म २९ वर्षीया महिला हुँ। मैले २२ वर्षको उमेरमा एक जना सञ्चारकर्मीसँग विवाह गरेकी थिएँ। एक वर्षपछि नै हाम्रो सम्बन्धमा विभिन्न समस्या आउन थाल्यो। सम्बन्ध सुधार्न सकिन्छ कि भनेर हामी दुवैले निकै प्रयास पनि गर्यौं। तैपनि हामी दुईको विचारधारा, जीवनशैली एवं उठबस मिल्दै नमिलेपछि हामीले सहमतिमै अलग हुने निर्णय गर्यौं। दुई वर्षअघि हामीले विधिवत् पारपाचुके गर्यौं। मेरो समस्या अब सुरु भएको छ। एक
वर्षयता हामी बेला-बेला भेट्छौं। यसरी भेटघाटमा हाम्रो शारीरिक सम्पर्क पनि हुन थालेको छ। म दोहोर्याएर जीवनलाई त्यही मार्गमा हिडाउँन चाहँदिनँ। मेरा पूर्वश्रीमान्ले अर्की युवतीसँग सम्बन्ध गाँस्न थालेको पनि बताएका छन्। यति हुँदाहुँदै पनि मैले आफूलाई उनको प्रेम र यौनसम्बन्धबाट मुक्त गर्न सकेकी छैन। वास्तवमा मेरै आग्रहमा उनी मसँग भेटघाट गर्न आउँछन्, मेरा समस्या समाधान गर्न सघाउँछन्। जब उनी जान्छन्, तब मलाई मैले यही मानिससँग किन त्यही कुरा दोहोर्याइरहेकी छु भनेर ग्लानि हुन्छ। म यो व्यक्तिबाट उम्कन चाहन्छु तर सफल हुन सकिरहेकी छैन। केही उपाय बताइदिए आभारी हुने थिएँ।
एम.
तपाईंको समस्या आधुनिक पुस्तामा धेरै हुने समस्यामध्ये पर्छ। केही अघि यस्ता समस्या युरोप-अमेरिकामा मात्र देखिन्थ्यो। सञ्चारमाध्यमको सजिलो पहुँच, उच्च शिक्षा एवं आत्मनिर्भरता आदिले महिला र पुरुषको फरक सोच बाहिर आउन सघाएको छ। अहिले एसियाली मुलुक हुँदै नेपालजस्ता मुलुकमा पनि महिलाहरूले आफ्नो छुट्टै अस्तित्व स्वीकार गर्न थालेका छन्। महिलाहरू आत्मनिर्भर हुन थालेपछि घरमा हुने असमान व्यवहार, मन नमिलेको अवस्था जस्ता कुरा महसुस हुने बित्तिकै आफ्नो अस्तित्वको खोजी गर्न थाल्छन्। केही जोडी फरक अस्तित्व स्वीकार गर्दै उनीहरूलाई थप सहयोग पुर्याउँछन् र प्रेम दरिलो बनाउँछन्। केही जोडीले भने अलग हुने निर्णय गर्छन्।
नेपालजस्तो मुलुकमा महिलाहरूले अलग हुने निर्णय त्यो बेला मात्र गर्छन्, जब उनीहरू श्रीमान् वा परिवारसँग बस्नै नसक्ने अवस्थामा पुग्छन्। तपाईंको प्रश्न पढ्दा तपाईंहरू दुवै शिक्षित एवं आत्मनिर्भर हुनुहुन्छ भन्ने देखिन्छ। दुवैको मन नमिलेको, सँगै समस्याको समाधानको प्रयास गरेको र अन्ततः छुट्टै बस्नु नै उपयुक्त भएको महसुस गर्दै पारपाचुके गरेको जस्ता कुराबाट यी कुरा बुझ्न सकिन्छ। यसो गर्दा तपाईंहरूले पर्याप्त समझदारी अपनाएको देखिन्छ। आवेशमा छुट्टिनेहरू पछि पछुताउँछन्, तपाईंहरू आवेशमा होइन, समझदारीमै छुट्टिनुभएको देखिन्छ।
तपाईंले भनेजस्तो यति लामो समझदारीपछि अलग भएपछि पनि तपाईंहरूबीच पुनः सम्बन्ध कायम हुनु निश्चय नै चिन्ताको कुरा हो, त्यो बेला जब तपाईंका पूर्वश्रीमान्को सम्बन्ध अरूसँग हुन थालेको कुरा स्वयं उनले नै बताइसकेपछि। तपाईं दुःखी हुनुको मुख्य कारण पनि त्यही हो। तपाईं अझै पनि उनलाई काल्पनिक प्रेम गर्नुहुन्छ। यथार्थ त्योभन्दा कठोर छ तर के गर्ने भनेर कन्फ्युज हुनुहुन्छ। उनी भने तपाईंप्रति केवल सहानुभूति राख्छन् भन्ने कुरा तपाईंको प्रश्नबाटै बुझिन्छ।
हिजो जुन समस्याबाट बच्न तपाईं श्रीमान्बाट छुट्टिनुभएको थियो, त्यो समस्या अझै बढ्दै जाने देखिन्छ। यसलाई जति सक्दो चाँडो टुङ्ग्याउनु नै तपाईंका लागि लाभदायक हुन्छ। जबसम्म यो बन्धनबाट मुक्त हुनुहुन्न तपाईंको नयाँ जीवन सुरु हुन सक्दैन। यसले तपाईंको नयाँ करियरलाई मात्र अवरोध गर्दैन, नयाँ सम्बन्ध पनि विस्तार हुन सक्दैन। नोस्टाल्जियामा बाँच्नु रमाइलो त होला, तर त्यसले जीवनलाई अघि बढ्न मद्दत पुर्याउँदैन। तपाईं बल्ल २९ वर्ष पुग्नुभयो। लामो जीवन बाँकी नै छ। एकपटक असफल भैसकेको जीवनतर्फ फर्केर हेर्नुभन्दा त्यसलाई सपना मानेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ।
यसका लागि तपाईंले पूर्वश्रीमान्सँग तपाईंहरू के कारणले अलग हुनुभयो, त्यसको कारण खोतेलेर वास्तविक बुँदाबारे छलफल गर्न सक्नुपर्छ। ती बुँदाकै कारण तपाईंहरू अलग हुनुभयो भने अब फेरि यसरी नजिकिनुको कुनै कारण छैन भन्ने निष्कर्ष फेरि पनि निस्कन्छ। त्यसपछि तपाईंहरू अब कहिल्यै नभेट्ने गरी अघि बढ्नुपर्छ। आफू कमजोर भएर उनलाई आफ्नो समस्याको समाधान खोज्न आग्रह गर्नुले तपाईंलाई थप कमजोर मात्र बनाउँदैन, थप शोषित हुने बाटो पनि खोलिदिन्छ। यसले तपाईंलाई नयाँ बाटो खोज्न झन् ठूलो बाधा दिन्छ।
तपाईंलाई आर्थिक एवं अन्य सहयोग परेको खण्डमा तपाईंलाई सहयोग गर्ने अरू पनि साथीभाइ, माइतीका सदस्य वा शुभेच्छुक हुन सक्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। यसले तपाईंलाई त्यो बन्धनबाट मुक्त हुन सहयोग गर्नेछ। तपाईं पढेलेखेकी महिला हुनुहुन्छ। पारपाचुके गर्ने निर्णय गर्दा पक्कै पनि आफ्नो जीवनलाई यसरी अघि बढाउँछु भन्ने सोच बनाउनु भएको थियो होला, अहिले त्यो सोचलाई कमजोर बन्न दिनुहुँदैन।
यति गर्दा पनि त्यो बन्धनबाट मुक्त हुन सक्नुहुन्न भने एकपटक मनोविज्ञसँग परामर्श गर्नुहोला। यदि पूर्वश्रीमान्ले तपाईंलाई साँच्चै सघाउन चाहन्छन् भने उनलाई पनि मनोविज्ञकहाँ लिएर जानु उपयुक्त हुन्छ। नयाँ जीवन सुरु गर्नुहोस्, अहिलेलाई मेरो तर्फबाट हार्दिक शुभकामना।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !