CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » के हामी आत्मदाह गरौँ? (दुखद पीडादायी रिपोर्ट)

के हामी आत्मदाह गरौँ? (दुखद पीडादायी रिपोर्ट)


doha
उता मुलुकमा राजनीतिको सपना-खेतीबाट वाक्क भएका सर्वसाधारण नेपालीहरुको सजिलै काँचो पसिना बिक्ने ठाउँ भनेको खाडी नै हो। सबै साक्षी हुनुहुन्छ कतारका नेपालीहरुले टन्टलापुर घाममा खेपेका हैरानी र सास्तिहरुको। बर्षौदेखि आफनै देशका शासक प्रशासकबाट ठगिदै आएका सोझा जनता यता बिदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्। जब तिनले पाउनु पर्ने हक, अधिकार सम्मानमा धमिरा लागेर यातना, अवहेलना र डसाईले ‘गलित’ भएर ठगिन्छन्, आफ्नो दुःख र गुनासोको पोको लिएर केही होला कि भन्ने आशामा सहाराको
अन्तिम त्यान्द्रो दुतावासको ढोका समाउँछन। जब दुतावास पुग्छन अनि तिनको आत्मसम्मान, पिडकसंग कानुनी लडाई लडछु भन्ने आत्मबल र आफनै देशको दुतावासप्रतिको तिनको भरोसा सवै धुलिसात हुन्छन। दुतावासभित्र तिनको हात समातेर, ध्यानपुर्वक तिनको गुनासो सुनेर तिनले पाउनु पर्ने हक , अधिकार र सम्मानको पक्षमा खरो पैरवि गर्ने कोही भेटिदैन। यो कोठाबाट त्यो कोठामा जाउ भनिन्छ, त्यो कोठा बाट यो कोठामा जाउ भनिन्न्छ। तलबाट माथि जाउ भनिन्छ, माथिबाट तल जाउ भनिन्छ। अथक प्रयास पछी भनेको कोठामा पुग्यो झन उल्टै किन नबुझि आएको त? हामीलाई सोधेर आएको हो र? भन्ने जवाफसँगै हुर्मत लिने अर्को श्रृङ्खला सुरु हुन्छ। 
हुनलाई दुतावासको आरामदायी कुर्चिमा बिराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पिडा, हैरानीको बुझबुझारथ गर्न गरीव राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन्। तर जव दुतावासमा आपनो हक स्थापित गराइमाग्न नेपाली मजदुर सुस्केरा काड्दै आउँछन्, तिनलाई ढाढस दिने, हामी छौ नि भनेर तिनको आत्मबल उकास्ने लन्ठो कसैले गर्दैन। मजदुरको नाम तलब भत्ता खाने रातो पासपोर्टधारीहरुलाई दुतावासमा दैनिक कुनै गोरखधन्दा लिएर आउने मजदुर(पिडक ठगदलालहरुको सेवा सत्कारमा खटिदै फुर्सद हुँदैन। मानौं, तिनले राज्यले तिनलाई ठगदलालहरुको सेवा सत्कारको खातिर खटाइएको हो। तैपनी केही हातलागी हुन्छ की भनेर कोठा-कोठा चहार्दै पिडित मजदुर राजदुतको कोठाभित्र छिर्न खोज्छन। राजदुतको कोठा बाहीर बस्ने जव्वर ढोकेले पिडीतलाई झयाप्पै रोक्छ। यो ढोकेको काम बडो लोभलाग्दो छ। ठग, दलाल कम्पनिको मालिक आए सुरुक्क भित्र छिराउँछ, झुत्रा/मैला मजदुर आएमा बाहिरै तिनको सातो लिइन्छ। ‘किन आएको? के काम छ? राजदुत भित्र मिटिङमा हुनुहुन्छ। एकछिन पख्नुस।’
तर पर्खदा पर्खदै घाम डुब्छ। यसरी आशा र भरोसाको अन्तिम त्यान्द्रो पनि चुडिएपछी कोही कम्पनी छाडेर भाग्छन, कोही ज्यान बचाउन आफ्नो पाउनुपर्ने पसिनाको कमाई माया मारेर जेलको नारकिय बाटो हुदै स्वदेश फर्कन्छन। कोही आत्मदाह गरेर मर्छन। कोही बेपत्ता हुन्छन। समालको मरुभुमीमा खालि पैतालाले तातो बालुवा टेकेर भेडा चराईरहेको बिर बहादुर १३ बर्ष भयो देश नफिरेको। तपाईका स्वाभिमानी नागरीकले कहिलेसम्म यो नियती भोगिरहने राष्ट्रपति महोदय? महोदय, दुतावास ओहोर दोहोर गरीरहने भुक्तभोगीहरुले सुनाएको दुईथान घटनाको म बर्णन गर्न चाहान्छु :
१) दुतावासमा राजदुतको ढोकाबाहिर आफनो समस्याको पुको फुकाउन ओठतालु सुकाएर अत्यासलाग्दो मुद्रामा पिडितहरुको घुइँचो छ। कहिले पालो आउला भनेर ढोकातिर हेर्दै ढोकेसँग चाहना गरीरहेका छन। भित्रबाट बोलावटको केही सुइँको आउदैन। आफनै चुच्चोले आफनै घाउ ठुँग्न बिवस कुनै अभागी चराजस्ता आफनो घाउ आफै ठुँगेर पिडीतहरु खुइ गरीरहेका छन्। तैपनी भेट्ने पालो आउँदैन। महामहिम राजदुतसंग घण्टौ चियागफ लडाएर बाहिर निस्केको रैथाने नारदले शहरभरी खबर बाँढिरहेको हुन्छ कि त्यसबेला महामहिम मस्तमुद्रामा जी च्यानलको सिरीयल हेरेर बसिरहेकी रहिछिन्। हे पशुपति, यो मजदुरका गुनासाहरुले भरिएको कतारको नेपाली नियोग हो कि कुनै युरोपेली सानसौकतको केन्द्र?
२) एउटा नेपाली म्यानपावरवालाले तलबमान र सेवा सुविधा झुक्याएर कामदारहरु पठाएछ। पिडित कामदारहरु म्यानपावरउपर कारवाही गरीपाउँ भनेर जाहेरी गर्न जाँदा उसैगरी ढोकेले छेकेछ र, घण्टौ बाहिर कुराएछ। बुझदै जाँदा थाहा लागेछ(( महामहिम राजदुत त भित्र तिनै पिडितलाई झुक्याउने म्यानपावर मालिकलाई चिया सत्कार गदै हुनोहुँदोरहेछ। पिडीत बाहीर फलामे कुर्चिमा न्याय कुरेर छन्, पिडकहरु भने भित्र मखलेल मुद्रामा माहामहिमसंग आरामदायी सोफामा बसेर चियागफमा व्यस्त छन्। राष्ट्रपति महोदय, यि निरीह तपाईका नागरीक अव कहाँ जाने? पत्याउदा मुटु चसक्क हुन्छ तर महोदय, कतारको नेपाली दुतावासको कठोर सत्य यहि हो।
उसो त राजदुत मायाकुमारी शर्मा नयुक्तिको कथा पनि बडो बिद्रुप खालको छ। सर्वहारा बर्गको मसिहा भनिने माओबादीले राजदुत नियुक्ति गर्दा हामीलाई लागेको थियो, आम नेपाली मजदुरहरुको बास रहेको कतारका नेपालीहरुको अब कल्याण हुने भो। मजदुर पाटीको राजदुतले कम्तिमा मजदुरको हेला होचोको सुनुवाई गर्नेछिन। तर जसै मजदुरपाटीको घरानियाँ राजदुतले कतारमा पाइला टेकिन्, हाम्रा सवै आशहरु खरानी भए। अझ गजवको कुरा त यो संसदिय सुनुवाईको फलामे ढोकाबाट यस्तो अक्षम राजदुत कसरी पास भइन? के संसदिय सुनवाई समितीमा पनि दलिय भागबण्डामा परेका अक्षमहरुको भिड मात्र छ? कुटनीतिक मामलामा दक्ष, बिषय र जिम्मेवारीलाई गम्भिरतापुर्वक बोध गर्न सक्ने क्षमता, आफुले दुतवास सम्हालेको मुलुकमा आफनो राज्यको तर्फबाट गर्नुपर्ने प्राथमिक कामको सुचिहरु के-के हुन भनेर समेत पहिल्याउन नसक्ने उम्मेदवारलाई माओबादीले कसरी राजदुतमा सिफारीस गर्‍यो? संसदिय समितीले के-के अन्तरवार्ता लियो? ठूलो पाटी भनिएको माओवादीको गैरजिम्मेवारीपनले गर्दा पिडित नेपाली मजदुर यो परदेशी भुमीमा आँशु र पसिना पिउन बाध्य मात्र छैनन्, अन्य मुलुकका दौतरीहरु सामुपनि हाम्रो शिर झुकेको छ। ति शिर ठाडो पारेर सोध्छन्- ‘तिम्रो मुलुकमा राजदुत हुन लायक मान्छे कोही छैनन?’ के उत्तर दिनु हामीले?
सर्वहारा पाटीले सिफारीस गरेको घरानियाँ राजदुतले बास कुरा भनिसाध्य छैन। नेपाली दुखिहरुको पिडाको घाउ पाकेर कतारको नेपाली दुतावास दुर्गन्धले भरिएको छ। जहाँ नागरीककै शिर झुकेको छ, त्यहाँ चन्द्रसुर्य अंकित झण्डाको पनि के शान? दुतावासको धुरीमा ठडिएको नेपालको राष्ट्रिय झण्डाको सान निगुरमुन्टी बनेको देखिन्छ। हामीले धेरै पटक भन्यौ, धेरैलाई भन्यौ। तत्कालिन माओबादीको सरकारलाई भन्यौ। प्रशासन हाँकेर बसेका मुलि प्रशासकहरुलाई भन्यौ। सिफारीसकर्ता माओबादीका ठुलै नेतालाई पनि घरानियाँ राजदुत फिर्ता गराएर मजदुर हितैषि राजदुत पठाईपाउँ भनेर भन्यौ। ति नेताहरु आए, भाषण ठोके, आश्वासन दिए र गए। भन्ने ठाउँमा भनेका भन्यै छौ। लेख्ने ठाउँमा लेखेका लेख्यै छौ। तैपनी हामी यस्तो अक्षम राजदुत खेप्न बाध्य छौ। बोलेका बोल्यै छौ। बोल्यो हावाले उडाउँछ। न छाति पिटेर रुनु, न भित्तामा टाउको फुटाउनु। मान्छे एउटा निर्भिक प्राणी हो, चारैतिरबाट इमानमा बाँझो पल्टेर सत्यको घाँटी रेटेको हेरीरहँदा उकुसमुकस भएपछी मान्छेले आत्मदाह समेत गर्न पछि नपर्ने रहेछ। के हामी राजदुत फिर्ता गराईपाउँ भनेर अव आत्मदाह गरौँ?

-दीपक भेटवाल-
(लेखक कतारस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समितिका संस्थापक अध्यक्ष एवं मजदुर प्रतिनिधि हुन्)
पूरा भिडियो हेर्नुस्-
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis