पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। तनहुँको जामुनेमा घच्याक्क बस रोकियो। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उनलाई सम्झाइरहेका थिए। दुई तीन वटा गाडी
अगाडि गएपछि देखियो, तीन चार वटा बाँस तेर्स्याएर पृथ्वी हाइवेमा अवरोध खडा गरिएको रहेछ। स्थानीय र बसका यात्रुहरु मात्रै थिए त्यहाँ। सुरक्षाकर्मीहरु कोही पनि आइपुगिसकेका थिएनन्।हाइवेको दुवै छेउमा गाडीको लामो लाइन लाग्न थालिसकेको थियो। बाँस तीन, चार वटा मात्रै थिए, स्थानीय बासिन्दाको संख्या पनि त्यति धेरै थिएन। हाइवेका यात्रुहरु बढी थिए बरु। कुरो बुझ्दा थाहा भयो, एकैछिनमात्र अगाडि त्यहाँ एउटा मोटरसाइकलले स्कूल जान लागेका एक बच्चालाई हानेर भागेछ। मुखभरी रगत थियो रे। ‘ऊ यहाँ हेर्नुस्, रगत आलै छ,’ सडकमा समेत रगत रहेछ।
कतातिर भाग्यो ?
उतातिर, काठमाडौँ जानेबाटोतिर देखाउँदै स्थानीयले सुनाए।
मोटरसाइकलको नम्बर कति हो ?
थाहा छैन, भागिहाले।
अब के गर्ने त ?
अन्यौल।
अघि रोइरहेकी बच्ची घाइते बालककी दिदी रहिछिन्। उनलाई समेत लतारेको थियो रे। जामुनेको हाइवे छेवैको घरमा उनीहरु नयाँ बासिन्दा रहेछन्। बाबु विदेशमा काम गर्ने, आमा मात्रै त्यहाँ। नयाँ बासिन्दा भए पनि सहयोगका लागि स्थानीय सबै उत्रिएका रहेछन्।
बाटैमा नागरिकका पोखरा संवाददाता सन्तोष पोखरेल भेटिए। उनीहरु पूर्व जान हिँडेका रहेछन्। दमौलीमा प्रहरीलाई खबर गरेका रहेछन्। ‘एकैछिनमा पुलिस आउँदैछ, मैले खबर गरिसकेको छु। सानो टिम पठाइसकेको छ, त्यतिले पुगेन भने ठूलै टिम आएर खोल्छ’, उनले भने।
नभन्दै एकैछिनमा प्रहरी आइपुग्यो। ठक्कर दिएर भाग्ने मोटरसाइकल र मोटरसाइकल चालक पनि पक्राउ परेछन्। तर स्थानीय बासिन्दाहरु जाम खोल्न तयार थिएनन्। प्रहरी संयमित थियो। स्थानीय मध्ये जो-जो अलि चर्का चर्का कुरा गर्दै थिए, सबैसँग मिजासिलो तरिकाले बोल्दै बाटो खुलाउने वार्ता गर्दै थिए।
स्थानीय भिडका केही ओपिनियन लिडरहरु चर्का थिए। त्यसमध्ये एक यी टोपी लगाएका दाजै। तैँले यो बाटो खुलाइस् भने अहिल्यै तेरो र मेरो युद्ध हुन्छ भन्दै धम्क्याउँदै थिए यिनी। राजमार्ग दुर्घटना न्युनीकरणको अध्यक्ष हुँ म कसले खुलाउँदो रहेछ लौ हेरौँ भन्थे कहिले। कहिले पुलिसलाई लक्षित गर्दै चोरहरु तिमेरुले जे गर्दा नि हुने, हाम्ले नहुने भन्थे। ‘चर्को नकराउनुस् न, गाली गरेर हामी ठूलो हुँदैनौँ’ भन्दै अरु सम्झाउन खोज्थे, सम्झँदैन थिए।
स्थानीय महिलाहरु फेरि कति चर्का ! त्यो बिरामी बालकलाई निको गरेर यहाँ नफर्काएसम्म जाम नखोल्ने भन्दै उफ्रँदै थिइन् केही त। ए बाबा, एउटा मोटरसाइकलले ठक्कर दियो र घाइते बनायो त त्यसमा हामी हाइवे यात्रुको के दोष ? हामी सबै अपराधी हौँ ? तर कसले बुझ्ने यो कुरा !
तपाईँहरु पनि कतै यात्रा गरिरहनुभएको बेला यस्तो परे कस्तो हुन्छ होला ? कति काम लिएर जान लागिरहेका होलान्, कसको के परिरहेको होला, सोच्नुस् त भनेर केही यात्रुहरुले सम्झाउने प्रयास गरे। तर अहँ, उनीहरु घाइते बालकको स्थिति पहिले बुझ्ने, अनि मात्र जाम खोल्ने जिद्दीमा अडिग थिए।
लौ बुझ्न त बुझ्ने, तर कसरी ? कुन अस्पतालमा लगेको नै थाहा छैन। लग्नेहरुसँग मोबाइल पनि छैन। तैपनि प्रहरीले प्रयास गरिरहेको थियो। दुर्घटना गराउने पक्राउ परिसक्यो, अब कानुनी प्रक्रिया अघि बढिहाल्छ, जाम गराएर के फाइदा त ? छाडिदिए भयो नि त भन्दा मान्दै मान्दैनन् बा..! सम्झाउन खोज्ने यात्रुलाई तपाईँ को ? किन जान्ने हुनुभाको भनेर थर्काउँछ बा ! प्रहरीले पनि के गरोस्। हामी वार्ता गर्दैछौँ, तपाईँहरु चुप बसिदिनुस् भन्नुपर्यो।
यस्तै हुँदाहुँदै एक घण्टा बितिसकेको थियो। अब बिजोग देखिन थालियो। लाइन लामै भइसकेको थियो हाइवेको दुवैतिर। ट्याक्सी लिएर काठमाडौँ हिँडेका एक विदेशी पर्यटक दिक्दार भएर ब्याग बोकेर आफै लुखुरलुखुर हिँडेर लाग्यो। उसको काठमाडौँमा फ्लाइट होला, बहुलाइसक्यो ऊ, कम्तिमा उसलाई त छाडिदिउँ भनेर अनुरोध गरे, तर मानेनन्।
म भिडको मनस्थिति बुझ्दै, फोटो खिच्दै थिएँ। गर्ने पनि के त्यो ठाउँमा ? एक जना अन्नपूर्ण ट्रेकिङबाट फर्किएको विदेशी पर्यटकले तपाईँ अग्रेजी जान्नुहुन्छ भन्दै मसित कुरा गर्न आयो। खास कहिले के भइरहेको हो भन्ने जिज्ञासा उनको थियो। ‘उनीहरु घाइते बच्चाको स्थिति जान्न खोज्दैछन्’ भनेर सुनाएँ मैले। त्यो स्थिति थाहा पाएर चाहिँ के फरक पर्छ, किन यो जाम गरेको ? उनले सोधे। मसँग त्यसको जवाफ थिएन। घाइते बच्चाको स्थिति र जामको सम्बन्ध मैले बुझाउन सकिनँ। घाइते बच्चा मरेको खबर आयो भने झन् स्थिति बिग्रन सक्छ भनेर उसलाई अत्याउन चाहिनँ मैले। क्षतिपूर्तिको लागि जाम गरेका हुनसक्छन् भनेर मैले सुनाएँ। कसले तिर्छ त क्षतिपूर्ति ? उसले सोध्यो। ‘दुर्घटना गराउने मोटरसाइकल चालकले’ मैले जवाफ दिएँ। त्यसो भए किन हाइवे जाम त ? मसँग त्यसको पनि उत्तर थिएन।
यी आर्मीम्यानहरुले चाहिँ किन केही नगरेका नि ? पुलिसहरुतिर देखाउँदै उसले फेरि सोध्यो। उसको अपेक्षा हाइवे जस्तो संवेदनशील क्षेत्रमा बन्द गराउनेहरुलाई प्रहरीले तत्काल एक्सन लिनुपर्ने भन्ने थियो होला। तर नेपालमा त्यस्तो कहाँ हुन्छ र। मैले स्थानीय बासिन्दाहरुले हाइवे बन्द गराएको हुनाले उनीहरुलाई सम्झाई बुझाई अप्रिय स्थिति ननिम्त्याउने तर्फ बढी ध्यान प्रहरीले दिएको बताएँ।
त्यसो भए हाइवे खुलाउँदा स्थानीय बासिन्दाहरु दुःखी हुन्छन् ? उनले अचम्म मान्दै प्रतिप्रश्न गरे। बिचरालाई अस्ति भर्खर नवलपरासीमा बिहे गर्न नमानेकोले हाइवे जाम भएको र प्युठानमा कुखुराको भाले मर्दा यसरी चक्काजाम गरेको कुरा के थाहा ! वार्ता गर्दैछन्, एकैछिनमा खुलिहाल्छ अब भनेर सम्झाउनु बाहेक अरु विकल्प थिएन।
हुन पनि उनीहरुका कतिपय अडानमा कुनै दम थिएन। घाइतेको स्थिति बुझेर मात्र चक्काजाम खोल्ने रे। बुझेर के फाइदा ? जब मोटरसाइकल चालक पक्राउ परिसक्यो भने जाम राखिराख्नुको औचित्य के ? कानुन कार्यान्वयनमा पो जोड दिनुपर्यो त। हाइवेका सबै यात्रुलाई अपराधीको व्यवहार गर्न त भएन नि !
प्रहरीले स्थानीय बासिन्दाका तर्फबाट केही टाठाबाठालाई एक ठाउँमा लगेर सम्झाइबुझाइ गर्न थाल्यो। केही बेरमै अरु प्रहरी आएर हाइवेमा राखिएका बाँसहरु हटाए। हाइवे खुल्यो।
गत बिहीबारको यो घटनाबारे कतै कुनै समाचार आएन। ट्राफिक प्रहरी र नेपाल प्रहरीको बुलेटिनमा पनि यो घटनाबारे कुनै उल्लेख थिएन। त्यो जाम भोग्ने र त्यहीँका बासिन्दा बाहेक कसैलाई पनि योबारे थाहा हुने कुरै आएन। यसरी नै थाहा नहुने गरी हाम्रा हाइवेमा कतिले अपराधीसरह यात्रा गरिरहनुपरेको होला ! यो सोच्दा मन खिन्न भयो।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !