गरिबको चमेली बोल्दिने कोही छैन!
सँगैको फोटो २०४६ सालको जनआन्दोलनका क्रममा गोली हानेर मारिएका एक सर्वसाधारणको हो। उनलाई गोली हान्दा गृहमन्त्री निरन्जन थापा थिए, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए र कार्यकारी अधिकारसहितको राजा वीरेन्द्र थिए। राजा गोलीकान्डमा मारिए। मरिचमान ‘हिरो’ बनाइएर हिजो बिते। सर्वसाधारणको त यहाँ कुनै गन्ती नै हुँदैन। नेताहरु
आफ्नो स्वार्थका लागि उनै सर्वसाधारणलाई उचाल्छन्, अगाडि उनीहरुलाई राख्छन्। घाइते उनीहरु हुन्छन्, ज्यान उनीहरुले गुमाउँछन्। तर मस्ती उनीहरु लुट्छन्। मार्ने र मार्न लगाउनेहरु हिरो कहलाइन्छन्। मार्ने र मार्न लगाउनेलाई कुनै कारबाही हुँदैन। धेरैअघिदेखि नै नेपालमा यस्तै हुँदै आएको छ। हजारौँको मृत्युको कारण बनेको माओवादी विद्रोहका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट अनेक ज्यादतिपूर्ण घटना भए। अहिले दुवै पक्षका मर्ने र मार्न लगाउनेहरु दोषी ठहरिएका छैनन्। दुवै पक्षकाहरु हिरो भएका छन्। सत्य निरुपण आयोग भन्ने कुरो न बनाउँछन् न दोषीलाई कारबाही गर्न दिन्छन्। सत्ता र शक्तिको कठपुतली बनेका जनतालाई उनीहरुलाई नै हिरो मान्न लगाइन्छ। नेपालको इतिहास नै यस्तै छ। कोतपर्व मच्चाउनेले पनि सजाय पाएनन्, राणा शासनमा दमन गर्नेहरुले पनि सजाय पाएनन्, पञ्चायती कालमा दमन गर्नेले पनि सजाय पाएनन्। २०४६ सालको आन्दोलन, २०६२/६३ को आन्दोलन दबाउनेहरुले पनि सजाय भोग्नु परेन। गृहयुद्धमा मार्ने र मार्न लगाउनेहरुलाई पनि कारबाही भएको छैन, हुनेवाला पनि छैन। अब वैद्य बाको आडमा नेत्रविक्रम चन्द फेरि युद्ध गरेर मान्छे मारेर भविष्यमा हिरो बन्ने बाटो खोज्दैछन्। यस्तै हो, सर्वसाधारण मरिरहन्छन्, दोषीहरुलाई हिरो बनाइँदै गर्छ। प्रसङ्गै प्रसङ्गमा २०४६ सालको आन्दोलनका केही फोटो भेटियो। त्यतिबेला इन्टरनेट थिएन, ब्लग थिएन, सोसल मिडिया थिएन। अहिलेको पुस्तालाई त्यतिबेलाको आन्दोलन हेर्ने यो एउटा अवसर हो। फोटो विदेशी फोटोग्राफर एलिसन राइटले खिचेका हुन्। २०४६ सालको आन्दोलनका बेला पुलिस यस्तो भारतीय पुलिसको जस्तो ड्रेसमा हुन्थ्यो। जनआन्दोलनपछि मात्रै पुलिसको ड्रेस अहिलेको जस्तो परिवर्तन गरिएको हो। त्यतिबेला त प्रहरी जनताको सम्बन्ध नै हु्न्न थियो। प्रहरी भनेकै दमन गर्ने हो भन्ने थियो। बालबच्चालाई समेत नरोऊ है अहिले पुलिस आएर समातेर लग्ला भनिन्थ्यो। मानौँ पुलिस कानुनको रक्षक हैन, जतिबेला जसलाई पायो त्यसलाई समात्दै हिँड्ने जन्तु हो।
२०४६ साल चैत २६ गते राजा वीरेन्द्रले प्रधानमन्त्री मरिचमान सिंहलाई बर्खास्त गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउँदै संविधानमा सुधार गर्ने वाचा गरेका थिए। तर आन्दोलन साम्य भएन। हजारौँको भिड दरबारतर्फ अघि बढ्यो। दरबारमा सेनाले सुरक्षा दिएको थियो। तीनधारा पाठशालानिर प्रहरीले यसरी रोकेको थियो। पछि प्रहरीले त्यहाँ गोली चलाउँदा कतिको मृत्यु भयो, गन्ती नै छैन। एक विदेशी पनि मारिएका थिए।
२०४६ सालको आन्दोलन
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आन्दोलन सुरु भएको थियो। काङ्ग्रेस नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका थिए। नेकपा (माले), नेकपा (मार्क्सवादी) नेपाल मजदुर किसान पार्टी लगायतका पार्टीले संयुक्त वाममोर्चाको निर्माण गरेका थिए भने नेकपा (मसाल) लगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर आन्दोलनमा भाग लिएका थिए।फागुन ७ गते काठमाडौँ लगायत देशभरि सुरु भएको आन्दोलनमा ठूल्ठूला जुलुस निस्किए। दिनदिनै आन्दोलनकारीहरू बढेर जान थाले। विद्यार्थी, शिक्षक, पत्रकार, वकिल, डाक्टर, उद्योगी, व्यापारी, कर्मचारी लगायत पेशा र व्यवसायका संस्था तथा व्यक्तिहरू आन्दोलनमा सरिक भएका थिए। जनआन्दोलनमाथि व्यापक दमन गरियो। आन्दोलनमा सहभागी दर्जनौँ मारिएत्र सयौँ घाइते बनाइए र हजारौँलाई गिरफ्तार गरियो। आन्दोलनमा जति दमन हुँदै जान्थ्यो, आन्दोलनकारीहरू त्यति थपिँदै जान्थे। त्यो आन्दोलनको केन्द्रबिन्दु काठमाडौँ उपत्यका थियो। तर देशैभरि आन्दोलनको आँधीबेहरी बढ्दै गयो। मूल रूपमा विराटनगर, झापा, वीरगञ्ज, सिन्धुली, भैरहवा, नेपालगञ्ज, दाङ, पोखरा जस्ता ठूला शहरहरूमा सशक्त आन्दोलन उठेका थिए। अन्य साना सहर र जिल्ला सदरमुकाम पनि आन्दोलनमय भएका थिए।चैत २२ गते पाटनको कृष्णमन्दिरमा जनताले प्रहरीलाई नियन्त्रणमा लिई बन्दी बनाएका थिए। पाटनका सम्पूर्ण जनताले बाहिरबाट कोही पनि आउन नसक्ने गरी पाटनलाई मुक्त क्षेत्र घोषणा गरेका थिए। उनीहरू घरायसी हतियार समेत लिएर आन्दोलनमा सामेल भएका थिए। सबै नेपाली पञ्च र सबै पञ्च नेपाली भन्ने पञ्चहरू आन्दोलनका बेलामा कहाँ थिए? वास्तवमा उनीहरू समाप्त हुनै लागेका थिए। र, उनीहरूले सञ्चालन गरेको शासन ढल्न लागेको थियो।जनआन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र केही झुक्न बाध्य भए। चैत २४ गते उनले जनआन्दोलनमा दमनमा उत्रिएको मरिचमान सिंहको मन्त्रिमण्डल विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए। उक्त मन्त्रीमण्डल २ दिन, २ रात मात्रै कायम रह्यो। चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले आम हड्तालको आयोजना गरेको थियो। उक्त बन्द अभूतपूर्व रूपले सफल भएको थियो। दरबारमार्ग अगाडि रहेको राजा महेन्द्रको शालिक चैत २४ गते नै फोरिएको थियो। उक्त शालिक फोर्नेमध्ये करिब आधा दर्जन आन्दोलनकारीलाई प्रहरीले गोली हानी शालिकबाट खसालेको थियो।राजाले चैत २४ गते राती लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाएपछि आन्दोलनमा झन् घिउ थपिए जस्तै भयो र आन्दोलनले झन ठूलो रूप लिँदै गयो। २५ र २६ गते पनि जनताको आन्दोलन देशभर जारी रह्यो। २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलन लगातार ५० दिनसम्म चल्यो। राजा वीरेन्द्रमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको थियो। आन्दोलनले नेपालमा मात्रै होइन, विश्वव्यापी समर्थन प्राप्त गरेको थियो। नेपाल विश्वबाट टाढा हुन सक्दैनथ्यो। पञ्चायती व्यवस्थाले विश्वको समर्थन गुमाउँदै गएको थियो, एक्लिँदै गएको थियो। आन्दोलनकारीले विश्वव्यापी समर्थन पाउँदै गएका थिए। आन्दोलन थेग्न नसकेपछि राजाले आन्दोलनकारीलाई वार्तामा बोलाए। राजासँग आन्दोलनकारीको तर्फबाट काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो। त्यति बेला वार्ता पनि भनिँदैनथ्यो, दर्शनभेट भनिन्थ्यो। राजाले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्री, प्रधान न्यायाधीशसहित संवैधानिक निकायका प्रमुखलाई तिमी भनेर सम्बोधन गर्दथे। राजदरबारमा काङ्ग्रेस, वाममोर्चा र राजाको बीचमा वार्ता भयो। उक्त वार्ता पञ्चायती व्यवस्थाको समाप्ती र बहुदलीय व्यवस्थाको स्थापना गर्ने सम्झौतामा टुङ्गियो। अन्ततः राजा वीरेन्द्रले आन्दोलनकारीका सामु घुँडा टेके र चैत २६ गते राती शाही सम्बोधन गर्दै बहुदलको घोषणा गरे। राजबन्दीहरू रिहा भए। खुशीयालीमा देशैभरी विजय जुलुस निस्किए। यसरी २०४६ साल चैत २६ गते मध्य रातमा तीस वर्षे पञ्चायती व्यवस्थाको अवसान भयो। देशमा बहुदलीय व्यवस्थाको पुनरुदय भयो। – विमल पोख्रेल
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !