CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » राष्ट्र सेवक प्रहरीकै कन्तबिजोग † सरकार रमिते १४ घन्टा ड्युटी गरेपछि बस्ने/सुत्ने ठाउँ छैन

राष्ट्र सेवक प्रहरीकै कन्तबिजोग † सरकार रमिते १४ घन्टा ड्युटी गरेपछि बस्ने/सुत्ने ठाउँ छैन

POLICE'S TENT (3)काठमाडौं । नेपाल प्रहरी, त्यो पनि महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध महाशाखा हनुमान ढोका (अहिले टेकुमा अस्थायी अवस्थामा छ) को नाम सुन्दा नै धेरैको मनमा लाग्न सक्छ –सुसज्जित र अत्याधुनिक भवन होला, अनुसन्धान गर्ने उस्तै प्रयोगशाला, ठाउँ होलान् । १२/१४ घण्टा ड्युटीमा खटिएपछि आराम गर्ने स्थान पनि सुविधा सम्पन्न नै होला, आदि इत्यादि । तर, नेपाल प्रहरीको दुर्भाग्य † लाखौं महानगरवासीलाई सुरक्षा प्रदान गर्नुपर्ने महानगरीय प्रहरी परिसरबारे हामीले सुनेका आधारमा यस्तो धारणा
बनाइराखे पनि वास्तविकता भने अकल्पनीय छ । बिडम्बना नै भन्नुपर्छ, २०७२ वैशाख १२ गतेको भूकम्पपछिको एक वर्षमा यसले गोरखाका वारपाकवासीले भन्दा निकै सास्ती खेप्दै आइरहेको छ ।
काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाले निक्कै कष्टकर अवस्थामा कार्य सम्पादन गरिरहे पनि यतातिर सरकार र गृह मन्त्रालयको ध्यान आकृष्ट हुन सकेको छैन ।
गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले यी निकायको हरिबिजोग देख्दादेख्दै पनि स्थायी बसोबासका लागि तत्परता नदेखाउँदा महानगरीय प्रहरी परिसरका प्रहरीहरू कष्टकर जीवन बाँच्न बाध्य छन् । सम्बन्धित निकायले बेवास्ता गर्दा परिसरका प्रहरीहरू १२/१४ घण्टा ड्युटीमा खटिएपछि फर्किएर टेन्टमुनि कन्तबिजोगसंग बस्न, सुत्न बाध्य छन् ।
लामो समयसम्म स्थायी बसोबासको व्यवस्था सरकारले नमिलाउँदा करिब आधा करोड जनसंख्या रहेको राजधानी तथा त्यसैको शान्ति सुरक्षामा मुख्य भूमिका निर्वाह गर्ने दायित्व बोकेको काठमाडौं प्रहरी परिसर तथा अपराध महाशाखा भने आफैं बिचल्लीमा पर्दै आइरहेका छन् ।
यस्ता छन् प्रहरी परिसरको समस्या
२०७२ वैशाख १२ को भूकम्प अगाडिसम्म महानगरीय प्रहरी परिसर, काठमाडौं हनुमान ढोकाको पुरानो घरमा बस्दै आएको थियो । भूकम्पले भवनमा क्षति पुर्‍याएसंगै परिसरलाई टेकुको नेशनल ट्रेडिङ भवन नजिकै रहेको एक बैंक्वेटको बरन्डामा सारियो । परिसरले बैंक्वेटकै बरन्डा काम चलाइरहे पनि महाशाखा भने नेशनल ट्रेडिङमा उतिबेलै सारिएको थियो । तर, नेशनल ट्रेडिङमा सारिए पनि यसको अवस्था झनै दयनीय छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी प्रद्युम्नकुमार कार्कीले ‘सुविधानजनक स्थानमा बसेर काम गर्न नपाउँदा समस्या भोग्नु परिरहेको’ गुनासो गरे । अहिलेको ठाउँमा बसेर काम गर्दा ब्यारेक, भवन, कार्यालय सञ्चालन, शौचायल, अनुसन्धान तथा भान्सामा जटिलता उत्पन्न भएको उनको भनाइ छ । ‘यहाँ सरेपछि प्रहरीलाई दैनिक कामकाज गर्न अप्ठ्यारो छ,’ एसपी कार्कीले साँघु प्रतिनिधिसंग भने, ‘यो अवस्थाबारे माथिल्लो निकायलाई हामीले अवगत गराउँदै आइरहेका छौं ।’
POLICE'S TENT (2)दैनिक ३/४ सय सेवाग्राही उपस्थित हुने परिसरमा स्थान अभावका कारण सेवाग्राही पनि उस्तै झन्झट व्यहोर्न बाध्य छन् । कार्यालय कक्ष साँघुरो हुँदा सेवाग्राही खचाखच स्थानामा घण्टौं उभिएर सेवा लिन बाध्य छन् ।
महानगरीय प्रहरी परिसरका जवान तथा अधिकारीहरूको वर्ष दिनदेखि पालमुनिको बसाई छ । सरकारले भूकम्पपछि अस्थायी रुपमा टेकुमा पालमुनि ब्यारेक बनाएर राख्दै आएकोमा अहिले पनि उनीहरूलाई राम्रो व्यवस्था गर्नुुको सट्टा पालमुनि नै राखिराखिएको छ । नेशनल ट्रेडिङको भवनमा कैदी–बन्दीबाहेक अन्य सबै प्रहरी टेन्डमुनि बस्दै आइरहेका छन् । महानगरीय प्रहरी परिसर नमुना हुनुपर्नेमा गएगुज्रे र श्वास प्रश्वासका लागि कष्टकर भएको भन्दै त्यहाँका प्रहरीहरूले असन्तुष्टि जनाए पनि अवस्था सुध्रिने कुनै छाँटकाँट देखिएको छैन ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव यादवप्रसाद कोइराला स्वयं पनि महानगरीय प्रहरी परिसर पालमुनि बस्नु ठीक नभएको बताउँछन् । उनी प्रहरीको यस्तो टीठलाग्दो हविगतले सरकारकै बेइज्जत भएको तर्क गर्छन् । ‘महानगरीय अपराध महाशाखा र प्रहरी परिसर एक वर्षसम्म पालमै बस्नु दु:ख लाग्दो कुरा हो,’ प्रवक्ता कोइरालाले भने, ‘यसले हाम्रै बेइज्जत भइरहेको छ ।’
यद्यपि, उनले यसबारे मन्त्रालयले गम्भीरतापूर्वक सोचेको र अवस्था सुधार्न लागिपरेको जिकिर गरे । उनका अनुसार, जग्गा खोजेर भवन बनाउने भनेर अहिलेको बजेटमा व्यवस्था गर्ने काम भइरहेको छ । ‘मुख्य कुरा जग्गा नै हो, हामीले अहिले पनि खोजिरहेका छौं, तर हामीले खोजेजस्तो जग्गा नै पाइरहेका छैनौं,’ उनले भने, ‘भनेजस्तो जग्गा भेटिएलगत्तै यसलाई व्यवस्थित गर्ने हाम्रो सोच छ ।’
नेपाल प्रहरीका प्रवक्ता तथा एआइजी माधवप्रसाद जोशीले पनि जग्गा खोज्ने काम भइरहेको तर, अहिलेसम्म मिल्दोजुल्दो नपाइएको बताए ।
काठमाडौं प्रहरी नै मालमुनि बस्नुले सरकारले भूकम्पपछि जति ठूला कुरा गरे पनि शान्ति सुरक्षामा खटिने प्रहरीकै व्यवस्थापन गर्न नसक्नु लाजमर्दो कुरा भएको सर्वसाधरणको टिप्पणी छ । चिसोमा सहनै नसक्ने र गर्मी समयमा धुलोमा टेन्डमुनि लामखुट्टेको सामना गर्न प्रहरीहरू बाध्य छन् भने वर्षामा हिलोको सामना गर्दै बस्न बाध्य हुनु परेको छ ।
कैदीबन्दीलाई पनि उस्तै सास्ती
प्रहरीको जस्तै कैदीबन्दीको अवस्था पनि नाजुक छ, कारागारमा । कारागार साँघुरो हँुदा एकातिर कैदीबन्दी कोचिएर बस्न बाध्य छन् भने अर्कातिर शौचालयलको महासमस्या पनि उस्तै भौगिरहेका छन् । थुनुवा कक्षमा ४० जनासम्म अटाउन सक्ने भएपनि कहिलेकहीँ ८०/९० जनासम्म कैदी राख्ने गरिएको छ ।
अपराध महाशाखाको उस्तै छ अवस्था
POLICE'S TENT (4)भूकम्प अगाडि महानगरीय प्रहरी परिसरकै भवनमा रहेको अपराध महाशाखा अहिले भने नेशनल ट्रेडिङ नजिकैको एक बैंक्वेटको बराण्डामा बस्दै आएको छ । अस्थायी रुपमा महाशाखाको काम कारबाही नरोकियोस् भनेर बैंक्वेटको बरण्डामा राखिए पनि वर्षदिनसम्म पनि सरकारले स्थायी बसोबासको व्यवस्था गर्न सकेको छैन ।
बैंक्वेटको बराण्डामा रहेर कार्य सञ्चालन गर्दा अनुसन्धानलगायत काममा बाधा पुगेको छ भने सर्वसाधरणको नजरमा प्रहरीको छवि खस्कँदै गएको स्वयं प्रहरी अधिकारीहरू बताउँछन् ।
महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले स्थायी भवन नहुँदा व्यवहारिक समस्या आउने गरेको साँघु प्रतिनिधिसंग गुनासो ब्यक्त गरे । ‘हाम्रो अवस्था यस्तै छ देखिहाल्नु भयो,’ बैंक्वेटको बराण्डामा भेटिएका एसएसपी खनालले भने, ‘हुन त खुल्ला छ त्यसरी हेर्दा राम्रै पनि हो, तर व्यवहारिक समस्याहरू धेरै आइरहेका छन् ।’
अपराध महाशाखा जस्तो संवेदनशील निकाय बैंक्वेटको बराण्डामा बसेर कार्य सम्पादन गर्दा सोधपुछ तथा अनुसन्धान कार्यमा पनि असर परेको प्रहरीको भनाइ छ । हावाहुरी तथा वर्षात्को समय नजिकिंदै गएकाले प्रहरी थप सास्ती र हैरानी पाउने भयले त्रस्त बनेका छन् ।
बैंक्वेटलाई पनि अप्ठ्यारो
लामो समयदेखि बैंक्वेटमा प्रहरी बसेर कार्य सम्पादन गर्दा बैंक्वेटले पनि असजिलो महसुस गर्दै आइरहेको छ । सासा बैंक्वेटका महाप्रबन्धक रामकृष्ण क्षेत्रीले सुरक्षाको हिसाबले राम्रो भएपनि ब्यापारका हिसाबले निकै असर परेको गुनासो साँघु प्रतिनिधिसंग गरे । महाशाखा बैंक्वेटकै बराण्डामा बसे पनि यसको भाडा तथा बिजुली बत्तीसमेतको बिल बैंक्वेटले नै बेहोर्दै आएको उनले बताए ।
समस्यासँग जुद्धै, चुस्त सेवा दिंदै
महानगरीय प्रहरी परिसर काठमाडौं नेशनल ट्रेडिङको भवनमा र अपराध महाशाखा बैंक्वेटको बराण्डामा सकसका साथ बसिरहे पनि कार्यसम्पादन भने त्यति फितलो छैन । अस्थायी ठाउँमा एक वर्ष बिताउन लागेर महाशाखाको कमाण्ड सम्हालिरहेका एसएसपी सर्वेन्द्र खनाल र परिसरको कमाण्ड सम्हालिरहेका एसएसपी विक्रम सिंह थापाको टिमले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण जस्ता क्षेत्रमा महत्वपूर्ण कामहरू कष्टकर स्थानमा बसेर पनि निकै सक्रियतापूर्वक गरिराखेकाले प्रहरीको काम कारबाहीमा चुस्तता उत्तिकै रहेको बुझ्न सकिन्छ ।
म्याच फिक्सिङ, घैंटे प्रकरण, दुगडको खाने तेल कालोबजारी, भेनिसा हत्यकाण्ड, गायिका रेखा शाहको ठगी प्रकरण, १६ युवती ठग्ने जीवन तामाङ प्रकरणलगायत अपराधकाण्डमा यी निकायले महत्वपूर्ण काम गरेर सर्वसाधरणको मन जित्नु प्रशंसनीय काम भएको सर्वसाधारणहरू बताउँछन् ।
साभार : साँघु 
फोटो साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis