आइतवार साँझ म सधैंझैं काममा व्यस्त थिएँ । करिव साढे ९ बजेतिर जोहोरबारुको पासिरगुडाङमा रहेको एक होष्टलमा नेपालीमाथि सांघातिक आक्रमण भएको हल्ला चल्यो । त्यो क्षेत्रमा रहेका मेरा साथीहरुलाई सम्र्पक गरेँ । अनि आक्रमण भएको होष्टलकै साथीहरुको नम्बर लिएर मैले धमाधम फोन लगाउन थालेँ ।
धेरैले फोन उठाएनन्, जतिले उठाए एकदमै डराएको र मसिनो स्वरमा
‘अहिले कुरा गर्न मिल्दैन’ भन्दै फोन राखिदिए । खास के भएको हो ? तपाईहरुको अवस्था के छ भनेर सोध्दा उनीहरुले होष्टलमा मलेसियन युवाहरुको ठूलो समूहले आक्रमण गरिरहेको र आफूहरु ट्वाइलेट र खाटमुनि लुकेर बसिरहेको बताए ।
साथीहरु कति घाइते भए, कत्तिका अवस्था गम्भीर छ, हल्ला गरेजस्तो हताहती भयो कि भएन भनेर मैले बुझ्न खुब कोसिस गरेँ, तर कतैबाट पनि जानकारी भएन । क्वालालम्पुरसहित अन्य ठाउँका साथीहरुले रातभर के भएको हो भनेर सोधिरहे, बिहानैसम्म सुतिएन । हामीले जति बुझ्न खोजे पनि नेपालीहरुको वास्तविक स्थिति थाहा भएन ।
कोही अस्पतालमा, कोही हिरासतमा
म बसेको ठाउँबाट घटना भएको होष्टल पुग्न गाडीमा करिव आधा घण्टा लाग्ने भए पनि त्यहाँ पुग्ने हिम्मत भएन । जानकारी लिन खोजेर पनि हामीले पाउने थिएनौं । त्यसका लागि त दूतावासकै प्रतिनिधि जरुरी हुन्थ्यो । बिहान करिव ९ बजेतिर क्वालालम्पुरस्थित नेपाली राजदूतावासबाट द्वीतीय सचिव चक्र सुवेदी आइपुग्नुभयो । म पनि उहाँकै साथमा सुल्तान अस्पताल पुगेँ । त्यहाँ दुईजना गम्भीर घाइते नेपालीहरु उपचार गराइरहेको अवस्थामा हामीले भेट्यौं ।
जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको रहेछ । साहुको दुबै हातखुटटा र भाँचिएको र टाउकोमा चोट लागेको रहेछ । उनी बोल्न नसक्ने अवस्थामा थिए । राजुको टाउको भन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । चक्र सर र मैले दुबैजनाको तस्वीर लियौं । राजु बोल्न सक्ने अवस्थामा थिए । उनले घटनाबारे सामान्य जानकारी दिए । त्यसपछि हामी त्यहीं नजिकै रहेको एक क्लिनिकमा गयौं । त्यहाँ कम्पनीले नै केही नेपालीलाई उपचार गर्न ल्याएको सूचनाका आधारमा पुगेका थियौं ।
त्यहाँ एकजना नेपाली टाउकोमा चोट लागेको अवस्थामा भेटिए । सामान्य उपचारपछि उनी होस्टल फर्किने सुरसारमा रहेछन् । आफु काममा फर्किन तयार रहेको र गम्भीर बिरामी नभएकाले आफ्नो नाम कतै नखुलाइदिन उनले आग्रह गरे । मेरा घर परिवारले चिन्ता गर्छन्, मेरो परिचय नखुलाइदिनुस, म सामान्य अवस्थामै छु भन्दै उनले आग्रह गरे । चक्र सरले उनीसँग पनि घटनाबारे सोधपुछ गर्नुभयो ।
अझै पनि वातावरण पूरै आक्रान्त थियो । जताजतैबाट मलाई फोन आइरहेको थियो । क्वालालम्पुर र काठमाण्डौमा रहनुभएका साथीहरुले ६ जनाको मृत्यु भयो रे कतिको शव भेट्नुभयो भन्दै फोन गरिरहेका थिए । तर, हामी केही भन्न सक्ने अवस्थामा थिएनौं । हामी घाइते भेटिएका दुई जनाको विवरण नेपाली दूतावासमा टिपाएर घटनास्थल पासिरगुडाङ प्रहरी स्टेशनमा पुग्यौं ।
परिचय दिनासाथ प्रहरीले चक्र सरलाई घटनाबारे विस्तृत जानकारी दियो । घटना भएको थाहा पाएपछि तुरुन्तै प्रहरी परिचालन गरिएको र हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । ‘हाम्रो नियन्त्रणमा १२ जना छन, त्यसमध्ये ९ जना नेपाली छन्’ स्थानीय प्रहरी कमाण्डरले भने- ‘अहिले उनीहरुलाई हिरासतमा राखिएको छ, भोलि १० बजे भेटाइदिन सक्छौं ।’ नियन्त्रणमा लिइएकामध्ये एकजना नेपालीलाई सामान्य उपचारपछि हिरासतमा राखिएको रहेछ ।
प्रहरीले नेपालीमाथि आक्रमण भएको हो कि दोहोरो झडप भएको हो यकिन बताएन । अनुसन्धान जारी रहेको उसले चक्र सरलाई जानकारी दियो । हामीले कतिजना नेपाली मरेका हुन् भनेर सोध्यौं, तर, प्रहरीले घटनामा कोही पनि मरेको जानकारी नभएको बतायो ।
तर, बाहिर ६ जनाको ज्यान गएको हल्ला चलेको थियो । नेपालमा म्यानपावरहरु तोडफोड हुनसक्ने भन्दै पासपोर्ट लुकाउन थालिएको सूचना आएको थियो । नेपालका अधिकांश पत्रिकाले नेपालका परराष्ट्रमन्त्रीलाई हवाला दिंदै ६ जनाको ज्यान गएको समाचार प्रसारण गरेछन् । तर, मैले क्वालालम्पुरमा रामचन्द्र नेपाल र काठमाडौं अफिसका सरहरुलाई मिनेट मिनेटको सूचना दिँदै मृतक नभेटिएको जानकारी दिइरहेको थिएँ । त्यसैले हामीले दिएको समाचारमा चाँहि मृत्युको कुरा गएन ।
घटनास्थलको विवरण
पुलिसले हामीलाई स्कर्टिङ गरेर घटनास्थल लग्यो । त्यहाँ पुग्दा वातावरण एकदमै सन्नाटा थियो । त्यहाँ धेरै पुलिस तैनाथ थिए । हामीले कसरी घटना भयो, कति घाइते भए भनेर प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुबाट जानकारी लिन प्रयास गर्यौं । धेरै साथीहरु विक्षिप्त र त्रसित अवस्थामा थिए । उनीहरु बोल्न पनि डराइरहेका थिए ।
हामीले होस्टलको निरीक्षण गर्यौं । झ्यालका सबै सिसा फुटेका थिए, कोठामा राखिएका टेलिभिजन पनि फुटेका थिए, कपडा च्यातिएका थिए । भुँइमा रगतका टाटा देखिन्थे । होस्टलमा भर्खरै ठूलै लडाइँ सकिएको जस्तो देखिन्थ्यो ।
मलेसिया सरकारको यो होस्टलमा त्यस वरपर रहेका चारवटा कम्पनीमा कार्यरत नेपाली कामदार बस्ने रहेछन् । घटना भएपछि बिहानै तीन वटा होस्टलका नेपालीलाई कम्पनीले अन्यत्र नै सारिसकेछ ।
त्यहाँ भेटिएका नेपालीहरुले बताएअनुसार राति करिव ८ बजेतिर चार व्यक्ति मोटरसाइकलमा आएर नेपालीहरुमाथि आक्रमण थालेका रहेछन् । उनीहरुलाई नेपालीले समातेर पिटेछन । ज्यान जोगाएर भागेका उनीहरु पछि ५० जनाजति स्थानीय युवा लिएर आक्रमण गर्न आएछन् । त्यसपछि १ सय जना र पछि अर्को चरणमा सय जना गरी करिव साढे २ सय जनाले नेपालीमाथि आक्रमण गरेका रहेछन् । नेपालीहरुले हल्का प्रतिरोध गरे पनि मलेसियनहरुले नराम्रोसँग पिटेछन् । साथीहरु ज्यान जोगाउँदै भाग्नुपर्ने अवस्थामा पुगेछन् । उनीहरुले तरवार, रड र घरेलु हतियार लिएर होस्टलमा आक्रमण गर्न थालेका रहेछन । केहीवेरपछि पुलिस आएर उनीहरुलाई नियन्त्रणमा लिएछ । त्यसका लागि हवाइ फायर पनि गर्नुपरेको उनीहरुले बताए ।
आक्रमणपछिको स्थिति
झडपपछि घाइतेलाई अस्पताल पुर्याइएछ भने प्रहरीले ९ जनालाई पक्रिएछ । स्थिति शान्त भएपछि पनि साथीहरु नभेटिएपछि होस्टलमा रहेका नेपालीहरुले १२ जना नेपाली हराएको भन्दै साथीहरुलाई खबर गरेछन् । उनीहरुका हिसाबले ती साथीहरु हराएको ठिकै हो । किनभने ९ जनालाई पुलिसले नियन्त्रणमा लिएछ, तीन जना घाइतेहरु अस्पताल लगिएछन् । हामीले पक्राउ परेका र अस्पतालमा रहेका नेपालीहरुको नाम सूची सुनाउँदै यी साथीहरुको अवस्था यस्तो पाइयो भनेपछि होस्टलमा रहेका नेपालीहरुले भने- ‘उनीहरु भेटिए भने त कसैको पनि ज्यान गएको रहेन छ ।’
यति कुरा सुनेपछि हामी पनि शान्त भयौं । होस्टलमा रहेका, पुलिसको नियन्त्रणमा रहेका र घाइते भएर उपचार गराइरहेका नेपालीहरुको विवरण दुरुस्त आयो । कसैको पनि हताहती भएको रहेनछ भन्ने निस्र्कष निकाल्न अब हामीलाई केही पनि गाह्रो भएन ।धन्य, जे सुनिएको थियो, त्यस्तो अपि्रय केही पनि सुन्नु परेन । देख्दा अवस्था हृदयविदारक नै छ होष्टल क्षेत्रको । त्यहाँ कति ठूलो भिडन्त भएको रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । साथीहरु भाग्यवस बाँचेछन्, नत्र धेरै क्षति बेहोर्नुपर्ने रहेछ । स्थानीय प्रहरीले समयमै हस्तक्षेप गरेका कारण ठूलो क्षति टरेको देखियो ।
आखिर किन भयो झडप ?
हुलका हुल मलेसियन आएर नेपालीमाथि आक्रामण गर्नुपर्ने कारण के हो ? हामीले दिनभर त्यसको पनि खोजी गर्यौं । प्रहरीले आइतवार बिदाको दिन भएकाले नेपालीहरुले पहिले रक्सी पिएर सामान्य विवाद गरेको र पछि मलेसियनहरु पुगेर आक्रमण गरेको प्रारम्भिक अनुमान सुनायो ।
त्यहाँ रहेका नेपालीहरुले अन्य केही पाटोबारे पनि खुलाए । नेपाली केटाहरुले स्थानीय मलेसियन केटी जिस्काएको र त्यसबाट रिसाएका मलेसियन युवाले हुल बाँधेरै पिटेको केहीले निस्र्कष निकाले ।
मलेसियाको सो क्षेत्रमा रहेका नेपाली युवतीहरुका कारण पनि बेलाबेला मनमुटाव हुने गरेको र त्यसकै कारण पनि आक्रमण भएको हुनसक्ने अर्काथरिको अनुमान थियो ।
के कारणले आक्रमण भएको थियो भन्ने यकिन हुन नसके पनि त्यसमा धेरै थोरै नेपालीहरुको पनि दोष थियो भन्ने निचोड निकाल्न कठिन भएन । तर, त्यो दोहोरो झडप नभई विशुद्ध मलेसियनहरुको सांघातिक आक्रमण थियो भन्ने
त्यहाँ रहेका कामदारहरुको भनाइ छ । फेरि आक्रमण हुन सक्ने त्रास कामदारहरुमा थियो । त्यसैले दूतावासका द्वीतीय सचिव चक्र सुवेदी सरले रोजगारदाता र प्रहरीलाई तत्कालै होस्टल सार्न आग्रह गर्नुभएको छ ।
रिहाइको प्रयास
दिनभर दौडधुपपछि हामीले राति करिव साढे ७ बजेतिर मात्र खाना खायौं । भोलि १० बजे सुबेदी सर प्रहरीकहाँ जानुहुनेछ । उहाँले नियन्त्रमा लिइएका सवै नेपालीसँग भेटेर थप जानकारी लिनुहुनेछ । उनीहरुमाथि सांघातिक आक्रामण भएकाले कुनै कारवाही नगरी रिहा गर्न सुवेदी सरले आग्रह गर्ने बताउनुभएको छ । तर, यतिबेलासम्म मलेसियामा ६ जना नेपालको मृत्यु भएको भन्ने हल्ला पनि निदान भएको छ । बिहानै मृत्युको अपुष्ट खबर दिने नेपालको परराष्ट्र मन्त्रालय र केही नेपाली मिडियाहरुले पनि त्यसलाई सच्चाइसकेका छन ।
मलेसियामा श्रमिक जीवन बिताइरहेको र आंशिकरुपमा नेपाली समुदायमा सक्रिय रहेर पत्रिकारिता पनि गरिरहेको मलाई आजको दिन भने निकै तनावपूर्ण रह्यो ।
-भीम तामाङ, जोहोरबारु
(तामाङ मलेसियाको जोहोरबारुस्थित अनलाइनखबर सम्वाददाता हुन् )
-साभार : अन्लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !