भर्खरै बेस्ट ब्रान्डको अवार्ड थापेको चौधरी ग्रुपको सिजी फुड्सले उत्पादन गर्ने वाइवाइ चाउचाउबारे पछिल्ला केही दिनमा निकै कुरा सुनिएको छ। ‘नयाँ पत्रिका’ र ‘कान्तिपुर’ दैनिकले यसबारे समाचारसमेत छापे। वाइवाइ उत्पादक सिजी फूड्स आफैले पनि आजको पत्रिकामा विज्ञप्ति छापेरै यसबारे सार्वजनिक जानकारी गराएको छ। खासमा वाइवाइमा भएको चाहिँ के
हो त ?यसबारे मैले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्तासँग सोध्दा उनको जवाफ यस्तो थियो-
विभागले गत आ.व. २०६९/७० मा दायर गरेका २६७ वटा मुद्दाहरूमध्येको एक मुद्दा वाइवाइ चाउचाउसँग सम्बन्धित हो। वाइवाइ चाउचाउ फ्राइ गर्दा उही तेल धेरै पटक प्रयोग गरिएकाले (repeatedly used the same oil) चाउचाउ न्यून गुणस्तरको हुने अवस्था हो।
खास कुरो यही हो। अब पत्रपत्रिकाले कसरी छापे त्यो हेरौँ।
नयाँ पत्रिकाले यसबारे यस्तो समाचार भदौ २४ मा छापेको थियो-
चौधरीको वाइवाइ चाउचाउविरुद्ध मुद्दा
अजित अधिकारी/नयाँ पत्रिका
काठमाडौं, २४ भदौ
सर्वाधिक बिक्री हुने वाइवाइ चाउचाउको गुणस्तर तोकिएभन्दा न्यून भेट्टिएपछि सरकारले आवश्यक कारबाहीका लागि मुद्दा दायर गरेको छ । वाइवाइ व्यावसायिक घराना चौधरी ग्रुपको उत्पादन हो ।
वाइवाइ चाउचाउ उत्पादक सिजी फुड्स प्रालिविरुद्ध कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गरेको हो । विभागको मुद्दाउपर कस्तो कारबाही हुने भन्ने फैसला प्रमुख जिल्ला अधिकारीले गर्ने प्रावधान छ ।
चौधरीको ललितपुर, भैँसेपाटीस्थित उद्योगलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा खाद्य ऐनअनुसार कारबाही गर्न विभागले सिफारिस गरेको छ । वाइवाइ चाउचाउमा प्रयोग हुने खाने तेलको गुणस्तर कम पाएपछि जनस्वास्थ्यमा खेलवाड गरेको ठहर गर्दै आवश्यक कारबाहीका लागि मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले जानकारी दिए ।
‘वाइवाई चाउचाउमा प्रयोग हुने तेलको गुणस्तर कम पाएपछि आवश्यक कारबाहीको सिफारिससहित सिडिओ कार्यालय ललितपुरमा मुद्दा दायर गरेका हौँ,’ प्रवक्ता कोइरालाले भने । विभागले मुद्दा दायर गरेको भैँसेपाटीस्थित वाइवाइ उद्योगले प्रतिमिनेट १ हजार ३ सय ५० वटा प्याकेट उत्पादन गर्ने क्षमता राख्छ ।
चौधरीको सर्वाधिक बिक्री हुने वाइवाइ चाउचाउको गुणस्तरमा सरकारी निकायले खोट लगाएको यो पहिलोपटक भने होइन । आव ०६८/६९ मा पनि विभागले वाइवाइको तेलको गुणस्तर कम रहेको खोटयाउँदै कारबाहीका लागि मुद्दा दायर गरेको थियो । त्यतिवेला चौधरी ग्रुप सामान्य जरिबाना तिरेर मुक्त भएको थियो ।
लाखौँ नेपालीले विश्वास गरेर उपभोग गर्दै आएको वाइवाइमा राखिएको न्यून गुणस्तरको तेलले पेटसम्बन्धी समस्या सिर्जना गराउने खतरा रहेको विभागले जनाएको छ । ‘वाइवाइमा कमसल तेल प्रयोग भएको पाइयो, यस्तो तेलले पेटसम्बन्धी रोग लाग्ने खतरा हुन्छ,’ प्रवक्ता कोइरालाले भने ।
चाउचाउ उत्पादनको दौरान लामो समयदेखि तताइरहेको तेलमा डुबाउने र पछि पुन: सुक्खा गर्ने गरिन्छ । विभागले लामो समयदेखि तताइने तेलमा समस्या देखाउँदै कारबाहीका लागि सिफारिस गरेको हो । धेरै बालबालिकाको रोजाइसमेत बनेको वाइवाइ न्यून स्तरको तेल प्रयोग हुँदा जनस्वाथ्यका लागि खतरा बनेको छ । वाइवाइ चिकेन र भेज २ स्वादमा ७५ ग्रामको तौलमा उत्पादन भइरहेको छ । उपभोक्तावादी संस्थाले वाइवाइको कमजोरी पत्ता लगाएर कारबाही प्रक्रिया थालिएको प्रति सकारात्मक धारणा राखेका छन् ।
‘वाइवाइ चाउचाउप्रति गुणस्तरमा पहिलेदेखि नै शंका उब्जिरहेको हो । प्रयोगशालाबाट प्रमाणित गरी न्यून गुणस्तरको उत्पादनमा कसुर ठहर्याई कारबाही हुन लागेको सुन्दा खुसी लागेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने ।यस्तो हुन्छ कारबाही
लाखौँ नेपालीले उपभोग गर्दै आएको वाइवाइ चाउचाउमा तेलको गुणस्तर कम भई कारबाहीका लागि मुद्दा परे पनि चौधरीलाई ठूलो कारबाही गर्ने कानुन भने छैन । खाद्यऐन, ०२७ बमोजिम चौधरी ग्रुपलाई कारबाही हुँदा २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिबाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । न्यून गुणस्तरको सामान उत्पादन गरी जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेलाई योभन्दा ठूलो कारबाही खाद्य ऐनले गर्न सकेको छैन ।
ललितपुरका जिल्ला प्रशासन अधिकारीमा निहित अधिकारको उपयोग भने हालसम्म जरिबाना रकमसम्म मात्र भएको छ । चौधरी ग्रुपका पदाधिकारीलाई जेल सजाय हालसम्म गरिएको छैन । पटकपटक वाइवाइ चाउचाउको गुणस्तर सुधार्न सचेत गराए पनि चौधरीले गुणस्तर सुधार गर्नुको साटो कानुनले तोकेको सामान्य जरिबाना तिरेर उन्मुक्ति पाइरहेको छ ।
उपभोक्तावादी संस्था उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले कारबाही कमजोर हुँदा ठूला कम्पनीसमेत उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नतिर लागेको आरोप लगाए । उनले नियमनकारी निकायको उपस्थितिमा समेत कमजोरी औँल्याए ।
आजको रिपब्लिकामा छापिएको सिजीको विज्ञप्ति पढौँ-
नोटः माथिको सिजी फुड्सको विज्ञापन विज्ञप्ति यहाँ राखेवापत् माइसंसारले कुनै रकम पाएको छैन।
नोटः माथिको सिजी फुड्सको विज्ञापन विज्ञप्ति यहाँ राखेवापत् माइसंसारले कुनै रकम पाएको छैन।
जाँदाजाँदै यो पनि,
सोसल मिडियामा वाइवाईको समाचार सेयर भएका छन्-
अनि त्यही लिङ्कमा क्लिक गर्यो भने चाहिँ पेज यस्तो आउँछ-
शायद् त्यसमा लेखिए जस्तो ‘तपाईँलाई यो पेज हेर्ने अधिकार नभएको हुनसक्छ’।
शायद् त्यसमा लेखिए जस्तो ‘तपाईँलाई यो पेज हेर्ने अधिकार नभएको हुनसक्छ’।
अनि यो पनि,
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !