काठमाडौँ, ६ असार । दार्चुलामा आएको बाढी प्राकृतिक प्रकोप नभएर भारतीय पक्षले धौलीगङ्गा हाइड्रोपावरको ढोका खोलिदिएपछि आएको मानव निर्मित विपत्ति भएकोमा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक पार्टीका नेता र सरोकारवालाहरूले
बताएका छन् । संवाद डबलीले आज राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरूले सरकारका मन्त्रीले दार्चुलामा आएको बाढी धौलीगङ्गाको कारणले होइन भनी अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरे ।
उनीहरूले पीडितलाई राहत र क्षतिपूर्ति दिन सरकार उदासीन देखिएको भन्दै सुदूरपश्चिमलाई राज्यले सधैं गर्ने सौतेलो व्यवहार यसपटक पनि दोहरिएको आरोप लगाए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य लेखराज भट्टले दार्चुलाको क्षति भारतको हेपाहा प्रवृति र नेपालका नेता तथा राज्यको कमजोरीले भएको बताउनुभयो ।
उहाँले भन्नुभयो–“धौलीगङ्गा बनाउँदा राज्य किन बोलेन, अहिले त्यसको असर देखिएको छ, बाढी आएपछि भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्नेमा मन्त्रीहरू उल्टै भारतका कारणले होइन भन्दै हिडिरहेका छन् ।”
नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र बडुले दार्चुलाको बाढीको पहिलो कारण वर्षा भए पनि धौलीगङ्गा बाँध दोस्रो कारण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “धौलीगङ्गा बनाउँदा नेपाल सरकारको स्वीकृति लिइएको छैन, नेपाली पक्षलाई जानकारी नै नदिई धौलीगङ्गाको बाँध खोल्दा अहिले यत्रो विपत्ति पर्यो । सुरुमा सिडिओले त्यही बाँध खोल्दा बाढी आएको बताएका थिए, अहिले माथिबाट दबाब परेछ होइन भन्न थालेका छन् ।”
नेकपा–माओवादीका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले दार्चुलाको क्षति प्राकृतिक प्रकोप नभएर भारतको एनएचपिसी लिमिटेडले धौलीगङ्गामा बिनाजानकारी बाँधको ढोका खोलेर आएको विपत्ति भएको बताउनुभयो ।
एमालेका पूर्व सभासद् गोपालसिंह बोहराले दार्चुला बग्दा पनि राज्यले तीन दिनपछि मात्र सुनेको भन्दै प्राकृतिक प्रकोपसँगै राज्यबाटै दार्चुलावासी विभेदमा परेको दुखेसो पोख्नुभयो ।
दार्चुलाको प्रमुख जिल्ला अधिकारी भइसक्नुभएका पूर्व जलस्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गानाले दार्चुलावासीलाई घरबारविहीन गराउँदासमेत मन्त्रीले होइन भन्नु आपत्तिजनक भएको बताउनुभयो ।
जलस्रोत विज्ञ सन्तबहादुर पुनले भारतीयले धौलीगङ्गा परियोजना निर्माण गर्दा अन्तर्राष्ट्रिय कानुनको पालना नगरेकै कारण अहिले दार्चुलावासीले विपत्ति भोग्नुपरेको धारणा राख्नुभयो ।हाम्रा कुराबाट
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !