लेख्नका लागि अनेकौँ भीमकाय महापुरुषहरू छन्। चमत्कार गरेर ६ महिनामै देशलाई सिंगापुरजस्तो बनाएर दुनियाँलाई चकित बनाउने सपना बाँड्ने तर ६ वर्षसम्म झिँगो नमार्ने नेताहरू एकरत्ति नलजाई यो नेपाली धर्तीमा घुमिरहेकै छन्। सुडानदेखि नेपालसम्मका अनेकानेक ठूल्ठूला घोटाला काण्ड रचना गरी अकूत सम्पत्ति आर्जन गरेका विशिष्ट प्रहरी स्रष्टाहरू बढेबढे महलमा यामानका
भुँडी हल्लाउँदै कुकुर चराइरहेका छन्। तिनीहरूका गाथा पनि गाउन सकिन्थ्यो। त्यस्ता महापात्रका अगाडि नाथे सस्यानो पुलिस अफिसरलाई पात्र बनाएर के लेख्नू ?सीताराम हाछेथू भन्ने एक जना हाल इन्स्पेक्टर तहमा पुलिसको जागिर खान्छन्। जागिर मात्रै खाएर बसे त हुन्थ्यो नि, नचाहिने नचाहिने काम गरेर आफ्नै हाकिमहरूको दिमाग पनि खान्छन्। सानो मान्छे भएर ठूल्ठूला ओर्याइँहरू गर्छन्, त्यसैले यी हाछेथू भन्ने सानो मान्छेका लागि नलेखौँ भन्दाभन्दै पनि केही शब्द नाश गर्नुपर्ने बाध्यता आइलागेको छ।
हाछेथूलाई धेरै वर्षदेखि उपत्यकाका चोक र गौँडाहरूमा असिनपसिन हुँदै सिट्टी बजाइरहेको वा हात हल्लाइरहेको देखिँदै आएको छ। मातहतका केटाहरूलाई चोकको धूलो, धूवाँ र ध्वनिमा डुबाएर आफूचाहिँ माथिल्ला हाकिम सा'बहरूको चाकरीमा डुबिरहने साथीहरूको अनुसरण गर्न छाडेर यी मूर्ख आफैँ सडकमा दौडादौड गर्छन् र जस्तासुकै जामलाई पनि सिनित्तै पार्छन्। अचम्म ! यी मान्छेले तल्लो तहमा हुँदैदेखि नअह्राएका काम गरेर ठूलाबडाको मानमर्दन गर्दै आएका छन्। कुममा अनेकथरीका झिलिमिली ताराजडित हाकिमहरूले गर्न नचाहेका कामहरू यिनले भ्याइसकेका छन्। त्यसैले यी असामाजिक छन्, बेग्लै छन्, समकालीनहरू र कतिपय हाकिमहरूका लागि यी इष्र्याका पात्र छन्। हुन सक्छ, आँखाको कसिंगर छन्।
आ-आफ्नो क्षमताको कुरा हो, हिजोआज कति वीर प्रहरीहरू सिंहदरबारको गेटैबाट धर्नाकारी कमलरीहरूलाई भुँडीमा लात्ती हानेर अस्पतालतिर पठाउँदै छन्। हुति नभएका सीतारामचाहिँ बाटो काट्न नजान्ने यात्रीलाई लौराले ठोक्न छाडेर गुलाफको फूलले स्वागत गर्छन्। बुटले बजाउन छाडेर सुन्तला बाँड्छन्। हुँदा हुँदा अस्ति एकपटक त दरबारमार्गमा नाची नाची ट्राफिक कन्ट्रोल गररिहेका देखिए। धेरैले भने, 'हाछेथू बौलाएछ।' यी बौलाएका पनि हुन सक्छन्, नत्र ठूल्ठूला नेता वा हाकिमहरूले देख्न साँचेका सपनाहरू जान्ने भएर यी किन पहिल्यै देखेर सिध्याइदिन्छन् ? हाकिमहरूले तालिममा नसिकाएका कुरा किन गररिहन्छन् ?
कोमल मन भएका कतिपय सद्दे हाकिमहरू जहाँ सरुवा भयो, त्यहीँ श्रीमती जोड्छन् रे तर यो निष्ठुरी सीताराम, प्रेम गर्नुको सट्टा जहाँ सरुवा भयो, त्यहीँ संस्थाका लागि नयाँ भवन जोड्छन्। कालीमाटी, कोटेश्वर, पुरानो बसपार्क र दरबारमार्गमा समेत ट्राफिक भवन बनाएछन्। जहाँ गयो, त्यहीँका मान्छेलाई पगाल्छन्। एक ठाउँमा भवन बनाइसकेर अर्को ठाउँमा बनाउन सरुवा भइहाल्न खोज्दा रहेछन्। हाकिम सा'बहरूले विचार गरून्, यसभन्दा बढी यिनलाई गर्न दिनुहुँदैन। हैसियतभन्दा बढी गर्न खोज्नेलाई रोक्नुपर्छ। मेरो सुझाव छ, यिनलाई गाडी नै नपुगेका दुर्गम जिल्लातिर सरुवा गर्नुपर्छ अनि चाख्छन् यिनले। त्यसपछि सीताराम के गरेर बस्दा हुन् ! विचार गर्दा हुन्, जागिर त खानैपर्यो। बिचरा धमाधम गाडी पुर्याउने बाटो खन्न थाल्दा हुन्। चुप लागेर त के बस्दा हुन् र यी चकचके सीताराम हाछेथू !
स्केचहरू ः रवीन्द्र मानन्धर
साभार : नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !