CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यसरी गरौं फुर्सदको सदुपयोग

यसरी गरौं फुर्सदको सदुपयोग


परीक्षा सकिएसँगै भाइबहिनीहरू फुर्सदिला भएका छन् । अब के गर्ने ? सबैका आ-आफ्नै योजना होलान् । कोही साथीभाइसँग घुम्न जाने, कोही चलचित्र हेर्ने । यही बिदाको सदुपयोग गर्दै कसैले घरको काममा सघाउने त कसैले सीप आर्जन गर्ने सोच बनाएका हुनसक्छन् । 

विद्यालय तहको अविछिन्न पढाइलाई बिट मारेपछि सबैले आफूलाई स्वतन्त्र महसुस गर्छन् । पढाइको बोझबाट उन्मुक्त भएको मान्छन् । नतिजा प्रकाशन हुनु पूर्वको यो समय उनीहरू 'टाइम पास'को वहाना खोजिरहेका हुन्छन् । यही वहानामा
उनीहरूले गलत बाटो पनि समाउन सक्छन् । हल्का मनोरञ्जनका लागि भन्दै कुसंगत र कुलतमा फस्न सक्छन् । त्यसैले उनीहरूले यस्ता जोखिमबाट जोगिएर केही रचनात्मक, उपलब्धिमूलक एवं ऊर्जाशील काममा आफूलाई तल्लिन गराउनु उपयुक्त हुने शिक्षकहरूको सुझाव छ । 

एसएलसी सकेका विद्यार्थीहरू किशोर अवस्थाका हुन्छन् । यो उमेरमा उनीहरू स्वभावैले बढी जिज्ञासु, चञ्चल र बहकिने खालका हुन्छन् । उनीहरूले गर्ने निर्णय त्यति परिपक्व र दीर्घकालीन नहुन सक्छ । त्यसैले फुर्सदमा उनीहरूलाई सही दिशातर्फ डोर्‍याउन अभिभावकले सहयोगी भूमिका खेल्नुपर्ने नोबेल एकेडेमी नयाँ बानेश्वरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ बताउँछन् ।

उन्मुक्त मनोरञ्जन

परीक्षा सकिएपछिको फुर्सदमा उन्मुक्त मनोरञ्जन गर्न सकिन्छ । यो परीक्षाको ह्याङओभर हटाउने राम्रो उपाय पनि हो । यसले मस्तिष्कको बोझ हटाएर फ्रेस बनाउँछ । त्यसपछि छुट्टै उमंग र ऊर्जाका साथ पुन: अध्ययनमा र्फकन सकिन्छ । 

मनोरञ्जनका निम्ति अहिले स्रोत र साधनको कमी छैन । राम्रा चलचित्र हेरेर, कथा-उपन्यास पढेर, विभिन्न खेल खेलेर मनोरञ्जन गर्न सकिन्छ । किनमेल गर्ने, पारिवारिक जमघट गर्ने जस्ता कामले पनि मनलाई खुसी एवं रोमाञ्चित तुल्याउन सकिन्छ ।

 

घुमफिर 

फुर्सदको उपयोग गर्दै कतिपयले घुमफिर गर्ने योजना बनाएका हुन सक्छन् । घुम्नका निम्ति नेपालमा गन्तब्यको कमी छैन । आफूले नदेखेको ठाउँ, नभोगेका अनुभव सँगाल्ने अवसर घुमफिरबाटै प्राप्त हुन्छ । फरक संस्कृति, फरक रहनसहन र फरक भाषासँग साक्षात्कार गर्न पाइन्छ । यसले मन, मस्तिष्क र शरीरलाई सकारात्मक प्रभाव पार्छ । कतिपय कुरा प्रत्यक्ष जान्न, सुन्न र हेर्न पाइन्छ । 

पर्यटनमै आधारित थुप्रै ठाउँ छन्, नेपालमा, ती क्षेत्र पर्यटनमैत्री हुने भएकाले खान, बस्न र घुम्न सहज हुन्छन् । त्यसबाहेक, धार्मिक, पौराणिक, सांस्कृतिक महत्वका स्थानहरू पनि पुग्न सकिन्छ । 

साहसिक खेल तथा यात्रा

यतिबेला साहासिक यात्रा गरेर वा खेल खेलेर पनि रोमाञ्चक अनुभव सँगाल्न सकिन्छ । बिना पूर्व तयारी साथीभाइसँग कतै यात्रामा निस्कन सकिन्छ । पहाडी क्षेत्रमा अफरोड साइक्लिङ गर्न वा हाइकिङ जान सकिन्छ । त्यसबाहेक साहसिक खेल पनि खेल्न सकिन्छ । पोखरा गएर प्याराग्लाइडिङ गर्न सकिन्छ, सिन्धुपाल्चोक पुगेर बञ्जिजम्पमा सहभागी हुन सकिन्छ, त्रिशूली र भोटेकोसीमा र्‍याफ्टीङको आनन्द लिन सकिन्छ ।

 

खेलकुद 

कतिपयले खेलमै करियर बनाउने लक्ष्य लिएका हुन सक्छन् । कोही क्रिकेटर बन्ने सोचमा होलान् त कोही फुटबलर । कसैको रोजाइ पौडी हुनसक्छ त कसैको मार्सल आर्ट । यसरी खेलमा रुचि भएकाहरूले फुर्सदको यो समय आ-आफ्नै रुचिको खेलको अभ्यास गरेर आफूलाई पोख्त बनाउन सक्छन् । त्यसो त खेलमा लागेर करियर नै बनाउनु पर्छ भन्ने छैन । तन्दुरुस्ती र मनोरञ्जनका लागि पनि खेल खेल्न सकिन्छ । 



परिवारसँग भेटघाट

कतिपय पुख्र्यौली थलो छाडेर सहरमा बसोबास गरिरहेका हुन सक्छन् । उनीहरू आफ्नो पुख्र्यौली थलो नपुगेका हुन सक्छन्, आफन्तसँग नभेटेका हुनसक्छन् । यही मौकामा उनीहरूले थाँती रहेका यस्ता इच्छा पूरा गर्न सक्छन् । नातागोता एवं आफन्तसँग भेटघाट गर्नु पनि एक किसिमले उपलब्धीमुलक नै हुन्छ । यसले आपसी सम्बन्धलाई थप प्रगाढ र सौहार्दपूर्ण बनाउन मद्दत गर्छ । 



रचनात्मक काम 

फुर्सदको सदुपयोग गर्दै कतिपयले रचानात्मक काममा आफूलाई तल्लीन बनाउन सक्छन् । साहित्य लेख्ने-पढ्ने, चित्र कोर्ने, जीवनोपयोगी पुस्तकहरू अध्ययन गर्ने, सामाजिक सेवाको क्षेत्रमा जागरुक हुने, नृत्य एवं गायनमा सहभागी हुने जस्ता रचनात्मक काम गर्न सकिन्छ । यसले मस्तिष्कलाई थप ऊर्जाशील बनाउँछ । 



सामाजिक काम 

समाजसेवाको क्षेत्रमा काम गरेर पनि फुर्सदको सदुपयोग गर्न सकिन्छ । यसले समाजप्रति थप उत्तरदायी हुन सिकाउँछ भने नयाँ किसिमको अनुभव सँगाल्ने अवसर पनि मिल्छ । यसबाट विदेशमा अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्राप्त गर्न सहयोग पुग्छ । किनभने छात्रवृत्ति प्राप्त गर्न अध्ययनमा अब्बल भएर मात्र पुग्दैन, समाजसेवामा आफ्नो योगदानको विवरण पनि पेस गर्नुपर्ने हुन्छ । 



आयमूलक काममा लाग्ने 

फुर्सदको समयलाई आय आर्जनको काममा पनि लगाउन सकिन्छ । यसले हामीलाई आत्मनिर्भर हुन सिकाउँछ भने परिवारलाई सहयोग पनि हुन्छ । आफूले जानेको सानोतिनो काम गरेर आयआर्जन गर्न सकिन्छ । त्यसबाहेक परिवारको काममा सघाउन सकिन्छ । कतिपयका बुबाआमा व्यापार व्यवसायमा लागेका होलान्, कतिपयका खेतीपातीमा । उनीहरूको काममा सहयोग गरेर पनि फुर्सदको सदुपयोग गर्न सकिन्छ । 



सीप आर्जन गर्ने 

यतिबेला आफूलाई रुचि भएको क्षेत्रमा सीप पनि आर्जन गर्न सकिन्छ । ड्राइभिङ सिक्न सकिन्छ, विभिन्न भाषाका साथै कम्प्युटर सिक्न सकिन्छ । कतिपय संघसंस्थाले छोटो अवधीको सीप विकाससम्बन्धी तालिम दिइरहेका हुन्छ । ती तालिम लिएर पनि आफूलाई दक्ष बनाउन सकिन्छ ।



थप अध्ययनको योजना 

एसएलसी उत्तीर्ण भएपछि के पढ्ने ? कुन विषय पढ्नु उपयुक्त हुन्छ ? आफ्नो आर्थिक एवं बौद्धिक क्षमताअनुसारको विषय कुन हुनसक्छ ? छलफल गर्न सकिन्छ । समयमै यस्ता कुराहरूको निर्णय लिन सके पछि पछुताउनु पर्दैन ।

  

काठमाडौंमा 

- देवन राई

हरेक व्यक्तिले आफ्नो जिन्दगीलाई अति सरल तरिकाले जिउने सपना बोकेको हुन्छ, सपना दधेखेको हुन्छ । मेरो पनि एउटा सपना छ, बाँचुन्जेल फुर्सदमा बस्नु नपरोस् । यही सपना बोकेर म गाईघाटबाट काठमाडौं आएको छु । अर्थको अनर्थ नलागे सपना कल्पनाभन्दा मित्थ्या हुन्छ, तर आखिर सपना र कल्पना दुवै अपूर्ण नै हुन् । 

मेरो सोचमा काठमाडौं हाम्रो देशको राजधानी हो, तर बुझ्ने हो भने काठमाडौं नेपालको राजधानी मात्र हो भन्ने परिभाषा अपूर्ण र अपर्याप्त छ । किनभने यहाँ को धनी को गरिब, को मालिक को नोकर, को हिन्दू को मुस्लिम ? हरेकले आफूमा भएको सीप, क्षमता एवं योग्यताअनुरूपका काम गरिरहेका छन् । आफ्नो योग्यता सुहाउँदो अवसर छोप्न आतुर छन् । उनीहरूको रोजगार हुन चाहने यस्तो इच्छाशक्तिलाई मध्यनजर गर्दै भन्ने हो भने राजधानी काठमाडौं अवसरहरूको एउटा महासागर पनि हो, जहाँ दैनिक हजारौं अवसरका छालहरू छचल्किरहेका छन् र ती अवसरका हजारौं छालले कुनै एक गरिब परिवारको डुबेको गाँस, बास र कपासलाई किनारा लगाउन मद्दत गरिरहेको छ । यो ग्यारेन्टी छैन कि त्यो अवसरको छालमा म मात्र पौडन सक्छु वा तपाईं मात्र पौडन सक्नुहुन्छ । यद्यपि प्रत्येक दिन कुनै एक भोको पेट, कुनै एक अतृप्त सपना, कुनै एक अमूर्त चाहना त्यो अवसरको छालमा तैरिएर आफ्नो गन्तव्यको किनारसम्म पुगेकै छ ।

यद्यपि हामी कति सजिलै आफ्नो देशलाई गाली गछौर्ं । आफू बेरोजगार हुनुको सारा दोष पनि देशकै नाममा थुपारिदिन्छौं । ग्याँस सर्टेज भयो भने नेपाल बन्द गरिदिन्छौं । सरकारले पेट्रोलियम पदार्थको भाउ बढायो भने यातायातका साधन बन्द गरिदिन्छौं, यात्रा अवरुद्ध पारिदिन्छौं । शैक्षिक संघ संस्थाहरू बन्द गर्दै सरकारलाई पेट्रोलियम पदार्थमा थपिएको रकम कटौती गर्न अल्टिमेटम दिन्छौं । 

के यस्तै प्रवृत्ति, नियत र नियतिमा हामी सबैको भलाइ छ ? यसर्थ पनि हामीले हाम्रो सामुन्ने आउने अवसरलाई पकड्न सबैभन्दा पहिले आफूसँग भएको कमी-कमजोरी घटाउँदै लान सक्नुपर्छ । चाहे उदयपुरमा होस्, चाहे काठमाडौंमा, दिन-परदिन अनेकन अवसरका ढोका खुलि नै रहेका हुन्छन् । भनिन्छ, 'असक्षम व्यक्ति सधैं सजिलो अवसर ढुकेर बस्छ, तर सक्षम व्यक्ति हरेक दिनको चुनौतीलाई आफ्नो अवसर बनाएर अघि बढ्छ ।' यही भनाइअनुरूप हामीले हाम्रा अवसर सामु उभिएका चुनौतीहरूलाई अवसरकै एउटा पाटो बनाएर अघि बढ्न सक्नुपर्छ । 

काठमाडौं भन्नेबित्तिक्कै ठूलो सहर आँखाअगाडि आउँछ । काठमाडौंमा राम्रो लगाउन, मीठो खान अनि धेरै पैसा कमाउन सकिन्छ भन्ने सोझा व्यक्तिहरूको सरल सोच छ । अझ पहाडका अनपढ अल्लारेहरू काठमाडौंमा सुनकै खेती हुन्छ झैं गरी गाउँको ढिडो छाडी काठमाडौं पस्छन्, तर अन्त्यमा आफूले चाहेजस्तो काम नपाएपछि फुटपाथमा बेवारिसे भएर बस्न बाध्य हुन्छन् अनि घर र्फकने पैसा समेत नभएर गाउँको त्यही कोदोको ढिडोको तृष्णासँगै रात काट्नेहरू काठमाडौंमा हजारौंको संख्यामा फेला पार्न सकिन्छ । त्यसकारण काठमाडौंमा अवसर छ भन्दैमा एक्कासि गाउँबाट सहर पस्नु जायज होइन । 

जसरी हामी खोलाको बनोट, भँगालो, पानीको बहाव, गहिराइ अनि आफूले पौडन सक्ने आँट नगरी पौडी खेल्न हाम फाल्दैनौं । त्यसैगरी यो अवसरहरूको महासागर (काठमाडौं) मा पनि सीप, क्षमता, योग्यता अनि अनुभवबेगर नै राम्रो जागिर पाउँछु, धेरै पैसा कमाउन सक्छु भन्ने कुरा कल्पेर काठमाडौं पस्ने काम उपयुक्त होइन । काठमाडौं अवसरहरूको महासागर भए पनि यो महासागरमा पौडिएर जो कोहीले सहजै सफलताको किनारा प्राप्त गर्न मुस्किल छ, किनभने यहाँ मान्छेले मान्छेलाई होइन, पैसाले मात्र सबैलाई चिन्छ ।

साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis