CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नेपाली आकाशमा ड्रोन

नेपाली आकाशमा ड्रोन

  • सुरक्षा, वातावरण, वन्यजन्तु संरक्षण र कृषि क्षेत्रमा बढ्दो प्रयोग तर आयात र उडानमा कानुनी अस्पष्टता

करिब आठ वर्षपहिले सीतापाइलाको डाँडामा अवस्थित सेतो गुम्बामाथि अचानक एउटा सानो विमान देखियो । गुम्बाको एक फन्को लगाएपछि त्यो विमान एकाएक हरायो । यो घटनाले यस्तो सनसनी मच्चायो कि त्यस गुम्बाका सञ्चालकहरूले भोलिपल्टै पत्रकार सम्मेलन गरेर चीनले आफ्नो जासुसी गर्न उक्त विमान  पठाएको दाबी गरे । उनीहरूको दाबी अनुसार नै सञ्चारमाध्यमहरूबाट समाचार प्रकाशित/प्रसारित भए ।

सीतापाइलाको आफ्नो निवासमा
अखबारमा उक्त समाचार पढिरहँदा उद्यमी शेखर गोल्छाचाहिँ अचम्म मानेर मुस्कुराइरहेका थिए । कारण थियो, समाचार बनेको त्यो वस्तु कुनै जासुसी विमान नभई गोल्छाले आफ्नै घरबाट उडाएको मानवरहित विमान -अनम्यान्ड एरियल भेइकल) अर्थात् 'ड्रोन' थियो । तर, उनले  यसबारे सावर्जनिक रूपमा कुनै प्रतिक्रिया जनाएनन् । र, त्यस घटनाको चर्चा-परिचर्चा आफैँ समाप्त भयो ।

हुन त ड्रोन भन्नासाथ सैनिक र जासुसी प्रयोजनका लागि प्रयोग हुने विमान बुझिन्छ । अमेरिकी र बेलायती सेनाले इराक र अफगानिस्तानको लडाइँमा बम खसाल्न र जासुसीका निम्ति घन्टौँ उड्न सक्ने यस्ता मानवरहित विमानको प्रयोग गरेका थिए । सामरिक उद्देश्यका साथ बेलायती सेनाले सन् २००० को दशकको  मध्यतिर युरोपकोे बाल्कन लडाइँमा ड्रोन प्रयोग गरेको थियो । र, त्यहीँ यसको पहिलोपटक सफल प्रयोग भएको मानिन्छ ।

प्रविधिका हिसाबले ड्रोन मुख्यतः दुई प्रकारका हुन्छन् । एउटा हवाईजहाजजस्तो 'फिक्स्ड विङ' र अर्को हेलिकप्टरजस्तो धेरै पंखा भएको 'मल्टिरोटर' । नेपालमा धेरैजसो चीनमा निर्मित 'क्वाडकप्टर' (चारपंखे) ड्रोन चल्तीमा छन् भने 'हेक्जाकप्टर' (६ पंखे) र अक्टोकप्टर (आठपंखे)को पाटपुर्जा ल्याएर यतै जडान गरिन्छ ।



सगरमाथादेखि टीभी सिरियलसम्म

केहीअघिसम्म व्यक्तिगत रोमाञ्च अर्थात् खेलौनाका रूपमा सीमित ड्रोन पछिल्लो समय विविध क्षेत्रमा प्रयोग हुँदै छ, नेपालमा पनि । जस्तो : गत साउन दोस्रो साता सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र -इसिमोड)का विज्ञहरू सम्मिलित टोलीले क्वाडकप्टरबाट प्राप्त तस्बिरका  आधारमा पहिरोबाट भएको क्षतिको अध्ययन र बाँकी बस्तीमाथि आउन सक्ने सम्भावित जोखिमको आकलन गरेको थियो । र, तिनै तस्बिरमा आधारित भएरै सरकारले उद्धार कार्य अगाडि बढाएको थियो ।

त्यस्तै, सगरमाथा क्षेत्रमा ड्रोन उडाउन बिन क्लार्क नेतृत्वको बेलायती आरोही/पदयात्रीको टोलीले झन्डै एक वर्ष तयारी गर्‍यो । त्यस क्रममा उच्च पहाडमा हुन सक्ने सम्भावित दुर्घटना र खोँचका बीचबाट उडान भर्ने अभ्यास गरिएको थियो । अन्ततः गत वर्ष उनीहरूले क्यामेरा जडान गरिएको ड्रोनबाट त्यस क्षेत्रको  लोभलाग्दो भिडियो तयार पार्न सके, जसलाई नाम दिइयो- एभरेस्ट एन्ड हिमालयन ड्रोन एरियल्स । भिडियोमा काठमाडौँदेखि रेन्जो पास, गोक्यो ताल, चो पास, सगरमाथा आधार शिविर हुँदै खुम्बु आइसफलसम्मका उत्कृष्ट दृश्य कैद गरिएका छन् ।

अब राजनीतिक पार्टीका महाधिवेशनजस्ता औपचारिक कार्यक्रमदेखि सिनेमा, म्युजिक भिडियो, विज्ञापन, फोटोग्राफी र वन्यजन्तु संरक्षणसम्मका कामका लागि ड्रोन उपयोगी भएका छन् ।

उदाहरणका लागि गत असारको तेस्रो साता काठमाडौँमा सम्पन्न नेकपा एमालेको नवौँ महाधिवेशनको उद्घाटन समारोहलाई नै लिऔँ । त्यस समारोहमा हेक्जाकप्टरबाट अतिथिहरूमाथि पुष्प वषर्ा गराइएको थियो । समारोहको संयोजन गरेका एमाले नेता विष्णु रिमाल भन्छन्, "महाधिवेशनमा केही नयाँ गरौँ भन्ने सोच  अनुसार ड्रोनको प्रयोग गरिएको थियो ।" त्यस बखत यसको प्राविधिक पक्षको जिम्मेवारी पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको रोबोटिक क्लबले लिएको थियो ।

वन्यजन्तुको चाल र अवस्थाबारे निगरानी राख्न ड्रोन निकै प्रभावकारी हुने देखिएकाले चितवन राष्ट्रिय निकुञ्जमा यसको प्रयोग भइरहेको छ, जुन वन्यजन्तुको चोरीसिकारी रोक्न उपयोगी हुने विश्वास छ । निकुञ्जमा 'एरियल पेट्रोलिङ' -हवाई गस्ती)का लागि विश्व वन्यजन्तु कोष -डब्लूडब्लूएफ)ले फिक्स्ड विङका दुईवटा  ड्रोन प्रदान गरेको छ । "अपि|mकाका घाँसे मैदानमा यो अभ्यास निकै सफल पाइएको छ । तर, घना जंगल भएको हाम्रो जस्तो भौगोलिक अवस्थामा कस्तो ड्रोन अनुकूल हुन सक्छ भन्ने अध्ययनमै छौँ," डब्लूडब्लूएफका सहनिर्देशक दिवाकरप्रसाद चापागाईं भन्छन् । त्यसबाहेक रातीका लागि इन्प|mारेड क्यामेरा ल्याउन  सुरक्षा निकायसँग छलफल भइरहेको छ, किनभने इन्प|mारेड क्यामेरा किन्न पाउने अधिकार अरूलाई हुँदैन ।

संरक्षण क्षेत्रमा चोरीसिकारी प्रायः साँझ र सबेरै झिसमिसेमा हुने गरेको पाइएको छ, जसका लागि सिकारी तथा तस्करहरू राती नै गएर 'क्याम्पिङ' गर्छन् । निकुञ्जका हकमा भने धेरै क्षेत्रको गस्ती गर्न ड्रोनको फिक्स्ड विङ प्रभावकारी छ । तर, अवतरणलाई कम्तीमा एक सय मिटरजति ठाउँ चाहिने हुँदा जंगलबीचमा  भेट्न गाह्रो छ । चापागाईं भन्छन्, "अब रियल टाइममा जाने तयारीमा छौँ, जसले गर्दा ड्रोन नर्फकंदै सूचना पाउन सकिन्छ, जबकि अहिले ड्रोन नफर्केसम्म सूचना पाइँदैन ।"

जलवायु परिवर्तनको प्रभाव, वातावरणीय प्रदूषण र जैविक विविधता अध्ययनमा समेत ड्रोनको प्रयोग भइरहेको छ । र, यसको अगुवाइ गरिरहेको छ, इसिमोडले । इसिमोडले स्मल स्केल एप्लिकेसन परियोजना अन्तर्गत नेपाल, भुटान र बंगलादेशमा ६ वटा कार्यक्रम सञ्चालनमा छन्, जसको मूल उद्देश्य भनेको प्रविधि र  समाजलाई जोड्नु हो । यही परियोजना अन्तर्गत इसिमोड र काठमाडौँ विश्वविद्यालयको साझेदारीमा हालै चितवनको शक्तिखोरको एउटा सामुदायिक वनमा कार्बन व्यापारको अध्ययनका लागि एउटा परीक्षणमा हेक्जाकप्टर प्रयोग गरिएको थियो । इन्प|mारेड क्यामरा जडित उक्त ड्रोनले सामुदायिक वनमा घनत्व, रूखको  उचाइ र अवस्थाका बारेमा तस्बिर लिएको थियो । यो कार्यक्रम अमेरिकी अनुसन्धान संस्था -नासा)को अनुदानमा सञ्चालित छ । यो अध्ययनले सामुदायिक वनले कार्बन उत्सर्जन रोक्न पुर्‍याइरहेको योगदान अध्ययन र विश्लेषण गर्नेछ, जसले कार्बन व्यापारमार्फत नेपालले पाउने हरित अनुदानको मात्रा बढाउनेछ ।

प्रचलित अध्ययन प्रणाली महँगो भएकाले काठमाडौँ विश्वविद्यालयले नयाँ प्रणालीमा प्रयोग गरिने हेक्जाकप्टर नेपालमै जडान गरेको थियो, जुन ठाडो दिशामा प्रतिसेकेन्ड पाँच मिटर र तेर्सो दिशामा प्रतिसेकेन्ड २५ मिटर उड्न सक्छ । अध्ययनमा संलग्न विश्वविद्यालयका प्राध्यापक इन्जिनियर उमाशंकर पाण्डे भन्छन्,  "यससँगै अब मकै खेतीमा यसको गुणस्तर नाप्न अध्ययन बढाउँदै छौँ, जसमा प्रयोग हुने नियर इन्प|mारेडले माटोको गुणस्तर र वनस्पतिको विकासक्रम थाहा हुनेछ ।"

यसबाहेक करिब एक वर्षअघि इसिमोडले नै ड्रोनबाट खुम्बु क्षेत्रको हिउँ र ग्लेसियरमा जलवायु परिवर्तनले पारिरहेको प्रभावको अध्ययन गरेको थियो । दुईवटा याममा गरिएको उक्त परीक्षण विशेष गरी त्यस क्षेत्रको हिउँको गहिराइ अध्ययन गर्नमा केन्दि्रत थियो । त्यसबाट जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा  के-कस्तो प्रभाव परिरहेको छ भन्नेसमेत अध्ययन गरिएको थियो । त्यस बेला फिस्क्ड विङ ड्रोनबाट लिइएका तस्बिरहरू थप अध्ययनका लागि सहयोगी बन्ने इसिमोडको स्मल स्केल एप्लिकेसन परियोजनाका संयोजक राजन बज्राचार्यको दाबी छ ।

ड्रोन र त्यसमा जडित प्रविधिबाट सबैभन्दा लाभान्वित कोही बनेको छ भने त्यो नेपाली मनोरञ्जन क्षेत्र नै हो । र, त्यसमा पनि विशेष गरी म्युजिक भिडियो, फोटोग्राफीदेखि सिनेमा र टेलिभिजन सिरयल अगाडि छन् । ड्रोनमा जडित हाई रेजुलुसनका गोप्रो क्यामेराबाट आवश्यक दृश्य कैद गरिन्छन् । यो प्रविधिको प्रयो गमा अगाडि देखिएका छन्, निर्देशकद्वय सिमोस सुनुवार र सुदर्शन थापा । थापाले हालै रिलिज भएको चलचित्र चंखे, पंखे र शंखेमा केही एरियल दृश्य लिन क्वाडकप्टर प्रयोग गरेका छन् । यसअघि उनले आफू निर्देशित पाँचवटा सिनेमामा त्यस्ता दृश्यका लागि हेलिकप्टर प्रयोग गरेका थिए । उनी हेलिकप्टरको प्रयोग  महँगो र झन्झटिलो हुने गरेको अनुभव सुनाउँछन् । भन्छन्, "हेलिकप्टर प्रयोग गर्दा जतिसुकै छोटो दृश्य भए पनि एक लाख रुपियाँको हाराहारीमा खर्च हुन्थ्यो भने क्वाडकप्टरलाई १० हजार रुपियाँ खर्च गरे पुग्छ ।"

प्रविधि प्रयोगमा निर्देशक सुनुवार थापाभन्दा अगाडि छन् । ग्राफिक्स र आकर्षक तथा रोमाञ्चक दृश्यहरू त उनीद्वारा निर्देशित विज्ञापन -टीभीसी), म्युजिक भिडियो र सिनेमाका ट्रेडमार्क नै बनेका छन् । त्यसैले उनी किन पछि पर्थे, ड्रोन प्रविधिको प्रयोग गर्न ? उनले पनि आफ्ना पछिल्ला केही टीभीसीदेखि फिल्म  मिसन पैसा टुका केही दृश्य खिच्न क्वाडकप्टर प्रयोग गरेका छन् । शिवम् सिमेन्टदेखि होन्डा मोटरसाइकलका टीभीसीका केही दृश्यसमेत ड्रोनबाट खिचिएका छन् ।

यसै गरी कान्तिपुर टेलिभिजनबाट प्रत्येक मंगलबार साँझ प्रसारण भइरहेको टीभी शृंखला किलो ट्यांगोको हालै प्रसारित एउटा शृंखलामा पनि क्यामरा जडित क्वाडकप्टरबाट एरियल दृश्य खिचिएको थियो । सुनुवार भन्छन्, "यस्ता प्रविधिको प्रयोगबाट मनोरञ्जन क्षेत्रले धेरै लाभ लिन सक्छ, लागत र नयापन दुवैका  हिसाबले ।"

हाल नेपाली सेनाले परीक्षणका लागि दुईवटा ड्रोन प्रयोग गरिरहेको छ । "थुप्रै मुलुकमा यो व्यापक प्रयोगमा छ, नेपालमा भने हामी अझै परीक्षण चरणमा छौँ," नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेल भन्छन्, "आर्थिक र प्राविधिक पाटोबाट अनुकूलता र प्रभावकारिता हेरिरहेका छौँ ।"

न कानुन, न भन्सार

४ चैत ०७० मा पशुपतिनाथ मन्दिरमाथि कोरियाली पर्यटकहरूले उडाएको ड्रोनले एक चक्कर लगायो । बिनाअनुमति ड्रोन उडाएको आरोपमा ती कोरियाली पर्यटकलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले छेउमै रहेको गौश्ााला प्रहरीको जिम्मा लगाए । तर, प्रहरीसँग कारबाही गर्ने प्रस्ट कानुनी आधार थिएन ।  त्यसैले दुई दिन हिरासतमा राखेर पर्यटक प्रहरीको जिम्मा लगाइदियो र पछि उनीहरू सामान्य तारेखमा छुटे ।

यसरी घुमफिर र अन्य प्रयोजनमा नेपाल आएका विदेशीले संवेदनशील र ऐतिहासिक क्षेत्रका तस्बिर र भिडियो गुपचुप खिच्ने क्रम जारी छ । युट्युबका साथै अन्य सामाजिक सञ्जालमा पाइने सगरमाथा, बौद्ध, वसन्तपुर दरबार क्षेत्रमा खिचिएका भिडियो र तस्बिरहरूले पनि त्यसलाई पुष्टि गर्छन् । चर्चित वृत्तचित्र  लिगेसी अफ गडका दृश्य हेर्दा पनि धेरै कुरा प्रस्ट हुन्छ । दुई वर्षअघि नै तयार भएको उक्त वृत्तचित्रको नेपाल खण्डमा स्वयम्भू, बौद्ध, पशुपतिनाथ, पाटन र वसन्तपुर दरबार क्षेत्रमा ड्रोनबाट खिचिएका रोमाञ्चक दृश्य समेटिएका छन् ।

तर, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल भने त्यस्ता उपकरणको प्रयोग र त्यसले सम्पदा स्थललाई पार्ने असरका बारे कुनै उजुरी नपरेको बताउँछन् । त्यसै गरी सगरमाथालगायत क्षेत्रमा पदयात्रामा जाने पर्यटकले ड्रोनबाट खिचेका तस्बिर र भिडियो इन्टरनेट र सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् ।  त्यसबाहेक आवास क्षेत्रमा हुने ड्रोनको उडानले अरूको व्यक्तिगत जीवनमाथि चियाउने प्रवृत्तिलाई प्रोत्साहित गर्न सक्छ । घनाबस्ती भएका क्षेत्रमा ड्रोन उडाउँदा दुर्घटना भएर जनधनको क्षति हुन सक्छ । तसर्थ, ड्रोनको जथाभावी प्रयोगमा सरकारले निगरानी गर्नुपर्ने उद्यमी गोल्छा बताउँछन् । भन्छन्, "सरकारले के- कसरी प्रयोग गर्ने भन्ने प्रस्ट नियम ल्याउनुपर्छ । त्यसमा ढिलाइ हुने हो भने यस्तो लोभलाग्दो प्रविधिको गलत प्रयोग हुने जोखिम बढी छ ।"

नेपालमा ठूला हवाईजहाजदेखि बेलुनसम्म एकै श्रेणीको कानुनले व्याख्या गरिँदा निम्तिन सक्ने सुरक्षा चुनौतीबारे केही आकलन गर्न सकिएको छैन । विस्फोटक वा अन्य संवेदनशील सामग्री बोक्न सक्ने सुरक्षा संवेदनशीलता र गोपनीयतामाथि यसले थुप्रै प्रश्न तेस्र्याइरहेको छ । कानुनको अभावमा ड्रोन प्रयोग गर्न खोज्ने हरूले प्रशासनबाट अनावश्यक झन्झट बेहोर्नुपरेको सिने निर्देशक सुनुवार बताउँछन् । भन्छन्, "विदेशीले चाहिँ निर्धक्क भएर खिच्न पाउने तर हामीलाई चाहिँ अनावश्यक सोधपुछ हुनु उचित होइन ।"

नियमनका सम्बन्धमा बेलाबखत अनौपचारिक छलफल भए पनि अहिलेसम्म त्यसले मूर्त रूप पाइसकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य पनि नयाँ प्रविधि भएकाले नियमनका लागि कुनै कानुन नभएको स्वीकार्छन् । भन्छन्, "हवाई उडानमा बाधा पुर्‍याएको खण्डमा  उडान सुरक्षाविरुद्धको अपराध र आन्तरिक सुरक्षामा खलल पुर्‍याएको खण्डमा सम्बन्धित कानुन अनुसार कारबाही हुन्छ ।"

सरकारले कानुन बनाउन तदारुकता देखाएको त छैन नै, विदेशबाट भित्रिरहेको ड्रोनका बारेमा समेत जानकार छैन । व्यापारीले ड्रोनलाई खेलौनाका रूपमा पैठारी गरिरहेका छन् । कतिपय पर्यटक आफैँले ल्याउने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रशासनका अनुसार हालसम्म पाँचवटा त्यस्ता ड्रोनको  पैठारी मात्र अभिखेलमा छ । जबकि, ड्रोनका जानकारहरू दिनहुँ सयौँको संख्या पैठारी भइरहेको दाबी गर्छन् । कानुनी अड्चनका कारण मंसिरको पहिलो साता १८औँ सार्क सम्मेलनको हवाई सुरक्षामा ड्रोन प्रयोग गर्ने प्रयासलाई अन्तिम चरणमा स्थगित गरिएको थियो ।

एकातिर उडान नियमनसम्बन्धी कानुनी अभाव, अर्कोतर्फ पैठारीमा कडाइ नहुँदा ड्रोनको गलत प्रयोगबाट सिर्जना हुन सक्ने सुरक्षा र सामाजिक चुनौतीका बारे राज्य बेखबर रहनु आश्चर्यजनक छ ।





नेपाली ड्रोनम्यान

पेसाले व्यापारी भए पनि ललितपुर, बालकुमारीका सुनील महर्जन, ३५, को अधिकांश समय ड्रोनसँगै बित्छ । कहिले आफ्नो घरको वर्कसपमा त कहिले ड्रोनको व्यावसायिक उडान र भेटघाटमा । महर्जनले यससम्बन्धमा कुनै औपचारिक तालिम भने लिएका होइनन् । स्कुल पढ्दादेखि नै यसप्रतिको रुचिले उनलाई आज 'ड्रोनम्यान'को परिचय दिलाएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीलाई केलाउँदा केलाउँदै उनी आफैँ मल्टिकप्टर 'एसेम्बल' गर्न पोख्त बनिसकेका छन् । उनी आफँैले एसेम्बल गरेका मल्टिकप्टर नेपाली सेनादेखि इसिमोडसम्मले प्रयोग गरिरहेका छन् । गत वर्ष नेपाली सेनाले आयोजना गरेको विज्ञान-प्रविधि प्रतियोगितामा उनी पुरस्कृतसमेत भएका थिए । हालसम्म उनले चार दर्जनभन्दा बढी ड्रोन बनाइसकेका छन् । तर, महर्जन ड्रोन बनाउँदैनन् मात्र, आवश्यक परेको खण्डमा रेडियो कन्ट्रोलर -आरसी) अर्थात् चालक सेवासमेत दिन्छन् । जुरेको पहिरोको तस्बिर लिन होस् वा शक्तिखोरमा गरिएको कार्बन व्यापार परीक्षणका लागि होस, आफूले बनाएको मल्टिकप्टर उडाउन सुनील आफैँ पुगेका थिए । कान्तिपुर टीभीको किलो ट्यांगोका लागि दृश्य लिनेदेखि चंखे, पंखे र शंखे सिनेमाको दृश्य खिच्न पनि सुनील आफैँ उपस्थित थिए । देशभरका ड्रोन उडानका सोखिनलाई गोलबद्ध गर्न महर्जनले हालै मात्र आरसी हबी नेपाल नामको संस्था दर्ता गराएका छन् । भन्छन्, "एउटा सुरुआत मात्र हो । यो प्रविधिमा रुचि राख्नेहरूलाई एउटा छातामा ल्याउने सोच अनुसार कम्पनी दर्ता गरेको हुँ ।"





यो हो ड्रोन

दुई प्रकारका ड्रोनमध्ये फिक्स्ड विङ तुलनात्मक रूपमा तीव्र गतिमा उड्न सक्छ । यसलाई उडाउन कि त 'रन-वे' चाहिन्छ वा अग्लो स्थानबाट हावामा हुत्याउनुपर्छ । गाडीमा लन्चिङ प्याड राखेर पनि यसलाई उडाइन्छ । एउटा मात्र पंखा हुने भएकाले यसमा कम ऊर्जा खर्च हुन्छ । मल्टिरोटरचाहिँ हेलिकप्टर जसरी सीधै माथि उठ्छ । यसलाई आकाशमै स्थिर राख्न सकिनुका साथै सहजै मोड्न सकिन्छ । जति धेरै पंखा हुन्छ, त्यति धेरै उड्ने वा सामान बोक्न सहज हुन्छ । ड्रोनले त्यसमा हुने चिप्सका सहायताले पहिल्यै तय गरिएको रुटमा उडान भर्छ । त्यस्तै जोयस्टिकमार्फत बेतारे रिमोर्टबाट पनि यसलाई उडाउन सकिन्छ ।

पश्चिमा मुलुकमा पेट्रोलियम इन्धनबाट चल्ने ड्रोनको प्रयोग बढ्दो छ । नेपालमा भने ब्याट्रीबाट चल्ने ड्रोन नै चलनमा छन्, जसका कारण यिनले लामो दूरी तय गर्न सक्दैनन् । ओराल्न र उडाउन केही फराकिलो ठाउँ चाहिने भएकाले पनि नेपालमा हेक्जा र क्वाडकप्टर चल्तीमा छन्  । हाल चिनियाँ कम्पनी डीजीआईद्वारा निर्मित फ्यान्टम ब्रान्डका ड्रोन बढी चल्तीमा छन् ।

तिनको मूल्य ५० हजार रुपियाँभन्दा बढी पर्छ । विदेशबाट सामान ल्याएर जडान गरिने मल्टिकप्टरलाई भने क्षमता हेरी एक लाख रुपियाँभन्दा बढी पर्छ ।







ड्रोनका फाइदा

नेपालजस्तो विकट भौगोलिक मुलुकले ड्रोनजस्ता प्रविधिबाट धेरै लाभ लिन सक्छ । विज्ञहरूका अनुसार हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव अध्ययन गर्नदेखि हिमक्षेत्रको नियमित अनुगमन, प्राकृतिक विपत्तिको तत्काल जानकारी र अवलोकनमा ड्रोन उपयोगी बन्न सक्छ । ठूलठूला फाँटमा गरिएका खेतीमा सिँचाइ, विषादीको मात्रादेखि बालीको अवस्था थाहा पाउन पनि ड्रोनबाट खिचिएका भिडियो महत्त्वपूर्ण हुन सक्छन् । सामुदायिक वन र निकुञ्जभित्रका गतिविधिमाथि निगरानी राख्ने क्रम त सुरु नै भइसकेको छ । त्यसबाहेक चिया र स्याउ बगानको अवलोकनमा समेत ड्रोन प्रयोग गर्न सकिन्छ । दूरदराजका क्षेत्रमा कुनै प्राकृतिक विपत्ति र महामारीका घटनाका बेला कम तौल भएका अत्यावश्यक औषधी ढुवानी गर्नसमेत ड्रोन उपयोगी हुन सक्छ । यसै गरी राष्ट्रिय स्तरको सर्वेक्षणका लागि यसको प्रयोग सफल हुन सक्छ ।







विदेशको अभ्यास

विदेशमा त ड्रोनको प्रयोग अकल्पनीय ढंगले विस्तार हुँदै गएको छ । उड्न सक्ने क्षमताकै कारण कृषकले घरमै बसी आफ्नो खेतमा सिँचाइ भए-नभएको थाहा पाउन सक्ने भएका छन् । इन्प|mारेड प्रविधि जडित ड्रोनबाट बालीमा लागेको रोगको पहिचान सम्भव बनेको छ । अमेरिकामा ठूलठूला कृषि फार्ममा यसको प्रयोग भइरहेको छ ।

अहिले पशुपालनको क्षेत्रमा पनि ड्रोन उत्तिकै सहयोगी दरिएको छ । केही महिनाअघि आयरल्यान्डमा यसलाई भेडा चराउने काममा प्रयोग गरिएको थियो । सेप नाम दिइएको उक्त ड्रोनमा जडित क्यामेराको सहायताले भेडाहरूको निगरानी गरिएको थियो । कुनै भेडा छुटे त्यसलाई लखटेर झुन्डसम्म पुर्‍याउन ड्रोनलाई उनीहरूको माथिबाट उडाइएको थियो । एउटा भेडा गोठालाले जस्तै सेपले करिब ६० को संख्यामा रहेको भेडाको बथानलाई गोठदेखि चौरसम्म लैजाने-ल्याउने गर्न सक्यो ।

हलिउडमा त अब ड्रोनको प्रयोग सामान्य भइसकेको छ । निकै माथिबाट तलको दृश्य छायांकन गर्न ड्रोनको प्रयोग भइरहेको छ, जुन परम्परागत तरिकाभन्दा निकै सस्तो र सहज छ । युरोप र अमेरिकामा नाम चलेका टीभी च्यानलहरूले समाचार संकलन गर्न र सुटिङका लागि ड्रोनको प्रयोग गर्छन् । भर्खरै सम्पन्न विश्वकप क्रिकेटका केही खेलमा प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडित ड्रोन प्रयोग भएको थियो ।

सुन्दा अनौठो लाग्न सक्छ, साना र हलुका सामान ड्रोनबाट पनि ढुवानी गर्न सकिन्छ । अनलाइन सपिङको दुनियाँमा छुट्टै पहिचान बनाएको 'अमेजन'ले आउँदा दिनमा घर घरसम्म सामान पुर्‍याउन ड्रोनको प्रयोग गर्ने योजना बनाइरहेको छ । चीनको सेन्जेनमा रहेको एउटा कुरियर कम्पनी 'एस एफएक्सप्रेस'ले ड्रोनको प्रयोगको सफल परीक्षण गरिसकेको छ । लन्डनमा पिज्जा डेलिभरीको काममा पनि यसको परीक्षण गरिएको छ । डोमिकप्टर नामको त्यस ड्रोनले दुई ठूला साइजका डोमिनोजको पिज्जा चार माइल टाढाको घरमा १० मिनेटमै पुर्‍याएको थियो । जबकि, पिज्जा लिएर मानिसलाई त्यहाँसम्म पुग्न २० देखि २५ मिनेट लाग्थ्यो । अमेजनले जस्तै डोमिनोजले पनि पिज्जा डेलिभरीका लागि भविष्यमा ड्रोनकै प्रयोग गर्ने तयारी गरिरहेको छ ।

बेलायतको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले आगामी १० वर्षमा ड्रोनको व्यापार ९० अर्ब डलर पुग्ने अनुमान लगाएको छ । छिमेकी भारतमा समेत व्यापारिक र सैनिक ड्रोनको प्रयोग दिनप्रतिदिन बढ्दो छ । तर, ड्रोनको व्यापारिक प्रयोगले अहिलेसम्म वैधानिकता पाएको छैन । गत वर्ष वैशाखमा मुम्बईमा ड्रोनकै माध्यमबाट पिज्जा डेलिभरी गरिएको थियो । तर, पछि कानुनी अड्चनका कारण त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाइएन । उक्त घटनापछि 'अमेजन'ले भारतमा आफ्नो कारोबारको सञ्जाल विस्तार गर्न ड्रोनको प्रयोगका सम्बन्धमा चासो देखाइरहेको छ ।

साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis