रानी सा'ब रवाफ
२० फागुनमा सैनिक श्रीमती संघको कार्यालय पुग्दा अध्यक्ष रोहिणी राणा (डली) आइपुगेकी थिइनन्। सचिव अञ्जु बस्नेत र कार्यालय सहायक नवराज घिमिरे थिए। दुवैले अध्यक्ष राणाको कार्यकक्षबाहिर जुत्ता खोले। नेपाल संवाददाताले पनि त्यसै गरे। तर, अध्यक्ष राणा स्वयंले भने जुत्ता खोलिनन्। त्यसअघि कार्यालय परिसरमा भेटिएका एक सिपाही भन्दै थिए, "रानी सा'बको सवारी
भएको छैन, मर्जी नभएसम्म जाहेरी टक्र्याउन मिल्दैन।"यी त केही उदाहरण मात्रै हुन्। नेपाली सेनाका लगभग सबैजसो उच्च अधिकारीका पत्नीले बोलीचाली र व्यवहारमा रानी साहेबकै जस्तो मानमनितो पाउँछन्। जस्तो : सामान्य बोलीचालीमा मर्जी, जाहेरी, टक्र्याउनु, भुजा ज्यूनार, सुकलाजस्ता शब्द प्रयोग हुँदैनन्। तर, उच्च तहका सैन्य अधिकारीहरूसँगको बोलीचाली र व्यवहारमा यस्तै राजशी भाषा प्रयोग हुन्छ। सामान्यतया उच्च सैन्य अधिकारीका पत्नीलाई तल्लो दर्जाले रानी साहेब नै भनेर सम्बोधन गर्छन्। छोराछोरीलाई बाबु साहेब र मैसा'ब भन्ने प्रचलन छ। तर, संघकी सचिवसमेत रहेकी एक जर्नेलपत्नी अञ्जु बस्नेत भन्छिन्, "लवाइ, खवाइ, बोलीवचन पारिवारिक हुने हुनाले यसमा टीकाटिप्पणी गर्नुहुँदैन।"
पञ्चायतकालमा तत्कालीन रानीलाई सेना प्रमुख र अरू अधिकृतका दर्जाले जस्तो व्यवहार गर्थे, त्यस्तै व्यवहार सैन्य अधिकारीका पत्नीलाई गर्ने चलन बसेको हो। लिखित अधिकार या कानुनी अभ्यास केही नभए पनि आदरका हिसाबले अघिल्ला सेनापति र सैन्य अधिकारीका पत्नीहरूले भाउ खोजे भने पछिल्लाले त्यसमार्फत आफ्नो प्रभाव विस्तार गरे।
खासमा सैनिक श्रीमती संघमार्फत संगठित भएर सामाजिक सेवाका काम गररिहेका छन्, नेपाली सेनाका जवान तथा अधिकारीका श्रीमतीहरू। परम्परागत सोचले कसरी जरा गाडेको छ भने उच्च सैन्य अधिकारीका पत्नीहरू रानी साहेबको पगरीबाट बाहिर आउन सकेका छैनन्। गणतन्त्र आएपश्चात् पनि त्यो रवाफ कायमै छ। तनहुँमा जन्मेहुर्केकी कमला गुरुङ -पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङकी पत्नी) भने शिष्ट भाषा कसैको पेवा नभएकाले प्रयोग गर्दा आपत्ति हुनु नपर्ने तर्क गर्छिन्।
चितवनको कविलासमा विषालु च्याउका कारण आमाबुबा गुमाएपछि गुरुङ दम्पतीले धर्म सन्तानका रूपमा जिम्मा लिएका तीन वर्षीय प्रभासचोक चेपाङसमेत कमलालाई रानी सा'ब भन्छन्। आखिर किन त यस्तो भाषा ? कमला स्पष्टीकरण दिन्छिन्, "यस्तो मिजासले बोल्नु त सेनाको भाषाजस्तै भइसक्यो।" पूर्वसेनापति छत्रमान भने बोलीचालीमा सेनामा एकै किसिमको भाषा स्थापित भएको ठान्छन्। भन्छन्, "बोलीचालीमा एकरूपता हुनु त राम्रै होइन र ?"
त्यसो त तल्लो दर्जाका कर्मचारीलाई आदर गर्न नहुने अलिखित नियमजस्तो पनि छ सेनामा। सिपाहीका पत्नीलाई उच्च सैन्य अधिकारीका पत्नीले सम्मानजनक रूपमा विरलै सम्बोधन गर्छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका कर्णेल कुवेर थापा औपचारकि रूपमा यस्तो भाषा प्रयोग गर्ने भन्ने कुनै निर्णय नभएको तर व्यक्तिले के भनेर सम्बोधन गर्छन् भन्ने बारेमा सैनिक मुख्यालयले चासो नराखेको बताउँछन्। अवकाशप्राप्त जर्नेल कुमार फुदुङचाहिँ श्रीमती संघमा समावेशी सोचाइ प्रवेश नै हुन बाँकी रहेको ठान्छन्। भन्छन्, "एउटा रानी गएर के भो, सैनिक मुख्यालयमा दर्जनौँ रानीहरू छन्। सेनाका उच्चपदस्थ व्यक्तिहरूमा अझै लोकतान्त्रिक संस्कार छैन। अनि, तिनका श्रीमती र परिवारका सदस्यमा कसरी त्यो चेतना छिरोस् ?"
अवकाशप्राप्त जर्नेल बालानन्द शर्माचाहिँ चाकडीबाजको चौघेरोले श्रीमती संघका अध्यक्षलाई घेरेर राख्ने र उनले पनि आफूलाई त्यतिमै सीमित राख्ने पुरानो चलनले गर्दा अपेक्षाकृत लोकतन्त्रीकरण हुन नसकेको ठान्छन्। भन्छन्, "स्वतःस्फूर्त रूपमा समाजसेवामा लाग्नु सकारात्मक कदम हो भने देशकाल, परिस्थिति बुझेर अघि बढ्न नसक्नु समस्या।"
पूर्वजर्नेल शर्माले भनेजस्तै उच्च तहका सैन्य अधिकारीका पत्नीहरूले गर्ने व्यवहार पहिलेकै निरन्तरता मात्र हो, नयाँ होइन। तर, तत्कालीन सेनापति रुक्मांगद कटवालले यो परम्परा बन्द गर्ने प्रयासचाहिँ गरेका थिए। जस्तो : उनको कार्यकालमा रानी सा'बको साटो 'म्याडम' भने पुग्ने उल्लेख गर्दै आन्तरकि सर्कुलर नै जारी भएको थियो। यो बेग्लै कुरा हो कि त्यो सर्कुलरको कार्यान्वयन पक्ष फितलो हुन पुग्यो। र, परम्पराले निरन्तरता पाइरह्यो नै।
खासमा आफ्नो प्रभाव देखाउन खोज्ने श्रीमती संघकी अध्यक्षमा कमला थापा (तत्कालीन सेनापति प्यारजंग थापाकी पत्नी)को नाम अग्रपंक्तिमा आउँछ। कतिसम्म भने कमलाको भनाइ कुनै पदाधिकारीले कहिल्यै काट्न सकेनन्। अवकाशप्राप्त एक जर्नेलकी पत्नी भन्छिन्, "अरूको कुरो सुन्दा सानो भइन्छ भन्ने सोच थियो उनमा।"
सेनाको हेलिकप्टर चढेर प्राकृतिक विपत्तिका ठाउँमा पुग्नैपथ्र्यो उनलाई। राहत दिँदाभन्दा बढी खर्च इन्धनमै हुन्थ्यो। एक अवकाशप्राप्त जर्नेलका शब्दमा, "कमलाले आफूलाई रानीभन्दा कम कहिल्यै ठानिनन्।"
कतिपय आलोचकहरू पूर्वअध्यक्ष कमला गुरुङलाई कमला थापासँगै दाँज्छन्। र, उनले आफ्ना पतिको काममा दखलअन्दाजीसमेत गरेको आरोप लगाउँछन्। कमला भने यसलाई स्वीकार्न तयार छैनन्। भन्छिन्, "घरमा कुन तरकारी कसरी पकाउने भन्ने निर्णय महिलाले गरेजस्तै कार्यालयको निर्णय पुरुषले नै गर्ने हो। वास्तविकता त्यस्तो होइन।" उनका भनाइमा तीनवर्षे कार्यकालमा छत्रमानले श्रीमती संघलाई कुनै सहयोग गरेनन्। उनी प्रतिप्रश्न गर्छिन्, "एकपटक चिफ सा'ब सुदूरपश्चिम जाने कार्यक्रममा म पनि जान्छु भनेको त तिमी जानु ठूलो कुरो होइन। भोलि यसलाई आधार बनाएर अरूले दुरुपयोग गर्छन्, अहिले नजाऊ भनिबक्स्यो। त्यस्तो मान्छेलाई मैले प्रभावित पार्न सकूँला ?"
उपल्लो तहका सैन्य अधिकारीका पत्नीहरूले तल्लो तहका सैनिक पत्नीहरूसँग गर्ने हेपाहा व्यवहार र उनीहरूप्रति गरनिे रानी साहेब प्रवृत्तिको सम्मान परम्परालाई सुधार्न सकिएला त ? अवकाशप्राप्त जर्नेल शर्माका भनाइमा, श्रीमती संघका पदाधिकारीका लागि लोकतन्त्र, सामयिक परिस्थिति, भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिकजस्ता विषयमा तालिम, अभिमुखीकरण कार्यक्रम सेनाले नै आयोजना गरिदिए यस्तो आनीबानी र व्यवहारमा परविर्तन ल्याउन सकिन्छ।
कुशुदेखि डलीसम्म
विसं ०४० मा अर्जुननरसिंह राणाकी पत्नी कुशु राणाको नेतृत्वमा सैनिक अधिकृत श्रीमती संघ स्थापना भएको हो। त्यसअघि श्रीमान्हरूका साथमा औपचारकि कार्यक्रममा जानेबाहेक सैनिक पत्नीहरू संगठित थिएनन्।
अवकाशप्राप्त एक जर्नेलका अनुसार पहिलो अध्यक्ष कुशु सैनिक मुख्यालय भद्रकालीको एउटा कुनामा रहेको संघको कार्यालय आउँदा केही कर्मचारीले रानी सा'ब भनिदिएपछि दंग पर्थिन्।
कुशुपछि सच्चितशमशेरकी पत्नी आशा राणा अध्यक्ष भइन्। सच्चितशमशेर कस्ता भने पुरुषका अगाडि महिलाले बोल्नुहुँदैन भन्ने। आशाको स्वभाव र सच्चितशमशेरको गर्जनमा कुनै तादात्म्यता थिएन।
त्यसपछि गडुलशमशेरकी पत्नी निर्मला राणा संघकी अध्यक्ष भइन्। न हस्तक्षेप गरनि्, न विवाद नै। तत्कालीन रानी ऐश्वर्यको जन्मदिनलगायतका पार्टीमा हुने स्थल भव्य रूपमा सजावट गरििदयो भने निर्मलाको कसैसँग कुनै गुनासो रहँदैन थियो।
धर्मपालवरसिंह थापाकी पत्नी कविता थापा पनि सेना प्रमुखकै श्रीमती हुन् भनेर सायदै सम्झेलान् कसैले। न कसैलाई राम्रो, न नराम्रो नै। सेनाका केही विधवालाई राहत बाँड्न हिँडेबाहेक कवितालाई कसैले देखेनन् पनि।
प्रज्ज्वलशमशेरकी पत्नी सिन्धु राणा सार्वजनिक हुन मन पराउँथिन्। गाना-बजाना, गीत-संगीतमा विशेष रुचि थियो उनको। प्रज्ज्वलशमशेर सिन्धुका कुरा काट्दैनथे।
श्रीमती संघ बनेपछि करबि ३० वर्षको अवधिमा सबैभन्दा प्रभावशाली थिइन्, प्यारजंग थापाकी पत्नी कमला। कम्प्युटर प्रदान गरेर श्रीमती संघका गतिविधि अघि बढाएकी कमलाले द्वन्द्वबाट पीडित सिपाहीपत्नीलाई सहयोग गर्न कम्प्युटर, सिलाइ-कटाइ तालिम दिलाइन्। तीनमहिने आधारभूत सिलाइ-कटाइ तालिम लिनैपर्ने र तालिमपछि पाँच हजार रुपियाँ र एउटा लुगा सिउने मेसिन सित्तैँमा दिने व्यवस्था पनि मिलाएकी थिइन्।
रुक्मांगद कटवालकी पत्नी उमा कटवालकै पालामा अधिकृत श्रीमती संघबाट सैनिक श्रीमती संघ भयो। सैनिक विद्यालयमा पढाउने उनकै कार्यकालमा अधिकृतभन्दा तल्लो दर्जाका सिपाहीपत्नी पनि संघमा आबद्ध भए। उनले नै चुनावी प्रक्रियाबाट नेतृत्व चयनको सुरुआत गरनि्।
छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुँदा नेपाल राष्ट्र बैंकमा अधिकृत थिइन्, उनकी पत्नी कमला गुरुङ। ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउनु र सैनिक श्रीमती संघको अध्यक्ष हुनु एकैचोटिजस्तो हुन पुग्यो उनलाई। श्रीमती संघमा सक्रिय रूपमा आबद्ध नभई एकैचोटि अध्यक्ष भइन्, कमला।
करबि ६ महिनाअघि श्रीमती संघको अध्यक्ष भएकी छन् प्रधानसेनापति गौरवशमशेरकी पत्नी रोहिणी -डली) राणा। भारतमा जन्मेर त्यहीँ पढेकी र हुर्केकी डलीले नेपाली समाज बुझ्न बाँकी रहेको उनका सहकर्मीहरू सुनाउँछन्। डली भने त्यो मान्न तयार छैनन्। भन्छिन्, "करबि ३४ वर्ष सेनामा सेवा गर्नुभएका उहाँ (गौरवशमशेर) काठमाडौँबाहिर धेरै बस्नुभयो। मैले त्यही बेला नै देश चिनिसकेकी छु।"
धूप चस्माको समानता
सैन्य अधिकारीका पत्नीहरूमा एउटा गजबको समानता पाइन्छ । त्यो हो, चस्मा लगाउने । घाम नलागे पनि ठूलो कालो चस्मा लगाएर हिँड्न मन पराउँछन् उनीहरू । विशेषतः सेनाले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरूमा उनीहरू एकै किसिमका चस्मा लगाउँछन् । चस्मा लवाइमै एक किसिमको मपाईंत्व झल्कन्छ ।
'यस्ता प्रश्न नेगेटिभ पत्रकारिता’
संघका नयाँ योजना के के छन् ?
हाम्रो कार्यसमिति काठमाडौँमा केन्दि्रत छ। मेरो चाहना बढीभन्दा बढी योजना बाहिर लैजाने हो। अहिले १० वटा विभिन्न उपसमितिमार्फत काम अघि बढाएका छौँ।
तयारी त होला नि ?
तयारी पूरा भएको छैन। सोचेजति छिटो काम गर्न गाह्रो छ। शिक्षा र स्वास्थ्यजस्ता कुरा बाहिर लैजाने सोच छ। यो संस्था सिपाही परिवारको हितका लागि हो। यसमा लागेका सबै स्वयंसेवक हौँ। आ-आफ्नो कामबाट समय निकालेर यहाँ सेवा गररिहेका छौँ।
सिलाइ-कटाइ, ब्युटीपार्लर, नर्सरी, कम्प्युटरबाहेक अरू काम महिलाले गर्न सक्दैनन् ?
अहिले ड्राइभिङ्को तालिम थपेका छौँ। होटल म्यानेजमेन्ट, अग्र्यानिक खेतीजस्ता नयाँ क्षेत्रमा पनि तालिम दिने सोच बनाएका छौँ।
संघको खर्च कसरी चल्छ ?
आवश्यकता अनुसार रकम संकलन गर्छौं। मेला, टिकट र विविध सांस्कृतिक कार्यक्रमबाट रकम बचत गर्छौं। यति नै भनेर ठ्याक्क भन्न सक्ने स्थिति छैन।
प्राकृतिक प्रकोपमा सेनाको हेलिकप्टर चार्टर गरेर चाउचाउ बाँड्न जानुहुन्छ रे ?
चाउचाउ मात्रै बाँडेको होइन। केहीअघि रौतहटमा शीतलहर चल्दा त्यहीँका साथीहरूलाई परिचालन गरेर राहत बाँड्यौँ। आधा ग्लासलाई आधा नभरिएको भन्ने कि आधा खाली, त्यो व्यक्तिमा भर पर्छ। यस्ता प्रश्न नेगेटिभ पत्रकारिता अन्तर्गत पर्छन् जस्तो लाग्छ।
संघभित्रको विविधतालाई कसरी समेट्नुभएको छ ?
हाम्रो संघ विधानका आधारमा चल्छ। कति कुरा चाहेर पनि बदल्न सकिन्न। संघका केही पदाधिकारी निर्वाचित हुन्छन् भने केहीलाई अध्यक्षले मनोनीत गर्ने प्रावधान छ।
प्रधानसेनापतिभन्दा श्रीमती बलिया हुन्छन् भनिन्छ नि ?
मलाई यस्ता प्रश्नको जवाफ थाहा छैन।
यसोदा तिम्सिना , नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !