हाम्रा राजनीतिक दल र नेताहरू बाह्रै महिना बाह्रै काल एकअर्कालाई गाली गररिहन्छन्। गालीभन्दा पनि माथि उठेर सरापिरहन्छन्। खास गरी कम्युनिस्ट पार्टीहरू अर्कालाई तल खसालेर आफू माथि पुगिन्छ भन्ने ठान्छन्। अरूलाई जति सराप्यो, उति आफ्नो भोट बढ्छ जस्तो गर्छन्। कम्युनिस्टहरूसँगको लामो संगत र उठबसले नेपाली कांग्रेस पनि सरापको राजनीतिमा निकै अग्रगामी
भएको छ। आफ्ना घोषणापत्र, प्रस्ताव र दस्तावेजहरूमार्फत गाली-पत्र जारी गरेर ऊ पनि क्रान्तिकारी भइसकेको छ।भर्खरै उपसभापति रामचन्द्र पौडेलले माओवादीसँग श्रापशैली सापटी मागेर पुरानो प्रतिस्पर्धी एमालेलाई माओवादीलाई भन्दा बढी सत्तोसराप गरेको राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट पास गराएछन्। श्राप-पत्रमा एमालेलाई अस्पष्ट, ढुलमुले, अपत्यारीलो, दुईजिब्रे इत्यादि भनिएको रहेछ। यो पार्टी हरेक निर्णयहरूमा न यता न उता, बीचैमा उभिन्छ र मुलुकलाई अनिर्णयको बन्दी बनाउँछ। सैद्धान्तिक रूपमा पूरै असन्तुलित यो पार्टी कहिले उग्र वामपन्थी त कहिले चरम दक्षिणपन्थी व्यवहार गर्छ। एमाले राज्य सञ्चालनमा पूर्वाग्रही, पक्षपाती र घोर अवसरवादी छ।
केन्द्रीय समितिले पास गरेको त्यस्तो श्राप-प्रस्ताव सञ्चार माध्यममा आएपछि एमालेको चित्त कटक्क भयो। आफूले मर्दापर्दाको साथी ठानेको पार्टीले नै यस्ता कुरा गरेपछि मन नदुख्ने कुरै भएन। एमालेले चित्त दुखाएपछि कांग्रेसका केही नेताहरूको होस खुल्यो। आफ्नो दुःखसुखको मित्र पार्टीलाई कम्तीमा मुखले भए पनि ठिक्क पार्नुपथ्र्यो। लेखेरै सराप्नु त नहुने नै थियो भन्ने लागेपछि कांग्रेसले तुरुन्त बैठक बसेर श्राप संशोधन गर्ने निर्णय गर्यो। कांग्रेसले एमाले पार्टीलाई नीतिगत रूपमा अस्पष्ट नै भए पनि एमाओवादीभन्दा नजिकको मित्रशक्ति भएको स्पष्ट पार्यो।
उग्रपन्थी माओवादी र दक्षिणपन्थी कांग्रेस पार्टीका बीचमा बसेर राजनीति गर्नुपर्ने भएकाले ढुलमुले हुनु उसको बाध्यता भएको कुरा कांग्रेसले आफ्नो प्रस्तावमा थप्यो। पार्टी ढुलमुले भए पनि त्यसका कतिपय नेताहरू ढुलमुल नगरी कांग्रेसको पक्षमा उभिने गरेको कुरालाई मध्यनजर गरेर कांग्रेसले आफ्नो प्रस्तावको 'ढुलमुले' शब्दबाट 'ढुल' हटाउने निर्णय गर्यो। पार्टीलाई अपत्यारलिो वा दुईजिब्रे भनिएको सम्बन्धमा सिंगै पार्टीलाई भनेको नभई केही नेताहरूलाई मात्र भनिएको भनेर संशोधन गर्यो।
एमालेलाई उग्रपन्थी भनेको सम्बन्धमा रामचन्द्रजीले पुराना दस्तावेजहरू 'कट एन्ड पेस्ट' गरेर प्रस्ताव बनाउँदा ०४८ सालको घोषणापत्रका वाक्यहरू परेको पाइएकाले त्यसलाई हटाउने र 'चरम दक्षिणपन्थी' भन्ने गालीबाट 'चरम' शब्द हटाउने निर्णय गर्यो।
जसरी मानसिक असन्तुलन भएको रोगीलाई हेप्नुहुँदैन, माया गर्नुपर्छ, त्यसै गरी एमालेलाई 'सैद्धान्तिक असन्तुलन' भएको पार्टी भनेर हेप्नुहुँदैन, माया गर्नुपर्छ। त्यसैले सैद्धान्तिक असन्तुलन भएको पार्टी भनिएको अंशलाई पनि कांग्रेसले हटायो। त्यसै गरी राज्य सञ्चालनमा चरम पूर्वाग्रही भन्ने वाक्यबाट 'चरम' शब्द हटायो। एमालेलाई अवसरवादी र बीचमा बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउने पीपलपाते पार्टी भनेर रामचन्द्रजीले आफूलाई १७ पटक प्रधानमन्त्रीको पदमा उठ्ता पनि मत नदिएको रसि राजनीतिक प्रस्तावमा पोखेको जस्तो देखिएको र अवसरवादी भनेर एमालेतिर चोर औँलो तेस्र्याउँदा बाँकी चार औँला नेपाली कांग्रेसतिरै फर्किएको देखिएको हुँदा त्यो वाक्य पनि पूरै हटायो।
बाँकी रहेका श्रापहरूका सम्बन्धमा एमालेको इच्छा अनुसार सच्याइदिने र भातृशक्तिलाई नचिढाउने कांग्रेसको निर्णयपछि दुवै पार्टीबीचको सम्बन्ध पुनः प्रगाढ भएको छ।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !