-- बसन्त खड्का
प्रत्येक वर्षका दसैंमा जस्तै यस पटक पनि महाअष्टमीको दिनलाई नजिकै पारेर काठमाडौंदेखि अर्घाखाँचीसम्मको यात्रा तय गरियो। जिल्लातिर जानका लागि बसमा अग्रिम टिकट बुकिङको व्यवस्था भएपनि ठ्याक्कै कुन दिन जाने भन्ने टुङगो नलागेकाले टिकटको पनि व्यवस्था गरिएन।
असोज २६ गते महाअष्टमीको दिन परेकाले असोज २२ गते बेलुका घर तर्फको यात्रा सुरू गरियो। दसैंको बेला भएकाले काठमाडौदेखि सन्धिखर्कसम्को टिकट पाउने सम्भावना पटक्कै थिएन त्यसैले बुटबलबाट अर्काे गाडीमा जाने योजनासहित कलंकी पुगियो, साँझको समय यात्रुहरूको भिडभाडले गर्दा बुटवलको लागि पनि सहजै गाडी पाउने सम्भावना देखिएन।
गाडीमा सामान्य सिटसम्म पनि नपाउने सम्भावना देखे पछि नजिकै रहेको ट्राफिक प्रहरी सामु पुगेँ किनकी सञ्चार माध्यममा दसैंको बेलामा टिकट नपाए ट्राफिक प्रहरीलाई खबर गर्नु पर्ने वा १०३ नम्बर डाएल गरेर सहयोग लिन सकिने किसिमको सूचना आइरहेका थिए। तर ट्राफिक पहरीले भने बस व्यवसायीसँग आफै समन्वयन गरेर जान सुझाए र टिकटको जिम्मेवारी आफूले नलिएको पनि बताए।
त्यस पछि जसो तसो गरेर साँझ ७ : ३० बजेको बसमा बुटबलसम्मको यात्रा सुरू गरियो। भोलिपल्ट बिहान सात बजेको बसमा पुन : बुटवलबाट सन्धिखर्कसम्मको यात्रा तय गरियो। राजमार्गसम्मको यात्रा त सिट नै नभए पनि उभिएरै कटाइयो तर जब कपिलबस्तुको गोरूसिंगेबाट भित्र तर्फको यात्रा तय गरियो त्यसपछि भने यात्रा त्यति सहज भएन। बसको भित्रपट्टि त यात्रुहरुका कारण खुट्टा राख्ने सम्म ठाउँ थिएन छतमा पनि भित्र भन्दा दोब्बर भन्दा बढि मानिसहरु बसिरहेका थिए।
कपिलवस्तुको सिमा सकिएपछि पहाडको यात्रा सुरु भयो। उकालो, घुमाउरो र साँघुरो बाटो, तलपट्टी भिरसँगै बसमा क्षमताभन्दा बढि यात्रु भएकाले घरसम्म पुग्नेमा पनि कता कता संका लाग्न थाल्यो। ट्राफिक प्रहरीलाई फोन गरेर सडकमा सवारी साधनको अवस्था र ट्राफिक नियम पालन भएको छ कि छैन भनेर सोध्दा सहजै जवाफ आउँथ्यो सब ठिक ठाक छ, ट्राफिकहरु चोक चोकमा बसिरहेका छन चिन्ता नगर्नुहोस।
तर, कुनै पनि चोकमा एउटा पनि ट्राफिक प्रहरी देखिएन नत सवारी चालकले नियमको पालना गरेको नै पाइयो। गत वर्ष पनि यस्तो समस्या नआएको भने होइन तर पहाडको बाटोमा ओभर लोडले समस्या हुन्छ भनेर मैले नै ट्राफिक प्रहरीलाई खबर गरेर बसमा ओभर लोड रहेको कुरा बताएको थिएँ।
त्यस पछि ट्राफिकको जिप्सीले बसको पिछा गरेर ड्राइभर, साहु र कन्डक्टरलाई चेतावनी दिँदै बसको छतमा बसेका यात्रुलाई ओरालेर अर्काे बसमा जाने व्यवस्था मिलाएको थियो। तर पछि बसको साहुले ट्राफिकलाई सूचना दिन सहयोग गर्ने एक जना यात्रुलाई दुर्व्यवहार र हातपात समेत गरेको थियो। साहुको दुर्व्यवहार सहनुपर्ने डरले यसपालि ट्राफिकलाई सूचना दिन अफ्ठेरो लाग्यो। अर्का तर्फ सोहि बसमा उज्यालो एफएमका पत्रकार दिपेन्द्र कुँवर पनि यात्रा गरिरहेका थिए।
उनि पत्रकारीतामा म भन्दा सिनियर पनि थिए र उज्यालो एफएम बाट ट्राफिक सम्बन्धी समाचार पनि भनिरहन्थे त्यसैले आफूलाई धेरै चलाख बनाउने प्रयत्न गरिन। लगभग साढे २ घण्टाको कठिन यात्रापछि ओभर लोड सहितको बस बल्ल तल्ल सन्धिखर्क पुग्यो, र केहि राहत महसुर भयो।
चाडपर्वका बेलामा यात्रुको जीवनको सुरक्षामा ट्राफिक प्रहरी पनि उत्तिकै सजक र जिम्मेवार हुनुपर्ने हो तर बस चालकले नियमको उल्लङघन गरेको थाहा पाउँदा पाउँदै पनि जिल्लाका विभिन्न ठाउँमा रहेका ट्राफिक बिटहरुमा खटिएका प्रहरीहरुले देखेको नदेखै गरिरहे।
दसैंमा केहि दिनको बसाइ पछि पुन राजधानी पर्कने तैयारीमा लागियो। सन्धिखर्कबाट काठमाडौका लागि सिधा बस नपाएपछि बुटवल हुँदै फर्कने योजना बन्यो। बुटवलमा काम पनि भएकाले छिट्टै बुटवल उत्रिएर राजधानी पर्कर्नु पर्ने तर बुटबलको बस अलि अबेर हिडने सूचना पाएपछि म र एक जना साथि (जो नेपाल प्रहरीमा कार्यरत छन) सन्धिखर्क बाट कृष्णानगर जाने बसमा गोरुसिंगे सम्मको टिकट लिएर बसमा चढ्यौँ।
चाडपर्वको समय भएकाले फर्कने समयमा पनि बसमा क्षमताभन्दा बढि यात्रुहरु चढेका थिए, त्यसमाथि छिन छिनमा ड्राइभरले बस रोकेर यात्रुहरुलाई चढाउने र ओराल्ने काम गर्दर्थे। बाटोमा पर्ने ट्राफिक प्रहरीको बिट नजिकै छतमा बसेका यात्रुलाई ओराल्थे र बिट कटेपछि पुन चढाउँँथे। यो सन्धिखर्क आउने जाने बसको नियमित प्रक्रिया नै रहेछ। तर सर्वसाधारणको सुरक्षामा चौबिसै घण्टा खटिएका भनिने ट्राफिक प्रहरीले नियमको उल्लङघन गर्ने एउटा गाडीलाई पनि कारबाही गरेको पाहिएन। क्षमताभन्दा बढि यात्रु र छिन छिनको चढाउने र ओराल्ने प्रक्रियाले गर्दा बस निकै अबेर मात्र गोरूसिंगे भन्ने ठाउँमा पुग्यो।
त्यस पछि म र सँगै रहेका साथी बुटवलको लागि बस चढ्ने तयारी गरिरहेका थियौँ , सन्धिखर्कबाट बुटवलसम्म जादै गरेको बस भेटेपछि त्यहि बसमा बुटवलका लागि हिड्यौैँ। त्यो बसले पनि अघिल्लो बसले जस्तै छिन छिनमा यात्रुलाई चढाउने र ओराल्लने प्रक्रिया जारी राखेको थियो।
कपिलवस्तु र रूपन्देहीको सिमा नजिकै ट्राफिक प्रहरीहरुले अस्थाई चेकपोष्ट स्थापना गरि सवारि साधनको अनुगमन गरेजस्तै गरिरहेका थिए। ट्राफिक प्रहरीलाई देख्न बित्तिकै हामी यात्रा गरिरहेको बसका ड्राइभर र कन्डक्टर सावधान हुन खोज्दै थिए तर, ट्राफिकले नियम उल्लङघन गरेको भन्दै बसलाई रोकेर केरकार गर्न थाले। यसै पनि अबेर भइसकेको थियो अझ ट्राफिकले रोके पछि त झनै छटपटि हुन थाल्यो।
बिचरा मसँगै रहेको साथी पनि निकै चिन्तित देखिन्थ्यो किनकी उसलाई पनि बुटवल झरेर सोहि दिन साँझसम्म जिल्ला प्रहरी कार्यलय गोरखामा ड्युटीमा जानुपर्ने रहेछ। ड्राइभरले केहि समयसम्म त आफूले गल्ती नगरेको भन्दै ट्राफिकसँग छलफल गर्दै थिए, तर ट्राफिकले छोडन मानेनन। एउटा फुली लगाएको ट्राफिक प्रहरीले गल्ती गरेकाले चिट काट्ने भन्दै रसिद बुकमा केहि लेख्न लागेको जस्तै गर्दै थिए।
म र साथिले चेकपोष्ट तर्फ हेरीरहेका थियौँ यतिकैमा कन्डक्टर बसबाट झरेर ट्राफिकको चेकपोष्ट तर्फ गए र ट्राफिकले हातमा समाइराखेको रसिद बुक भित्र ५० रुपैयाँको नयाँ नोट राखिदिए, त्यसपछि भने ड्राइभरलाई बस अगाडि बढाउन अनुमति दिइयो। सायद प्रहरी जस्तो राष्ट्रको शान्ति सुरक्षामा खटने कर्मचारीले यस्तो हर्कत गर्छन भन्ने बुझेको भए क्यामेरामा पनि त्यो दृष्यलाई कैद गर्न सकिन्थ्यो होला तर ब्यागबाट क्यामेरा झिक्नु पूर्वनै बस घुइकियो।
म सँगै यात्रा गरिरहेका प्रहरी जवानले ट्राफिकको त्यो हर्कत देखेर खिन्नता व्यक्त गरे। हामीले बसको क्याभिनमा बसेर यात्रा गरेकाले ड्राईभरसँग पनि यसै विषयमा भलाकुसारी भयो। उनले यस्ता घटना नियमीत र सामान्य भएको प्रतिक्रिया दिए साथै उनले काठमाडौको कलंकीमा साँझ पख ट्राफिक प्रहरीले गाडी उभ्याएको निहुँमा बिलबुक मागेर हैरानी बनाउने र बिलबुक भित्र सय, पचास रुपैयाँ राखेर नदिए अनावश्यक दुःख दिने उनको भनाई थियो।
उनले पहिलो पटक काठमाडौबाट बस चलाएर फर्कने क्रममा जानकारीको अभावमा बिलब्ुक भित्र पैसा नराखी ट्राफिकलाई बुझाउँदा बग्गीखानासम्म पुग्नु परेको गुनासो गरे। 'आजभोलि भने बिलबुक भित्र सय, पचास रुपैयाँ राखेर दिन्छु त्यसैले ट्राफिकबाट सास्ती भोग्नु पर्दैन' उनले भने। यो त म आफूले देखेको र भोगेको एउटा सानो उदारण मात्रै हो।
ट्राफिक प्रहरीबाट हुने यस्ता किसिमका हर्कतहरु पटक पटक बाहिर आउँछन। सरकारी सुविधा लिएर सर्वसाधारणको जीवनमाथि समेत खेलवाड गर्ने यस्तो प्रवृतिको अत्य गर्नु पर्ने भन्दै पटक पटक आवाज उठने गर्छन तर सम्बन्धीत निकायहरुले नराम्रो प्रवृतिको अन्य गर्ने प्रतिवद्धता व्यक्त गरेपनि व्यवहारमा भने शुन्य प्राय देखिदै आएको छ।
साभार : सेतो पाटी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !