राजनीति र अपराधबीचको सम्बन्ध बढ्दै गएपछि तराई/मधेश अपराधमय भएको छ ।
संरक्षक बन्दै मधेशवादी
सशस्त्र समूहमा लागेर आपराधिक काम गरेको मुद्दा खेपिरहेकाहरूलाई मधेशवादी दलहरूले पार्टीमा प्रवेश गराएको देखिन थालेको छ । वैधानिक दलमा प्रवेश गरेपछि अपराध गरेको मुद्दा माफी हुने विश्वासमा उनीहरू उत्साहित हुँदै मधेशवादी दल छिर्न थालेका छन् ।
एउटा सशस्त्र समूहका प्रमुख कौटिल्य शर्मालाई भर्खरै राजेन्द्र महतो नेतृत्वको सद्भावनाले युवा दस्ता रक्षावाहिनीको मुख्य जिम्मेवारी दिनु त्यसैको उदाहरण हो । अर्को सशस्त्र समूहका नेता रणवीरसिंहका उपाध्यक्ष रामवृक्ष महतो (विवश विद्रोही) लाई पनि त्यही दलले केन्द्रीय सदस्य बनाउँदै आउँदो निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
सद्भावनामा गत महीना प्रवेश गरेर उपाध्यक्ष बनेका सञ्जय साहमाथि पनि आपराधिक अभियोग छ । यद्यपि, उनी गत संविधानसभा निर्वाचनमै मधेशी जनअधिकार फोरमबाट निर्वाचित सभासद् हुँदै माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेका थिए ।
हत्या अभियोग लागेकै वेला गत संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका ववन सिंह फोरम नेपाल प्रवेश गरेर आउँदो निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । सिरहाका कृष्णचरण श्रेष्ठको हत्याका आरोपी स्वामीजी भनिने रामलोचन ठाकुरले निर्वाचन आयोगमा जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स नामको पार्टी नै दर्ता गराएका छन् । उनको दलले जनकपुरमा केन्द्रीय कार्यालय खोलेको छ ।
अपराधको खानी
लागूऔषधको कारोबारमा पनि यो क्षेत्रले मुलुकको आधा हिस्सा ओगटेको प्रहरीको तथ्याङ्क छ । २०६९/७० मा मुलुकभरि १८४७ वटा लागूऔषधका मुद्दा चलेकोमा यो क्षेत्रमा ९९५ वटा थिए । २०६८/६९ मा पनि मुलुकभरिमा यसका १७१५ मुद्दा चलेकोमा यो क्षेत्रमा ९५६ वटा देखिन्छ (हे. टेबल) ।
मोरङ, धनुषा र रूपन्देहीमा खटिएर अहिले काठमाडौं जिल्ला प्रहरी कार्यालय आएका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी तराई–मधेशमा आपराधिक गतिविधि बढ्नुमा स्थानीय राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताउँछन् । स्थानीय नेताहरूमा व्यक्तिगत स्वार्थका कारण आपराधिक गिरोहलाई प्रत्यक्ष र अप्रत्यक्ष संरक्षण गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै चतुर्वेदी भन्छन्, “भारतसँगको खुला सीमाका कारण सस्तोमा साना हतियार र विस्फोटक पदार्थ पाइनु, अपराध गरेर सजिलै सीमापारि सुरक्षित हुन सक्नु र भाडामा सूटरहरू पाउनु तराईमा अपराध बढ्नुका अरू कारण हुन् ।”
प्रहरी प्रवक्ता नवराज सिलवाल संविधानसभाको आउँदो निर्वाचन अघि तराईमा आपराधिक गतिविधि अरू बढ्न सक्नेमा प्रहरी प्रशासन सचेत रहेको बताउँछन् । सो क्षेत्रमा राजनीतिक संरक्षणले अपराध बढाएको हुनसक्ने स्वीकार्दै सिलवाल भन्छन्, “त्यही भएर प्रहरी अहिले साना घटनालाई पनि सूक्ष्म रूपमा नियाल्दै त्यसले विकराल रूप नलेओस् भनेर सतर्क छ ।” उनी समाजका सबै पक्ष जिम्मेवार हुँदा मात्र अपराध नियन्त्रण हुनसक्ने बताउँछन् ।
साना हतियारको टाउकोदुखाइ
गृह मन्त्रालयले गैरकानूनी हतियार बुझाउन दिएको अन्तिम अल्टिमेटम २ जेठसम्म मुलुकभरिमा ६ हजार ७१३ थान बन्दूक र साना हतियार प्रहरीमा आइपुगेका थिए । जसमध्ये ७२० बन्दूक प्रहरी कारबाहीमा समातिएका थिए भने भगतसिंह समूहको जनतान्त्रिक मधेश मुक्ति पार्टीले १२७ थान हतियार बुझाएको थियो । हतियारको जगजगी रहेको तराई/मधेशका कपिलवस्तु, रूपन्देही र नवलपरासीदेखि सिरहा, सप्तरी, सुनसरीसम्म गृह मन्त्रालयको सो अभियान पूर्ण रूपमा निष्प्रभावी देखिएको थियो । प्रहरीका अनुसार सिरहा र सप्तरीमा हतियार नै संकलन भएन भने रूपन्देहीमा ३ थान, नवलपरासीमा २८ थान र कपिलवस्तुमा ३६ थान हतियार प्रहरीकोमा आइपुग्यो । जबकि, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा माओवादी सशस्त्र द्वन्द्वमा सरकारले प्रतिकार समूहलाई ७०० हतियार बाँडेको थियो । राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय, बुटवलका अनुसार त्यो वेला नवलपरासीका ११ गाविसमा मात्रै २३७ थान हतियार बाँडिएको देखिन्छ ।
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !