CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » आई एम सक्ड, कसरी थाहा पाउनुभयो ? - सुमिना घिमिरे

आई एम सक्ड, कसरी थाहा पाउनुभयो ? - सुमिना घिमिरे

विवादमा नआए के हिरोइन ? सम्भवतः यही कारण हुन सक्छ, नायिका सुमिना घिमिरे पनि बारम्बार विवादमा आइरहन्छिन्। दाङ, घोराहीकी यी युवती कहिले एउटा पत्रकार नमारी छाड्दिनँ भनेर विवादमा आउँछिन् भने कहिले विवाह भैसकेको समाचारका कारण चर्चित हुन्छिन्। आखिर ग्ल्यामरस
दुनियाँमा आएपछि स्क्यान्डल त भैहाल्छ। यसमा उनी पनि पछि छैनन्। कहिले उनी सेक्स भनेको दाल-भात हो, नभए भोकै परिन्छ भन्छिन्, कहिले म अविवाहित हुँ, कुमारी होइन भन्न पनि पछि पर्दिनन्। २४ वर्षको उमेरमा यति धेरै वाचाल उनलाई कसले बनायो ? चलचित्रको दुनियाँमा आएपछि युवतीहरू किन यतिसारो खुला हुन्छन्? दसैंको अवसर पारेर साप्ताहिकले सुमिनालाई खुलेर कुरा गर्न आग्रह गर्‍यो। सुमिनाले भावुक हुँदै भनिन्, 'जीवनमा धेरै ठाउँमा झूटो बोलेकी छु, तपाईंसँग एउटै कुरा पनि झूटो बोल्दिन, किनभने अरूसँग झूटो बोले पनि आफैंलाई भने ढाँट्न सकिँदैन।" 

के भनेर सम्बोधन गरौं, सुमिना कि मीना ?

सुमिना नै भन्नुहोस्। सुमिना एउटी कलाकारको नाम हो, मीना घरकी छोरी हो। पाठक-दर्शकका अगाडि म कलाकार नै हुँ।

२० वर्षसम्म पालेको नामको हत्या गरिदिने ?

हत्या गरेकी छैन, मसँगै छ। सुमिना भन्दा मीना आइहाल्छे। अलिकति लुकेर आउँछे। सुले मीनालाई सजाएकी छे। 

घरभित्रकी मीना र बाहिरकी सुमिना फरक हुन्। सुमिनाले मीनाको भित्री कुरा भन्दिनँ भन्ने बुझ्नुपर्‍यो, हो ?

बितेका तीन वर्षमा मसँग कसैले पनि यो कसैकी छोरी हो, बैनी हो भन्ने हिसाबले कुरा गरेका छैनन्। चलचित्रकी नायिकाका रूपमा मात्र कुरा गरेपछि मैले पनि सुमिना नै हुनुपर्‍यो। यो मेरो बाध्यता हो। 

मैले मीनाका रूपमा कुरा गर्न चाहें भने नि ?

सफा मनले कोही आए म पनि मीना भएर कुुरा गर्न चाहन्छु। भित्रैदेखि खुलस्त भएर बोल्न चाहन्छु। यद्यपि यहाँ कसलाई भित्री कुरा सुन्ने इच्छा छ र ? यो इन्डस्ट्रीमा सबैजसो मानिस ग्ल्यामर, विवाद र हंगामा मात्र चाहन्छन्। 

३ वर्षभित्रमा २५ वटा चलचित्र पाउनु भाग्यकै कुरा हो। यति धेरै चलचित्र कसरी पाएँ भन्ने लाग्छ ?

म काम भनेपछि मरिहत्ते गर्छु। म घमन्डी छैन। सबैसँग मिलेर अघि बढ्न चाहन्छु। अरूको सल्लाह पनि लिन्छु। सायद त्यसले पनि हो कि ?

चलचित्रमा अभिनय चाहिन्छ, त्यो कतै सिकेको पनि छैन। कसरी गरिँदो रहेछ अभिनय ?

तीन कक्षामा पढ्दा म जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम भएकी थिएँ। त्यसयता विद्यालयमा मेरो नाम पढ्नेमा भन्दा नाच्नेमा बढी लिइन्थ्यो। कक्षा ८ मा पढ्दा जिल्लाव्यापी बृहत् प्रतियोगितामा दोस्रो भएँ। त्यसपछि त म र नृत्य एक अर्काका पूरक नै भयौं। नृत्यमै मेरो अभिनय छ भन्ने लाग्छ। 

नृत्य र अभिनय फरक कुरा हुन् भन्ने लाग्दैन ?

लाग्छ, अहिले आएर अभिनय कक्षा पनि लिऊँ भन्ने पनि लाग्छ। अचानक व्यस्त भएँ। तैपनि निर्देशकले चाहेको अभिनय गर्ने प्रयास गरिरहेकी छु। 

यतिविधि चलचित्रमा काम गर्दा पनि एउटै हिट भएको छैन, तैपनि काम पाइरहनु भएको छ, किन होला ?

चलचित्र हिट नहुनु मेरो दोष होइन। म आफ्नो चरित्रमा न्याय गरिरहेकी छु कि छैन भन्ने कुरामा ध्यान दिन्छु। नेपाली चलचित्रको बजार नै यस्तै छ। तैपनि मैले काम पाइरहेकी छु, खुसी लाग्छ। किन होला ? भन्ने प्रश्न तपाईंले पनि गर्नुभयो। वास्तवमा यो इन्डस्ट्रीमा धेरै असल मानिसहरू हुनुहुन्छ, जसले मानिसको व्यवहार, काम र क्षमता हेर्नुहुन्छ। उहाँहरूका कारण पनि काम पाइरहेकी छु। 

दाङबाट आएकी एउटी युवती, बिना कुनै सहारा नेपाली चलचित्र उद्योगमा चर्चित हुनु आफैंमा आश्चर्य हो, होइन र ?

हो नि। हिन्दी चलचित्र 'दिल तो पागल है' मा साहरूख खानले एउटा डाइलग बोलेका छन्, 'यदि तिमी हृदयले चाहेको काममा एकोहोरो भएर लाग्यौ भने सारा संसार, सारा ब्रह्माण्ड र त्यसका सम्पूर्ण शक्ति तिम्रो उद्देश्य पूर्ति गर्न लागिपर्छन्।' यो डायलग मेरै लागि लेखिएजस्तो लाग्छ। म कलाकार हुन चाहन्थें। केही थाहा थिएन, कसैलाई चिनेकी थिइनँ। केवल इच्छा थियो। साथीहरूसँग म हिरोइन हुन चाहन्छु भन्न पनि डर लाग्थ्यो। के भन्ने हुन्, हाँसेर उडाउने हुन् कि भन्ने लाग्थ्यो। 

चलचित्र पाउने पहिलो टर्निङ प्वाइन्ट कुन थियो ?

पद्मकन्या कलेजमा आई ए अध्ययनरत छँदा 'सिग्नेचर' शीर्षकको डकुमेन्ट्रीका लागि नयाँ अनुहारको खोजी भैरहेको हल्ला चल्यो। मैले थाहा नपाएजस्तो गरेर साथीहरूको कुरा सुनें र अनामनगरमा त्यसको अफिस भएको कुरा पत्ता लगाएँ। तुरुन्तै कलेजबाट निस्किएर हिँड्दै अनामनगर पुगें। दुःख गरेर अफिस खोजें। एक्लै थिएँ, डर पनि लागिरहेको थियो। हिम्मत गरेर आफ्नो कुरा राखें। उहाँहरूले मलाई भोलिपल्टै बोलाउनुभयो। 

त्यसपछि ?

मेरो भिडियो स्त्रिmन गरियो। अभिनयसम्बन्धी केही कुरा सोधियो। त्यही अफिसको तल चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाको अफिस रहेछ। उहाँलाई पनि नयाँ अनुहार चाहिएको रहेछ। यसरी नै सुरु भयो। 

नेपाली चलचित्रमा ब्रेक पाउन सेक्रिफाइस गर्नुपर्छ भनेर तपाईंकै समकालीन नायिकाहरूले भन्नुभएको छ, किन होला ?

ईश्वर जानून्। पहिले थियो होला, अहिले त्यस्तो छैन। कम्तीमा मचाहिँ परेकी छैन। 

नायिकाका रूपमा चलचित्र 'दुलही’ मा जुन सौम्य चरित्र निर्वाह गर्नुभएको थियो, त्यसपछिका चलचित्रमा अचानक हट गर्लका रूपमा देखिन थाल्नुभयो, यत्रो आँट कसरी आयो ?

कलाकार भएपछि यस्ता अभिनय पनि गर्नुपर्दो रहेछ। यति सानो उद्योगमा म यो गर्छु, त्यो गर्दिनँ भन्न थाल्यो भने त साइड लागिहालिन्छ नि। जीवनको उद्देश्य नै अभिनय गर्नु छ भने यो पनि गरेर हेरौं। के जान्छ ?

अचानक बेड सिन, किस सिन, बोल्ड डाइलग भएका चलचित्र ? सुरुका दिनमा त केही अप्ठ्यारो लाग्यो होला, कसरी गर्नुभयो ?

जब म टिममा हुन्छु, बाहिरी दुनियाँ बिर्सन्छु। म कसैकी छोरी हुँ, बैनी हुँ, मलाई यो रूपमा हेर्न नचाहनेहरू पनि छन् भन्ने कुरा बिर्सन्छु। जब घर र्फकन्छु, मैले कस्तो काम गरें ? के म ठीक गरिरहेको छु, ठीक बाटोमा छु भन्ने प्रश्न गर्छु। 

बोल्ड चरित्र निर्वाह गरेकोमा पश्चाताप छ ?

पश्चाताप त नभनौं, अलि अप्ठ्यारोचाहिँ लाग्छ। त्यसमाथि ती चलचित्रका समाचारमा मेरा हट तस्बिरहरू आउँदा मन ढुक्क फुल्छ। ला, आमा-बुवाले के भन्नुहुन्छ भनेर डराउँछु। घरमा म पत्रिका नै हेर्दिनँ। अरूले पढिसकेपछि उहाँहरूको अनुहार हेर्छु, मेरो समाचार छैन भन्ने पक्का भएपछि मात्र पत्रिका हेर्छु। 

कुन बेला बढी पीडा हुन्छ ?

चलचित्रमा म कसैकी श्रीमती भएर अभिनय गरिरहेकी हुन्छु। सिउँदोमा सिन्दूर हुन्छ। घर आएपछि मलाई लाग्छ, सिन्दूर एउटी महिलाको ठूलो प्रतीक्षाको विषय हो। आफूले मन पराएको युवकले सिन्दूर हालोस् भन्ने महिलाको कत्रो ठूलो चाहना हुन्छ, मेरा लागि यो सिन्दूर कति सस्तो भयो भन्ने लाग्छ। किनभने त्यो क्षण एकबारको जुनीमा एकपटक मात्र आउनुपर्ने हो, तर मेरा लागि .......।

यति स-साना कुरा सोच्ने मानिसले पत्र-पत्रिकामा किन हट अन्तर्वार्ता दिनुपर्‍यो त ?

सुरुमा सबैले सिकाउनुभयो, हिट हुन हट तस्बिर खिचाउँनुपर्छ, हट कुरा गर्नुपर्छ भन्नुभयो। जे होला त भनेर बोलिदियो, हिट त भइन्छ, तर अरूले आँखा फारेर हेर्ने पो भइँदो रहेछ। 

म कुमारी होइन, अविवाहित हुँ भन्ने मानिसले यति कमजोर कुरा गरेको कसले पत्याउने ? 

यो कुरा तपाईंसँग मात्र भन्दै छु। वास्तवमा एक जना पत्रकारले तिमी म कुमारी रहिनँ भनेर अन्तरवार्ता देऊ इन्डस्ट्री नै हल्लिन्छ भन्नुभयो। आखिर बोल्दैमा मेरो कुमारित्व गुम्ने त होइन भनेर बोलिदिएँ। पत्रिकामा म अविवाहित मात्र हो, कुमारी होइन भनेर हेडिङमै आयो। साँच्चै हङ्गामा पनि भयो। आमा-बुवा मसँग बोल्नै छाड्नुभयो। अनि पो थाहा पाएँ, म हिरोइन मात्र होइन, कसैकी छोरी-बैनी पनि हुँ। पश्चाताप लाग्यो। पछि उहाँहरूले माफी दिनुभयो। 

त्यो अन्तर्वार्ता दिएलगत्तै घर किन्नुभयो। त्यसपछि धेरै थरीका समाचार आए, धेरैलाई दालमे काला है भन्ने लाग्यो...।

म पत्रकारलाई काट्छु भनेर बोलेको समाचार पनि पढ्नुभयो होला। त्यसै भनेकी होइन, केही पत्रिकाले यस्तै कुरामा खेद्न थालेपछि बोल्न बाध्य भएकी हुँ। घरमा मेरो मात्र होइन, अमेरिका बस्ने दाजु र भर्खरै जनस्वास्थ्य अधिकृतबाट सेवानिवृत्त हुनुभएको बुवाको पनि लगानी छ। म एउटा घर किन्न सक्ने केटी हुँ भन्ने नबुझी मेरो अन्तर्वार्ता र चलचित्रका दृश्य हेरेर धमाधम जे पायो त्यही लेखिदिनुभयो। म के गरौं ?

चलचित्रमा आउनुअघि नै विवाह गरेको समाचार पनि आएको थियो। श्रीमान् किन छाडेको ?

तपाईंलाई त भ्रम छ भने आमदर्शक पाठकहरूमा कस्तो भ्रम होला ? पुरानो कुरा हो छाडिदिऊँ भन्नै नपाइने। मेरो विवाह भएको भए म चलचित्र उद्योगमा हुन्थें ? छोराछोरीकी आमा भएर घरजम गरेर बस्थिनथें ?

हावा नचली पात हल्लन्छ ?

चलचित्र उद्योगमा साँच्चैको हावा चल्नै पर्दैन, पङ्खाले पनि पात हल्लाउँछ। दाङमै छँदा छिमेकमा आमा-बुवाले चलचित्रको शैलीमा मेरी छोरी तिम्रो छोरालाई दिन्छु भन्नुभएको रहेछ। एकपटक दुवै परिवार मिलेर मन्दिरमा लाख बत्ती बाल्ने कार्यक्रम थियो। त्यही मन्दिरमा वर्षौंअघि खिचिएको तस्बिर छापिएको हो। त्यसो त मैले चलचित्रमा सिन्दूर लगाएको तस्बिर देखाएर सुमिनाले विवाह गरी भन्दिए भैहाल्यो नि। (सुमिनाको आँखा भरियो) 

किन रोएको ?

यस्ता कुरा सम्झदा पीडा हुन्छ। एउटा श्रीमान् होला, राम्रोसँग जीवन बिताउन पाइएला भनेर सपना पाल्ने मानिसका बारेमा यस्ता खबर छापिदा रुन मन लाग्छ। 

ब्याइफ्रेन्डले नराम्रो मान्ला भन्ने लाग्यो ?

हो नि। दुई वर्षदेखि म कसैको नजिक हुन खोजिरहेकी छु। अहिलेसम्म इमान्दार साथी छु, भोलि गर्लफ्रेन्ड र पर्सी श्रीमती हुन सक्छु। यस्तो कुरा आउँदा नराम्रो लागिहाल्छ नि। 

ठ्याक्कै म गर्लफ्रेन्ड हुँ भनेर किन भन्न नसकेको ?

कसैकी गर्लफ्रेन्ड हुनु भनेको उसको कुरा सुन्नु, उसको पनि विचार गर्नु हो। म अहिल्यै त्यो अवस्थामा पुगिसकेकी छैन। किनभने म अहिल्यै बन्धनमा बाँधिन चाहन्न। 

प्रेम नै बन्धन हो भने त्यो प्रेम नै कहाँ रह्यो र ? बाध्यतामा पनि प्रेम हुन्छ र ?

हुँदैन। प्रेम स्वतन्त्र हुनुपर्छ। यो कुरा उहाँले बुझिसक्नुभएको छ कि छैन, थाहा छैन। जुन दिन उहाँले चलचित्र क्षेत्रको अवस्था तथा कलाकारको बाध्यता बुझेको अनुभूति हुन्छ, त्यही दिन म उहाँकी गर्लफ्रेन्ड हुँ भनेर महसुस गर्छु। 

त्यसो भए उहाँ को त ?

मिल्ने साथी। अहिलेलाई योभन्दा बढी शब्द प्रयोग नगर्नु नै राम्रो। किनभने प्रेम भैसक्यो भने पछि म त्यो प्रेम ब्रेक गर्न चाहन्नँ। विवाह भयो भने म त्यसलाई पूर्ण रूपमा निर्वाह गर्न चाहन्छु। म विवाह भैसकेपछि डिभोर्स हुने महिलाभित्र पर्न चाहन्न। 

धेरै नायिकाले विवाहपछि चलचित्र छाडेका छन्, तपाईंको अवस्था के हुन्छ ?

म पनि छाड्छु। तैपनि तैले चलचित्र क्षेत्र छाड्नुपर्छ भन्ने खालको युवकसँग भने विवाह गर्न चाहन्नँ। 

दसैं आयो, के छ यो वर्षको कार्यक्रम ?

कतारमा कार्यक्रम छ। विदेशका नेपालीहरूले मलाई सम्झनुभएको छ, उहाँहरूलाई राम्रो नृत्य देखाएर मनोरञ्जन प्रदान गर्ने प्रयास गर्छु। 

दसैंमा बढी सम्झना कसको आउँछ ?

आमा-बुवाकै आउँछ। मावलकी हजुरआमाले मलाई साह्रै माया गर्नुहुन्थ्यो, उहाँ यही वर्ष बित्नुभयो। खल्लो लागिरहेको छ। 

तपाईंका दुई मम्मी। दसैंमा जेठी ममीको हातको टीका लगाउनुहुन्छ ?

(सुमिना छक्क परिन्) कसरी थाहा पाउनु भयो ?

तपाईंको बुवाले दुईवटी विवाह गर्नुभएको होइन ?

(अन्कनिदै) हो तर...। आइ एम सक्ड। यो कुरा कसैलाई थाहा छैन। 

मतलब ?

फिल्मी दुनियाँमा कसैलाई थाहा छैन। कसरी थाहा पाउनुभयो ?

त्यो कुरा पछि गरौंला। दसैंमा तपाईंहरू टीका लगाउन जाँदा निकै पटक अपमानित हुनुपरेको कुरा सत्य हो ?

हो। 

कस्तो लाग्छ ?

(आँखाभरि आँसु पार्दै) मेरो बुबा बाहुन। जागिरको सिलसिलामा मेरी ममीसँग विवाह गर्नुभएको रहेछ। उहाँ ठकुरीकी छोरी त्यसैले पनि हामीलाई अछुतजस्तो व्यवहार गरिन्थ्यो। त्यही भएर पुरानो घर लमजुङ छाडेर हामीले दाङमा बस्नुपर्‍यो। 

किन त्यस्तो भयो ?

यो समाज बाहिरबाट हेर्दा जति सभ्य देखिन्छ, भित्र मक्किएको छ। अशिक्षाले जकडिएको छ। 

अहिले त तपाईंहरूबीच राम्रो सम्बन्ध छ  होइन?

बुबाले पैसा कमाउनुभयो। हामीले नाम कमायौं। जब मानिस शक्तिशाली हुन्छ, संसार उसैको पछि लाग्छ। यो संसारको नियम हो। 

कुनै गुनासो बाँकी छ ?

अहिले छैन। हामीले सानै उमेरदेखि संघर्ष गर्न सिक्यौं। त्यसैैले मलाई कसैको सहारा बिना हिरोइन हुने आँट दियो। मानिसलाई दुःख पर्नुपर्छ, दुःखले नै मानिसलाई अघि बढ्न सिकाउँछ। त्यो दुःख नभएको भए मेरो परिवार यति माथि जाँदैनथ्यो। हामी पनि यति संघर्षशील हुँदैनथ्यौं। 
साभार : माई संसार 
Share this article :

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
    तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis