CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हे भगवान्! दाह्रीजुँगा नआएको पुरुष बनाइदेऊ!

हे भगवान्! दाह्रीजुँगा नआएको पुरुष बनाइदेऊ!

महाभारतको कथा–अनुसार पाण्डवहरूलाई एक वर्ष गुप्तवास बस्नुपर्ने अवस्था आयो। विराट् राजाका नोकर–नोकर्र्नी भएर बसे बिचरा–बिचरीहरू। युधिष्ठिरले जुवा खेल्ने काम पाए। भीमसेन भान्सा–विभागमा भित्रिए। नकुल र सहदेव गोठाला भए। अर्जुन बेरोजगार हुने भए। राजाकी छोरी उत्तरालाई सङ्गीत सिकाउने महिला–प्रशिक्षक चाहिएको रहेछ। अर्जुन सङ्गीतज्ञ थिए, तर महिला थिएनन्। उनले 'बृहन्नला' नामक नारीरूप बनाए। त्यति बेला अरू अङ्ग त बाधक भएनन्। दाह्रीजुँगा घाँडो भयो। दिनका दिन लुकीछिपी दाह्री काटिरहनुपर्दा बिचरालाई कति आपत् पर्योन होला!
मलाई छ–सात वर्षकै उमेरदेखि दाह्रीजुँगाको असाध्यै रहर थियो। हाँडीको मोसो दल्थेँ र गाउँ घुम्थेँ। बच्चैदेखि बिहा गर्ने इच्छा जाग्यो। सोह्र वर्ष छोएपछि बल्ल जुँगाको रेखी बस्यो। सत्र वर्षमा बिहे पनि भयो। जुँगा त युवावस्थाको सूचक पो हो त!
अचेल त्यही दाह्रीजुँगा समस्या भएको छ। पालूँ भने बोके आकारको छ। फालूँ भने फुर्सद छैन। विद्यार्थीले नयाँ न्वारन गरिदेलान् भन्ने पिरलो। बोके सर! छिः कति नराम्रो नाउँ! उसमाथि पनि फुलेर तिलचामल जस्तो देखिन्छ। समयको अभाव छ। पढ्ने, पढाउने, लेख्ने, लेखाउने, नाति–नातिनाको घोडो बन्ने आदि। मेरो व्यस्तता अतुलनीय छ। दाह्री नकाटी भएन। कलेजका अल्लारे ठिटा–ठिटीले गिज्याउलान् भन्ने चिन्ता। स्नानागारमा बत्ती बल्दैन। लोडसेडिङ! कसैले भुत्ल्याएको हो कि भने जस्तो गरी काटिन्छ। दोहोरो गोडाइमा मकै बेड्याएको जस्तो! ठाउँठाउँमा टाटैटाटा! दाह्री काटे पनि नाउँ रह्यो टाटे सर! विरक्तिँदै भनेँ–हे भगवान्! मलाई बृहन्नला बनाइदेऊ! सधैँ चिल्लो गालाको सुकुमार देखिन पाऊँ। श्रीमती मरी–मरी हाँस्न थालिन्। आफू चाहिँ रुनु न हाँस्नुको दोसाँधमा छु।
कुरो के भने नि पाठकवृन्द! नेपाली वर्णमालाबाट निकै नै वर्णहरू मैले बेड्याएर काटेको दाह्रीजुँगा फालिएझैँ फालिएका छन्। किन फालेको? भनेर सोध्दा विशेषज्ञहरूले सजिलै भनिदिन्छन्–यी वर्णहरूको प्रयोग हाम्रो नेपाली भाषामा हुँदै हुँदैन। त्यसै भएर फालेको! मलाई लाग्यो। ती फालिएका वर्णहरू मेरो दाह्री–जुँगाजस्तै रहेछन्। नपलाउन्जेल नपाली नहुने, पलाएपछि नफाली नहुने!
पहिले–पहिले जुँगा पाल्ने सिपाही अथवा प्रहरीलाई जुँगाभत्ता पनि आउँथ्यो अरे! त्यस्तो व्यवस्था मास्टरी गर्ने अध्यापक वा प्राध्यापकलाई पनि भइदिए हुन्थ्यो नि! यस्तो भइदिए हाम्रा दिग्गज प्राध्यापक महोदयहरूले नेपालीका दीर्घ ईकार र ऊकार जोगाउने थिए। ऋकार र लृकार पनि फाल्ने थिएनन्। शिरविन्दु र विसर्ग पनि बच्ने थिए। गोरुसिङे 'ञ' ले सम्मान पाउने थियो। तीनधर्के ण लर्केर बस्थ्यो। मोटो 'श' दुब्लाएर ख्याउटिने थिएन। पेटफारे 'ष' माथि षड्यन्त्र हुने थिएन। क्षत्रियको 'क्ष'ले राज गर्थ्यो। ज्ञानी 'ज्ञ' ले वनवास गर्नुपर्ने थिएन। यसरी फालिएका सबै वर्णहरू तन्त्रशास्त्रका लागि अपरिहार्य छन्। नेपाल तन्त्रशास्त्रीहरूको भूमि हो। तै पनि भाषाविद्हरू एउटै टेपरेकर्डर बजेझैँ बजिरहन्छन्। यिनको प्रयोग छैन, त्यसैले हटाएको! मैले भनिदिएँ त्यसो हो भने महापुरुषहरू, अर्को जुनीमा तपाईंहरूको ओठमाथि जुँगा नपलाओस्!
साभार : नागरिक न्यज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis