कोरियाली केटाको जालमा परेका नेपाली चेलीहरु
२६ वर्षकी ….तामाङको बिहे ५० नाघेका एक अधवैँशे कोरियालीसँग भएको थियो। तीन महिनाअघि उनी कोरिया आएकी थिइन्। सुरुमा त उनी निकै खुसी थिइन्। कोरियाली पतिले काम पनि गर्न दिएका थिए।
एक दिन उनी घरमा ढिला फर्किएकी थिइन्। पतिले उनलाई नराम्रोसँग
पिटे, टाउको भित्तामा ठोक्काए र घरबाट निस्के।
उनी त्यो रात र भोलिपल्ट दिनभर बेहोस् भइन्। कसैले उनलाई बेहोस भएर लडिरहेको अवस्थामा फेला पार्यो र अस्पताल दौडायो।
अस्पताल पुग्दा उनको आधा शरीर नचल्ने भइसकेको थियो।
यो घटना भएको दुई महिना भइसक्यो। उनी अझै त्यस्तै स्थितिमा छिन्। (पहिलेभन्दा थोरै अवस्था गतिलो भएको छ)
नेपाली दूतावासले कोरियाको कानुन तथा न्याय मन्त्रालयलाई पत्र लेखेर यसमा ध्यानाकर्षण गरायो। प्रहरीले त्यसपछि मुद्दा दर्ता गर्यो।
उनले कानुनी उपचार खोजेकीले उनका पति अब उनलाई नेपाल फर्काउन खोजिरहेका छन्। उनको भिसा पनि छिट्टै सकिँदैछ। भिसा नवीकरण नभएर उनी इल्लिगल हुनेछिन्।
यो पीडादायी व्यहोरा राष्ट्रिय मानवअधिकार आयोगले दक्षिण कोरियाको स्थलगत अध्ययन भ्रमणपछि तयार पारेको प्रतिवेदनमा समेटिएको एउटा प्रतिनिधि घटना हो। गएको सेप्टेम्बर नेपालको राष्ट्रिय मानवअधिकार आयोगको एउटा टोली त्यहाँ गएको थियो। टोलीले प्रस्तुत गरेको प्रतिवेदनमा बिहे गरेर कोरिया जाने नेपाली महिलाको सस्थिति दयनीय भएको औँल्याउँदै उनीहरुलाई विशेष सुरक्षा जरुरी रहेको बताएको छ।
पहिलो प्राथमिकता
प्रतिवेदनले कोरियाली पुरुषसँग बिहे गरेर जाने नेपाली महिलाको सुरक्षा कोरियाको नेपाली समुदायको पहिलो प्राथमिकता रहेको उल्लेख गरेको छ। दूतावासका अनुसार त्यहाँ झण्डै हजार जना नेपाली चेली म्यारिज ब्युरोबाट कोरियाली बिहे गरेर आएका छन्। यी म्यारिज ब्युरोहरुले केही वर्षदेखि कोरियाली केटालाई नेपाली केटी मिलाइदिने धन्दा गरिरहेका रहेछन्।
कोरियामा खुसी जीवन बिताउन पाइन्छ, टन्न पैसा हुन्छ, काम पनि पाइन्छ र परिवार पनि राम्रो हुन्छ भनी यस्ता म्यारिज ब्युरोहरुले हाम्री चेलीहरुलाई सपना देखाउँदा रहेछन्। टोलीसित राजधानी सउलको एउटा एनजिओ यङ स्टारका प्रतिनिधिले यस्ता ब्युरोहरु खारेज गर्नुपर्ने बताए। किन त ? किनभने उनीहरुले नेपाली चेलीहरुलाई बूढा, अपाङ कोरियाली केटाहरुसँग भर्खरकी तरुनी केटीहरुलाई बिहे गर्न हुनेनहुने सपना देखाएर लोभ्याउँछन्।
गुल्मी सम्पर्क समितिका अध्यक्ष सिनहोङ कलेजका गान्डिव सुवेदी भने नेपाली युवतीहरुले बिहे गरे पनि कोरिया नआइदिए हुने विचार राख्छन्। कारण- एक त ती युवतीहरुले कोरियाली भाषा सिकेका हुन्नन्। कोरियामा कोरियाली भाषा नै धेरै चल्छ। मानिसहरुले कोरियाली बाहेक अरु भाषा कमै जानेका हुन्छन्। दोस्रो बूढा कोरियालीहरु मात्रै विदेशी दुलही रोज्छन्। अनि त्यस्ता बूढाहरु महिलालाई सम्मान गर्दैनन्। म्यारिज ब्युरोहरुले झुटो सल्लाह दिन्छन् र कोरिया पुगेपछि भाग्न मिल्ने बताउँछन्। तर यहाँ आइसकेपछि भाषा, श्रीमान्को कडा निगरानी र अपरिचितहरुको कोरियामा जीवन कठिन हुने हुनाले उनीहरु उम्कनै सक्दैनन्।
दूतावास भने सबै बिहे त्यस्तो खराब नहुने बताउँछ। करिब ३ सय विवाहित दम्पती आफ्नो जीवनमा खुसी छन्। उनीहरु दूतावासमा पनि बारम्बार आउँछन् र कोरियाली पुरुषसँग सुखी जीवन बिताइरहेको बताउँछन्। तर केही श्रीमान्हरु भने दुर्व्यवहार गर्छन्। विवाहित नेपाली महिला आप्रवासीमाथि हिंसा भएको घटनाहरु बारे दूतावासलाई थाहा छ।
कानुनी कठिनाइ
दूतावासलाई विवाहित आप्रवासी महिलाको सुरक्षा गर्न ठूलो चुनौति किन पनि छ भने यस्ता आप्रवासीको अधिकार र कोरियाली नागरिकको अधिकार कहिलेकाहीँ एकापसमा बाझिने खालका हुन्छन्। कोरिया र नेपाल दुवैले आप्रवासी कामदार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर नगरेका कारण दूतावासलाई जानकारी नभए अधिकारको कुरा उठाउन सकिन्न। यस्तो अवस्थामा एउटै मात्र उपाय दूतावासले कोरियाली सरकारलाई उसको नागरिकविरुद्ध कानुनी कारबाही गर्न अनुरोध गर्ने हुन्छ।
धेरै पहिलेदेखि उठेको मुद्दा
यो अहिले भर्खर उठेको कुरा हैन। चार वर्षअघि हिमाल खबरपत्रिकाले एउटा विशेष रिपोर्ट छापेको थियो जसमा प्रष्ट पारिएको थियो कि कसरी म्यारिज ब्युरोको नाममा नेपाली चेलीहरुलाई कोरियामा बेचिँदैछ। राम्रो आम्दानीको लोभ देखाएर कोरियाली युवकसँग नेपाली युवतीलाई विवाह गरेर लैजाने र त्यहाँ वृद्ध, अशक्त र केटी नपाएका पुरुषहरूलाई बेच्ने गरेको रहस्य खुलाइएको थियो।
रिपोर्टमा केही घटना उल्लेख थिए- कोरिया जान पाउने लोभमा बानेश्वरको एउटा म्यारिज व्युरोमार्फत ३२-३३ वर्षको एक कोरियाली युवकसँग बिहे गरेर उडेकी नुवाकोटकी दावा शेर्पा (२२)लाई मानसिक अवस्था ठीक नभएका एक वृद्धलाई हस्तान्तरण गरियो। रोइकराइ गरेपछि तिनै वृद्धका छोरालाई थमाइएकी दावा अहिले कोरियाको किम्जेमा तेस्रो व्यक्तिसँग बसिरहेकी छन्। काठमाडौंमा ३५ वर्षको एउटा कोरियालीसँग बिहे गरेर गएकी बाग्लुङकी शान्ति मगर (२१)लाई कोरिया पुगेपछि ५६ वर्षका अर्का व्यक्तिलाई सुम्पिइयो। दलाललाई रु.१० लाख बुझाएर बिहेको कागजात बनाई कोरिया पुगेकी थिइन् उनी।
[के तपाईँले पनि कोरियामा यस्तै दुःख पाएको घटना देख्नु वा सुन्नुभएको छ? आफूले थाहा पाएको घटना पीडितको परिचय नखुल्ने गरी बताउन चाहनुभए तल कमेन्टमा लेख्नुस्। के थाहा, तपाईँको कुराले त्यस्तै पीडा अरुले भोग्न नपर्ने पनि पो हुनसक्छ कि?
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !