३५ करोडको चेक बाउन्स, शंकाको घेरामा आयस्रोत
महेशबहादुर सिंह, ५१, न कुनै उद्योगी हुन्, न त व्यवसायी नै। न त प्रशस्त पुख्र्यौली सम्पत्तिका मालिक नै हुन्। तर, उनले आफ्नो परचिय बनाएका छन्, ठूला ऋणदाताका रूपमा। अहिले उनै सिंह आफूले चर्को ब्याज लिने गरी दिएको ऋण रकम उठाउन वैकल्पिक बाटोतिर लागेका छन्। आफ्ना ऋणीहरूले साँवा-ब्याज तिर्नुको साटो बाउन्स चेक दिएको र केही ऋणी फरार भएको भन्दै उनी
अदालतसम्मै पुगेका छन्।नेपाललाई प्राप्त कागजात अनुसार सिंहले ललितपुर जिल्ला अदालतमा मात्रै ३५ करोड १४ लाख २३ हजार रुपियाँ चेक बाउन्स भएको मुद्दा हालेका छन्। भदौदेखि पुस ०६९ सम्मको पाँच महिनाको अवधिमा मात्रै उनले १० वटा चेक बाउन्सको मुद्दा दायर गरेका छन्। प्रहरी स्रोतका अनुसार सिंह क्यासिनो जानेहरूदेखि आर्थिक मन्दीका कारण नगद अभावले आक्रान्त व्यवसायीहरूलाई १ सय २० प्रतिशतसम्म ब्याज लिएर ऋण दिने गर्छन्। त्यो पनि चक्रवर्ती प्रणाली अनुसार ब्याजको स्याज, स्याजको प्याज । तोकेको चर्को ब्याज र साँवासमेत तिर्न नसकेका कतिपय ऋणी कि त विदेश पलायन भएका छन्, कि सम्पर्कबाहिर छन्।
उनीसँग ऋण लिनेमा क्यासिनो जाने लत लागेकाबाहेक घरजग्गा र हाउजिङ् व्यवसायी, शैक्षिक परामर्श संस्थाका सञ्चालक, बैंकका उच्च पदाधिकारी, फिल्म उद्योगी, होटल व्यवसायीसम्म देखिन्छन्। त्यसमध्ये पनि पस्मिना व्यापारी तथा पछिल्लो समय घरजग्गा र हाउजिङ् व्यवसायमा लगानी गरेका राजाराम बानियाँको परिवारलाई उनले सबैभन्दा बढी लगानी गरेको देखिन्छ, प्राप्त कागजातहरूबाट। राजाराम, उनकी श्रीमती पुष्पा र छोरा सोयुजले आफूलाई ९ करोड ५७ लाख ४८ हजार रुपियाँ र सोको ब्याज तिर्न बाँकी रहेको सिंह स्वयंले अदालतमा बुझाएको फिरादपत्रमा उल्लेख छ।
बानियाँ मात्र होइन, सिंहको ऋण फन्दामा परेका पछिल्ला उदाहरण हुन्, घरजग्गा व्यवसायी सुधीर बस्नेत। बस्नेतले ३ करोड ५० लाख रुपियाँ ऋण लिएकामा ८ करोड ५० लाख रुपियाँ ब्याज बुझाएको कुरा सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीमा उल्लेख छ। तर, बस्नेतले साँवा र बाँकी ब्याज रकम तिर्नुको साटो बाउन्स चेक दिएको भन्दै सिंहले उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा चेक बाउन्सको मुद्दा हालेका छन्। सुधीरले भाइ सुदीपले रकम तिर्ने कागज गरििदएपछि सिंहले सुदीपविरुद्ध पनि ३ करोड ८५ लाख रुपियाँको चेक बाउन्सको मुद्दा दायर गरेका छन्। अहिले यी दुवै मुद्दा जिल्ला अदालत ललितपुरमा विचाराधीन छ।
बानेश्वरका कृष्णबहादुर थापाकी श्रीमती रेणु राणा थापाले लिएको ४२ लाख रुपियाँ ऋण तिर्न नसकेपछि कागज गरिदिएका थिए। अहिले उनीविरुद्ध पनि मुद्दा अदालतमा विचाराधीन छ। उनी साँवा-ब्याज तिर्न नसकेपछि सिंहलाई बा९च ३९७७ नम्बरको भक्सवागन पोलो कार सिंहलाई दिन बाध्य भइन्। आफू चढ्ने कालो रंगको टोयोटाको फरच्युनर र कियाको सोरेन्टो गाडी दिएका सुधीर बस्नेतले पैसा तिरेर सोरेन्टोचाहिँ फिर्ता लिएका थिए।
कतिपय व्यवसायी सिंहको ब्याज तिर्न नसकेर देश छाड्न बाध्य भएका छन्। तिनैमध्येका एक हुन्, अर्बिट इन्टरनेसनल नामक शैक्षिक परामर्श संस्थाका सञ्चालक उद्धव केसी। सिंहसँग लिएको २ करोड ३० लाख रुपियाँको ब्याज तिर्न नसकेर उनी एक वर्षपहिले जापान पलायन भएको उनको पारिवारकि स्रोतले बताएको छ। आफ्ना बाबुले लिएको ऋण तिर्न १ करोड ६८ लाख ६७ हजार रुपियाँको कागज गरेका सोयुज बानियाँ पनि मानसिक यातनाका कारण अमेरिका भासिएका छन्।
अहिले सिंहमाथि प्रश्न उठेको छ, दरिलो आर्थिक आधारबिना उनले ऋण दिनका लागि यति ठूलो मात्रामा रकम कसरी जुटाए ? एकताका उनी नेपाल एयरवेजको चितवन, भरतपुरका स्टेसन म्यानेजर थिए। धनकुटा जिल्लाबाट नागरकिता लिएका सिंहको पुख्र्यौली थलो भने दार्चुला हो। हेटौँडामा हुर्किएका सिंह अहिले ललितपुरको भनिमण्डलका बासिन्दा हुन्, जसको जीवनशैली पछिल्ला केही वर्षयता विलासी हुँदै गएको उनलाई चिन्नेजान्नेहरूको भनाइ छ।
तिनै सिंहले उच्च ब्याजदरमा व्यवसायीलगायतलाई ऋणका रूपमा लगानी गरेको नगदको आयस्रोत शंकास्पद रहेको भन्दै २८ भदौमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परेको छ। लगत्तै उनीविरुद्घ परेको अर्को उजुरी पनि अहिले अनुसन्धानको क्रममा छ। सिंहले दुई अर्ब रुपियाँभन्दा बढी सम्पत्ति जोडेको दाबी उजुरीमा गरएिको छ।
डीआईजी उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुँदा सिंहको सम्पत्ति र गतिविधिबारे अनुसन्धान थालिएको थियो। तर, अर्यालको महानगरीय ट्राफिक महाशाखामा सरुवा भएपछि त्यो अनुसन्धान पनि रोकियो। सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वरबाबु कार्की सिंहविरुद्ध उजुरी नपरेकाले अनुसन्धान नभएको हुन सक्ने बताउँछन्।
उता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विश्वप्रकाश सुवेदी सिंहविरुद्धको अनुसन्धानबारे आफूलाई जानकारी नभएको जवाफ दिन्छन्। सिंह भने राज्यले आफ्नो सम्पत्तिको स्रोतबारे छानबिन गर्न सक्ने बताउँछन्। नेपालसँगको संक्षिप्त टेलिफोन प्रतिक्रियामा उनले यति मात्र भने, "जुन जुन निकायमा मेराविरुद्धमा उजुरी परेको भन्नुभएको छ, त्यहीँ त्यहीँ सोध्नूस्। ती निकायले मलाई सोधे पो जवाफ दिने। तपाईंलाई किन जवाफ दिने ?"
-- मनोज बहादुर बस्नेत , नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !