CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जे छ सरकारीमै छ!

जे छ सरकारीमै छ!

जे छ सरकारीमै छ!केही सय पदका लागि लाखसम्म आवेदन पर्छन्। लोक सेवा आयोगको परीक्षा दिनेहरूको लर्को अनन्त लामो हुन्छ। सरकारी जागिरमा आखिर के छ त्यस्तो? सुनिश्चित भविष्य, सामाजिक प्रतिष्ठा, प्रगतिको अवसर, आकर्षक सेवासुविधा...सरकारी जागिरमा धेरै थोक देखेका छन् युवाहरूले। जानेबुझेकाहरू भन्छन्- उद्यमशील संस्कृतिको विकास नभएसम्म सरकारी जागिरका आकांक्षीहरूको भीड बढिरहनेछ।
सरकारी जागिरप्रति युवाहरूको यो भव्य आकर्षण बुझ्न अम्मर जिसी र जीवन पुडासैनी लोक सेवा आवेदकका लाइनहरूमा घुसेका थिए।
समाजशास्त्रमा एमए गरेका नरेश पुडासैनी निजी विद्यालयमा आकर्षक तलबसहितको जागिर छाडेर सरकारी जागिर खाने दौडधुपमा छन्। मासिक ५० हजार कमाइ हुने जागिर माया मारेर लोकसेवामा आवेदन दिन उनी काठमाडौँ छिरेका छन्। किन सरकारी जागिरको मोह? भन्छन्, 'त्यो पढाउने जागिरमा प्रगतिका लागि कुनै भर्या ङ र खुुड्किला छैनन्। सरकारी जागिरमा सामाजिक प्रतिष्ठा र सम्मान छ।'

स्नातकोत्तर दम्पती दीपक नहर्की र पूजा पाठक नायब सुब्बामा भिड्न कस्सिएका छन्। लोक सेवा आयोगको प्रतिस्पर्धामा उत्रने निधो गरेर यो जोडी धादिङबाट राजधानी पस्यो। 'कडा मेहनत गरेर बुढाबुढी सेयर गर्दै पढिरहेका छौँ,' दीपकले भने।

सेभ द चिल्ड्रेनको सहयोगमा नुवाकोटमा सञ्चालित एक परियोजनामा काम गर्थे, कृष्णराज खतिवडा। तलब थियो ४० हजार रुपैयाँ। तर, उनी त्यो जागिरमा टाँसिएर बस्न सकेनन्। एकपटक नासु र शाखा अधिकृत पदको लिखित परीक्षामा नाम निकालेर अन्तर्वार्तामा मिल्काइएका खतिवडा मानसिक दबाबमा छन्। 'अब जे परे पर्ला। सरकारी जागिरे भएरै छाड्ने हो,' उनले भने। त्यत्रो कमाइ हुने जागिर छाडेर सरकारी नै किन? भन्छन्, 'पैसा ठूलो कुरा होइन। समाजको दृष्टिकोण नै सरकारी जागिरलाई ठूलो ठान्ने भएपछि के गर्नु?'

महिनामा ३० हजार तलब पाक्ने एनजीओको कार्यक्रम संयोजक जागिर हापेर नासुमा नाम निकालेका पोखरेली युवा हुन्, प्रवेश शाह। सरकारी जागिरे बन्न दुई वर्ष घुँडा धसेर पढेका उनी अचेल मासिक २० हजार गनेर सन्तुष्ट छन्। छोरो सरकारी जागिरे भएकोमा गद्गद् छ परिवार।

किन बढ्दैछ भीड?
खरिदार, नासु र अधिकृतको पाठ्यक्रम विद्यार्थीमैत्री भएकाले आवेदकको संख्या बढ्दै गएको लोकसेवा आयोगका पूर्वसदस्य प्राध्यापक कृष्ण पोखरेलको बुझाइ छ। उनका अनुसार पुरानो पाठ्यक्रममा ऐन, कानुन, नीति, नियमको दफा र उपदफा कण्ठ पार्नुपर्ने बाध्यता थियो। अहिले आफूले पढेको विषयअनुसारको परीक्षा दिन पाइन्छ। 'सरकार भरपर्दो, विश्वसनीय र ठूलो रोजगारदाता भएकाले सबैको आकर्षण लोक सेवा परीक्षामा मोडिनु स्वाभाविक हो,' पोखरेल भन्छन्, 'देशमा आर्थिक गतिविधि तीव्र नभएकाले योग्यता पुगेका उम्मेदवारले लोकसेवालाई अन्तिम गन्तव्यका रूपमा लिएका हुन सक्छन्।'

शहरी युवाहरूको प्राथमिकतामा भने लोक सेवा नपरेको देखिन्छ। 'पहाडे ग्रामीण पढैया वर्गको आकर्षण बन्दै गएको सरकारी जागिरलाई प्रतिष्ठा र सुनिश्चित जीवनको रूपमा लिइँदै आएको छ,' पोखरेल भन्छन्, 'सरकारले निजी क्षेत्रमा सुरक्षित लगानीको वातावरण निर्माण गर्नसके सरकारी जागिरमा प्रवेश गर्न मरिहत्ते गर्नेको भीड कम हुन्छ।'

कार्यभार कम पर्ने, कसैले जागिरबाट निकाल्न नसक्ने, नियमित सेवासुविधा पाइने र सामाजिक प्रतिष्ठाको विषयसँग गाँसिएकाले सरकारी जागिरमा आकर्षण बढेको लोकसेवा आयोगका पूर्वसदस्य तथा जनप्रशासन प्राध्यापक डा. भीमदेव भट्टको बुझाइ छ। ''पावर एक्सरसाइज' गर्न पाउने, नीति निर्माणको तहमा पुग्न सकिने भएकाले सरकारी जागिर आकर्षक भएको हो,' उनी भन्छन्, 'उद्यमशील संस्कृतिको विकास नभएसम्म सरकारी जागिरमा दरखास्त हाल्नेको यो भीड बढिरहन्छ। क्षमतावान जनशक्ति विदेश पलायन हुने र बाँकी रहेका कर्पोरेट, गैरसरकारी संस्थामा छिर्ने र त्यहाँ पनि नसक्नेले लोकसेवालाई अन्तिम विकल्प बनाउने गरेका छन्।'

सुरक्षित जागिर
विशिष्ट ज्ञान, सीप र दक्षता भएका, सरकार र जनता जोड्ने स्थायी प्रकृतिको गैरसैनिक संरचना, नागरिक सेवामा तल्लीन, सरकारको कोषबाट तलबभत्ता खाने पेशागत समूह निजामती कर्मचारीहरू हुन् भनी निजामती कर्मचारी ऐनले परिभाषित गरेको छ। सरकारी जागिरमा आवेदन दिन आएका र कार्यरत कर्मचारी कसैले पनि जनताको सेवामा आफ्नो क्षमता र दक्षता उपयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र जनमैत्री बनाउँछु भन्ने प्रतिक्रिया दिएको सुन्न पाइँदैन। सबैको एकमात्र उद्देश्य 'सुरक्षित जागिर' मात्र रहेको सुन्न पाइन्छ। कतिसम्म भने, सार्वजनिक बिदाको दिन कार्यालय जानु नपर्ने र अन्य बिदा पनि प्रशस्त पाइने भएकाले सरकारी जागिर खान चाहेको उम्मेदवारहरू बताउँछन्। अनुगमन तथा मूल्यांकन प्रणाली कमजोर भएकाले सेवा प्रवेश गरेपछि अरू माथिल्ला पदमा भिड्न सजिलै कार्यालय छोडेर हिँड्न पाइने मानसिकता पनि रहेको पाइन्छ।

बर्सेनि लोक सेवा परीक्षामा सामेल हुने आकांक्षी बढ्दै गएका छन्। यस वर्ष ४ सय ६५ जना खुला तथा समावेशी शाखा अधिकृतको विज्ञापनमा २५ हजारको दरखास्त परेको आयोगका सहायक प्रवक्ता गीता होमेगाईंले बताइन्। ४ सय ८२ नासु पदमा एक लाखभन्दा बढीको दरखास्त पर्ने आयोगको अनुमान छ।

'अभागी' प्रतिस्पर्धी
'सरकारी जागिर खान भाग्य पनि बलियो हुनुपर्दो रहेछ,' प्युठानका श्यामु जैसी भाग्यलाई दोष दिँदै लोक सेवाको केन्द्रीय कार्यालयमा नासुको फाराम भर्ने अन्तिम दिनको लाइनमा भेटिए। नासुमा मात्र यो छैटौँ पटकको प्रयास हो उनको। दुईपटक अन्तर्वार्तामा असफल भएको बताए उनले। 'दुई पटक खरिदार र एकपटक अधिकृतमा पनि ट्राई गरेकै हुँ,' स्नातक गरेपछि पढाइ नै रोकेर लोक सेवातिर हानिएको बताए उनले। जनजातिको वैकल्पिकमा लिस्टेड उनका साथीले जागिर पकाइसक्दा उनी झन् भाग्यप्रति रुष्ट भए। यसपटकको प्रयास अन्तिम हुन सक्ने संकेत गरे उनले। 'अब नभए त मास्टर्स गर्नुपर्ला,' उनी चुकचुकाउँदै थिए, 'आफूसँग पढेका साथीहरू मास्टर्स सकेर प्राइभेट जागिर गर्दै एमफिलतिर लागिसके। भाग्यमै नभएपछि के लाग्छ र!' ३० वर्षे श्यामु निराश भने छैनन्। 'बिग्रेको के छ र! मास्टर्स सकेर गाउँतिर पढाउन जानुपर्ला,' उनले भने।

भक्तपुर, ठिमीका शशिराम वनको पनि यो पाँचौ पटकको लोक सेवा लाइन हो। 'सरकारी जागिर खाएर जीवन सुधारौँ भनेको सकिएन,' उनले भने, 'स्थायी भनेको स्थायी नै हो। प्राइभेट फर्ममा आज छ, भोलि छैन। त्यसैले दुःख गरेरै भए पनि यसैमा नाम निकाल्ने हो।' उनलाई पनि भाग्यमा विश्वास लाग्छ।

रुकुमका योगेन्द्र खड्काले लोक सेवाको विकल्प भेटेका छैनन्। 'हामी जस्ता बेरोजगारले वर्षौंवर्षसम्म लोक सेवाकै आशमा बस्नुपर्छ,' उनले भने।

'दहेज' अपेक्षा
दाइजोको 'बार्गेनिङ' हुने तराईमा सरकारी जागिरे धेरै 'महँगा' ठानिन्छन्। आवेदन भर्न लाइन बसेका तराई मूलका केही युवाले यही कटु सत्य बोले। सरकारी जागिर नै किन? सप्तरीका रामपुकार सहनीले भने, 'दहेज। सरकारी जागिरेलाई टन्न दिन्छन्।' उनका साथी थप्दै थिए, 'जागिरेको भाउ नै महँगो हुन्छ हाम्रोतिर।' उनीहरूका अनुसार तराईमा छोरालाई सरकारी जागिर खुवाए धेरै दाइजो पाइन्छ भन्ने ठानिन्छ भने छोरीलाई जागिरे बनाए कमै दिए पनि पुग्छ भन्ने मानसिकता छ।

दाइजो लिनु र दिनु गैरकानुनी हो भन्ने उनीहरूलाई थाहा नभएको होइन। 'यो त भन्ने कुरा न हो,' एक आवेदकले भने, 'दहेजकै लागि सरकारी जागिर खान आउने धेरै छन्।'

भ्रष्ट कर्मचारी
'घुस लिँदालिँदै रंगेहात पक्राउ', 'घुस माग्ने अधिकारीलाई सेवाग्राहीले दले कालोमोसो', 'अख्तियारद्वारा छापा' जस्ता समाचार सञ्चारमाध्यममा आइरहन्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, निर्माण र खरिद, गैरकानुनी लाभ, राजस्व हिनामिना, जाली राहदनीलगायत १ सय ६८ वटा मुद्दामा ६ सय ५२ जना निजामती कर्मचारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय मुद्दामा तीन सयभन्दा बढी कर्मचारी पक्राउ परिसके। जसमध्ये घुसअन्तर्गत रंगेहात पक्राउका ३३ मुद्दामा ४६ जना कर्मचारी पक्राउ परेको आयोग प्रवक्ता बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए।

ट्रान्सपरेन्सी इन्टरनेसनलले केही समयअघि गरेको अध्ययनले नेपालमा १९ प्रतिशत भ्रष्टाचार निजामती कर्मचारीबाट हुने गरेको उल्लेख थियो।

कुण्ठित कर्मचारी

नेपाल निजामती कर्मचारी संगठनले गरेको एक अध्ययनअनुसार ८० हजारमध्ये ३२ हजार कर्मचारी निराशा र कुण्ठामा बाँचिरहेका छन्। तल्लो तहका यस्ता अधिकांश कर्मचारी सोझा, इमानदार र चाकडी गर्न नसक्ने स्वभावका छन्। उनीहरू सरकारी जागिरबाट जीवन सहज हुने ठान्दैनन्। कार्यालयमा भ्रष्ट सहकर्मीको बोलवाला हुने र टाठाबाठाहरू वैकल्पिक व्यवसायमा समेत संलग्न रहेकाले उनीहरू निराश र कुण्ठित रहेको अध्ययनले देखाएको छ। अध्ययनअनुसार आठ हजार (१० प्रतिशत) कर्मचारी भ्रष्टाचारमा अत्यधिक लिप्त छन्। उनीहरूसित अकुत सम्पत्ति छ। र, विलासी जीवन बाँचिरहेका छन्। यस्ता कर्मचारीहरू सरुवा–बढुवादेखि ठेक्कापट्टासम्ममा संलग्न हुने गर्छन्। यस्तै, १२ हजार (१५ प्रतिशत) कर्मचारी प्रत्यक्ष वा परोक्ष रूपमा भ्रष्टाचारजन्य कार्यमा संलग्न छन्। अध्ययनअनुसार २८ हजार (३५ प्रतिशत) कर्मचारीले वैकल्पिक पेशा गरिरहेका छन्। व्यापार–व्यवसाय, सेयर खरिद, प्राध्यापनलगायत काममा पनि यस्ता कर्मचारी संलग्न छन्।

काखापाखा कति?

सह–सचिव भरत सुवेदीलाई आफूले भनेको कार्यालयको हाकिम बनाउन बहालवाला अर्थमन्त्री रामशरण महत र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबीच रस्साकस्सी नै चलेको थियो। अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्री भरतमोहन अधिकारीको पेलान सहन नसकेर राजिनामा दिएर हिँडेको घटनाबाट पनि प्रष्ट हुन्छ कि राजनीतिक दबाब र चलखेल कति हुन्छ।

राजनीतिक दलको आडमा रहेका कर्मचारीहरूलाई आकर्षक र कमाउ मानिने कार्यालयमा सरुवा गर्न शक्तिकेन्द्र धाउने गरेको उच्चपदस्थ कर्मचारीले नै सार्वजनिक गर्दै आएका छन्।

'राजनीतिक संरक्षण' पाएकाहरूलाई कमाउने भाँडो बनेको निजामती सेवालाई मजदुर युनियनको नाममा राजनीति गर्ने अखडा बनाएको सत्य पनि छिपेको छैन।

निजामती कर्मचारीको तलब, भत्ता र अन्य सेवासुविधा

पद              मासिक तलब रुपैयाँमा       सञ्चय कोष रुपैयाँमा

मुख्य सचिव       ४३,६७०                           ८,७३४

सचिव              ४१,१३०                           ८,२२६

सह–सचिव        ३२,१२०                           ६,४२४

उप–सचिव        २७,३७०                           ५,४७४

शाखा अधिकृत   २४,४००                           ४,८८०

नायब सुब्बा      १८,८००                           ३,७६०

खरिदार १७,७३० ३,५४६

सञ्चय कोषमा तलब स्केलको १० प्रतिशत र सरकारले १० प्रतिशत थप जम्मा गरिदिने प्रावधान छ। बीमावापत दुई सय रुपैयाँ कर्मचारीको तलबबाट र दुई सय रुपैयाँ सरकारले जम्मा गरिदिन्छ। पदअनुसार ग्रेड पनि पाउने व्यवस्था छ।

बिदा
१. भैपरी आउने र पर्व बिदाः ६–६ दिन

२. घर बिदाः काम गरेको १२ दिनको एक दिनका दरले

३. बिरामी बिदाः प्रत्येक वर्ष १२ दिन

४. प्रसूति बिदाः ६० दिन

५. प्रसुति स्याहार बिदाः १५ दिन

६. किरिया बिदाः १५ दिन

७. अध्ययन बिदाः ३ वर्ष

८. असाधारण बिदाः सेवा अवधिमा ३ वर्ष

९. बेतलबी बिदाः एकै पटक वा पटक–पटक गरी ५ वर्ष।

कुन समूहमा आकर्षण बढी?
निजामती सेवामा १० वटा विभिन्न समूह छन्। एकीकृत परीक्षा प्रणाली लागू भएपछि आफ्नो योग्यताको मूल विषयअनुसार पदस्थापन हुने गरेको पाइएको छ। त्यसमध्ये परराष्ट्र समूह र प्रशासन समूहको राजस्व सबैको पहिलो रोजाइ बन्दै आएको छ। परराष्ट्र समूहमा दुई वर्ष नेपालमा काम गरेपछि विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगमा आकर्षक तलब, भत्ता पाइने अवसर रहन्छ। यस्तै, राजस्वका कर्मचारीले सयदेखि दुई सय प्रतिशतसम्म प्रोत्साहन भत्ता पाइने व्यवस्था छ। प्रशासन समूहको सामान्य प्रशासन पनि धेरैले रोज्छन्।

फस्टाउँदो 'कोचिङ'
लोक सेवा परीक्षामा बढेको प्रतिस्पर्धासँगै शहरमा तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटहरूको व्यवसाय पनि फस्टाएको छ। प्रतिस्पर्धीको संख्या बर्सेनि बढ्न थालेपछि शहरका चोक र गल्लीमा 'लोक सेवा तयारी'का साइनबोर्ड पनि थपिँदै छन्।

विगत १५ वर्षदेखि तयारी कक्षाकै लागि सञ्चालित काठमाडौँ, पुतलीसडकस्थित 'एपेक्स'मा लोक सेवा तयारी गर्नेहरूको लाम लाग्छ। सञ्चालक हरि पौडेलका अनुसार सबैभन्दा धेरै नासुमा पाँच सय जति विद्यार्थीले वार्षिक तयारी गर्छन्।

पहिला अधिकृत तयारी गर्ने धेरै हुन्थे। तर, पछिल्लो पटक पहिलो चरण (इन्ट्रान्स) पनि लिन थालेपछि नासु र खरिदारमा प्रतिस्पर्धीको संख्या बढेको पौडेलको बुझाइ छ। एपेक्सले खरिदार र नासु तयारीमा साढे आठ हजार रुपैयाँ लिन्छ। अधिकृतमा १५ हजार तथा उप–सचिव र सह–सचिवमा १६ हजार लिने उनले जानकारी दिए।

तयारी कक्षाका लागि परिचित 'नेम'मा वार्षिक हजारौँ विद्यार्थी सामेल हुन्छन्। नेमका लोक सेवा संयोजक माधव पाण्डेका अनुसार वार्षिक १५–१५ सय विद्यार्थीले नासु र अधिकृतको तयारी गर्छन्। अन्य पदमा प्रतिस्पर्धा गर्नेको चाप पनि कम हुँदैनन् नेममा।

नयाँ बानेश्वरको साइनिङ स्टार इन्स्टिच्युटका सञ्चालक अर्जुन आचार्य पनि लोक सेवा तयारी गर्ने विद्यार्थी बढेको बताउँछन्। नासुका लागि यहाँ साढे सात हजार खर्च लाग्छ।

आफूहरूले 'गाइडलाइन' भन्दा अरू केही दिन नसक्ने बताउँदै आचार्यले थपे, 'जसले जति पैसा असुले पनि पढाउनेहरू जहाँ पनि उनै हुन्। नाम निकाल्ने क्षमता विद्यार्थी स्वयंमा हुनुपर्छ।'

लोक सेवाको पुस्तक बिक्री पनि उक्लँदो छ। राजधानीमा लोक सेवा आयोगका किताबकै भरमा चलेका पुस्तकपसल पनि धेरै छन्।

'ढंग पुर्‍याएर मेहनत गर्नुपर्छ'
सुशील लम्साल, ब्याच टपर

तनहुँका सुशील लम्साल शाखा अधिकृत २९ औँ अर्थात् गत वर्षको 'ब्याच टपर' हुन्। व्यवस्थापनमा स्नातकोत्तर अध्ययनरत २२ वर्षीय लम्साल खरिदारमा एक नम्बरमा सिफारिस भएका थिए। नासुमा पनि चौथो नम्बरमा सिफारिस भएका थिए उनी। लोकसेवा आयोग परीक्षाको तयारी र ब्याच टपर हुँदाको अनुभव उनले शुक्रवारसँग बाँडेका छन्।
सरकारी जागिरे बन्ने मोह कसरी पलायो?
स्थायित्व, योग्यताको आधारमा छानिने परीक्षा, कसैको भनसुन र नातावाद तथा कृपावाद नचल्ने, वृत्तिविकासको अवसर, समाजिक प्रतिष्ठा र मान्यता आदिका कारण सरकारी जागिर रोजेको हुँ।

'टपर' नै हुने गरी कसरी तयारी गर्नुभयो?
पहिलो कुरा इच्छाशक्ति र नियमितता हो। समसामयिक विषयको जानकारी, पत्रपत्रिका पढ्ने, विषयवस्तुसँग सम्बन्धित बुँदाहरूको सिलसिलेवार टिपोट, नियमित नमुना प्रश्नको अभ्यास, समय व्यवस्थापन गर्ने बानीको विकास गरेर यो सम्भव भयो।

सफलताका लागि कुनै 'विशिष्ट सूत्र' बनाउनुभयो?
मेहनत सबैले गर्छन्। तर, बुद्धि पुर्या एर गर्नुपर्योन। लेख्न सबैले लेख्छन्। तर, आफ्नो प्रस्तुतीकरण अरूका भन्दा विशिष्ट हुनुपर्यो्। हरेक प्रश्नले मागेको उत्तरमात्र दिनुपर्योय। समय व्यवस्थापन गर्नसके परीक्षामा सफल हुनेमा कुनै शंका छैन।

पढ्ने तरिका बताइदिनुस् न।
वस्तुगत प्रश्नको सवालमा, सम्झन सजिलो बनाउन कुनै वस्तुसँग तुलना गर्ने। छोटकरी रूप बनाउने। मिति कण्ठ पार्न आफ्नो नजिकका नातेदारको जन्मसँग दाँज्ने। सोही मितिमा घटेका घटनालाई 'ग्रुपिङ 'गर्ने। मितिहरूलाई घट्दो र बढ्दो क्रममा मिलाएर पढ्ने गर्नुपर्छ।
विषयगत प्रश्नमा, कुनै विषयको परिचय, विकासक्रम, महत्व, कमजोर पक्ष, सबल पक्ष, समस्या, चुनौतीका बारेमा जानकारी राख्नुपर्छ। विशिष्ट र महत्वपूर्ण कुराको टिपोट गर्नुपर्छ।

दरखास्त फाराम भरेर पढ्न कस्सिएकालाई तपाईको सुझाव?
आफ्ना अग्रजसँग सल्लाह लिनुस्। आफूलाई सजिलो लाग्ने 'टेक्निक' अपनाउनुस्। बजारमा निस्केका सबै किताबको पछि नलाग्नुस्। आधिकारिक तथ्यांकहरूमा अद्यावधिक भइरहनुस्। समय व्यवस्थापन गर्न सिक्नुस्। लोक सेवा परीक्षालाई विकल्पको रूपमा लिएर हलुका तरिकाले तयारी गर्ने सोचमा हुनुहुन्छ भने समय बर्बाद नगर्नुस्।
 

सरकारी जागिर नै किन?

अनील सुवेदी, काठमाडौँ
स्थायी भनेको स्थायी नै हो। भविष्य सुनिश्चित छ सरकारी जागिरमा। एकचोटि जागिर पाएपछि जीवनभर अरू टेन्सन लिनै पर्दैन।

दिवाकर अर्याल, काठमाडौँ
सरकारी जागिर खान पाएपछि बाँच्नलाई चिन्ता गर्नै पर्दैन। जीवनमा एकचोटि सरकारी जागिरे त हुनैपर्छ।

योगेन्द्र खड्का, रुकुम
बेरोजगार भइयो। रोजगारीका लागि अर्को विकल्प भेटिएन। प्राइभेटतिर आफ्ना मान्छे चाहिने। स्वतन्त्र प्रतिस्पर्धाबाट जागिर खान पाइन्छ लोक सेवामा।

किरण बस्नेत, दाङ
सरकारी जागिर लङ लास्टिङ हुन्छ। लाइफ सेक्युर छ यसमा। अरू जागिरमा यस्तो कहाँ छ? फेरि सरकारीमा नानाभाँती टेन्सन पनि हुँदैन।

एलिजा रिजाल, काठमाडौँ
आफ्नो दिमाग खियाएर जागिर खान पाउनु त गजबै हो नि। त्यस्तो आकर्षक सरकारी सेवासुविधा जसोतसो कहाँ पाइन्छ र? भविष्य सुनिश्चित छ यसमा। भत्ता पनि टन्न हुन्छ।

शशिराम वन, भक्तपुर
सुखमय जीवनका लागि सरकारी जागिर खानुपर्छ। प्राइभेटमा जागिर आज छ, भोलि छैन। पाँचौँ पटक प्रयास गर्दैछु सुब्बामा। यसपटक त लकले कसो साथ नदेला र!

रमेश उपाध्याय, अछाम
सुब्बामा दिन लागेको तेस्रोपटक हो। खरिदारमा पहिलो पटकमै नाम निकालियो। पूरै प्रतिस्पर्धा गरेर हाकिम बन्ने हो। सरकारी जागिरले समाजमा पाउने मानप्रतिष्ठा नै छुट्टै छ।

राजेन्द्र सापकोटा, धादिङ
गाविसको सामुदायिक परिचालक हुँ। सेवासुविधा, मानसम्मान बुझेको हुनाले सरकारी जागिरको नशा लागिसक्यो। शानै बेग्लै छ सरकारी जागिरेको।

अजिता घिमिरे, ललितपुर
सबैले राम्रो छ भन्छन् सरकारी जागिर। त्यही भएर म पनि यतै घुस्न लागेकी छु। यो दोस्रोपटक हो। सरकारी जागिरेलाई समाजले हेर्ने दृष्टिकोण नै फरक छ।

साभार : नागरिक 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis