CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » एयरपोर्टमा नोट असुल्ने प्रहरी

एयरपोर्टमा नोट असुल्ने प्रहरी

TIAकाठमाडौ। त्रिभुवन विमानस्थल परिसरमा यात्रुको सेवा र सुरक्षाका लागि खटिएका प्रहरीले भ्रमण अनुमतिपत्र (भिजिट भिसा) लिएर विदेश जान लागेका नेपालीसँग अनेक बहानामा उठाएको पैसा प्रहरी नायब महानिरीक्षकसम्म पुर्‍याउँछन् होला? यात्रुहरूसँग असुलिएको
पैसा उनीहरूले भने बमोजिम नायब महानिरीक्षक विज्ञान शर्मासम्म पुगे वा नपुगे पनि रोजगारीका लागि विदेश जाने नेपाली भने उच्चपदस्थ प्रहरी अधिकृतका नाममा रु.५ देखि २५ हजार रुपैयाँसम्म प्रहरीलाई घुसस्वरुप बुझाउन बाध्य भइरहेका छन्। प्रहरीले भ्रमण भिसामा विदेश जान लागेका नेपालीसँग पैसा उठाउने तरिका पनि गजबको रहेको थाहा भएको छ। सबै प्रक्रिया पुर्‍याएर विदेश उड्न विमानस्थल पुगेका नेपालीका कागजात त्यहाँ खटिएका प्रहरीले माग्दछन्। निकैबेर ओल्टाइपल्टाई हेरिसकेपछि केही बहाना बनाएर टिकट काटेर विदेशिन लागेकालाई रोकिदिन्छन्। सबै प्रक्रिया पुगेको र केही खोट देखाउन पाएनन् भने ‘तपार्इंमाथि शंका लाग्यो, काम गर्न जान लाग्नुभएको होला’ भन्दै फर्काइदिने गरेका छन्। विदेश जान लागेका तर, विज्ञान शर्माको नेतृत्वको प्रहरीले बिनाकारण फर्काइदिएपछि ट्राभल एजेन्सीको सहयोगमा उनीहरू २५ हजारसम्म बुझाएर तिनै कागजपत्रबाट विदेश उडेको एकजना पीडितका आफन्तले गुनासो गरे। कतिपय नेपालीले भने प्रहरीले अवरोध गर्नासाथ रु. ५ हजारदेखि २० हजारसम्म तत्काल बुझाएर उड्ने गरेको घटना पनि पाइएको छ। प्रहरीले तपाईमाथि शंका लाग्यो भनी फर्काइदिएपछि तुरुन्तै उनीहरूलाई हजारौं दिन नसक्नेले चाहिं वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी वा एयरपोर्टकै दलाल खोजी उनीहरू मार्फत् १० देखि २५ हजार रुपैयाँ घुस खुवाएर उड्ने गरेका छन्। तर अध्यागमन विभागका एक अधिकृत भने प्रहरीले कागजात हेर्ने प्रक्रिया नै गैरकानुनी भएको बताउँछन्। सुरक्षासँग सम्बन्धित काम हेर्नुपर्ने भए पनि यस विपरीत उनीहरूले यात्रुका राहदानी, अनुमतिपत्र र अरु कागजात कब्जामा लिएर हैरान पार्ने गरेको एक पीडितले बताए। गृह मन्त्रालयका एक सहसचिव भन्छन् ऐन बमोजिम अध्यागमन अधिकारीले मात्र यात्रुको राहदानी, भ्रमण अनुमतिपत्र वा अन्य कागजात जाँच गर्नुपर्ने हो, तर यहाँ अधिकार प्राप्त व्यक्तिले भन्दा पहिले नै प्रहरीले हेरेर पठाउने नपठाउने निर्णय गर्दछ। भ्रमण अनुमतिपत्र लिएर विदेश जान लागेका प्रायः मध्यमवर्गीय नेपालीका कागजी प्रक्रिया सबै पुगेको भए पनि प्रहरीले शंका लाग्यो भनी रोक्नै नमिल्ने ती अधिकृतले बताए। भ्रमणका लागि विदेश जाँदा नेपालीले आतेजाते टिकट, होटल बुकिङ र ५ सय अमेरिकी डलर साथमा लिएको हुनुपर्ने प्रावधान छ। तर सम्पूर्ण कागजात र प्रक्रिया पुर्‍याएर विमानस्थल पुगेका नेपालीहरू राज्यकै बर्दीधारीबाट लगातार लुटिइरहेका छन्।
यता अध्यागमनकै केही कर्मचारी भने वैदेशिक रोजगार विभागसँग मिली लाखौं रुपैयाँ असुली अवैध रुपले नेपालीलाई विदेश उडाइरहेका छन्। केही समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा कार्यरत कर्मचारीहरूले बंगलादेशी नागरिकलाई नक्कली नेपाली कागजातका आधारमा युरोपतिर उडाउन लाग्दा उनीहरू निलम्बनमा परेका थिए। यसरी वैदेशिक रोजगार विभाग तथा श्रम विभागमा समेत लाइन मिलाएर लाखौं रकम असुली नेपाली अथवा एसियन मुलुकका विदेशीलाई उडाउने क्रम हालसम्म पनि नरोकिएको एक अध्यागमन अधिकृतले बताए।
विमानस्थलमा कार्यरत अध्यागमनका विशेष अधिकृत विष्णु सिग्देल र कृष्णप्रसाद दाहालको अगुवाइमा अहिले यस्तो काम भइरहेको उनले बताए। सिग्देलले वैदेशिक रोजगार विभागका वासु भेटवाल, भीम बस्नेत, देवराज भट्टराई नामका कर्मचारी मार्फत् काम गराउने गरेको आरोप छ। केही अघि नेपालबाट आफ्नो देश जान लागेकी अष्ट्रेलियन युवतीसँग प्रक्रिया नपुगेको भनी पैसा असुल्न खोजेका कारण सिग्देल विवादमा आएका थिए। ती युवतीले सिग्देललाई घुस दिनुको सट्टा अध्यागमन विभागमा आई गुनासो गरेपछि उड्न सकेकी थिइन् भने सिग्देललाई स्पष्टीकरण सोधिएको थियो।
स्रोत : http://sanghu.weeklynepal.com/2013/05/28/article-item71369717097/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis