CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारस शाहसँग वितेका ती पाँच महिना

पारस शाहसँग वितेका ती पाँच महिना


Paras-Shah_thailand


त्यो दिन म कसरी भुल्न सक्छु ! गएको मंसिर २२ गते । मलाई एक नेपाली साथीको फोन आयो, 'पूर्वयुवराजलाई कसैले लखेटिरहेको छ, तपाईंले रेस्क्यु गर्नुपर्‍यो ।'
पारस सरकारसित मेरो दोहोरो चिनजान थिएन । बैंककमा बस्दै आए पनि कहिल्यै देखेको थिइनँ, उहाँलाई । तर, नेपालको पूर्वयुवराज र त्योभन्दा बढी एक नेपाली नागरिक भएको नाताले उहाँलाई सहयोग गर्नु आफ्नो दायित्व सम्झेँ ।
पारस पहिले बैंककमा एउटा अपार्टमेन्टमा बस्दै आउनुभएको थियो । त्यहाँ नयाँ चिनजानमा आएका केही 'शंकास्पद' विदेशीले एक दिन लागुपदार्थ सेवन गरेर उहाँको
अपार्टमेन्टभित्रै तोडफोड गरेछन् । त्यसपछि उहाँले असुरक्षित महसुस गरेर अपार्टमेन्ट नै छाड्नुभयो । त्यहाँबाट फुकेट आएर होटलमा बस्न थाल्नुभएको रहेछ । तर, त्यहाँ पनि उहाँलाई असुरक्षा फिल भएछ । शंकास्पद चरित्रका नयाँ विदेशी मान्छे भेट्न आउने र चिनजान गर्ने गर्दा रहेछन् । साथै, त्यस्ता व्यक्तिले लगातार आफूलाई फलो गरेको महसुस गर्नुभयो ।
यसैक्रममा एकदिन होटलमा बसिरहेका वेला आफूलाई कसैले पछ्याइरहेको पाएपछि उहाँले चिनजानका नेपालीहरूलाई फोन गर्नुभएछ । तीनजना नेपाली गएर उहाँलाई आफ्नो गाडीमा हालेर भगाएछन् । तर, पछाडिबाट अर्को गाडीले फलो गर्न थालेछ । त्यसपछि ती साथीले अत्तालिँदै मलाई फोन गरेका थिए । मैले सहयोग गर्ने निर्णय लिएँ र उनीहरूलाई मेरो घरनजिकैको सपिङ मलको पार्किङमा बोलाएँ । उहाँहरूले गाडी हुइक्याउँदै लिएर आउनुभयो । मैले पारसलाई त्यो गाडीबाट झिकेर हतार-हतार आफ्नो गाडीमा हालेँ । अनि एक सय ४५ किलोमिटरको रफ्तारमा गाडी कुदाएँ । कुदाएँ के भन्नु उडाएँ ! केही समयसम्म पछाडि फलो गर्ने गाडी देखिएको थियो । तर, मैले छलेर अघि बढेँ । मैले खुला राजमार्गमा गाडी लगातार कुदाइरहेँ । करिब दुई सय किलोमिटर चलाएपछि बल्ल ज्यान जोगिएको महसुस भयो र विश्राम लिएँ ।
मेरो गाडीमा चढ्न लाग्दा पारस निकै हतास मनस्थितिमा हुनुहुन्थ्यो । म पनि भित्र-भित्र साह्रै डराएको थिएँ । तर, आफ्नो डर नदेखाईकन उहाँलाई ढाडस दिएँ, 'अब केही हुँदैन, म सुरक्षित ठाउँमा पुर्‍याउँछु भनेर ।' त्यसपछि उहाँको अनुहारको रंग केही फेरियो र आश्वस्त हुनुभयो ।
त्यति स्पिडमा गाडी चलाउँदा पनि म उहाँसित कुरा गरिरहेको थिएँ, मनको डर मत्थर होस् भनेर । उहाँले मेरो परिचय सोध्नुभयो, अनि धन्यवाद दिनुभयो थियो, सहयोग गरेकोमा । मैले उहाँको बसाइ र पारिवारिक कुरा सोधेको थिएँ । फलो गर्नेहरूबाट फुत्काएर सुरक्षित ठाउँमा पुर्‍याए पनि पारसलाई एक्लै छाड्न मेरो मन मानेन । त्यसैले मैले आफ्नो घरमा बस्न जाने प्रस्ताव राखेँ । उहाँले खुसी भएर मेरो प्रस्ताव स्वीकार गर्नुभयो । घरमा लगेर उहाँलाई राखेपछि हामी दुवैले शान्तिको सास फेर्‍यौँ । यो घटना अहिले सम्भिmँदा फिल्मजस्तो लाग्छ ।

०००

मैले माथि पनि भनँे- पारस सरकारसित मेरो न दोहोरो चिनजान थियो, न कहिल्यै देखभेट भएको थियो । उहाँको बारेमा मेरो त्यस्तै नकारात्मक सोचाइ थियो, जस्तो आमनेपालीको छ । तर, उहाँलाई भेटेकै दिनदेखि मेरो उहाँप्रतिको धारणा एक सय ८० डिग्रीमा बदलियो । उहाँलाई मैले जस्तो मान्छे सोचेको थिएँ, त्योभन्दा शतप्रतिशत भिन्न पाएँ । खुला दिलको, रसिक, सहयोगी । एउटा असल मान्छेमा हुनुपर्ने धेरै गुण भएको । सच्चा नेपाली मन र मुटु भएको ।
सुरुका दिनमा म उहाँलाई पारस सरकार भनेरै सम्बोधन गर्थें । तर, बिस्तारै नजिक हुँदै गएपछि आफ्नै ठूल्दाइजस्तो लाग्न थाल्यो । उहाँले नै आफूलाई सरकार नभन्न अनुरोध गर्नुभएपछि दाजु नै भन्न थालेँ । म उहाँलाई तपाईं भन्थेँ । उहाँ मलाई तिमी भन्नुहुन्छ । अहिले हामी दाजूभाई जस्तै छौं ।
नेपालमा पारसले दारु पिएर बबाल गरेको समाचार मैले पनि बारम्बार पढ्दै-सुन्दै आएको हुँ । तर, मैले संगत गरेदेखि उहाँले एकपटक पनि दारु छुनुभएको छैन । उहाँ दारु खानुहुन्नभन्दा धेरैले नपत्याउलान्, तर यो धु्रवसत्य हो । यो म भगवान्को कसम खाएर भन्न सक्छु । सिंगापुर बस्दासम्म खानुहँुदो रहेछ । तर, बैंकक आएपछि खानुभएको छैन । कहिलेकाहीँ म उहाँसित बसेर दारु खाँदा उहाँ पानी खानुहुन्थ्यो । स्वास्थ्यका कारणले नै पिउन छाड्नुभएको हो ।
बैंककमा मसित बस्दाखेरि उहाँको लाइफस्टाइल एकदमै सामान्य थियो । घरबाहिर प्रायः निस्कनुहुन्नथ्यो । कहिलेकाहीँ म घुमाउन लैजान्थेँ । उहाँकी एउटी थाई केटीसाथी थिइन् । बैंकक आएपछि भाषाको समस्या भएकाले उहाँले सहयोगीका रूपमा राख्नुभएको रहेछ । उनी वेलाबखत मेरो घरमा आउँथिन्, उहाँलाई भेट्न । उहाँहरूको सम्बन्धको प्रगाढताबारे म जान चाहन्नँ । घरमा उहाँ प्रायः कम्प्युटर चलाएर बस्नुहुन्थ्यो । कम्प्युटरमा नेपालको न्युज हेर्ने, फेसबुक चलाउने तथा गेम खेल्ने पनि गर्नुहुन्थ्यो । अरू वेला
पुस्तक पढ्नुहुन्थ्यो ।
उहाँ एकदमै दिल खोलेर कुरा गर्नुहुन्थ्यो मसित । हाँसोठट्टा पनि खुबै गर्नुपर्ने । उहाँ र मेरो सम्बन्ध पूरै अनौपचारिक भइसकेको थियो । सायद मसित लुकाएका कुरा केही छैनन् । परिवारका बारेमा, पत्नीका बारेमा पनि सबै कुरा गर्नुहुन्थ्यो । तर, उहाँले मसित गर्नुभएको कुरा मिडियामा फैलाउनु उचित छैन । दरबार हत्याकाण्डबारे पनि कुरा गर्नुभएको छ । त्यो पनि म बाहिर ल्याउन चाहन्नँ । बाहिर ल्याए पनि कसैले पत्याउनेछैनन् । यति मात्रै भन्न सक्छु, दरबार हत्याकाण्डको मामलामा पारस र उहाँको परिवारप्रति ठूलो अन्याय भएको छ । यसले उहाँलाई भित्र-भित्रै धेरै कमजोर बनाएको मैले पाएको छु ।
हामीबीच राजनीतिक कुरा पनि हुन्थे । नेपालबारे धेरै चिन्ता थियो उहाँमा । समाचारमा अपडेट हुनुहुन्थ्यो । म पनि नयाँ कुरा थाहा पाउनेबित्तिकै उहाँलाई सुनाउँथेँ । अन्ततः नेपालमै र्फकने सोच थियो उहाँको । राजनीतिमै लाग्नेभन्दा पनि समाजसेवा गर्ने कुरा गर्नुहुन्थ्यो । राजनीतिमा उहाँको धारणा भनेको देश जसले चलाए पनि स्थिर र विकासमुखी सरकार चाहिन्छ भन्ने थियो ।
उहाँ घरेलु काममा पनि निकै रुचि राख्नुहुन्थ्यो । निकै सफासुग्घर बस्नुपर्ने । आफ्नो मात्रै होइन, कोठाको सरसफाइ पनि गर्नुहुन्थ्यो । वेलाबखत पकाउन पनि जाँगर गर्नुहुन्थ्यो । चिया-कफी तथा मासुका आइटम पकाएर खुवाउनुहुन्थ्यो । खानामा मासुको झोल र भात उहाँको पि्रय हो । हामी एउटै परिवारका सदस्यजस्ता भएर बसेका थियौँ । उहाँको कारणले मैले आफूलाई नेपालमै बसिरहेको अनुभूति गरेँ ।

०००

त्यस दिन हामी दिनभरि सँगै थियौँ, घरमै । उहाँकी थाई साथी पनि आएकी थिइन् । बेलुकी खाना खाने वेला चिकेन सकिएछ । उहाँले मलाई चिकेन किन्न पठाउनुभयो । म बाहिर निस्केको केही बेरमा उहाँकै नम्बरबाट मिसकल आयो । तर, मैले कलब्याक गर्दा उठेन । पछि उहाँकी साथीलाई गर्दा उनले पारसलाई हार्ट अट्याक भएको बताइन् । अनि मैले तत्कालै गार्डलाई फोन गरेर हस्पिटल लैजान भनेँ । संयोगले समितिभेज हस्पिटल मेरो अपार्टमेन्टबाट केवल पाँच मिनेटको दुरीमा छ । उनीहरूले दौडाएर अस्पताल पुर्‍याए । म पनि हस्याङफस्याङ गर्दै सोझै अस्पताल गएँ ।
म पुग्दा उहाँको धड्कन बन्द भइसकेको रहेछ । डाक्टरले 'हि इज नो मोर' भने । मेरो आँखाबाट बरबर्ती आँसु आयो । आफूलाई सम्हालेर मैले नेपालमा कल गर्ने प्रयास गरेँ उहाँको परिवारलाई । मसित सबैको नम्बर थियो । तर, कसैको फोन लागेन । त्यसपछि एसएमएस गरेँ । पछि उताबाट कलब्याक भयो ।
उता सम्पर्क नहुन्जेलसम्म उहाँलाई भेन्टिलेटरमा राख्न अनुरोध गरेँ, मैले डाक्टरहरूलाई । सायद नेपालमा ढिला सम्पर्क हुनु पनि पारस बाँच्नुको एउटा कारण बन्यो । किनकि, पहिल्यै सम्पर्क भएको भए, मैले उहाँलाई मेसिन लगाइराख्न भन्ने थिइनँ, डाक्टरले त डेथ नै डिक्लेयर गरेका थिए । नेपालबाट फोन आउनुभन्दा केवल एक मिनेटअगाडि आश्चर्यजनक

रूपमा उहाँको सास फर्कियो । यदि दुई मिनेटअगाडि मात्र फोन आएको भए मैले उहाँ रहनुभएन भन्थेँ होला । यसलाई भाग्यकै कुरा ठानौँ ।
नेपालबाट पूर्वराजपरिवार नपुग्दासम्म म पारसको एक्लो अभिभावक थिएँ । निकै विचलित पनि भएको थिएँ । हरेक ठाउँमा मैले नै हस्ताक्षर गर्नुपथ्र्यो, उपचार गर्दा तलमाथि भएमा मेरो जिम्मेवारी भनेर । ठूलो प्रेसर भएको थियो मलाई । उहाँकी थाई साथी पनि उहाँ मर्ने निश्चित देखेर होला, आउन छाडेकी थिइन् । नेपालबाट पहिले हिमानी सरकार अनि पूर्वराजारानी आएपछि मैले बल्ल आफ्नो बोझ हलुका भएको अनुभव गरेँ । उहाँहरूले मैले गरेको सहयोगका लागि हृदयदेखि धन्यवाद दिनुभयो । त्यसपछि सबै उहाँहरूले सम्हाल्नुभयो ।
एउटा चमत्कार भएजस्तो गरी उहाँको होस खुल्यो । यो साँच्चिकै चमत्कार थियो, चिकित्सकका निम्ति पनि । होस खुलेपछि मैले पहिलोचोटि भेट्दा उहाँ भावविह्वल हुनुभयो । मलाई 'तिमी मेरो जीवनरक्षक हौ' भन्दै आलिंगन गर्नुभयो । म पनि भावुक बनेँ । अस्पतालबाट डिस्चार्ज भएपछि हस्पिटलकै एउटा उपचार केन्द्र -सुधारगृह जस्तै) मा राखियो । तीन दिनअघि उहाँ त्यहाँ बस्न गाह्रो लागेर निस्किनुभएको छ । अहिले हस्पिटलनजिकै एउटा अस्थायी अपार्टमेन्ट लिएर बस्न थाल्नुभएको छ । डाक्टरले नियमित अनुगमन गरिरहेका छन् । खानपिनमा निकै बारबन्देज छ । म नियमित रूपमा भेट्छु । यद्यपि, बिस्तारै मोटाउन थाल्नुभएको छ । अनुहार उज्यालो हँुदै गएको छ । म उहाँ जतिसक्दो चाँडो पहिलेजस्तै भएको हेर्न चाहन्छु ।

सुनील खड्का



प्रस्तुति ः चिरञ्जीवी पौडेल
नया पत्रिका 
Share this article :

1 comment:

  1. You are real Nepali hero in the true sense of the word, Sunil Khadka ji. May God bless you forever!

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis