CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सत्याग्रहको शक्ति

सत्याग्रहको शक्ति

  • एक डाक्टरको नैतिक बल चिकित्सा क्षेत्रका विकृतिविरुद्ध लड्न काफी

चिकित्सा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र अनियमितता अन्त्यलगायतका माग पूरा गर्ने सरकारी लिखित प्रतिबद्धतापछि १९ चैतमा डा गोविन्द केसीले आमरण अनशन तोडे । त्यसलगत्तै पत्रकार नारायण वाग्लेले ट्वीट गरे, 'एक जना सज्जनको भोको पेटले राज्य हल्लाउन सकेको दिन आज भन्न सकिन्छ,  यो देश बनाउन सकिन्छ ।'


१२ दिने अनशनबाट उनले हासिल गरेको सफलता भनेको सरकारले प्रक्रिया नपुर्‍याई सम्बन्धन दिएका मेडिकल कलेजको स्वीकृति खारेजी र नयाँ सम्बन्धनका आधार निक्र्यौलका लागि समिति निर्माण हो ।

सरकारसँग भएका सम्झौताबाहेक डा केसीको अनशनले स्वास्थ्य क्षेत्रमा व्याप्त विकृतिलाई सार्वजनिक बहसको विषय मात्र बनाएन, एक निष्ठावान् व्यक्तिको नैतिक बल नै सारा विकृतिका विरुद्ध लड्न काफी रहेको महत्त्वपूर्ण सन्देश पनि दिएको छ ।

एउटै मुद्दा र उस्तै विषयमा डा गोविन्द केसीले पाँचपटकसम्म अनशन बसेर आफ्नो नैतिक शक्तिलाई त प्रमाणित गरे नै, मौन बसेकाहरूलाई पनि बेथितिविरुद्ध बोल्ने साहस जुटाइदिए ।

कतिसम्म भने अनशन अवधिमा सामाजिक सञ्जालहरूमा 'आईएमविथडाकेसी' ह्यासट्याग प्रयोग गरेर १० हजारभन्दा धेरै ट्वीट भएको देखिन्छ । यसले उनको नैतिक बलले कसरी मानिसलाई संगठित गर्‍यो र शान्तिपूर्ण आन्दोलनको शक्ति कस्तो हुन्छ भनेर देखाइदियो । नागरिक अगुवा देवेन्द्रराज पाण्डे डा केसीको  अनशनकाअघि सरकार झुक्नुलाई 'अचम्म'को संज्ञा दिन्छन् । विकृति र सिन्डीकेटको बलियो जन्जाल भएको र समाजका सबै पेसा र क्षेत्र बन्धक भएका बेला उनले स्वास्थ्य क्षेत्रको विकृतिविरुद्ध निर्मम नैतिक प्रहार गरेको पाण्डेको बुझाइ छ । भन्छन्, "एक तपस्वीको अभियानले नैतिक बलको शक्ति कतिसम्म उच्च हुन्छ  भन्ने देखाइदिएको छ ।"

एमालेका १ सय ४६ सभासद्ले फागुनको अन्तिम साता निवेदन दिएका आधारमा कुलपतिको हैसियतले प्रधानमन्त्रीले चारवटा मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन सहकुलपति रहेकी शिक्षामन्त्री चित्रलेखा यादवलाई निर्देशन दिएपछि डा केसी पाँचौँपटक अनशनमा उत्रिएका थिए ।

अचम्म त के भने यसअघि सरकारले आफँैसँग गरेको सम्झौता तोड्ने निर्णयमा प्रधानमन्त्री पुगेपछि डा केसीले अनशनको बाटो अख्तियार गरेका थिए । नागरिक अगुवा पाण्डे अनशनले स्वास्थ्य क्षेत्रका विकृति मात्रै सतहमा नल्याएको बरू यसले राजनीतिक दलहरू कुन हदसम्म अकर्मण्य र लाचार छन् भनेर पनि सावर् जनिक गरेको बताउँछन् । भन्छन्, "यो सत्याग्रह भागबन्डामाथिको सबैभन्दा गतिलो प्रहार हो ।"

चिकित्सा शिक्षा नीति तयार पार्न गठित कार्यदलको संयोजकसमेत रहेका पूर्वउपकुलपति केदारभक्त माथेमा कुनै पनि सभ्य र नैतिक समाजमा सार्वजनिक हितको मागका निम्ति ज्यानकै बाजी थापेर अनशनसम्म बस्नुपर्ने अवस्था आउनु नै ठीक नभएको बताउँछन् । भन्छन्, "डा केसीको अनशनले नैतिक मूल्यको  गरिमा मात्रै बढाएको छैन, आमजनतामा विकृतिविरुद्ध लड्नुपर्छ भन्ने सन्देश पनि प्रवाहित गरेको छ ।"

डा केसी स्वास्थ्य क्षेत्रकै विकृतिविरुद्ध पाँचपटक गरी ४३ दिन अनशन बसिसकेका छन् । अगुवा पाण्डेको शब्दमा उनको सत्याग्रहले दिएको अर्को सन्देश त्यागी र निष्ठावान् मान्छे अघि सर्‍यो भने परिवर्तन सम्भव छ भन्ने पनि हो । अन्य क्षेत्रमा पनि डा केसीजस्तै तपस्वी अभियन्ताको खाँचो छ ।





अनशनका मुख्य उपलब्धि 

-  नीति-कानुन नबनेसम्म मेडिकल कलेजलाई सम्बन्धन दिन बन्द ।

-  चिकित्साशास्त्र अध्ययन संस्थान टुक्र्याउनेलगायतका निर्णय कार्यान्वयन नहुने ।

-  चिकित्सा विश्वविद्यालयसम्बन्धी विधेयक तीन महिनाभित्र संसद्मा पेस हुने ।

-  मापदण्ड पूरा नभएका मेडिकल कलेजको पुनःमूल्यांकन हुने ।

-  चिकित्साशास्त्र र अन्य सम्पूर्ण विषयमा सबै कोर्सको सबै तहको वैज्ञानिक शुल्क निर्धारण हुने ।

-  सरकारी शिक्षण संस्थाहरूमा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच तहमा निःशुल्क अध्ययन हुने ।

-  पाँच विकास क्षेत्रमा आगामी पाँच वर्षमा एक-एक सरकारी मेडिकल कलेज स्थापना हुने ।

साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis