बसुन्धरापार्क, पामे, लेकसाइडलगायत क्षेत्रमा बेपर्वाह रमाउने जोडीहरू अचेल पोखराका डाँडाकाँडा चहार्न थालेका छन्। एक हिसाबले डाँडाकाँडाले उनीहरूको उद्धार गरिदिएका छन्।
प्रेमजोडीका लागि पोखराको 'डरलाग्दो' वातावरणका विकल्प सराङकोट, काहुँडाडा, कार्की डाँडा, शान्ति स्तुप, धम्पुस, काँडे, नाउँडाँडा, सुन्दरी डाँडा, मट्टिखान, पाउँदुर, ठूलाकोट, कालिका, माछापुच्छ्रे भ्युटावर, पोखरा भ्यू प्वाइन्ट, भालु पहाडलगायत डाँडा हुन थालेका छन्। यी डाँडामा आजभोलि युवायुवीत निर्धक्क डेटिङमा रमाइरहेका भेटिन्छन्। 'पहिले यस्तो थिएन, केही हप्तादेखि केटाकेटी घुम्न खुब आउन थालेका छन्,' माछपुच्छ्रे भ्युटावरमा भेटिएका सञ्जय बराल भन्छन्, 'गर्मी भएर पनि होला, जोडी बनेर घुम्न आउनेहरू बढेका छन्।'
पोखराको रमाइलो वावरणमा रमाउन बानी परेकाहरू निकै टाढा डाँडामा डेटिङमा पुग्दा उनीहरूलाई विभिन्न समस्याले सताउने गरेका छन्। समय मिलाउनुपर्ने, टाढा भएकाले कसैले देख्नेबित्तिकै शंकाको घेराभित्र परिहालिने आदि समस्या छन्। सधँै पेट्रोल अभाव भएकाले डेटिङ जानसमेत मुस्किल पर्न थालेको विनय पुन बताउँछन्। 'पोखरामै रमाउन सजिलो हुन्छ, टाढा जाँदा पैसा, पेट्रोल र समय म्यानेज गर्न मुस्किल पर्छ,' उनी भन्छन्, 'पोखराका विभिन्न ठाउँमा सँगै बस्ने जोडीलाई प्रहरीले पक्राउ गरेर बोर गरेको छ।' उनले कसैलाई डिस्टर्ब नगरी पार्क, ताल, मन्दिर आसपास बसिरहेका प्रेमजोडीलाई पक्रनु गलत कार्य भएको दाबी गरे।
धमाधम प्रेमजोडीहरू पक्राउ परेपछि धेरै युवाले पुलिसको यस्तो शैलीको विरोध गरेका छन्। तर, केही युवायुवतीभने प्रहरीको यो कार्यले डेटिङ जान झन् सहज भएको सुनाउँछन्। 'पोखराको जुन ठाउँमा बसे पनि घरनजिकै धेरैले देख्लान् भन्ने पीर! यहाँ शान्ति छ र भीडभाड छैन पनि कम छ,' गर्लफ्रेन्डसँगै शान्ति स्तुपमुनि भेटिएका शिव कार्की भन्छन्, 'टाढा भएपछि कसैले देख्ला भन्ने पीर पनि छैन। तनाव लिएर बस्नु पनि पर्दैन।'
पछिल्लो समय यो क्षेत्रका विभिन्न डाँडाहरू प्रेमजोडीले भरिभराउ हुने गरेका छन्। यी डाँडामा पोखरासँगै तनहुँ, स्याङ्जा, बागलुङ र पर्वत जिल्लाबाट समेत युवाहरू आउने गर्छन्। मानिसको चाप कम, यातायातको सहज पहुँच भएकाले पनि डाँडाहरू सबैका रोजाइ बनेका हुन्। वरपर खाजा खान र बास बस्नसमेत राम्रा होटल छन्।
मनोज घर्तीमगर-शुक्रबार

This comment has been removed by a blog administrator.
ReplyDelete