CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » गृहमन्त्रीको 'सेटिङ'मा क्यासिनोमा नेपाली

गृहमन्त्रीको 'सेटिङ'मा क्यासिनोमा नेपाली

casinoकान्तिपुरले राजधानीका अन्ना, रोयल, क्यासिनो नेपाल, भेनस, साँगि्रला, हयात, एभरेस्ट र र्‍याड गरी आठवटा क्यासिनोमा यसबीच विभिन्न समयमा गरेका स्थलगत अध्ययनका क्रममा नेपाली ग्राहकको संख्या यथेस्ट भेटियो । त्यहाँ प्रहरी छापा या अन्य प्रशासनिक हस्तक्षेपको डर देखिँदैनथ्यो ।


काठमाडौ, फाल्गुन १५ - आर्थिक, सामाजिक र पारिवारिक जीवन तहसनहस पार्ने थलोका रूपमा चिनिएका क्यासिनोमा
यतिबेला गृह प्रशासनले निर्वाध नेपाली नागरिक प्रवेश गराउन थालेको छ । दैनिक करोडौं नाफा हुने गरी जुवा खेलाउने राजधानीका क्यासिनोहरूमा नेपाली नागरिक छिराएर उच्च आर्थिक लाभ लिने खेलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरीभित्र अनुकूल 'सेटिङ' मिलाएका छन् ।
प्रहरीले बेलाबेला छापा मारेर नेपाली नागरिक छिर्नमा कडाइ गरिएको सन्देश दिन खोज्छ । धेरैजसो अवस्थामा त्यस्तो छापा क्यासिनो सञ्चालक र प्रहरीबीचको मिलेमतोमै हुन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रणबहादुर चन्दलाई दुई महिनाअघि खटाइएयता एकचोटि पनि यस्तो छापा मारिएको छैन । राजनीतिक संक्रमण र सुरक्षा क्षेत्रलाई कमजोर बनाउने क्रमसँगै नेपाली ग्राहकबाट निर्वाध क्यासिनो चलाएर मौकाको फाइदा लिने काम भइरहेको हो ।
स्रोतका अनुसार गृहमन्त्री गच्छदारकै स्वार्थमा चलाखीपूर्वक क्यासिनोमा नेपालीको प्रवेश खुलाउन चन्दलाई हनुमानढोका ल्याइएको हो । महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख छँदा आफ्नै अंगरक्षकको आक्रमणमा परेपछि 'लोप्रोफाइल' पोस्टिङमा बसेका उनलाई गच्छदारकै निकटवर्तीले फेरि हनुमानढोका लाने वातावरण मिलाएका हुन् । त्यसका लागि काम गराउन सजिलो मानिने उनी यतिखेर क्यासिनो 'सेटिङ' का 'निमित्त नायक' बनेका छन् ।
कान्तिपुरले राजधानीका अन्ना, रोयल, क्यासिनो नेपाल, भेनस, साँगि्रला, हयात, एभरेस्ट र र्‍याड गरी आठवटा क्यासिनोमा यसबीच विभिन्न समयमा गरेका स्थलगत अध्ययनका क्रममा नेपाली ग्राहकको संख्या यथेस्ट भेटियो । त्यहाँ प्रहरी छापा या अन्य प्रशासनिक हस्तक्षेपको डर देखिँदैनथ्यो ।
एसएसपी चन्दले भने आफू हनुमानढोका आएयता विभिन्न क्यासिनोमा तीनचोटि छापा मारेर ३० जनाभन्दा बढी नेपाली नागरिकलाई कारबाही गरिसकेको दाबी गरे । यो तथ्य अहिलेसम्म परिसरले सार्वजनिक गरेको थिएन । तीनै पटक यति धेरै संख्यामा नेपाली नागरिकलाई मुद्दा चलाइँदा सञ्चालकलाई नतानिएको उनले स्वीकारे । जुवा ऐन २०२० अनुसार व्यावसायिक जुवा खेल्ने र खेलाउने दुवै उत्तिकै सजायका भागेदार हुन्छन् ।
क्यासिनो स्रोतका अनुसार गच्छदारको गृहमन्त्रीकालको पछिल्लो एक वर्ष राजधानीका सबै क्यासिनो 'बुम' हुन पाएका छन् । व्यस्त पर्यटकीय तथा व्यापारिक क्षेत्र दरबारमार्गमा रहेको अन्ना क्यासिनो, रोयल क्यासिनो, बानेश्वरस्थित एभरेस्ट क्यासिनो, ठमेलनजिकको भेनस क्यासिनोले सबैभन्दा बढी नेपाली ग्राहक पाउने गरेका छन् ।
क्यासिनोहरूले गृहमन्त्रीको तजविजमा मिलाइएको यो 'सेटिङ' मा सहमत सबै प्रहरी अधिकृत र थानाहरूमा नियमित भारी नगद बुझाउँदै आएका छन् । एक क्यासिनो प्रबन्धकका अनुसार केही महिनाअघिसम्म हनुमानढोका प्रमुखले सबैभन्दा बढी सबै क्यासिनोबाट गरेर मासिक २० लाख रुपैयाँसम्म बुझेका थिए । क्यासिनोहरूले सीधै वा दलालमार्फत स्थानीय थाना इन्चार्जदेखि हनुमानढोका प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी आयुक्त कार्यालयका अधिकारी, प्रहरी प्रधान कार्यालयका इच्छुक अधिकृत अनि गृह मन्त्रालयसम्म नियमित नगद पुर्‍याउँछन् ।
प्रहरीभित्र अझै पनि क्यासिनोका पैसालाई घूस नभन्ने अनौठो चलन छ । 'क्यासिनो र रक्तचन्दनको पैसा खाइयो, अपराधी छाडेरचाहिँ खाइएन' भन्नेहरू यतिखेर भावी प्रहरी नेतृत्वको बलियो दाबेदारीमा समेत देखिन्छन् । तीन वर्षअघि करछली मुद्दा र सञ्चालकमाथिको प्रशासनिक कारबाहीका कारण धेरैजसो क्यासिनो बन्द भएका थिए ।
राजधानीको सबैजसो क्यासिनो प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सञ्चालन गर्ने नेपाल रिक्रिएसन सेन्टरका प्रमुख भारतीय नागरिक राकेश वाध्वा कर तिर्नुसट्टा व्यापारै छाडेर भागेका थिए । वाध्वा भागेपछि क्यासिनो प्रबन्धक र मजदुर नेताहरू भारतै पुगेर फर्काउन खोजे पनि उनी आउन मानेनन् । बरु आफूनिकट विभिन्न व्यक्तिमार्फत केही क्यासिनोमा लगानी चाहिँ गराए ।
राजधानीमा क्यासिनोको लाभकारी पुनरोदयलाई माओवादी नेतृत्वको सरकार र गच्छदार नेतृत्वको गृह प्रशासनले मलजल गरेको हो । डेढ वर्षदेखि चलेको 'क्यासिनो बुम' सँगै झकिझकाउ जुवाघरबाट ठगिएर घर न घाटका भएकाहरूको समाचार बेलाबेला सार्वजनिक भइरहेका छन् । गत महिना भक्तपुरमा शंकास्पद रूपमा जलेर मृत भेटिएका एक स्थानीयको साथबाट एक क्यासिनोबाट जारी परिचयपत्र फेला परेको थियो । क्यासिनोले केही वर्षयता आफ्ना स्थायी ग्राहकलाई बचाउ गर्न 'बिजेनस प्रोमोसन अफिसर' भनेर कार्ड दिँदै आएका छन् । क्यासिनो सेटिङका कारण 'लाइन' भनेर चिनिने क्यासिनो भएका क्षेत्रका मुख्य चौकीहरूमा गत वर्षदेखि इन्चार्ज सरुवा पनि रोकिएको छ । जुनसुकै पदमा सरुवा, बढुवा गर्दा आफ्नै लिस्ट राख्ने गृहमन्त्री गच्छदारलाई रिझाउन अहिलेको 'लाइन पोस्टिङ' मिलाइएको प्रधान कार्यालयका अधिकारी स्वीकार्छन् । डेढ वर्षयता अहिलेसम्म एकचोटि पनि लाइन चौकीहरूबाट क्यासिनोमा छापा मारिएको छैन । परिसरबाटै खटिएको टोलीले छापा मारेको भनेर प्रचार गरिन्छ । पूर्वप्रमुख जयबहादुर चन्दले केही पटक छापा मार्न लगाए पनि एकचोटि पनि सञ्चालकलाई मुद्दा चलाएनन् । हनुमानढोका कार्यालयमै उनी र अन्ना क्यासिनोको सञ्चालकहरूबीच वार्ता भएको थियो ।
क्यासिनोबाट आउने नगदलाई हकलाग्दो कमाई ठान्ने प्रवृत्ति नेपाल प्रहरीमा छ । जानकारहरू यसलाई आठ जना प्रहरी आठै क्यासिनोको ढोकामा खटाए सल्टने सामान्य समस्या ठान्छन् । तर मुख्य आर्थिक लाभको स्रोतका भएका कारण यसलाई छापा मार्नुपर्ने नौटकीपूर्ण मामलाका रूपमा चित्रण गरेको पाइन्छ । परिसर प्रमुख चन्दले लाइन चौकीहरूले क्यासिनोमा नेपाली प्रवेश रोक्न नसकेको स्वीकार गरे । 'यो पक्षमा पनि हामी ध्यान दिँदैछौं, नेपाली फेला परेमा कारबाही गछौर्ं,' उनले कान्तिपुरसँग भने । क्यासिनोहरूले नक्कली परिचयपत्र बनाएर आफ्ना स्थायी ग्राहक जोगाउने गरेको विषयमा पनि अनुसन्धान भइरहेको उनले उल्लेख गरे ।


प्रकाशित मिति: २०६९ फाल्गुन १५ १२:०४ 

-- सुन्दर खनाल , इकान्तिपुर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis