CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सुन्दर, शान्त, विशाल नेपाल

सुन्दर, शान्त, विशाल नेपाल


प्रधानमन्त्री बाबुराम भट्टराई पनि उनका पूर्ववर्तीहरूजस्तै भ्रष्ट, विदेशी दलाल, सर्वसत्तावादी, कठपुतलीलगायतका सबै महत्त्वपूर्ण उपाधि भिरेर सत्तामा टपक्क टाँसिएर बसेकै छन्। मन्त्रिपरिषदका अरू सदस्यहरू कमिसन, ठेक्कापट्टा, टेन्डर, घर, गाडी, सेयर आदिको कारोबारमा लागिरहेकै छन्। कमरेड प्रचण्ड फेरि एकपटक प्रधानमन्त्री हुने इच्छा सार्वजनिक गरेर राजनीतिक तरंग सिर्जना गर्ने मुडमा देखिन्छन्। राष्ट्रपति यादव दलहरूलाई पटकपटक सहमतिका लागि 'अन्तिम म्याद' थपिरहने दैनिकीबाट मुक्त भएर सानन्द हिटरमा हात सेकाउँदै छन्। कमरेड वैद्य सबै अन्य दलहरूलाई प्रदान गरिने मान, पदवी, अलंकार र विभूषणहरूका नाम लेख्तै छन्। कमरेड बादल मिहिनेतका साथ दाह्री खौरसिकेर कपाल मिलाउँदै छन्। माधव नेपाल सिरकमा डल्लो परेर झ्यालबाट बाहिर उडिरहेको हुस्सु हेररिहेका छन्। 'आन्दोलनको आँधीबेहरी ल्याइसकेर अब निःशस्त्र जनयुद्ध सुरु गर्न लाग्नुभएछ नि कमरेड !' भन्ने आफ्नै पत्नीको कटाक्ष सुनेर झलनाथ मरीमरी हाँस्दै छन्। रामचन्द्र गीता पाठ गररिहेका छन्। शेरबहादुर खसीको पक्कु चाखेर जिब्रो पड्काउँदै छन्। 

टेलिभिजनहरूमा प्रतिपक्षीका आन्दोलन कार्यक्रमहरू प्रसारण भइरहेका छन्। हेलिकप्टरमा चढेर सरकार गाउँगाउँ गइरहेको छ। अखिल र नेविसंघका केही कार्यकर्ता अस्ति जुलुसमा हिँड्दा दुखेको शरीरलाई ओछ्यानमै लडाएर आराम दिलाइरहेका छन्। केही अधिकारकर्मीहरू 'अकुपाई बालुवाटार'को झर्कोलाग्दो कार्यक्रम सकेर ढुक्कले घरको छतमा घाम तापिरहेका छन्। सरकारले पोहोर साल भत्काएको सडकको दायाँबायाँ फाट्टफुट्ट कामदारहरू जाँते कीराको गतिमा गिटी चलाउँदै छन्। बटुवाहरू धूलो उडाउँदै दगुर्ने सवारी साधन र सरकारलाई एकसाथ सरापिरहेका छन्। 

दुई-चार महिनाको अन्तरमा मेलम्ची खानेपानीको समाचार अखबारमा छापिइरहेको छ। फास्ट ट्रयाक र सुरुङ मार्गको प्रगति विवरण कुनै न कुनै सञ्चारमाध्यमले बेलाबखत प्रकाशन गररिहेका छन्। कुन्नि कुनकुन खोलाबाट कुन्नि कति वर्षपछि कुन्नि कति मेघावाट विद्युत् निस्कने समाचार पनि आइरहेको छ। प्रधानमन्त्री महिनैपिच्छे लोडसेडिङ् घटाउने कुरा गर्दै छन्। विद्युत् प्राधिकरण हप्तैपिच्छे लोडसेडिङ् बढाइरहेकै छ। बालिका बलात्कार, महिला हिंसा, हत्या र लुटपाटका घटना सदाझैँ निरन्तर भइरहेकै छन्। प्रहरी समयसमयमा पत्रकार सम्मेलन गरेर अपराधी सार्वजनिक गररिहेको छ। 

मुलुकका विभिन्न सानाठूला सभाकक्षमा कविहरू चर्काचर्का कविता सुनाएर सरकारको उछितो काढिरहेका छन्। केही युवाहरू फाट्टफुट्ट मसाल जुलुस र कोणसभाहरू गररिहेका छन्। विपक्षी दलका नेताहरूको वक्तव्य जारी गर्ने कर्तव्य जारी छ। बलराम दूधमा पानी मिसाइरहेको छ। राधेश्याम पेट्रोलसँग बतास बेचिरहेको छ। मापसे जाँच कडाइका साथ जारी छ। भट्टी पसलहरूको नाफा झनै बढिरहेको छ। जुत्ता, मोजा, थाङ्ना र आन्द्राबाट उत्पादित मदिरा बजारमा धमाधम बिक्री भइरहेको छ। बर्डफ्लुले कुखुराहरू मररिहेका छन्। बजारभाउ अकासिइरहेको छ। बजार अनुगमनका अधिकारीहरू पिकनिकमा म्यारजि खेलिरहेका छन्। 

कस्तो मनोरञ्जक र सुखद वातावरण छ देशमा ! सबै कुरा ठीकठाक चलिरहेको छ। ठोकठाक गर्नुपर्ने केही छैन। सबै शान्त छ। आनन्द छ। पुर्खाहरूले यो देशलाई त्यसै सुन्दर, शान्त, विशाल नेपाल भनेको होइन रहेछ। यस्तो देखेर म त अचेल ढुक्कले निदाउन थालेको छु। तपाईं के गर्दै हुनुहुन्छ कुन्नि 











झटारो लक्ष्मण गाम्नागे,  ईकान्तिपूर
 


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis