दिलीप भने घाइते अवस्थामा भेटिएका थिए । १९ पुस ०६३ को मध्यराती हत्या भएको थियो ।

त्यस्तै ०६२ सालमा कोटेश्वरमा मारिएका अमर बुढाथोकीको अनुसन्धान फाइल पनि थन्क्याइएको छ । यस्ता घटना थुप्रै छन् । जस्तो : फागुन ०६४ मा अफगानिस्तानबाट फर्किएका प्रेम गुरुङको हत्या भयो । ०६३ सालमा पूर्वगृहमन्त्री खुमबहादुर खड्काका पीएसओ कुवेर कार्कीका हत्यारा पक्रनसमेत प्रहरी असफल छ । कार्कीलाई सुतिरहेकै अवस्थामा घिसारेर बाहिर लगेर हत्या गरिएको थियो । ०६४ सालमा सुन व्यवसायी भरतराज शाक्यलाई जैसीदेवलमा गोली हानी मारियो । तर, प्रहरीले घटनाका हत्याराको पहिचान गर्न त सकेन नै, अनुसन्धानसमेत हुन छाडिसकेको छ । ०६१ सालमा महांकालमा अर्जुन अधिकारीको रहस्यमय हत्या भयो, जसको छेउटुप्पो प्रहरीले भेट्टाउन सकेको छैन ।



रहस्यमय हत्या 

०५४।८।२८      

झम्सीखेल      

फादर ग्याफ्ने

०५७।७।८      

लुभु          

चक्रबहादुर थापा

०५९।३।३१      

रानीबारी      

हेमन्त श्रेष्ठ र अञ्जना

०६०।४।०१      

कीर्तिपुर      

अमर लामा

०६१।२।०१      

महांकाल      

अर्जुन अधिकारी

०६१।६।१६      

बडीखेल      

नगरकोटी परिवारका पाँच जना

०६२।५।३१      

कोटेश्वर      

अमर बुढाथोकी

०६२।११।२३      

नेपालगन्ज      

हेमकार परिवारका चार र

एक कामदार

०६३।८।२०      

गोठाटार  

खुमबहादुर खड्काका

पीएसओ कुवेर कार्की

०६४।९।१३      

जैसीदेवल  

भरतराज शाक्य

०६४।११।५      

बालाजु      

प्रेम गुरुङ

०६९।६।१७

धोबीघाट

दिवाकर चन्द

साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis