'तनावमुक्त मन, हिंसामुक्त समाज तथा शान्त र समृद्ध नेपाल' स्थापना गर्ने हामी नेपालीहरूको आपराधिक चाहना पूरा गर्न सघाउन आएका रे श्री श्री श्री रवि शंकर। 'आर्ट अफ लिभिङ् नेपाल'को आयोजनामा हामी सम्पूर्ण नेपालीको भलाइका लागि उनी प्रवचन दिँदै छन् काठमाडौँका विभिन्न ठाउँमा। उनको एउटा प्रवचन प्रहरी तालिम केन्द्रमा समेत भएछ।
यो सुनेर मलाई अचम्म लाग्यो, प्रहरीको सभाकक्षमा यत्ति लामो झ्याम्ले कपाल पालेका गुरुले कसरी प्रवचन दिन सफल भए ? सारा पत्रपत्रिकाहरूमा
छ्यापछ्याप्ती विज्ञापन छापेर चुल्ठे गुरु उपत्यकामा खुलेआम प्रवचन दिइरहेछन्, एसएसपी रणबहादुर चन्दजी के हेरेर बसेका छन् ? समात्नु पर्दैन ? ल हेर त, रवि गुरुका प्रवचनले दुई-चार हजार मानिस तनावमुक्त भए भने, समाज अलिकति भए पनि सुधि्रयो भने, नेपाल समृद्ध भयो भने भएन त बर्बाद ? यस्तो आपराधिक काममा लाग्न पाइन्छ चुल्ठो पालेर ? लौ अब नेपाल आउन् त रामदेव बाबा ! देख्लान् बाबुको बिहे !यो सुनेर मलाई अचम्म लाग्यो, प्रहरीको सभाकक्षमा यत्ति लामो झ्याम्ले कपाल पालेका गुरुले कसरी प्रवचन दिन सफल भए ? सारा पत्रपत्रिकाहरूमा
मानौँ, रविजी, रामदेवजीलाई त विदेशी पाहुना भनेर प्रहरीले छुट पनि देला तर अब मेरा मित्र सुनील पोखरेलको के गति होला ? ती पनि कम्ती अपराधी छन् र ? नाटक खेल्छन्, निर्देशन गर्छन्, देशविदेश जान्छन् र नाटक प्रदर्शन गर्छन्। बारम्बार सञ्चार माध्यमहरूमा आइरहने यी झ्यापुल्लेलाई खोज्न प्रहरीलाई टाढा जानै पर्दैन। कुनै नाटकघरतिर छापा मार्यो भने उनी मात्रै होइन, म नामै बताइदिन्छु प्रहरीलाई, राजन खतिवडा, भोला सापकोटा, सौगात मल्लजस्ता चुल्ठेमुन्द्रे अपराधीहरूलाई एकै ठाउँमा झ्याप्प पार्न सकिन्छ। यी सबै सुनीलकै ग्याङ्का केटा हुन्। राजेश हमाललाई पनि त छाड्न मिलेन नि ! नियम भनेको सबैलाई बराबर हो क्यारे !
मलाई अर्का साथी युग पाठकको सम्झना आइरहेको छ। नानाथरी साहित्य लेखेर समाज भाँड्ने काम गर्छन्। ठूलाबडाको उछितो काढ्छन्। र, सबैभन्दा ठूलो अपराध कुमकुमसम्मको कपाल पाल्छन्। कपालले मुन्द्रा छोपेका छन्। तिनलाई तुरुन्तै कर्यापच्याप पार्नुपर्यो। विप्लव प्रतीक नाम गरेका कवि पनि कपाल पाल्छन् है एसएसपी सा'ब। तिनलाई पनि ठीक पार्नुपर्छ। कविता लेख्ने कुकर्ममा संलग्न छन्।
उता सरुभक्त ! काठमाडौँका चुल्ठेमुन्द्रेको सराद्धे सकेपछि चन्द साहेबलाई पोखरा सरुवा गर्नुपर्छ र पोखराका सरुभक्तहरूका चुल्ठा उखेल्नुपर्छ। ती पनि कथा, उपन्यास र नाटकहरू लेखेर समाज बिगार्नमा तल्लीन छन्।
केही दिनदेखि लेखक अभि सुवेदी घरबाटै निस्किएका छैनन् अरे ! उपन्यासकार सञ्जीव उप्रेतीले देशै छाडेछन्। तिनीहरूको कपाल पनि झलक्क हेर्दा अपराधी अपराधी परेको छ। अरू पनि थुप्रा छन् त्यस्ता चुल्ठे र मुन्द्रेहरू। ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति किरण मानन्धर त हेर्दा पनि भिलेनजस्ता छन्, कपाल पनि लामै पाल्छन्। तिनको पनि सराद्धे गरिहाल्नुपर्छ।
बलात्कारी, हत्यारा, अपहरणकारी, लुटेरा, ठग, भूमाफिया, घुस्याहा, चोर, पाकेटमारा इत्यादिहरू बजार घुम्दै गरुन्, पहिला कपाल पाल्ने अपराधीहरूलाई तह लगाउनुपर्छ। यो अभियानमा मेरो पूर्ण सहयोग रहनेछ। प्रहरीले चुल्ठेमुन्द्रेहरूको सुराकी दिनेलाई कुनै नगद पुरस्कार-सुरस्कारको व्यवस्था गरेको छ भने त्यो मैले पाउनुपर्छ। त्यसो भएमा बाँकी चुल्ठेहरूको नामावली अर्कोपालि दिनेछु।
साभार ; लक्ष्मन गाम्नागे , नेपाल बाट