योगेश ढकाल (डोल्पाबाट फर्केर)
उपल्लो डोल्पाको चर्चित गाउँ हो धो गाविस । तिव्बतसंग जोडिएको । डोल्पाको सदरमुकाम दुनैबाट कम्तिमा दुई दिन पैदल टाढा । शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र । धो गाविस यार्सागुम्बा संकलनका लागि चर्चित पाटन -समथर) क्षेत्र हो । यहाँ ०७१ जेठ २० गते स्थानीय र प्रहरीवीच भीडन्त भयो । प्रहरी र
स्थानीय घाइते भए । कोही साधारण उपचारपछि घर फर्किए, केही हेलिकप्टरबाट काठमाडौं ल्याइए । त्यसैले उपल्लो डोल्पाली कालो दिन ठान्छन् जेठ २० लाई ।
करिब ३ हजार ९ सय मिटर उचाईको धो गाउँमा थुपै्र पाटन छन्,यार्सागुम्बा संकलनका लागि । स्थानीयका भनाइमा यो पाटन क्षेत्र डोल्पाको करिब ३० प्रतिशत यार्सागुम्बा संकलन क्षेत्र हो । तर, यार्सागुम्बा टिप्न पाटनतिर लाग्नुपर्ने स्थानीय २० गते दिनभर प्रहरीसँग भिडे ।
यसरी सुरु भयो भीडन्त
धो गाविसका स्थानीय विगतदेखि नै यार्सागुम्बा टिप्न आउनेहरुसँग रोयल्टी उठाउदै आएका थिए, १५ सय रुपैयाँका दरले । प्रत्येक घरबाट एक जना उपस्थित भई स्थानीयले हरेक बर्ष यस्तो निर्णय गर्छन । गतबर्ष ३० लाख रुपैयाँ रोयल्टी उठाएका थिए । यो बर्षमा जेठ १९ गतेसम्म करिब ८ लाख रुपैयाँ संकलन भइसकेको थियो ।
तर, राष्ट्रिय निकुञ्ज मध्यवर्तीक्षेत्र व्यवस्थापन समिति यार्सागुम्बा टिप्नेका लागि दोहोरो कर लगाउने पक्षमा थिएन ।अघिल्लो बर्षसम्म स्थानीय क्लव र समितिले रोयल्टी उठाउँदै आएका थिए । यो बर्षदेखि क्लवले उठाउने व्यवस्था हटाउन चाहन्थ्यो समिति ।
अघिल्लो सालसम्म समितिले डोल्पा जिल्ला बाहिरका लागि ११ सय रुपैयाँ, मध्यवर्ती क्षेत्रबाहिरका डोल्पालीलाई ६ सय र मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि १५० रुपैयाँ रोयल्टी लिने निर्णय थियो । यो बर्षदेखि समितिले क्लवलाई रोयल्टी उठाउन नदिने निर्णयका साथै जिल्लाबाहिरका लागि ३ हजार, मध्यवर्ती क्षेत्रबाहिरका लागि २ हजार र मध्यवर्ती क्षेत्रका स्थानीयका लागि ५ सय रुपैयां रोयल्टी लिने निर्णय गरयो ।
यो निर्णय कार्यान्यन जेठ १९ गते गराउन दुनैबाट समितिका फिल्ड सुपरभाइरजर मानब हमाल र हेमराज हमालको टोली अनुगमनका लागि उपल्लो डोल्पाको धो गाविसमा पुग्यो । साथमा थिए ३५ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरी । १९ गते साँझ अनुगमन टोलीले क्लवका नाममा संकलन गरेको करिब ८ लाख रुपैयाँ जफत गरे । यार्सा टिप्न आउनेसँग रकम उठाउने जिम्मा लिएर बसेको टोली १० जना थिए । प्रहरीले उनीहरुको बडी सर्च गर्यो । पैसा जफत गरेको र जीउ खानतलासी गरेको आक्रोशले स्थानीय वासिन्दाहरु प्रहरी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा सदस्यप्रति आक्रोश पोख्न थाले । अनि रोपियो स्थानीय र प्रहरीवीचको झगडाको वीऊ ।
स्थानीयका तीन माग
स्थानीय बासिन्दाले समिति र प्रहरीसँग तीनबुँदे माग तेर्साए जेठ २० गते विहान । पहिलो, लाङ पाटनलाई यार्सागुम्बा टिप्नका लागि प्रतिबन्ध लगाउनुपर्ने । दोस्रो, स्थानीयले यार्सा संकलनकर्ताबाट रोयल्टी उठाउन पाउनुपर्ने । तेर्सो, जफत गरिएको ८ लाख रुपैयाँ फिर्ता पाउनुपर्ने । तर, अनुगमन टोलीले ती माग असंम्भव भनिदियो । र,२० गते विहान ८ बजेबाट एक घर एक प्रतिनिधि उपस्थित भई हस्ताक्षर गरेर अनुगमन टोलीलाई माग पेश गरेका हुन् । र, वार्ता गर्ने सहमति भयो । वार्ता झ्याम्पा लामाको घरमा सुरु भयो ।
क्लबबाट जफत गरेको ८ लाख रुपैयाँ प्रहरीले त्यही घरमा राखेको थियो । स्थानीयवासिन्दा, प्रहरी ,अनुगमन टोलीका सदस्य झुरुप्प त्यही घरमा भेला भएका थिए ।
स्थानीय कराउन थालेपछि…
२० गते दिउँसो ३ बजेसम्म वार्ता सफल नभएपछि स्थानीयहरु वार्ता घरमै अनुगमन टोलीविरुद्ध कराउन थाले । होहल्ला र नाराजुलुसले चर्को रुप लियो । ५० जना प्रहरी लाइन लागेर बसे वार्ता स्थल नजिकै । स्थिति असामान्य बनेपछि प्रहरीले लाठी चार्ज ग्रयो । स्थानीयले ढुंगा प्रहार गर्न थाले । र, प्रहरीले हवाइ फायर गरयो । स्थानीयबासिन्दा फुर्वा गुरुङका अनुसार प्रहरीले १ सय भन्दा बढी राउण्ड हवाई फायर गरेको थियो । त्यतिबेला फुर्वा भने सहायक सिडियो सुवास कुमार लामिछानेसँग फोन गर्दै थिए । र, घटनाको जानकारी दिँदै प्रहरीलाई नियन्त्रण गर्न आग्रह गर्दै थिए । डोल्पा सरोकार समाजका उपाध्यक्ष समेत रहेका फुर्वाले लामिछानेलाई जानकारी त दिए तर कुटपिट रोकिएन । फुर्वाले हात उठाएर आत्मसर्पण गरे । त्यही पनि पिटाइ भने खाए ।
फुर्वाको भनाइमा घटनापछि प्रहरीले धो गाविसका १२ जना र छिमेकी गाविसका ३ जना गरी १५ जनालाई नियन्त्रणमा लियो । गाउँमा आतंक छाएपछि २० गते बेलुका स्थानीय गाउँ छोडेर जंगलमा बास बसे । २१ ग्ाते १ बजेपछि मात्रै स्थानीय विस्तारै गाउँ फिर्ता हुन थाले, जतिबेला घाइतेलाई उपचारका लागि काठमाडौ ल्याउन हेलिकप्टर धो गाविसमा पुगिसकेको थियो ।
भीडन्तको खास कारण
स्थानीय बासिन्दा र प्रहरीको भीडन्त यार्सागुम्बाको रोयल्टी कसले उठाउने भन्नेमा हो । तर, त्यो घटनामा त्यतिमा सीमित होइन । धो गाविसका स्थानीयबासिन्दा लाङ पाटनलाई यार्सागुम्बा टिप्न प्रतिवन्ध लगाउन भनिरहेका थिए । स्थानीयको भनाई पत्याईदिने हो भने लाङ पाटन क्षेत्र घाँस पलाउने एक मात्र क्षेत्र हो । त्यहाँ यार्सा टिप्ने हो भने घाँस पलाउदैन । घाँस पाउन छाडेपछि घोडा, चौरी, याक पाल्न नसकिने अवस्था आउँछ । स्थानीयका अनुसार उपल्लो पाटनको अन्य क्षेत्रभन्दा लाङ पाटनमा छिटो हिऊ पग्लिने गरेका कारण घाँस पलाउँछ । विगत दुई बर्षमा घाँस नपलाएका कारण ५० वटा याक मरेको फुर्वा गुरुङको दावी छ । एउटा याकको मूल्य करिब १ लाख रुपैयाँ पर्छ । दुई बर्षमा ५० लाख क्षति भएकोले यो बर्षदेखि लाङ पाटनलाई प्रतिवन्ध लगाउन खोजेको फुर्वाको भनाइ छ ।
तर, स्थानीय प्रशासन यो मान्न तयार छैन । धो गाविसका बासिन्दाहरु उक्त पाटनलाई प्रतिवन्ध लगाएर आफुहरु एकलौटी यार्सा टिप्न चाहन्छन् । विगतमा पनि यस्तै भएको थियो । विगतमा अव्यवस्थित रुपमा यार्सा टिप्ने परम्परालाई व्यवस्थित गराउन खोजिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको बताउँछन । लाङपाटन डोल्पाको सबैभन्दा धेरै यार्सा पाइने क्षेत्रका रुपमा चिनिन्छ । खासमा यो क्षेत्रमा प्रशासनको भन्दा स्थानीयको ऐन,कानुनले शासन गर्छ । स्थानीयको शासनमाथि दुनै प्रशासनले नियन्त्रण गर्न खोज्दाको परिणाम हो भन्नेहरु पनि छन ।
कहाँ खर्च गर्छन् स्थानीयले रोयल्टी ?
यार्सागुम्बा संकलनकर्ताबाट उठाउँदै आएको रकम के के कामका लागि खर्च गर्ने भनेर धो गाविसका स्थानीय वैठक बस्छन । एक घर एक प्रतिनिधि भई बैठक बस्ने उनीहरुले रोयल्टीमार्फत उठेको रकमको ३० प्रतिशत रकम खाद्यन्नमा खर्च गर्छन् । तिब्बतबाट खाद्यन्न खरिद गरि ल्याउँछन र दामाशाही भाग लगाउँछन । धो गाविसमा २४० घर परिवार छन् । स्थानीय फुर्वा गुरुङका अनुसार आम्ची-स्थानीय डक्टर)लाई वाषिर्क ६० हजार रुपैयाँ दिन्छन् । स्कूललाई ५ देखि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्छन् ।
गुम्बा, छोर्तेन पुननिर्माण, स्थानीय पुजाआजा गर्न तथा पुल,पर्खाल बनाउन खर्चिन्छन् र बाँकी रहेको रकम दामाशाही रुपमा प्रत्येक घरपरिवारले बाँडेर लिन्छन् ।
प्रहरीको कुटाइले दुईको निधन भयो
- फुर्वा गुरुङ, उपाध्यक्ष डोल्पा सरोकार केन्द्र
स्थानीयले यार्सागुम्बा टिप्न आउनेहरुसँग रोयल्टी उठाउदै थिए । प्रतिव्यक्ति १५ सय रुपैयाँ लिने गरिएको थियो । लामो समयदेखि हामीहरुले त्यसरी रोयल्टी लिने गरेका थियौं । सबै गाउँलेको निर्णयमा यस्तो हुन्छ सधै । यो बर्षमा त्यही गरेका थियौँ । शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ धो गाविस । त्यही भएर मध्यवर्ती व्यवस्थापन समितिको अनुगमन टोली दुनैबाट जेठ १९ गते बेलुकातिर आइपुगेको थियो । उक्त टोलीले स्थानीयले संकलन गरेको ८ लाख रुपैयाँ जफत गर्यो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले मात्रै रोयल्टी उठाउन पाउने भन्दै अनुगमन टोलीले जफत गरेको हो । भोलीपल्ट २० गते विवाद निकै बढ्यो । हामीले तीन बुदाँमा माग राखेका थियौं । ती पुरा गर्न नसक्ने भनेपछि स्थानीय आक्रोशित भएका थिए । कराउन थाले । बेलुका साढे ४ बजेतिर त अवस्था असमान्य भयो । प्रहरीले लाठी बर्साउन थाल्यो । पछि स्थानीयले पनि प्रहरीलाई ढुंगा हान्न थाले । प्रहरीलाई फायरिङ गर्यो १०० भन्दा बढी राउन्ड ।
त्यहीबेला मैले सहायक सिडियो सुवासकुमार लामिछानेलाई फोन गरेँ । त्यही बेला ६,७ जना प्रहरी आएर मलाई पिट्न थाले । मैंले हात उठाएँ ।’साला भोटेहरु मार्दिन्छु’ भन्दै पिटे । म हात टेकेर बसेँ । तर, अनुहारमा हिर्काए । त्यसपछि उठेँ । उठ्ने वित्तिकै औँलामा हिर्काए । मोबाइल पनि फुट्यो । अनि तल खोलातिर भागेँ । अनि आफन्तको घरमा लुकेर बसेँ । पछि प्रहरीले केटाहरुलाई खोज्दै घरघरमा गएर ढोका फुटाल्दै खोजेछ । घटनामा धो गाविस ६ का ३० बषर्ीय छिरिङफुर्वा गुरुङको मृत्यु भयो । पछि उपचारका क्रममा वडानम्बर ४ का ४८ बषर्ीय दुन्डुप लामाको काठमाडौको ओम अस्पतालमा निधन भयो । म र छेप्तेन गुरुङ पनि घाइते भएर उपचारका लागि काठमाडौ आयौं ।
गलत प्रचार गरियो
कृष्णप्रसाद खनाल, सिडियो, डोल्पा
धो गाविसमा गोली चलेको होइन । र, जसरी कञ्चटमा गोली हानेको भन्दै प्रचारवाजी भएको छ, त्यो गलत हो । कञ्चटमा गोली लागेको मान्छे कसरी बाँच्न संभव छ ? हामीले गोली हान्ने आदेश दिएका थिएनौं । प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको हो । मध्यवर्ती क्षेत्रले रोयल्टी उठाउने गरेको छ यार्सागुम्बा संकलनकर्ताबाट । विगतमा जसले पनि रोयल्टी उठाउने गरेको थियो । त्यसलाई नियन्त्रण गरेर मध्यवर्ती क्षेत्रलेमात्रै रोयल्टी उठाउने निर्णय भएको हो ।
स्थानीय क्लवले पनि रकम उठाएको पाएपछि त्यसलाई नियन्त्रण गर्नुपर्छ भनिएको हो । अव्यवस्थित रुपमा हुने गरेको रकम संकलन कार्यलाई व्यवस्थि तगर्न खोजेको हो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा रसिद काटेर यार्सागुम्बा टिप्न गएकाहरुले धो गाविसको क्लवले उठाएको रोयल्टीको विरोध गरे । तिर्न मानेनन् । त्यसपछि विवाद बढेको हो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा नलिएको भए त्यतिबेला ५,७ जनाको मृत्यु हुन सक्थ्यो । जहाँसम्म गोली लागेर निधन भएको भनिएको छ, त्यो होइन । छिरिङफुर्वा शेर्पाकी श्रीमतीले दिएको जाहेरीमा उक्त घटनामा श्रीमान् संलग्न नभएको र लडेर निधन भएको भनिएको छ ।
काठमाडौमा निधन भनिएका दुन्डुपको निधन पनि कलेजोको समस्याले भएको पोष्टमार्टमा देखिएको छ । त्यसकारण सुरक्षाकर्मीको हवाई फायरका कारण कसैको निधन भएको छैन । मिडियामा पनि गलत प्रचार भइरहेको छ ।
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !