CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यौनरोग कि मनोरोग?

यौनरोग कि मनोरोग?

यौनरोग कि मनोरोग?यौनजीवन स्वस्थ भएन भने मान्छे निराश, कुण्ठित र हताश हुन्छ। जीवनमा उसले कुनै सौन्दर्य देख्दैन, कुनै मिठास भेट्दैन। शारीरिक तथा मानसिक रोग र समस्याले यौनजीवन तहसनहस बनाउन सक्छन्। भनिन्छ– करिब ८५ प्रतिशत यौन समस्या मानसिक हुन्छन्। र, पीडित व्यक्ति भने मनोचिकित्सकहाँ नपुगी अन्यत्र भौँतारिरहेको हुन्छ, फुटपाथमा माइकले फुकेका औषधिमा भर परिरहेको हुन्छ र भरमार विज्ञापन गरिएका यौनवर्द्धक औषधिको शरणमा पुगिरहेको हुन्छ। अम्मर जिसीले यौन समस्याका शारीरिक र मानसिक पाटा केलाउन खोजेका छन्।
ट्राभल एजेन्सीमा काम गर्ने सुदन (२८) का लागि चाइनिज युवतीसँगको सेक्स सुखद बन्न सकेन। चरम सुखमा नपुग्दै रक्षाकवच (कन्डम) फुटिदियो। हतारमै अँगालोमुक्त भइहालेका उनी भयमुक्त हुनै सकेनन्। यात्रा गरिरहने विदेशी युवतीको के भर? उनले स्वास्थ्य परीक्षण गराइहाले। तत्कालै रिपोर्ट ‘नेगेटिभ' देखिए पनि डर भने कायमै थियो। सानातिना स्वास्थ्य समस्या आउन नपाउँदै उनलाई त्यही घटनाले पिरोलिहाल्थ्यो। एक वर्षभित्र पाँच जना चर्म तथा यौन रोगका डाक्टरकहाँ धाए उनी। सकेजति परीक्षण गरे। सबैमा ‘नर्मल' देखिए। डाक्टरहरूले ‘केही छैन, ढुक्क हुनुस्’ भने पनि उनलाई निद्रा लाग्न छाड्यो। एकोहोरो भइरहन्थे। यौन चाहना हुँदैनथ्यो। श्रीमतीको अगाडि जानै डराउन थाले। समस्या दिनदिनै बढ्न थाल्यो। उनका एक मित्रले मनोचिकित्सककहाँ जान सुझाएपछि उनी पुगे, पाटन अस्पतालको मानसिक रोग विभागमा। ‘उनलाई त यौनरोग होइन, मनोरोगले गाँजिसकेको रहेछ,’ विभागका प्रमुख डा. रवि शाक्यले भने।
०००
photo2
कविता (३०) लाई ओठमाथि पहेँलो लेप लागिराख्ने समस्या आयो। भर्खरै विदेशबाट फर्केकी उनको मनमा डर पलायो– विदेशमै रहँदा भएको असुरक्षित यौन सम्पर्कले कतै यौनरोग पो सरिहाल्यो कि? परिवारले थाहा नपाउनेगरी ‘यौन रोगको ग्यारेन्टी उपचार’ भनेर विज्ञापन गरिएको एक क्लिनिकमा गइन् उनी। ‘मुसा हो, खुर्किनुपर्छ’ भनिदिएछन् डाक्टरले। उनमा झन त्रास थपियो। त्यहाँ थप केही नगरेर उनी पुगिन्, केएमसी हस्पिटल। सबै चेकअप गर्दा रिपोर्ट ‘नर्मल' देखिए पनि उनको त्रास हटेन। ‘धेरै चिन्ताले अर्को समस्या निम्तने सम्भावना थियो,’ केएमसीका चर्म तथा यौन रोग विभागका डा. रूपक घिमिरेले भने, ‘समस्या यौनसँग नजोडिएको सामान्य रहेछ। उनको भयले अर्को समस्या बल्झँदै थियो।’ साधारण मलमले नै कविताको समस्या ठीक भयो।
काठमाडौँ मेडिकल कलेज (केएमसी), सिनामंगलका चर्म तथा यौन रोग विभाग प्रमुख डा. गोविन्द पोखरेलका अनुसार सबैजसो यौनरोग सर्ने संसर्गबाटै हो। रोग सर्ने सम्भावना मजबुत भए पनि सबैलाई रोग लागिहाल्छ भन्ने होइन। चेकअपपछि रोग देखिहाले उपचार थाल्ने हो। रोग नै नदेखिएकालाई पनि मनको भूतले तर्साउँछ। ‘यसले मनोरोग निम्त्याउँछ,' केएमसीकी मनोचिकित्सक डा. रचना शर्मा बस्नेत भन्छिन्, ‘जहाँ गए पनि रिजल्ट नेगेटिभ देखिन्छ। तर, मनमा डर पालिरहने गर्नाले व्यक्ति अन्तिममा डिप्रेसनसम्म पुग्छ।'
०००
वर्षौंपछि विदेशबाट फर्केका श्रीमान् रातमा अस्वाभाविक रूपमा टाढिन खोजेपछि सबैका श्रीमती चिन्तित हुन्छन्। दुर्गेश (३२) साँझ पर्योा कि ओइलाउन थालेपछि उनकी श्रीमती आजित भइन्। श्रीमान्लाई यौनरोग लागेको शंकामा अस्पताल जान दबाब दिइन्। डाक्टरहरूले सबै टेस्ट गरे। केही नदेखिएपछि उनलाई डाक्टरहरूले उत्तेजना बढाउने एलोपेथिकसँगै आयुर्वेदिक औषधि पनि लेखिदिए।
दुर्गेशका रात झन् तनावग्रस्त हुन थाले। उत्तेजनाले रगत उम्लिने तर यौन सम्पर्क गर्नै मन नलाग्ने। श्रीमतीको कचकच झन् उग्र बन्दै गयो। त्यसपछि उनलाई मनोचिकित्सककहाँ पुर्या्इयो। ‘उनलाई त डिप्रेसन भइसकेछ,’ मनोचिकित्सक शाक्यले कारण फेला पारे, ‘उनी त सेक्समात्र होइन, पूरै जिन्दगीदेखि नै निराश रहेछन्। शंकैशंकामा अनाहकमा दुःख पाए।’ ऋणको बोझ, वर्षौंको विदेश बसाइ उपलब्धिमूलक हुन नसकेको, अब के गर्ने भन्ने दोधार भइरहेका जस्ता कारणले दुर्गेश एकाग्र हुन नसकेका रहेछन्।
०००
photoe2
१४ वर्षकै उमेरमा बिहे गरेकी उर्मिला (२५) यौनसम्पर्क हुनेबित्तिकै बिरामी पर्छिन्। एक पटक सेक्स गर्योस कि दुईतीन दिन बिरामी। पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने आदि हुन्छ उनलाई। चेकअपका लागि अस्पताल पुर्या इयो उनलाई। लक्षण मिलेजति रोगको औषधि खुवाउँदा पनि उनलाई निको भएन। अन्तिममा मनोचिकित्सकले उनलाई मनोरोग भएको फेला पारे। ‘सानैमा जबर्जस्ती बिहे गराइएको रहेछ। पहिलो रात नै जबर्जस्ती भएपछि उनका लागि हरेक रात काल लाग्थे,’ मनोचिकित्सक शाक्यले भने, ‘उनलाई आफ्नो सम्बन्ध नै मन परेको रहेनछ। श्रीमान्को व्यवहार नै मन नपरेपछि के लाग्छ र?’ सेक्स गर्दा हुने मनको भयले अरू समस्या नित्याएको रहेछ।
पाँच वर्षपछि इजरायलबाट फर्केकी रूपा (२९) श्रीमान्को फेरिएको व्यवहार देखेर वाक्क थिइन्। श्रीमान् न्यानो आलिंगनको आशमा चार महिना बित्यो। श्रीमतीको दबाबमा चेकअपका लागि मनोचिकित्सकसम्म पुगे। चानचुने समस्याले नै उनीहरूको यौनजीवन असरल्ल परेको भेटे चिकित्सकले। ‘उतिबेला बच्चा साना थिए। अहिले बढेर ठूला भइसके। कोठा एउटै भएपछि श्रीमान्को मन सेक्सतिर जानै सकेन,’ डा. शाक्यले भने, ‘कोठा छुट्टै व्यवस्था गर्न भनेपछि उनीहरू अहिले खुशी छन्। कुनै कुराको भयले मन शान्त छैन भने सेक्स चाहना नहुनु स्वाभाविक हो।'
अन्योलमा बिरामी
यौन समस्याले आजित छ समाज। कसैको यौन इच्छा ओरालो लागेको हुन्छ। कोही सन्तुष्टि खोज्दै भौँतारिइरहेका छन्। कोही छिट्टै स्खलित हुन्छन्। कसैको यौनांग चिलाइरहन्छ, घाउखटिराले सताइरहन्छ। यी यावत् समस्याले मानिसहरूको यौनजीवन तहसनहस बन्दै छ। कस्तो समस्यामा कुन डाक्टरलाई भेट्ने? अन्योलले बिरामीलाई पीडामाथी पीडा थपिरहेको छ। छाला र यौन दुवै रोग एउटै डाक्टरले हेर्ने गरेकाले बिरामीहरू भेउ पाउँदैनन्। कस्तो अवस्थामा चर्म तथा यौन वा मानसिक रोगको डाक्टर भेट्ने? उनीहरू सधँै अन्योलग्रस्त हुन्छन्।
‘सबै खाले यौनरोग हामी हेर्दैनौँ,’ डा. रूपक भन्छन्, ‘सरुवा यौनरोग मात्र हो हामीले हेर्ने। इच्छा नहुने, चाँडो स्खलन हुने, सन्तुष्टि नहुने जस्ता समस्या मानसिकतिरका हुन्।’ ‘मानसिक’ सुन्ने बित्तिकै बिरामीको सातो गइहाल्छ।
केएमसीको चर्म तथा यौन रोग विभागमा आएको त्यस्तो बिरामीलाई तल्लो तलामा रहेको मानसिक रोग विभागमा ‘रिफर' गर्नै मुश्किल पर्छ डाक्टरहरूलाई। ‘सीधै मानसिक रोग भन्यो भने छाँगाबाट खस्छ बिरामी। चिन्ताले समस्या भइरा'छ भनेर फकाउनुपर्छ,’ केएमसीकी डा. सविना भट्टराई भन्छिन्, ‘तल जानै मान्दैनन्। बिरामी बीचमै हराउने सम्भावना धेरै हुन्छ। ‘तल गएर काउन्सिलिङ मात्र लिनुस्, औषधि हामी नै लेखिदिउँला’सम्म भन्दै फकाउँदा पनि मान्दैनन्।’
नेपाल र भारतमा चर्म तथा यौन रोगमा एउटै डाक्टरले विशेषज्ञता हासिल गर्छ। यौन रोग मात्र हेर्ने डाक्टर भेट्न सकिँदैन। मानसिक कारणले उब्जिएका यौन समस्या पनि चर्म तथा यौनकै डाक्टरले हेरिदिने गरेपछि समस्या बढेको आरोप लगाउँछन् मनोचिकित्सकहरू।
प्रतिष्ठाको विषय
बिरामीकै विश्वासमा अड्केको हुन्छ, डाक्टरी पेशा। यत्रो विश्वास गरेर आएको बिरामीलाई खाली पठाउन वा अन्त रिफर गर्न तयार हुँदैनन् उनीहरू। ‘सबै कुरामा जान्ने छु भन्ठान्छन् डाक्टरहरू,’ एक मनोचिकित्सकले आरोप लगाए, ‘स्वास्थ्यलाई पनि प्रतिष्ठासँग जोडेर हुन्छ?’
नेपाल स्किन हस्पिटलकी चर्म तथा यौन रोग विशेषज्ञ डा. अनुपमा कार्की भन्छिन्, ‘यौनरोगका हरेक खाले बिरामी आउँछन्। सबै हामीले हेर्ने त होइन। तर, सेक्सोलोजिस्ट नभएको अवस्थामा त्यस्ता केस कहाँ पठाउने?’ केएमसीका डा. रूपक पनि सामान्य अवस्थामा सरुवाबाहेक शीघ्रपतन र उत्तेजना नहुने समस्या पनि आफूले हेर्ने गरेको स्विकार्छन्। ‘सामान्य ज्ञान हामीलाई पनि नहुने होइन,’ उनले भने, ‘पहिलो पटक सामान्य औषधि लेखिदिन्छौँ। त्यसपछि भएन भने त्यहाँ जानुस् भन्नुपर्ने हुन्छ।’ उनलाई पनि लाग्छ, मानसिक रोगप्रतिको गलत बुझाइले बिरामीलाई रिफर गर्न समस्या छ।
मानसिक रोगको गलत बुझाइ
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषा ‘शारीरिक, मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु’ भनेर उल्लेख गरेको छ। शारीरिक स्वास्थ्यबारे जहीँतहीँ चर्चा भइरहे पनि मानसिक र सामाजिक स्वास्थ्यबारे कमै मात्र चासो दिइन्छ। अझ मानसिक स्वास्थ्य भन्ने बित्तिकै सबै तर्सन्छन्।
मनोचिकित्सक डा. रवि शाक्य भन्छन्, ‘मानसिक रोग वा मनोरोग भन्नेबित्तिकै पागल मात्र बुझ्ने गलत सोचाइ छ।’ यो सोचाइ बिरामीमा मात्र होइन, स्वास्थ्यकर्मीमै व्याप्त छ भन्छन् उनी। ‘अरू त अरू, मानसिक रोगको डाक्टरले नै म साइकियटि्रक हुँ भन्न डराउँछ,’ उनले गुनासो गरे, ‘धेरै बिरामी मानसिक रोगको विभाग छिर्नै मान्दैनन्।’ सबै यौन समस्या औषधिबाट मात्र उपचार सम्भव नहुने उनले बताए। ‘औषधि मात्र पेल्दा यौनजीवन ध्वस्त हुन सक्छ। औषधिसँगै मनको डरलाई पनि सम्बोधन गर्नुपर्छ,’ उनी भन्छन्, ‘८५ प्रतिशत यौन समस्या मानसिक कारणले हुन्छन्। शारीरिक खराबीले १५ प्रतिशत मात्र हो।’
यौनरोग विशेषज्ञ डा. सुबोधकुमार पोखरेल पनि हरेक रोगमा मानसिक समस्या जोडिएर आउने बताउँछन्। ‘मनलाई नियन्त्रणमा लिन नसके कुनै पनि समस्या समाधान हुँदैन,’ उनले भने, ‘शरीरले मात्र यौनजीवन सुखद बन्ने होइन। मानसिकसँगै सामाजिक तथा आध्यात्मिक व्यवहार पनि समान रूपले व्यवस्थित हुनुपर्छ।’
त्रिवि शिक्षण अस्पताल, मानसिक रोग विभागका हेड एसोसिएट प्रोफेसर डा. सरोजप्रसाद ओझा मानसिक रोगप्रतिको जनचेतना अभावले यौनजीवनमा प्रत्यक्ष प्रभाव पारेको बताउँछन्। ‘मानसिक जोड्नेबित्तिकै डराउने प्रवृत्ति छ,’ उनी भन्छन्, ‘त्यसैले मानसिक नभनी साधारण खालको मनौवैज्ञानिक समस्या छ भनेर बुझाउनुपर्छ बिरामीलाई।’ डाक्टरहरूका बीचमा समन्वयको खाँचो औँल्याउँछन् उनी। ‘सक्ने, नसक्ने सबै आफैँले हेर्ने प्रतिस्पर्धा हुन्छ। समन्वय छैन,’ उनले भने, ‘मनोपरामर्श मात्र लिँदा पनि सञ्चो हुने बिरामी हुन्छन् कुनै। त्यस्तालाई औषधि पेलेर कसरी हुन्छ निको?’ उनका अनुसार यौन इच्छा नहुने, सन्तुष्टि नपाउने, उत्तेजना नहुने भन्दाभन्दै बिरामी डिप्रेसनसम्म पुग्न सक्ने खतरा हुन्छ। 
त्रिविकै सिनियर कन्सल्ट्यान्ट प्राडा हरिनारायण गुप्ता भने समन्वयमै उपचार गरिरहेको बताउँछन्। ‘अन्य कारणले पनि यौन समस्या हुने भएकाले समन्वय गरेकै हुन्छौँ,’ चर्म तथा यौन रोग विशेषज्ञ उनले भने, ‘शतप्रतिशत मनोरोग देखिए त हामीले हेर्ने कुरै हुँदैन।’ केएमसीकी डा. एलिज अर्याल रजौरिया टिम वर्कको आवश्यकता देख्छिन्। ‘कुनै केस एउटैले मात्र हेरेर सम्भव हुँदैन,’ उनले भनिन्, ‘त्यस्तो अवस्थामा अन्य विभागसँग समन्वय गरेर उपचार गर्ने हो।’
धेरै देखिने यौन समस्या
यौन रोग शारीरिक, मानसिक दुवै कारणले हुन्छन्। केएमसीका डा. गोविन्दका अनुसार एसटीआई (सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन) मात्र सरुवा हुन्छन्। ब्याक्टेरिया तथा फंगसबाट हुने एसटीआईको उपचार हुन सक्छ। भाइरसबाट हुने प्रायः रोगको उपचार सम्भव छैन। यस्ता समस्या समय–समयमा बल्भि्करन्छन्।
अहिलेको कमन एसटीआई यौनांगमा मुसा आउने हो। हातमा देखिने मुसाभन्दा अलि फरक हुन्छ। यो सरुवा हुन्छ। यसको खतरनाक असर भनेको इन्फेक्सन क्यान्सरमा परिणत हुने सम्भावना करिब १० प्रतिशत रहन्छ।
यौनांगमा मसिना पानीका थोपाजस्ता दाना आउने समस्या पनि छ। भाइरल इन्फेक्सन भएकाले वर्षमा चारपाँच पटक आउँछ यो। यस्तै, ब्याक्टेरियाबाट हुने सिफिलिस पनि केहीमा हुन्छ। यौनांगमा काई परेजस्तो ढुसी जम्मा हुने, पिसाब पोल्ने, पिप आउने समस्याले पनि धेरैलाई सताउँछ। ‘यौनांगमा सानो होस् वा ठूलो, घाउखटिरा आउँछ भने लुकाउनु हुँदैन,’ डा. गोविन्दले भने, ‘जचाइहाल्नुपर्छ। समयमै उपचार पाए निको हुन सक्छ।’ केएमसीले गरेको एक अध्ययनले धेरैजसो मुसा, गोनोरिया र क्यानडिडा (सेतो पानी बग्ने) समस्या आउँछन्। आठदेखि ७८ वर्ष उमेरसम्मका मान्छे यौनरोग लिएर आएका छन् केएमसीमा। डा. एलिज भन्छिन्, ‘यौनरोगबाट पीडित आर्मी, पुलिस र ड्राइभर धेरै आउँछन् उपचारका लागि। सामूहिक संसर्ग गर्नेहरू धेरैमा यौन रोग देखिन्छ।'
स्किन हस्पिटलकी डा. अनुपमाको अनुभवमा ‘मल्टिपल पार्टनर'सँग संसर्ग गर्नेहरू धेरै आउँछन्। ‘यौनजीवनमा धेरै कुराले प्रभाव पार्छ,' उनी भन्छिन्, ‘अरू कुनै पिरले हो कि? सम्बन्ध ठीक छैन कि? गे पो हो कि। या त, सेक्स गर्ने माहोल नै छैन कि?’
यौनांगमा फंगस आउने समस्या पनि बढी देखिन्छ। डा. अनुपमाका अनुसार एकदम संवेदनशील क्षेत्र हो यौनांग। ‘पसिना आउने र यौनांग गुम्म राखिने भएपछि फंगस बढ्ने मौका पाएर सक्रिय बन्छ,' उनी भन्छिन्, ‘नुहाएको पानी नपुछ्दा सुख्खा हुँदैन यौनांग। गन्हाउने पनि हुन्छ। अनि के पो भइहाल्यो भनेर साह्रै आत्तिन्छन्। अरूबाट पनि सर्छ फंगस। यौनांगको सुरक्षा र सफाइ नियमित गरे यो समस्या ठूलो होइन।'
‘ठूलो लडाइ जितेको जस्तो भइराछु,’ फंगसबाट सताइएका राहुल (३५) ले लामो सास फेरे, ‘मलाई केही भएको रहेनछ।’ फंगसकै कारण शरीर नै डुङडुङ गन्हाउन थालेपछि उनलाई लाग्यो, ‘मलाई त यौनरोग लागेछ।’ दुई वर्षअघिको यौनसम्पर्कले यौनरोग लागेको डर थियो उनमा। ‘टोपी लाएरै गरेको थिएँ,’ उनले भने, ‘कन्डम लाउँदा पनि यौनरोग सर्ने सम्भावना हुन्छ भन्ने सुनेको थिएँ। त्यही भएर एकदम डराएँ। अझ अरूको नजिक जानै डर लाग्नेगरी गन्ध आउन थाल्यो।’ यौनांगको सरसफाइमा ध्यान नदिँदा उनमा फंगसको क्रियाशीलता बढेको रहेछ।
विज्ञापनको भ्रम
‘ग्यारेन्टी सेक्स पावर’, ‘३०–८० वर्षसम्मकालाई सेक्स पावर’, ‘बुढेसकालमा जवानीकै जस्तो सेक्स पावर’, ‘नशा नशामा जोश, तागत र उमंग भर्ने विश्वविख्यात यौनवर्द्धक हर्बल।’ यस्तै विज्ञापनले मिडियामा स्थान राम्रै पाइरहेका हुन्छन्। यस्ता व्यापारिक फन्डाले यौन समस्या समाधानको साटो बल्झाइरहेको अनुभव छ डाक्टरहरूको।
‘त्यस्ता उत्पादनको कुनै वैज्ञानिक आधार छैन,’ चर्म तथा यौन रोग विशेषज्ञ डा. सविना भन्छिन्, ‘धमिलो पानीमा माछा मार्ने मात्र हुन् यस्ता व्यापारीले। यस्ता विज्ञापनमा गरिने प्रचारले बिरामीलाई झन् पीडा दिइरहेको हुन्छ। समस्या समाधान नभएपछि बिरामी झन् निराश हुन्छ। एलोपेथिक औषधि नै घोलेर, कुटेर क्रिम र चक्की बनाउने रहेछन् हर्बलवालाहरूले। कुनै मापदण्डविनाको  त्यस्तो औषधिले झन् समस्या बल्झाउँछ।’
फुटपाथमा पनि माइक राखेर ‘सेक्स पावर’ बढाउने ओखतीको मनपरी बेचबिखन भइरहेको हुन्छ। आयुर्वेदिक भनिएका यस्ता ओखतीले आफूहरूलाई झन् पीडा दिइरहेको बताउँछन् बिरामी। ‘जता गए पनि सञ्चो नभएपछि सडकका आयुर्वेदिक औषधिमा विश्वास गर्नैपर्योर,’ काठमाडौँ, महांकालमा आयुर्वेदिक औषधि छान्दै गरेका एक बिरामीले भने, ‘आशैआशमा वर्ष बितिसक्यो यस्तै औषधि खान लागेको। सुधार भएजस्तो लाग्दैन।’

‘अज्ञानता, भय र डायबेटिज प्रमुख कारण'

प्राडा हरिनारायण गुप्ता
यौनरोग विशेषज्ञ
छालामा संक्रमण गर्ने कीटाणुले यौनांगलाई पनि संक्रमण गर्ने भएकाले चर्म तथा यौन रोग जोडिएको हो। दुवै विषय सँगै पढिने भएकाले दुवै बिरामीलाई एउटै डाक्टरले हेरेको हो। बिस्तारै एउटै रोगको मात्र बिरामी हेर्ने गरिँदै पनि छ। नेपालमा मात्र होइन, भारतमा पनि यस्तै अभ्यास छ। म पनि दुवै बिरामी हेर्छु।
समस्याको कुरा गर्दा धेरैजसो पुरुषहरू ‘डाक्टरसाब लिंग उठेन’ भन्दै आउँछन्। यसमा अज्ञानता, भय र डाइबेटिज तीन कारण प्रमुख हुन्। चौथो– अन्य रोग पनि हुन सक्छ। डाइबेटिजले लिंग खडा हुनै दिँदैन। इच्छा भएर मात्र के गर्नु? कोही पोजिसन मिलाउन नजानेर पनि सन्तुष्टि पाइरहेका हुँदैनन्। सन्तुष्टि नपाउँदा हैरान भएर रात नपरोस् भन्ने चाहन्छन् उनीहरू। यस्तो बेला हामी अलिकति ‘साइकोजेनिक मेडिसिन' पनि चलाउँछौँ, ताकि उसलाई डिप्रेसन नहोस्। यसै कारणले मानसिक समस्या पनि हामीले नै हेरेको भन्ने आरोप लागेको हो।
योसँगै अन्य रोगको खोजबिन पनि गर्छाैं। जस्तो, एक प्रकारको जन्डिसले गर्दा पनि यौनांग चिलाउँछ। यस्तो अरू केही देखिए अन्य विज्ञसँग समन्वय गरेर उपचार गर्छौं। काउन्सिलिङ सबैभन्दा महत्वपूर्ण औजार हो। कुनै बेला श्रीमतीको अगाडि जान डराउने पुरुषलाई ‘ट्रेनिङ' दिन्छौँ। त्यतिले पनि भएन भने उत्तेजनाका केही औषधि दिन्छौँ। दुईचार रातमै ऊ आफैँ ‘मास्टर' भइहाल्छ।
कहिलेकाहीँ भियग्राजस्ता उत्तेजना बढाउने औषधिको पनि सहारा लिनुपर्ने हुन सक्छ। यसले लिंग खडा गरिदिन्छ। रगत पेलिदिन्छ। तर, डाक्टरको निगरानीविना यो खाँदा अन्य समस्या आउन सक्छ।
महिलालाई इच्छा हुँदैन। योनी सुक्खा हुन्छ। ‘फोरप्ले गर्नुस्' भन्छौँ। जति धेरै उमेर भयो, उति धेरै फोरप्ले गर्नुपर्छ।

डा. रूपक घिमिरे
चर्म तथा यौनरोग विशेषज्ञ
 धेरैजनासँग सम्पर्क गर्नेहरूमा समस्या धेरै हुने देखियो। यहाँ समस्या धेरैसँग यौनसम्पर्क गर्ने होडको हो। एउटैसँग धेरै पोजिसन कि धेरैसँग एउटै पोजिसन भन्ने हो। एउटैसँग पनि धेरै पोजिसनमा सेक्स आनन्द लिन सकिन्छ। फेरि भावनात्मक लगावविना यौनजीवन सुन्दर हुनै सक्दैन। हार र जीतको हिसाबले सेक्समा उत्रेपछि कसरी सुखद हुन्छ यौनजीवन?
डा. अनुपमा कार्की 
चर्म तथा यौनरोग विशेषज्ञ
सेक्स एजुकेसन कम भयो। कन्डमले ९९ प्रतिशत रोग रोक्न सक्छ। तर, यहाँ प्रयोग त्यति बढ्न सकेन। बाहिरी देशमा त कलेजमै राख्छन् कन्डम। कन्डमले सन्तुष्टि दिँदैन भन्ने गलत मानसिकता पनि छ। यो सबै गलत हो।
डा. सुबोधकुमार पोखरेल
यौनरोग विशेषज्ञ
शरीरले मात्र यौनजीवन सुखद बन्ने होइन। व्यक्तिगत व्यवहार, उसको मानसिकता र सामाजिक व्यवहार प्रत्यक्ष जोडिएका हुन्छन्। अझ आध्यात्मिक पक्ष पनि जोडिन्छ। त्यसैले उत्तेजित गराउने ट्याब्लेट खुवाएर मात्र समाधान हुँदैन।
मनले हो सबै शरीर नियन्त्रण गर्ने। यौनानन्दका लागि योनीमा लिंग घुसाउनुपर्छ भन्ने कहाँ लेखेको छ र? कोही छोएर, किस गरेर, सुमसुम्याएर पनि सन्तुष्ट हुन सक्छ। तिमी कस्ती राम्री भनेकै भरमा पनि कोही सन्तुष्ट भइदिन सक्छ।
डा. गोविन्द पोखरेल
चर्म तथा यौनरोग विशेषज्ञ
उमेर बढ्दै जाँदा युवावस्थामै जस्तो जोश खोज्नु स्वाभाविक होइन। कहिलेकाहीँ नसामा समस्या भएर पनि रगतका नली साना भएर ‘ब्लडफ्लो' कम हुन सक्छ। डायबेटिज र ब्लड प्रेसर हुँदा पनि यौन सन्तुष्टि कम हुन सक्छ। मानसिक कारणले पनि यौन समस्या आउँछ। ४०–५० वर्ष उमेरका धेरै पुरुष श्रीमतीको करकापले पनि जँचाउन आउँछन्। उत्तेजना गराउने खालका औषधि आवश्यक पर्दा मात्र दुई घण्टाअघि खाने हो। तर, नियमित खाने होइन।
धेरै रक्सी खाँदा पनि घट्छ यौन सन्तुष्टि। धूम्रपान, गुट्खाले पनि यौन शक्ति घटाउँछ। छाडा बनाउँछ, तर पर्फर्मेन्स घटाउँछ।
साभार : शुक्रबार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis