करिव दश बर्षको शसस्त्र लडाइ लडेको माओवादी आफ्नो अध्यक्ष प्रचण्डसँगै शहर पसेको थियो। तत्कालिन माओवादी शहर पसेसँगै मनागरिकलाई एकातिर शान्तिको आशा थियो। अर्कोतिर अनाहकमा मान्छे नमर्ने भए वा दुख नपाउने भए भन्ने खुसी थियो। गरिखानेहरुले आ आफ्नो गरिखान अब कसैले रोकतोक गर्दैन भन्ने थियो। तर बुढानिलकण्ठका राजु श्रेष्ठलाई माओवादी शहर
छिरेपछि शान्ति हैन झन अशान्ति भयो। सुख हैन झन दुख भयो। धन्न ज्यान गुमाएनन् श्रेष्ठले। शहर छिरेका उनै माओवादीले उनलाई शारीरिक तथा मानसिक यातना मात्र दिएनन भएको सवारी साधन र गरगहना र अन्य केहि सामग्री समेत लगे। हाँसिखुसी रहेको परिवार रोएको अवस्थामा पाए श्रेष्ठले। आफ्नो आँखै अगाडी आफ्नो सवारी साधन प्रचण्डले शानले चढेको देख्दा कम्ति रिस उठ्दैनथ्यो राजुलाई। कानुन हातमा लिएर माओवादीले आफूमाथि गरेको ज्यादती धेरैलाई सुनाए राजुले तरपनि सुनुवाइ भएन। रक्षाबन्धनका दिन काठमाडौं गणेशस्थाननिर भेटिएका श्रेष्ठले हाम्रा सहकर्मी अजयबाबु शिवाकोटीसँग आफू माओवादीबाट अपहरण भएको देखि माओवादीले यातनागृहमा दिएको यातना र पीडाका अनेक कुरा भनेका छन। कसरी माओवादीले लगेपछि उनका अध्यक्षले चढ्दै आएको सवारी साधन आफूहरुले खोसेर ल्यायौं भन्नेसम्मका कुरा उनले सो भेटमा गरेका छन्। प्रस्तुत छ सोहि भेटमा श्रेष्ठले बताएका कुराहरु सारसंक्षेपमाः
भर्खर दशै सकिएको थियो। तिहारको रमझम शुरु भएको थिएन। तिहार लाग्नै लाग्दा पनि पानी पर्न रोकिएको थिएन। बुढानिलकण्ठमा पानी पर्ने बेलामा अलिअलि चिसो नै हुन्छ। सदा झै विहान नुहाएर नित्य पूजाको तयारी गर्दै थिए। दैनिक रुपमा बिहान पूजा गर्ने मेरो बानी छ। १२ बर्ष जापान गएर आउनुभएका जेठान दाई पूर्ण बहादुर गुरुङ, वायाँ हात र खुट्टा नचल्ने जेठान दाई लोक बहादुर गुरुङले मन्दिर जानलाई गाडी माग्नुभएको थियो। नाताले जेठान दाई नै पर्ने साइला दाई पनि उहाँसँगै जानु भएको थियो। उहाँ सेनाका पूर्व जवान हुनुहुन्थ्यो। उहाँका माइला दाजु सेनामा हुँदा माओवादीले थापेको एम्वुसमा परेर गोरुसिंगेमा मारिनुभएको थियो। पछि उहाले पारिवारीक दवावमा सेनाको जागिर पनि छोड्नुभएको थियो। साथमा उहाँसगै मेरा केहि सहयोगि पनि गएका थिए। उहाँहरु मेरा सासुआमालाई तिहारका लागि लिन आउनुभएको थियो।
जेठान दाइहरु गाडी लिएर घरबाट जानु भएपछि म नित्य पूजा गर्न पूजा कोठामा गए। पूजा सकिनै लागेको थियो। आरति गर्न हातमा शंख घण्ट लिएको थिए। अचानक मेरो पूजा कोठामा मैले कहिले पनि नदेखेका मान्छेहरुले घेरेका रहेछन्। उनीहरु शसस्त्र थिए। हातमा खुँडा खुकुरी र पेस्तोल समेत उनीहरुले बोकेका थिए। उनीहरुले राजु श्रेष्ठ कोहो भन्दै ठूलो स्वरमा हप्कीदप्की गरेको सुने। पूजा कोठामा नै करिव २० जना आएका रहेछन उनीहरु। मेरै घरमा मलाई नै त्यसरी खोजेको देखेर अचम्ममा परे। अलिअलि रीस पनि उठ्यो। मैले म राजु श्रेष्ठ के भनेको थिए एउटाले पछाडीबाट मेरो टाउकामा अचानक रड प्रहार गर्योन। मैले प्रतिकार गर्न पनि भ्याइन। एक्लो मान्छेलाई चौतर्फि प्रहार भयो। केहिलाई त मैले पनि एक दुइ लात हाने। दोहोरो जस्तो भयो मुठभेड। मलाई उनीहरुले जथाभावी हान्दा समेत केहि नलागेपछि उनीहरुले मलाई सबै मिलेर समाते र लडाए। लडाउने क्रममा टेबुलको सीसामा टाउको बजारे। सीसा फुट्यो। स्वभाविक रुपमा मेरो पनि टाउको फुट्यो। भर्खर सात कक्षामा पढ्दै गरेको मेरो छोराले त्यो सबै देखेको रहेछ। उसले मेरो बुबालाई नगर्नुस भन्दै रोएको थियो। तर उनीहरुले मेरै छोराको अगाडी ज्यादति गरिरहे। म लडेको समयमा उनीहरुले मलाई हत्कडी लगाए। र मलाई चप्पल जुत्ता पनि लाउन नदिइ तल झारे। तल आउँदा देखे उनीहरु दर्जनौको संख्यामा आएका रहेछन्। श्रीमती पनि आत्तिएर बसेकी रहिछन्। लानुअघी उनीहरुले मलाइ आँखामा कालो पट्टी बाँधेका थिए। हात खुट्टा बाँधेका थिए। मेरै गाडीमा घरबाट फिल्मी शैलीमा मलाई अपहरण गरे। त्यो मेरै गाडी उनीहरुले मन्दिर गएका मेरा जेठान दाईबाट खोसेर ल्याएका रहेछन्। उहाँहरुलाई भने अर्को गाडीमा राखेर हातखुट्टा बाँधेर अपहरण गरिसकिएको रहेछ। मलाई अपहरण गर्न मेरै गाडीमा उनीहरु मेरो घर आएका रहेछन्। मेरो गाडी देखेर मेरो बहिनिले ढोका खोलेकी रहिछन्। यसको मतलव उनीहरु मलाई अपहरण गर्ने नियोजित योजनामा रहेछन् भन्ने पुष्टी हुन्छ।
मलाई कहाँ लगिदैछ भन्ने थाहा थिएन। आखाँमा कालो पट्टि बाँधेर कहाँ लगिदैछ म रनभुल्लमा परे। करिव ४५ मिनेट पछि मलाई गाडीबाट ओरालियो। ओराल्ने वित्तिकै मरो शरीरमा भएका घडी, सिक्री, औंठी लगायतका गरगहना फुकालेर लिए। त्यसपछि एउटा घरको भर्या्ङ जस्तो लाग्ने ठाउँबाट केहि माथि जान भनियो। मलाई समातेर माथि लगियो। गाडीको सर्भिसिङ गर्दा राख्ने सिमेन्टको गाडी उकाल्ने जस्तो ठाउँमा मलाई सुताइयो। मलाई लाग्छ घरको तेस्रो तलामा गाडी सर्भिसिङ गरिन्थयो होला। मलाई अहिले पनि के लाग्छ भने त्यो यातना दिनकै लागि बनाइएको संरचना रहेछ। मलाइ त्यस्तो ठाउँमा के सुताएका मात्र थिए। मलाई पाइपले जथाभावी हान्न थाले। पैतालादेखि टाउकोसम्म अन्धाधुन्द हान्न थाले। कुट्न पनि जुलुस नै जस्तो आएका थिए। म अचेत भएछु। अचेत भएपछि मलाई उनीहरुले घिसार्दै अर्को कोठामा लिएर गए। अर्को कोठामा मेरा जेठान दाइहरुको आवाज सुने। मलाई अपहरण गरेको सुनेर आएकाहरुलाई पनि त्यहि राखिएको रहेछ। यहाँ आएपछि मात्र मैले थाहा पाएकी मलाई माओवादी लुटेराहरुले डकैत शैलीमा अपहरण गरि ल्याएका रहेछन्। कुटाइ अति खाएको थिए। छाती चरक्क दुखेको थियो। पछाडीबाट हत्कडी लगाएका कारण लडाएर राखेको ठाउँमा पनि सुत्न सकिन। इटाकै भएपनि सिरानी देउन भन्दा पनि उल्टो टाउकोमा कुटे। अगाडी हत्कडी राख्देउ भनेको त किन सुन्थे। यमराजको कालकोठरी जस्तै लागिरहेको थियो। होस आएपछि फेरि कुट्थे। होस गुमेपछि कुट्न छोड्थे। यो प्रक्रिया लगभग ३६ घण्टासम्म चलिरह्यो। कतिसम्म गरे भने जेठान दाइ र सालालाई मलाई लात्ताले हान्न लगाए। विचरा उहाँहरुले मलाई लात्ताले हान्न नमान्दा उहाँहरुलाई कुटे। प्यारालाइसिस भएका जेठान दाई लोक बहादुर त केहि समयपछि सोहि पीडाले वित्नु पनि भयो। मलाई तिर्खा लाग्यो भन्दा मेरा घरमा काम गर्ने भाइहरुलाई मलाई मुखमा पिसाव फेर्दे भन्थे। अती पीडा दिन थालेपछि मलाई बरु गोली हानेर मार्दै भने। तर उनीहरुले मलाई तलाई हामी कहाँ सुखले मर्न दिन्छौ भन्दै नङ निकालेर, पीनले रापेर तीन महिना लगाएर मार्ने भन्दै अत्याउथे। मारेपछि पनि ढलान गरेर कसैले थाहा नपाउने गरि गाड्छौ भन्थे। नभन्दै देब्रे हातको कान्छि औंलाको नङ पनि उप्काइदिए। सहनै नसक्ने गरि पटक पटक अमानविय यातना दिन्थे। माओवादीको त्यो यातनागृहमा जो जो नयाँ कमाण्डर भन्ने आउथ्यो पुरुषार्थ देखाउन मलाई आएर कुट्थ्यो। कहिलेकाँही बन्दुकका कुन्दाले पनि कुट्थे। यातना दिने क्रममा मेरो खुटालाई फर्काएर कुल्चिन्थे। मानौ उनीहरुले जानेको र सुनेको यातना सबै मेरो शरीरमा प्रयोग गरे। घाँटीमा बुँटले कुल्चेर सास रोक्ने प्रयोग पनि ममाथि गरे। यातनाको ति प्रयोग हिटलरले पनि प्रयोग गरेका थिएनन होला सायद। मेरो सास बाँकी राखेर मलाई आफै जिउँदो छ की छैन भन्ने शंका गर्न वाध्य पार्नेगरि यातना दिए।
मलाई शसस्त्र युद्धको समयमा पनि यस्तो काम गरिएको थिएन। माओवादी शान्ति प्रक्रियामा आएको थियो। दश वर्षे शसस्त्र द्धन्दको अन्त्य हुँदैछ भन्नेमा सबै खुसी थिए। दशै पछि तिहारको स्वागत हँदै थियो। सबैमा जस्तो खुसी थियो ममा पनि त्यस्तै खुसी थियो। तर मेरो शुसी उनीहरुले देख्न सकेनन्। यातना दिएको सायद दोस्रो दिन थियो। मलाई तल झारे। कतै लाने तयारी भएको जस्तो लाग्यो। एकछिनपछि मला२ छोड्ने भन्दै कुरा सुनाए। घर छोड्ने बेलामा मेरा सरसामान र गाडी मागे तर फिर्ता गरेनन्। ट्याक्सीमा घर ल्याए परिवारले । घर आएपछि थाहा भयोकी मेरो घरबाट नगद तथा गरगहना पनि लुट्ने प्रयास भएको रहेछ। सो क्रममा मेरो श्रीमतीमाथि पनि अपशव्द प्रयोग गर्दै हातपात गरिएको रहेछ। तर श्रीमतीले प्रतिकार गरेपछि लुट्न भने पाएका रहेनछन्।
घरमा पुर्याकएपछि उपचारका लागि मेडिकेयरमा लगियो। छाती र देब्रेपट्टिको तल्लो भागको करङ भाचिएको रहेछ। मृगौला फेल पार्ने भन्दै बन्दुकका कुन्दाले हानेर मेरो मृगौला पनि सुन्निएको हालतमा रहेछ। जिउभरी कुटाइ खाँदाको निलडाम त कति हो कति। निलडाम नदेखिने पैतालामा पाएको कुटाइको पीडा पनि कति हो कति। धेरैदिनसम्म मैले आफै हिडडुल गर्न सकिन। श्रीमतीले बोकेर लैजाने गरिन। मलाई उपचार गर्ने क्रममा श्रीमती मैले नदेख्ने गरि रोएकी मलाई आफन्तले पछि सुनाएका थिए।
माओवादी वार्तामा थियो। वृहत शान्ति सम्झौतामा हस्ताक्षरको प्रक्रियामा थियो। माओवादीसँग वार्ता जारी थियो। तर वार्तामा बस्दा मेरो अपहरणको कुरा जवर्जस्त रुपमा उठेछ। काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले राजु श्रेष्ठलाई अपहरण मुक्त नगरेसम्म शान्ति वार्तामा नबस्ने अडान राखेपछि मलाई अपहरण मुक्त गरिएको रहेछ। साथमा संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चआयोग देखि मानवअधिकारवादी संघसंस्था र सञ्चारमाध्यमहरुले पनि मेरो बारेमा चासो राख्दै कुरा उठाएका रहेछन्। र मेरो रिहाइ सम्भव भएको रहेछ।
दश बर्षे शसस्त्र द्धन्दको अन्त्य गरेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको बैसठ्ठी त्रिसठ्ठीको आन्दोलमा स्थानियस्तरमा हामीले पनि नेतृत्व गरेका थियौ। तर जसलाई शान्तिप्रक्रियामा ल्याउन राजाको निरंकुश शासन व्यवस्था विरुद्ध आन्दोलनमा गइयो त्यो सबै व्यर्थ भएको जस्तो लाग्यो। अपराध नियन्त्रणका नाममा माओवादीले तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको पालामा समानान्तर गृह प्रशासन चलाएका थिए। तर राज्य निरिह जस्तो देखिएको थियो। माओवादीले रणनीतिक रुपमा शहरमा आफ्नो डरको मनोविज्ञान बनाइ राख्न यस किसिमको हर्कत गरेका थिए। यसबाट उनीहरुले अकुत सम्पति समेत कव्जा गरे। जस्को उनीहरुले कहि हिसाव किताव देखाउनु पर्दैनथ्यो। यहि डर त्रास देखाएरु उनीहरुले क्यासिनोहरुमा कब्जा जमाए। मुद्धा मामिला परेका कैयन घर तथा त्यस्ता सम्पति उनीहरुले कव्जा गरे।
स्थानियस्तरमा काँग्रेस, एमाले लगायतका दलहरुको तर्फबाट विरोध जारी थियो। प्रकाशमान सिंह, नरहरी आचार्य लगायतले त्यसमा नेतृत्व लिदै विरोध कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो। यसैक्रममा सञ्चारमाध्यमको समेत ध्यान मेरो घटनामा परेको थियो। माओवादीले नफर्काएको गाडीको विषय पनि सञ्चारमाध्यमबाट लुक्न सकेन। मेरो गाडीलाई नम्वर परिवर्तन गरेर माओवादी अध्यक्ष प्रचण्डले चढ्न थालेका रहेछन्। प्रचण्ड सो गाडी चढेर शान्ति वार्तामा भाग लिन तत्कालिन प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारदेखि अनमिनका प्रमुख इयान मार्टीन र भारतीय राजदुतलाई समेत भेट्न गएका रहेछन। टेलिभिजनमा सो दृश्य देख्दा माओवादी अध्यक्ष प्रचण्डलाई चढ्ने गाडीको बन्दोबस्ती गर्न मेरो गाडी लुटिएको रहेछ भन्ने खुलस्त भयो। तर एकदम नरमाइलो लाग्यो। पछि हामीले सो कुरा तत्कालिन प्रम कोइरालालाई जानकारी गरायौ। उहाँले तत्कालिन गृहमन्त्री सिटौलालाई सो जानकारी गराउन भने अनुसार गर्यौक। तर सुनुवाइ भएन। हामीले सो गाडी लिने प्रयास भने जारी राखेका थियौ।
अचानक सात महिनापछि मलाई वागवजारबाट मेरो गाडीको बारेमा एक जना भाइले जानकारी गराए। शूरुमा इमेज च्यानलमा आएको रिपोर्ट र त्यसपछि अन्य सञ्चारमाध्यममा आएको रिपोर्टका कारण मेरो गाडी धेरैको चासोको विषय भएको थियो। मेरा गाडीको वारेमा थाहा पाएका ति भाइले मलाई बताएपछि हामी सो गाडी लिने सुरमा वागवजार गयौ। बागबजारमा पुगे। अतिरिक्त साँचो भएका कारण मैले गाडीलाई स्टार्ट गरेर वाहिर निकाले। त्यहाँ मैले मेरै गाडी निकाल्न खोज्दा म माथि आक्रमणको प्रयास भयो। सो समयमा मेरो लुटिएको गाडीमा सवार हुने देवेन्द्र पौडेल र टोप बहादुर रायमाझीले मलाई त्यहाँ अलमल गराएर रोक्न खोजे। गाडी फिर्ता गराउन ल्याएको बताइरहे। त्यतिबेलै प्रहरी आइपुग्यो। ति मध्येका एकले गाडी राजुजीकै भएको र गाडी फिर्ता गराउन आएको तर गुण्डागर्दी गरेर लान पाइन्छ पो भने उल्टो मलाई। गाडी हनुमानढोका लगियो। गाडीमा फरक फरक पाँचवटा नम्बर प्लेट, केहि थान हतियार र अन्य पर्चा पम्प्लेट थियो। सो सबै निकालेर हामी प्रहरीको उपस्थितिमा त्यहाबाट वाहिरियौ। नेपाली काग्रेसको झण्डा गाडीमा राखेर माओवादी ज्यादतीको विरोधमा नाराजुलस गर्दै। सायद त्यो माओवादी ज्यादती विरुद्धको खुल्ला चेतावनीयुक्त पहिलो प्रदर्शन थियो। प्रचण्डको पुत्ला जलाउँदा गणेश चिलुवाल मारिएका थिए। तर हामी त्यो सबै कुराबाट नडराई माओवादी ज्यादतीको विरुद्ध टाउकोमा कफन बाँधेर उत्रिएका थियौ।
मैले केहि समयपछि एक साप्ताहिक पत्रिकामा रायमाझीले मेरो गाडीको वियषमा दिएको झुटको पुलिन्दा सहितको अन्तर्वार्ता हेरे। एक होटलमा लुटपाट गर्दै गरेको बेलामा नियन्त्रणमा लिइएको भन्दै मिथ्या आरोप लगाइएको रहेछ। माओवादी जगैदेखि झुटमा टिकेको हुनाले मैले त्यसमा प्रतिक्रिया जनाउन उचित पनि ठानिन।
यो घटनापछि मैले सिकेको एउटै कुरा के हो भने माओवादी, गुण्डा, र आतंककारीहरुले सधै डर र त्रास सिर्जना गरेर आफ्नो राज कायम गर्न चाहँदा रहेछन। जबसम्म हामी डरलाई जित्न सक्दैनौ तबसम्म उनीहरु नागरिकमाथि राज गरिरहन्छन। आजको सभ्य समाजमा कुनै पनि बहाना र वादका नाममा गरिने हत्या हिंसा त्यो कदापी सहि हुन सक्दैन। चाहे त्यो नाथुराम गोड्सेले गरेको होस वा विन लादेन या पुष्कमल दाहाल। हत्या र हिंसा सभ्य समाजले स्विकार्न सक्दैन। यस्ता अपराधीहरुलाई कानुनी दायरामा ल्याएर मात्र समाज सभ्य कहलाउन सक्छ। नत्र उहि अराजकता मात्रै हुन्छ।
http://www.hamrakura.com/119026.html#sthash.77ixrHqD.dpbs
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !