CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » कान्तिपुरमा चिनियाँ लगानी ???

कान्तिपुरमा चिनियाँ लगानी ???

काठमाडौं। अन्नपूर्ण पोष्ट र दी हिमालयन टाइम्सको प्रकाशन सुरु भएपछि सञ्चारमाध्यममा विदेशी लगानी भित्रिएको भन्दै त्यसको विरोधमा उर्लिएको कान्तिपुर प्रकाशन गृहले अन्ततः आफैंले विदेशी लगानीलाई भित्र्याएको छ। एउटै छातामुनि छापा तथा प्रसारण माध्यम सञ्चालन गरेका कान्तिपुर पब्लिकेसनका मालिक कैलाश सिरोहियाले केबुल व्यवसायमा समेत हात हाल्न विदेशी लगानीलाई भित्र्याएका हुन्। आफ्नै अध्यक्षतामा अखबार, रेडियो र टेलिभिजन सञ्चालन गरेर ती मिडियालाई आर्थिक र व्यावसायिक फाइदाका लागि उपभोग गर्दै आएका र व्यावसायिक साझेदारहरूलाई हटाएर एक्लै हालिमुहाली गर्ने महत्वाकांक्षा बोकेका सिरोहिया पछिल्लो
दिनमा आर्थिक रूपले संकटग्रस्त बन्दै गएका छन्। आर्थिक संकटबाट पार पाउन उनले अप्रत्यक्ष रूपमा आफ्नो प्रकाशन गृहमा चिनियाँ लगानी भित्र्याएका हुन्।  
कान्तिपुर प्रकाशन गृहबाट ज्ञवाली समूहलाई हटाउन उनले कान्तिपुर पब्लिकेसन र कान्तिपुर एफएमको सम्पत्ति मूल्यांकन ह्वात्तै बढाएका थिए। सुरुमा एक अर्ब मूल्यांकन गरिएको कान्तिपुर पब्लिकेसनको सम्पूर्ण सेयर हेमराज ज्ञवाली समूहले खरिद गर्ने मनशाय देखाएपछि पुनर्मूल्यांकन गरी डेढ अर्ब पुर्‍याएका थिए। यसपछि आफ्नो भागको सेयर सिरोहियालाई नै बेचेर ज्ञवाली समूह बाहिरिएको थियो। ज्ञवालीलाई दिने रकम जुटाउन नसकेपछि उड्डयन व्यवसायमा लागेका रामेश्वर थापालाई २३.५ प्रतिशत सेयर दिएर कान्तिपुर पब्लिकेसनको निर्देशक  
बनाएका थिए। तीन वर्ष पनि बित्न नपाउँदै सिरोहियाले थापा हटाउने प्रपञ्च रचे। थापालाई हटाउने क्रममा सुरुमा सञ्चार गृहको मूल्यांकन २ अर्ब गराएपछि थापाले भारी रकम खर्चिनु परेपछि सिरोहिया आर्थिक संकटमा परेको बताइन्छ। यो आर्थिक संकटबाट पार पाउन केही रकम एमाओवादी अध्यक्ष प्रचण्डमार्फत पाएका सिरोहियाले त्यतिले पनि नपुगेपछि चिनियाँहरूको शरणमा पुगेको बताइन्छ। प्रचण्डले आफ्ना खजाञ्ची अजय सुमार्गीमार्फत १० करोडभन्दा बढी रकम लगानी गरेको स्रोतको दाबी छ। नगद र जिन्सी गरी करिब ७५ करोड रुपैयाँ थापालाई बुझाएका सिरोहिया रकम अपुग भएपछि चिनियाँहरूको शरणमा पुगेको बताइन्छ। 
नेपाली कानुन अनुसार अखवारमा विदेशी लगानी गर्न पाइदैन। त्यसैले उनले केबल व्यवसायमार्फत कान्तिपुर प्रकाशनमा समेत लगानी गर्ने सर्तमा चिनियाँ लगानीलाई नेपालमा आमन्त्रण गरेको स्रोतको दाबी छ। यसका लागि सिरोहियाले प्रचण्डसँग हारगुहार गरेर सूचना तथा सञ्चार मन्त्रालयबाट हालै एमएसओ अर्थात् मल्टिसिस्टम अपरेटर संचालनको लाइसेन्स प्राप्त गरेका छन्। सूचना तथा सञ्चारमन्त्रीलाई ५ करोड घूस र प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रचण्डमार्फत दबाब दिन लगाएर प्रसारण नियमावलीको छैटौं संशोधन गराएका सिरोहीयाले  हालै संचार मन्त्रालयबाट एमएसओको लाइसेन्स फुत्काएका हुन्। सिरोहियाको योजना सफल भएमा साना केवल व्यवसायीहरूको घाँटी निमोठिनेछ भने नेपालमा प्रसारण हुने सम्पूर्ण स्वदेशी तथा विदेशी टीभी च्यानलहरू सिरोहियाको अप्रत्यक्ष नियन्त्रणमा पुग्नेछन्। 
सिरोहियाले एमएसओ सञ्चालनका लागि स्यान्ड मार्टिन इन्टरनेसनल होल्डिङ नामक चिनियाँ कम्पनीलाई पार्टनर बनाएका छन्। यो कम्पनीको सिरोहिया अध्यक्ष रहेको डिस होम मिडिया प्रालिको समेत ६० प्रतिशत हिस्सेदारी छ। एमएसओमा पनि उक्त लगानी भित्र्याएपछि त्यस कम्पनीले अप्रत्यक्ष रूपमा पब्लिकेसनमा समेत लगानी गर्ने सूत्र बताउँछ। 
स्रोतका अनुसार, आफ्ना दुई साझेदारलाई हटाएर कान्तिपुरलाई एकल स्वामित्वमा ल्याएका सिरोहियालाई यतिबेला नेपालका बैंकहरूले पनि पत्याउन छाडेपछि उनी एमाओवादी र चिनियाँहरूको शरणमा पुगेका हुन्। ज्ञवाली समूहलाई हटाउने क्रममा नेपाल इन्भेस्टमेन्ट बैंकको कन्सोलीडेसनमा विभिन्न बैंकबाट करोडौं रुपैयाँ ऋण लिएका सिरोहियाले उक्त रकम नतिरेपछि ती बैंकहरू बिच्किएका हुन्। केही समयअघि रकम तिर्न इन्भेस्टमेन्ट बैंकले ताकेता गर्दा उक्त बैंकका तत्कालिन अध्यक्ष पृथ्वीबहादुर पाण्डेका दाजुविरुद्ध कान्तिपुरमा समाचार प्रकाशित भएको थियो। पाँच वर्षअगाडि पोलिमार नोटमा अनियमितता भएको भन्दै छापिएको समाचारमा पृथ्वीबहादुर पाण्डेका दाजु हिमालय पाण्डेलाई जबर्जस्ती मुछ्ने प्रयास गरिएको थियो। जबकी त्यो काण्डमा हिमालय पाण्डेको कुनै हात नरहेको राष्ट्र बैंकले नै पुष्टि गरिसकेको छ।  
यता प्रचण्डले सुमार्गीमार्फत कान्तिपुरमा गरेको लगानीको सेयर कसको नाममा राख्ने भन्नेमा विवाद सुरु भएको छ। उक्त रकम बराबरको सेयर आफ्नो नाममा गराउन कान्तिपुरका सम्पादक सुधीर शर्मा लागिपरेको स्रोत बताउँछ। प्रचण्डकै सिफारिसमा कान्तिपुरको सम्पादक नियुक्त भएका भनिएका शर्माले प्रचण्डबाट पैसा फुत्काउन भूमिका खेलेका कारण त्यस रकम बराबरको सेयर आफ्नो नाममा गरिनुपर्ने तर्क अघि सारेका छन्। यसका लागि उनले प्रचण्डलाई समेत मनाएको स्रोतको दाबी छ। तर सिरोहिया भने शर्मालाई त्यसरी सेयर दिने पक्षमा नरहेकाले त्यसको स्वामित्व कसले पाउने हो टुंगो लागिनसकेको बताइन्छ।





साभार : देशान्तर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis