४ फागुनमा बैंककस्थित एक रेस्टुराँमा नेपाली समुदायले पूर्वयुवराज पारस शाह, ४२, का लागि रात्रिभोजको आयोजना गर्यो। आयोजकहरूले पारसलाई 'युवराजाधिराज सरकार'का रूपमा सम्बोधन गरे। तर, यस्तो सम्बोधन पारसले रुचाएनन्। भावुक हुँदै पारसले अनुरोध गरे, "तपाईंहरू वास्तविकतामा आइदिनूस्, वास्तवमा अब म त्यो विगत बिर्सन चाहन्छु।"
उनी साँच्चिकै सबै पुराना कुरा बिर्सने गरी अचेत हुन पुगेका छन्। १२ फागुन बिहान यो पंक्ति लेखिरहँदासम्म बैंककस्थित समितिवेज सुकुम्बित अस्पतालमा उनी जीवन-मरणको दोसाँधमै छन्। पाँच वर्षअघि २० भदौ २०६४ मा पारसलाई पहिलोपटक साधारण हृदयाघात भएको थियो।दुई वर्षयता उनको आफ्नी पत्नी हिमानीसँगको सम्बन्ध सुमधुर थिएन। तैपनि, पूर्वयुवराज्ञी हिमानी बिरामी कान्छी छोरी कृतिकालाई काठमाडौँमा छाडेर ११ फागुनको अपराह्न बैंकक पुगिसकेकी छन्। पारसलाई बैंककमा हृदयाघात भएकै मध्यराती बाराको सिमरामा रहेकी छोरीलाई एपेन्डिसाइटिस भएको र काठमाडौँस्थित नर्भिक अस्पतालमा शल्यक्रिया गरेलगत्तै हिमानी बैंककतर्फ लागेकी हुन्।
परिवारका सदस्यहरूमा एकपछि अर्को गर्दै गम्भीर स्वास्थ्य समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र पीडामाथि पीडा सहेर बस्न विवश छन्। जस्तो : पूर्वरानी कोमललाई दरबार हत्याकाण्डमा लागेको गोलीका कारण श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि गत पुसमा सिंगापुर लैजानुपर्ने भयो। कोमलको छातीमा पेस मेकर जडान गरेर तत्कालको समस्या टारिएको छ। राजदरबारका पूर्वसंवाद सचिव फणिराज पाठक भन्छन्, "दरबार हत्याकाण्डपछि पूर्वराजपरिवारलाई सबैभन्दा ठूलो पीडा यतिबेला परेको छ।"
पीडा त पूर्वराजपरिवारलाई यसअघि पनि थियो। र, त्यसका धेरै कारण स्वयं पूर्वयुवराज नै थिए। उनको क्रियाकलापका कारण पूर्वराजपरिवार एकपछि अर्काे विवाद र अप्ठ्यारोमा पर्दै आएको छ। शासनसत्ता आफ्नै हातमा लिने राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षाले राजतन्त्र बदनाम र गणतन्त्र स्थापना हुनुमा जति भूमिका खेल्यो, त्यत्तिकै भूमिका पारस शाहजादा हुँदा र पछि युवराज भइसकेपछिका क्रियाकलापहरूले पनि खेले।
राजतन्त्रको समाप्तिपछि पनि पारसको व्यवहारमा खासै परविर्तन आएन। लोकतन्त्र स्थापनालगत्तै उनले सुरक्षाका लागि राखेका चाइनिज पेस्तोल, अमेरिकी एम-१६ बन्दुक र इजरायली उजी राइफल सेनाले फिर्ता लियो। यस्ता धेरै घटनाहरूका कारण नेपालमा असुरक्षित महसुस गरेका पारसले आफू सिंगापुर गएर बस्ने र पत्नी हिमानीसहित तीनै केटाकेटीलाई पनि उतै लगेर पढाउने प्रस्ताव राखे। उनको यो योजनामा ज्ञानेन्द्रले पनि सहमति जनाए। हिमानी पारससँगै सिंगापुर जान राजी भइन्। उनलाई सिंगापुर जान दिनुको भित्री कारण त्यहाँको कठोर कानुनी व्यवस्थाका कारण पारसको स्वभावमा परविर्तन आउला भन्ने आशा थियो।
भइदियो उल्टो। सिंगापुरमा पनि उनको स्वभावमा कुनै परविर्तन आएन। अघिल्लो वर्ष एक रेस्टुराँमा तोडफोड गरेको अभियोगमा उनी पक्राउ परे। यसभन्दा पनि निर्मल निवासका लागि अझ ठूलो टाउको दुखाइको विषय बन्यो, पारस-हिमानी सम्बन्ध। खासमा पारसको विवाहेत्तर सम्बन्धका कारण पतिपत्नीबीच खटपट हुन थालेपछि हिमानी आफ्ना तीन केटाकेटीलाई लिएर २०६५ असोजमै काठमाडौँ फर्किन्, जबकि छोरी पूणिर्का र छोरा हृदयेन्द्रलाई सिंगापुरको क्यानेडियन स्कुल भर्ना गरिएको थियो। तैपनि, पारसलाई परविर्तन गराउन उनी सिंगापुर फर्किन्। तर, त्यही वर्षको १२ कात्तिकमा उनी सिंगापुरमा नबस्ने गरी स्थायी रूपमै काठमाडौँ फर्किन्।
स्रोतका अनुसार सिंगापुरबाट प्राप्त हुने पारससम्बन्धी समाचारले गर्दा ०६६ मध्यतिर हिमानीको पारससँगको सम्बन्ध कति बिगि्रसकेको थियो भने उनी पारपाचुकेको मनस्थितिमा पुगिसकेकी थिइन्। छोरा पारसको व्यवहारबाट उत्तिकै दिक्क र लज्जित पूर्वराजा ज्ञानेन्द्र पनि हिमानीको प्रस्तावको विरोध गर्न नसक्ने स्थितिमा पुगिसकेका थिए। तर, बहिनी प्रेरणाले पारपाचुके हुन नदिन मध्यस्थता गरनि्। र, सम्बन्धमा पुनः सुधार आयो। यो बेग्लै कुरा हो कि त्यो सुधार धेरैसम्म रहेन। वैशाख ०६७ मा पारसले यस संवाददातासँगको अन्तरक्रियामा भनेका थिए, "धेरै पिएपछि मेरो हात चाँडो अघि सर्छ। नशाले छाडेपछि मात्र म यी कुरा थाहा पाउँछु। रक्सी पिउन छाडेपछि हाम्रो सम्बन्ध राम्रो बनेको छ।"
यही स्थितिका बीच दुई वर्षजति सिंगापुर बसेर पारस ०६७ मा थाइल्यान्ड बसाइँ सरे। पारस बैंकक बसाइँ सर्नुको मुख्य कारण उनले सिंगापुरमा असुरक्षित महसुस गर्नु थियो। थाइल्यान्डमा रहँदा सुरुको वर्षमा परिवारसँग सम्पर्क रह्यो, एकपटक हिमानी पनि उनलाई भेट्न त्यहाँ पुगिन्। तर, सम्बन्धमा खासै सुधार आएन।
४ फागुनमा हृदयाघात हुनुअघि पारसको परिवारसँग कुनै सम्पर्क-सम्बन्ध थिएन। एक वर्षयता उनी परिवारसँगको सम्बन्धबाट पूर्ण रूपले टाढा थिए। परिवारसँग उनको सम्बन्ध कति नराम्रोसँग बिग्रेको थियो भन्ने कुरा एक वर्षयताका महत्त्वपूर्ण पारिवारकि उत्सवमा उनको अनुपस्थितिले देखाउँछ। दुई वर्षअघिसम्म यस्ता महत्त्वपूर्ण पारिवारकि कार्यक्रमहरूमा भाग लिन उनी काठमाडौँ आइरहन्थे। पिता ज्ञानेन्द्रको जन्मदिन (२२ असार), आमा कोमलको जन्मदिन (७ फागुन), छोराछोरीहरूको जन्मदिन र आफ्नै जन्मदिनका कार्यक्रममा भाग लिन सिंगापुरबाट पारस ०६७ सम्म काठमाडौँ आउँथे र कार्यक्रम सकिएपछि उतै फर्किन्थे। थाइल्यान्ड गएपछि चाहिँ यो क्रम रोकियो। गत वर्ष र यस वर्ष यस्ता कुनै पनि कार्यक्रममा भाग लिन उनी काठमाडौँ आएनन्। आमा कोमलसँग पारसको सम्बन्ध रामै्र भए पनि उनको जन्मदिनमा समेत उनी आएनन्।
बहिनी प्रेरणासँग उनको सम्बन्धचाहिँ जहिल्यै सुमधुर रह्यो। गत पुसमा थाइल्यान्डको फुकेटस्थित आफू बस्दै आएको अपार्टमेन्ट तोडफोड गरेर झ्यालढोका र सोफाहरू फुटाएको आरोपपछि क्षतिपूर्तिबापत १२ लाख थाई भाट (करबि ३४ लाख ५० हजार रुपियाँ) तिर्नुपर्ने भयो। यो रकमको अधिकांश हिस्सा प्रेरणाले पठाइदिएकी थिइन्। जरिवाना रकम तिर्न थाइल्यान्डस्थित नेपालीहरूले पनि चन्दा उठाएर सहयोग गरेका थिए। काम गर्न विदेश गएका नेपालीहरूले पूर्वयुवराजका लागि चन्दा उठाउनुपर्ने स्थिति सिर्जना हुनुले पनि देखाउँछ, पारसको परिवारसँगको सम्बन्ध कति बिग्रेको रहेछ भनेर। नत्र, उनका लागि यति रकम पठाइदिनु पूर्वराजपरिवारका लागि कुनै ठूलो कुरा थिएन।
दोस्रोपटक हृदयाघातका कारण पारस अचेत भएपछि पूर्वराजा ज्ञानेन्द्र निकै चिन्तित बनेका छन्। ९ फागुनमा बैंकक पुगेका स्वर्गीय धीरेन्द्र शाहका छोरीज्वाइँ डा राजीव शाहीले अस्पतालबाट सूचना संकलन गरी नियमित रूपमा ज्ञानेन्द्रलाई जानकारी गराइरहेका छन्। पूर्वसंवाद सचिव पाठक पूर्वराजाले सिमराबाट दिने सूचनाका आधारमा आफूले सञ्चारमाध्यमहरूलाई पारसको स्वास्थ्यस्थितिबारे जानकारी गराइरहको बताउँछन्। "बैंककबाट त्यो दुखद खबर आउनासाथ यता नातिनी कृतिकाको स्वास्थ्यमा समस्या उत्पन्न भयो, त्यसैले उहाँ बैंकक जानुभएन," पाठक भन्छन्, "पूर्वअधिराजकुमारी प्रेरणासहित डा राजीव शाहीलाई तत्काल बैंकक जान उहाँकै निर्देशन हो।"
विवादित विगत
असार ०५३
पारसले चलाएको अनियन्त्रित गाडीद्वारा मध्यरातमा पुतलीसडकमा रहेको ट्याक्सीलाई ठक्कर दिँदा एक ट्याक्सी ड्राइभरको मृत्यु, चार जना घाइते ।
१९ माघ ०५३
राती २ बजे सोल्टीको अडियो भिडियो हलमा सहयोगीसहित प्रवेश गरी फ्लोर म्यानेजर गोविन्द प्रधानमाथि पेस्तोल ताके । त्यहाँबाट साढे ३ बजे एभरेस्ट क्यासिनो पुगेर त्यहाँ पेस्तोलबाट हवाई फायर ।
१३ चैत ०५३
नारायणगढस्थित बसपार्कमा पारसको स्थानीय युवाहरूसँग विवाद र कुटपिट । कुटपिट गर्ने युवाहरूलाई गाडीबाट पिछा गर्ने क्रममा पारसको गाडीले प्रहरीको गाडीलाई समेत ठक्कर ।
२२ साउन ०५७
लाजिम्पाटस्थित एक्सजोन डिस्कोमा कुटपिट । कुटपिट गर्ने युवाहरूलाई महेन्द्र प्रकृति संरक्षण कोषका नाममा रहेको बा३च ९९२ नम्बरको गाडीमा खोज्न निस्केका पारसले जय नेपाल सिनेमा हलनजिक संगीतकार प्रवीण गुरुङको बा८प २९० को मोटरसाइकललाई ठक्कर दिँदा गुरुङको निधन ।
यसका विरुद्धमा तत्कालीन नेकपा (माले)को भ्रातृसंगठन अनेरास्ववियुले दरबारमा ७ भदौ ०५७ मा ५ लाख २३ हजारको हस्ताक्षर बुझाएर पारसमाथि कारबाहीको माग । ओखलढुंगाका खड्कबहादुर घर्तीलाई नक्कली ड्राइभर बनाएर पारसलाई जोगाइएको आरोप ।
२३ असार ०६१
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा नारायणहिटीमा आयोजित रात्रिभोज कार्यक्रम सकिएपछि मध्यरातमा एभरेस्ट होटल पुगेका पारसले त्यहाँ आफूलाई पछ्याउँदै आएकी पत्नी हिमानीलाई तर्साउन होटलभित्रै हवाई फायर । फेरि दरबारमार्गमा होहल्ला र मध्यरातमै पोखरा प्रस्थान ।
१५ असोज ०६१
होटल एभरेस्टको ग्यालेक्सी डिस्कोमा राजा ज्ञानेन्द्रका व्यापारिक साझेदार प्रभाकरशमशेर राणाका छोरा सिद्धार्थ राणा र उनकी श्रीमती नीलिमामाथि आक्रमण । सिद्धार्थको खुट्टा भाँचिनुका साथै नीलिमाको अनुहारमा चोट ।
१२ वैशाख ०६५
कमलादीस्थित मुनसुन डिस्कोमा बितन्डा ।
२५ मंसिर ०६७
सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीसँग चितवनको मेघौलीस्थित टाइगर टप्स होटलमा वादविवाद । भोलिपल्ट पारसले आफूमाथि गोली चलाएको रुबेलको आरोप । विवाद अदालतसम्म ।
३ जेठ ०६८
दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रहेको रोयल क्यासिनोमा झगडा र कुटपिट ।
७ कात्तिक ०६९
थाइल्यान्डको फुकेटमा प्रतिबन्धित लागूऔषधसहित पक्राउ। पुनःस्थापन केन्द्रमा राख्न आदेश दिए पनि छाती दुखेको भन्दै रिहा र १९ मंसिरमा फेरि पक्राउ ।
२३ पुस ०६९
थाइल्यान्डमा एक वर्षदेखि बस्दै आएको अपार्टमेन्टमा होहल्ला र तोडफोड गरेको आरोप । बहिनी प्रेरणा र स्थानीय सहयोगीबाट संकलित रकम अपार्टमेन्ट व्यवस्थापनलाई क्षतिपूर्तिबापत भुक्तानी ।
सीताराम बराल , नेपाल