CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मस्तीका लागि गोवा

मस्तीका लागि गोवा

समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई यसको अनुभव छैन किनभने नेपाल समुद्रसँग जोडिएको छैन। त्यसैले यहाँ समुद्री तटमा बसेर अस्ताउँदो साँझको मज्जा लुट्ने ट्रेन्ड छैन। यद्यपि
हाम्रा लागि त्यो असम्भव भने छैन। छिमेकी मुलुक भारतसम्मको यात्रा तय गर्ने हो भने मन अघाउन्जेल समुद्री सौन्दर्यको रसपान गर्न सकिन्छ।

भारतीय राज्य गोवाको समुद्री तट विश्वमै प्रसिद्ध छ। विश्वभरका पर्यटकलाई गोवाको समुद्री तटले तान्ने गरेको छ। फुर्सद कटाउन होस् वा व्यस्त जीवन शैलीबाट मुक्त हुन, गोवाको शरणमा रमाउन आउनेहरूको संख्या उल्लेख्य छ। शान्त, स्वच्छ एवं मनमोहक वातावरणमा संगीतको धुन र नाचगानले पूरा गोवाको सौन्दर्यमा मादकता थपिदिन्छ। यही मादकतामा लठ्ठएिर समुद्री सौन्दर्यको रसपान गर्नुको मज्जा बिछट्टैको हुन्छ। मध्यान्हको चर्को गर्मीमा समुद्री छालमा भिज्नु, साँझ किनारमा बसेर अस्ताउँदो घाम हेर्नु र मध्यरात मधुर संगीतको तालमा नौका विहार गर्न पाउनु गोवाका प्रमुख आकर्षण हुन्।

लामो समद्री तट, आकर्षक मन्दिर, चर्च, पुराना किल्ला तथा कलात्मक भग्नावशेषले गोवा प्रमुख पर्यटन उद्योगका रूपमा स्थापित भएको छ। सम्पूर्ण गोवामा यति धेरै समुद्री तट छन् कि, ती सबैको दृश्यावलोकनका लागि एक महिनाभन्दा बढी समय खर्चनुपर्छ। ती समुद्री तटमा पर्यटकहरू वाटर सर्पिङ, वाटर स्किइङ, वाटर स्कुटरको आनन्द उठाइरहेका भेटिन्छन्। मीरामार, कालांगुट तट, पोलोलेम तट, बागा तट, मोवोर तट, केवेलोसिम तट, जुआरी नदीमा डोना पाउला तट, अञ्जुना तट, आराम वोल तटजस्ता थुप्रै तट छन् गोवामा। यहाँ बर्सेनि २० लाख पर्यटक पुग्ने गरेका छन्।

पणजी, मडगांव, वास्को, मापुसा तथा पोंडा यो राज्यका प्रमुख सहर हुन्। माण्डवी नदीको तटमा अवस्थित पणजी गोवाको राजधानी पनि हो। प्राचीन शैलीको यो सहरले पर्यटकको ध्यान सजिलै खिच्न सक्छ। माण्डवी नदीमाथि निर्मित पुल हेर्न लायक छ। पणजीमा 'वेसिलिका अफ वाम जिसस' चर्च तथा 'महालक्ष्मी मन्दिर' छ। अंग्रेजको शासनकालमा बनेको जेल पनि यसको अर्को आकर्षण हो, जहाँ स्वतन्त्र आन्दोलनका सेनाहरू बन्धक बनाइएको थियो। त्यसो त नदी र समुद्रको संगमले त्यहाँ अद्वितीय दृश्य प्रस्तुत गर्छ जसलाई बिर्सन सकिँदैन।

पुराण एवं प्राचीन ग्रन्थमा गोवाको उल्लेख पाइन्छ। यसलाई पहिले गोपराष्ट्र, गोपकपुरी, गोपकपट्टन, गोअञ्चल, गोवे, गोवापुरी, गोपकापाटन, गोमन्त, चन्द्रपुर तथा चन्दौरको नामले पनि चिनिन्थ्यो। परशुरामले वाणको वषर्ाले यसलाई पछाडि धकेलेको पौराणिक कथन छ। त्यसैले यसलाई वाणस्थली नाम दिइएको स्थानीयवासिन्दाहरू बताउँछन्।

एउटा सानो तटीय सहर गोअ-वेल्हालाई एक यात्रुले गोवा नाम राखेका थिए। पछि सम्पूर्ण द्वीप क्षेत्रलाई गोआ एवं गोवा भन्न थालियो। गोवा क्षेत्रफलको हिसाबले भारतको सबैभन्दा सानो र जनसंख्याको हिसाबले दोस्रो सबैभन्दा सानो राज्य हो। गोवा पहिले पोर्चुगलको उपनिवेश थियो। गोवा लगभग ५ सय वर्षसम्म पोर्चुगलको अधीनमा रह्यो। त्यसैले यहाँ युरोपियन संस्कृतिको प्रभाव अझै पनि छ। गोवाका लगभग ६० प्रतिशत मानिस हिन्दू र  २८ प्रतिशत मानिस इसाई छन्। यहाँको मातृभाषा कोंकण एवं मराठी हो। १ सय वर्ष पहिले गोआ 'कोंकण काशी' को नामले चिनिन्थ्यो।

डाबोलिम हवाई अड्डा यहाँको घरेलु हवाई अड्डा हो, जुन देशका सबै प्रमुख सहरसँग जोडिएको छ। अहिले पणजी हवाई अड्डाबाट अन्तर्राष्ट्रिय उडान पनि सुरु भएको छ। सडक मार्गका दृष्टिले गोवा मुम्बई, बेङ्लोरसँग जोडिएको छ। यी सहरबाट गोवाका लागि सोझै लक्जरी बस चल्छन्। अन्य नजिकका सहरबाट पनि त्यहाँ पुग्न सकिन्छ।

समुद्री तटको सौन्दर्य नियाल्न उडिसा पनि उपयुक्त गन्तव्य हो। उडिसा पनि भनिने यो राज्य भारतको पूर्वी समुद्री तटमा छ, जहाँबाट बंगालको खाडी देख्न सकिन्छ। लगभग ५ सय किलोमिटरको तटरेखामा अनेक सुन्दर तट समेटिएको यो राज्यको राजधानी भुवनेश्वर हो, जहाँ थुप्रै प्राचीन मन्दिरको दृश्यावलोकन गर्न सकिन्छ।

यहाँ हिन्दूहरूको प्रमुख तीर्थस्थल छ, जगन्नाथ। जगन्नाथ मन्दिरको रथयात्राले विश्वमै प्रसिद्धि पाएको छ। प्रसिद्ध सूर्य मन्दिर कोणार्क पनि यहीँ छ। ब्रह्मापुरको नजिक जौगदामा अशोकको प्रसिद्ध शिलालेख छ। यहाँ पुरातात्विक महत्वका स्तूपा, भित्तेचित्र, शिलालेख आदि पनि भेटिन्छन् । उडिसाको जंगलमा केही दुर्लभ पशु-पंक्षीका प्रजाति पनि छन्।

पुरीको समुद्री तट ः यहाँ हिन्दूहरूको चार धाममध्ये एक धाम छ, जगन्नाथपुरी। पूरै तटलाई भगवान् जगन्नाथको निवास स्थान मानिन्छ। त्यसैले यहाँ तीर्थयात्री समुद्रमा स्नान गर्न आउने गरेका छन्। यहाँ देखिने सूर्यास्तको दृश्यले धेरैको मन लोभ्याउने गरेको छ।

गोपालपुर ः यो उडिसाको प्रमुख बन्दरगाहमध्ये एक हो। गोपालपुर उडिसाको शान्त र सुरम्य तट हो। गोपालपुर समुद्री तट भुवनेश्वरबाट १ सय ७० किलोमिटर तथा बेरहपुरबाट १५ किलोमिटर टाढा छ।

चण्डीपुर ः समुद्री तट बालासोरबाट १६ किलोमिटर टाढा छ।

कोणार्क ः समुद्रको किनारमा अवस्थित कोणार्कको तटमा विश्व प्रसिद्ध सूर्य मन्दिर छ।

बालेश्वर तट ः बालेश्वर उडिसाको तटीय जिल्ला हो। यसका साथ कटक, अंगुल आदि बन्दरगाह पनि प्रसिद्ध छन्।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis