CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » डेस्कटप भर्सेज मोबाइल

डेस्कटप भर्सेज मोबाइल

काठमाडौं कालोपुलका २४ वर्षे सञ्जीव भट्टराईलाई पहिलो पटक कम्प्युटर छोएको याद छ । त्यसपछिका दिन इन्टरनेटमा भुल्न उनी निकै साइबर धाए । ३० रुपैयाँ प्रतिघन्टादेखि १० रुपैयाँ हुन्जेल । तर आजकल त्यही संसारमा भुल्ने ट्रेन्ड अलि फरक भएको छ । हातमा झुन्डिने
मोबाइलले खासै गोजीमा बस्न पाउँदैन । मोबाइलमा इन्टरनेटसँग जोडिने एप्स प्रशस्तै छन् । सोसल मिडियादेखि समाचारसम्मका एप्स उनले बटुलेका छन् । जो पहिलाभन्दा फरक र २४ घन्टै उनीसँग हुन्छ । 

भट्टराईसँग जस्तै, केही वर्ष अघिसम्म इन्टरनेटको पयार्यवाची बनेको कम्प्युटर विस्तारै छुट्टनि थालेको छ । मोबाइलले परिवर्तन ल्याउँदैछ । विकसित मुलुकमा ट्याब्लेट र स्मार्टफोनको आक्रमणबाट डेस्कटप नराम्ररी पछारिँदै छ । जसको कारण बनिदिएको छ इन्टरनेट । योसँगै मोबाइलमै एप्लिकेसनमार्फत अधिकांश कम्प्युटरका कुरा गर्न मिलेपछि प्रतिस्पर्धा बढेको छ । 

इन्टरनेट मोबाइलबाटै चलाउने कुरा नयाँ होइन । तर मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या बढेर डेस्कटपलाई असर पर्न थालेको भने नौलै कुरा भयो । इन्टरनेट विज्ञ मेरी मिकरले सार्वजनिक गरेको २०१२ को तथ्यांकबाट त्यस्तै देखियो । उनले विश्वभर इन्टरनेट चलाउनेमध्ये १३ प्रतिशतले मोबाइल प्रयोग गर्ने देखाइन् । खासै नौलो नमानिएको योसँगै अर्को ट्रेन्ड भने भारतमा देखियो । 

भारतमा मोबाइल चलाउने मध्ये ६० प्रतिशतले इन्टरनेट छिरेको भेटियो । जसको असर डेस्कटपबाट इन्टरनेट चलाउनेलाई पार्‍यो । सन् २०१२ मा भारतमा डेस्कटप इन्टरनेट प्रयोगकर्ता ४० प्रतिशतमा खुम्चिएका पाइए । बिक्रीबाट पनि बजार परिवर्तनको अनुमान गरिएको छ । उक्त अध्ययनले २०१५ सम्ममा मोबाइल र ट्याब्लेटको बिक्री वाषिर्क १ अर्ब ७० करोड थान पुग्ने अनुमान गरेको छ । जुन समय डेस्कटप र ल्यापटपको बिक्री ४० करोडको हाराहारीमा हुने देखिन्छ । 

मोबाइलमा इन्टरनेटको संसार अटाउने क्रम बढेपछि त्यसको झलक अन्य कुरामा पनि देख्न थालिएको छ । फेसबुकले आफ्नो न्युजफिडमा गरेको परिवर्तन यसैको एक उदाहरण हो । फेसबुकको न्युजफिड सार्वजनिक कार्यक्रममा नयाँ परिवर्तित ट्याब्लेट र स्मार्टफोनलाई विशेष ध्यानमा राखेर बनाइएको उल्लेख गरियो । योसँगै माइक्रोसफ्टले यो परिवर्तन बुझेकै हुनुपर्छ । माइक्रोसफ्ट सर्फ]{को आगमनलाई यसकै एक उदाहरणका रूपमा लिन सकिने बिजनेस इनसाइडरको वेभपोर्टल बताउँछ । डेस्कटपको सफ्टवेयर बनाएर कम्प्युटर चलाएको कम्पनीले सर्फ]{मार्फत ट्याब्लेटमा हात हालेको छ । जुन विस्तारै स्मार्टफोन बन्दै आउँदा अचम्म नमाने हुन्छ । 

नेपालकै भूभागमा बसेर इन्टरनेट चलाउनको संख्या २१ प्रतिशत पुगेछ । जसमा मोबाइलबाट चलाउने ९२ प्रतिशत छन् । मोबाइलको मात्र तथ्यांक हेर्दा एक वर्षमै ४९ प्रतिशत प्रयोगकर्ता बढेका छन् । मंसिरसम्म मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या ५ लाख २८ हजार छ । जुन एक वर्षअघि ३ लाख ५५ हजार थियो । पछिल्लो समय थ्रीजीबाट काठमाडौं उपत्यकामा केही छिटो इन्टरनेट पाउन थालिएको छ । 

नेपालमा जीपीआरएस प्रयोगकर्ताको संख्या उच्च रहे पनि ब्रोडब्यान्ड चलाउने भने ३ प्रतिशतमात्र रहेको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहरा बताउँछन् । 'कामचलाउ इन्टरनेट प्रयोग गर्नेको संख्या ठूलो छ,' उनले भने, 'ब्रोडब्यान्डको स्वाद पाउने भने ३ प्रतिशतमात्र छन् ।' निजी इन्टरनेट सेवा प्रदायक कम्पनीले वाईफाईलगायतबाट मोबाइल र ल्यापटपमा इन्टरनेट विस्तार गरिरहेको र अर्को फड्को मार्ने तयारी भइरहेको बताए । 'सरकारबाट तोकिएको पि|mक्वेन्सी पाउने हो भने हामी फोरजीमार्फत सेवा विस्तार गर्नेछौं,' उनले भने । 

सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना अधिकांश प्रयोगकर्ता थ्रीजी चलाउने रहेका र डाटा सेवामा पनि विभिन्न प्याकेज राखेको बताउँछ । 'ग्राहकको सुविधाका लागि विभिन्न डाटा सुविधा ल्याएका छौं,' एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले भने, 'गुणस्तरीय सेवाबाट डाटाको राम्रो अनुभव दिनका लागि हामी केन्दि्रत छौं ।' कम्पनीका डाटा सेवा ल्यापटपदेखि ट्याब्लेटसम्म प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले पनि मोबाइल इन्टरनेट सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ । कम्पनीकी प्रवक्ता गुणकेशरी प्रधानका अनुसार विस्तार हुन लागेको जीएसएममार्फत थ्रीजी सेवा मुलुकव्यापी बनाउने तयारी छ । 'योसँगै हामीले आईपी सीडीएमए प्रविधि भित्र्याएका छौं,' उनले भनिन्, 'तीव्र गतिको ई-भिडियो सेवालाई पनि विस्तार गर्दै लैजाने योजना छ ।'

गुगलको एक अध्ययनले ७५ प्रतिशत ग्राहक मोबाइलमा चल्ने वेबसाइट खोज्न थालेको देखियो । यो सन् २०१० भन्दा चार गुणा बढी व्यक्तिले मोबाइलमार्फत सर्च इन्जिन चलाएपछि देखिएको असर थियो । यही अध्ययनले २०१३ मा डेस्कटपभन्दा मोबाइलबाट इन्टरनेट हेर्नेको संख्या बढी हुने देखियो, सँगै २०१५ सम्ममा विश्वका सबै व्यक्ति बराबर मोबाइलको संख्या हुने पनि अनुमान सार्वजनिक भएको छ । यही कुरा बुझेर होला कम्पनीले आफ्नो विज्ञापन नीतिमा केही परिवर्तन ल्याउन लागेका छन् । जुन परिवर्तनले डेस्कटपमा आउने र मोबाइलमा देखिने दुवै विज्ञापनलाई एउटै बनाउनेछ । 

रोशन अधिकारी - ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis