CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पर्यटक लुट्ने नयाँ शैली : रेस्टुराँमै लुटपाट

पर्यटक लुट्ने नयाँ शैली : रेस्टुराँमै लुटपाट


युनाइटेट अरब इमिरेट्सको दुबईमा बैंक कर्मचारी रहेका पाकिस्तानी नागरकि युसुफ जाका उल्लाह खवाज, ३८, ठमेलको एक होटलबाट ट्याक्सी चढेर दरबारमार्ग घुम्न निस्किए, १२ मंसिरमा। ट्याक्सी चालकसँग गफगाफकै क्रममा युसुफले पोखरा जाने कुरा खोले। चालकले पोखरासम्म ओहोरदोहोर भाडा चार
हजार रुपियाँ मात्र भने।

सस्तोमा पोखरा जान-आउन पाइने भएपछि उनी ट्याक्सीमै जान तम्सिए। त्यसपछि थप गफ गर्न युसुफलाई कार्यालय जानुपर्ने भन्दै चालकले जोरपाटी पुर्‍याए। त्यहाँ कुनै ट्राभल एजेन्सी वा ट्याक्सी सञ्चालकको कार्यालय थिएन। बाहिर लेखिएको थियो, लोहोरो सिलौटो रेस्टुराँ। तर, रेस्टुराँभित्र खानपानको कुनै व्यवस्था थिएन। रेस्टुराँमा रहेका पाँच जना कर्मचारी र चालकले युसुफलाई घेरे। उनीसँग रहेको तीन सय अमेरिकी डलर, एक हजार दुबई दिराम, आठ हजार नेपाली रुपियाँसहित करबि १ लाख २० हजार रुपियाँ लुटियो।

यस रेस्टुराँमा लुटिने युसुफ एक्ला पर्यटक थिएनन्। उनीजस्ता धेरै विदेशी नागरकि यसै गरी लुटिएका छन्। करबि ६ महिनाअघि खुलेको यो रेस्टुराँ खानपानका लागि नभई लुटपाट प्रयोजनका लागि रहेको भेद त्यतिबेला खुल्यो, जतिबेला प्रहरीले छापा मारेर पाँच जनालाई पक्राउ गर्‍यो। बौद्ध र पशुपतिनाथ क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकलाई यही थलोमा पुर्‍याएर लुटेराहरूले नांगेझार बनाउने गरेका रहेछन्।

युसुफ लुटिएको भोलिपल्ट १३ मंसिरमा दुई भारतीय नागरकि रेस्टुराँबाट लुटिएको गुनासो प्रहरीकहाँ पुग्यो। छापा मार्दा ७० हजार भारतीय रुपियाँसहित लुटेरा समूह पक्राउ परेको थियो। खास गरी पशुपतिनाथ र बौद्ध घुम्न आउने भारतीय, पाकिस्तानी, बंगलादेशी र श्रीलंकाली पर्यटकलाई रेस्टुराँमा लगी लुटपाट गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। रेस्टुराँमा लुटिनेमा भारतीय प्रहरीसमेत परेका छन्। भारतको छत्तीसगढ राज्यको धम्तरी थानामा कार्यरत असई दुलाल नाथ, ४८, र हबलदार जिआन चाम्राकार, ३०, लाई रेस्टुराँमा लगेर नगद लुटेको प्रहरीको भनाइ छ।

लुट्नका लागि नयाँ शैली अपनाएको यस समूहमा ट्याक्सी चालक, पर्यटनकर्मी र युवतीहरू संलग्न छन्। नयाँ बस्तीको मूल सडकसँगै करबि डेढ सय मिटरको दूरीमा लहरै केही रेस्टुराँ छन्। मुख्य सडकसँगै जोडिएको एकतले घरमा अवस्थित लोहोरो सिलौटो रेस्टुराँ ती सबैभन्दा भिन्न छ। जुन बाहिरबाट हेर्दा झकिझकाउ देखिन्छ तर आक्कलझुक्कल मात्र खुल्छ। भित्र चिसो पेयसमेत पाइँदैन। पस्नासाथै काउन्टर छ। काउन्टरअगाडि केही टेबुलकुर्सी छन्। बाँकी भुइँमा चकटी ओछ्याएर बस्न मिल्ने गरी बनाइएका क्याबिन मात्रै।

सहरका विभिन्न क्षेत्र सस्तोमा घुमाइदिने भन्दै ट्याक्सी चालकहरूले झुक्याएर रेस्टुराँ पुर्‍याउने गरेको पाइएको छ भने कतिपयले पशुपतिनाथ पुर्‍याउने भन्दै सोझै रेस्टुराँमा लैजाने गरेका छन्। दुलालनाथ र जिआनलाई पशुपतिको दर्शनपछि ट्याक्सी चालकले आफ्नो चिनजान राम्रो भएको भन्दै लोहोरो सिलौटो रेस्टुराँ पुर्‍याएका थिए। "घटनाको प्रकृति हेर्दा लुटेरा नै ट्याक्सी चालक बनेको देखिन्छ," महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक मनोजकुमार केसी भन्छन्।

लुटपाट आरोपमा रेस्टुराँ सञ्चालक नवाडी, रामेछापका धनबहादुर खड्का, कर्मचारीहरू कृष्ण गिरी र शक्ति गुरुङ प्रहरी हिरासतमा छन्। ओखलढुंगा सिस्नेरीकी तारा केसी, ३०, र दाङ, सुसधाराकी सुषमा मल्ल, २१, लाई पनि लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। रेस्टुराँले कमिसन दिएर ठाउँठाउँमा ट्याक्सी चालक राख्ने गरेको प्रहरीले रेस्टुराँबाट बरामद गरेको डायरीबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार उक्त डायरीमा ट्याक्सी चालकलाई पाँच हजार, युवतीलाई सात हजार रुपियाँ दिएको टिपोट भेटिएको थियो। सञ्चालक खड्काको डायरीमा केही प्रहरीको नाम र रकम उल्लेख गरएिकाले रेस्टुराँलाई प्रहरीको समेत संरक्षण हुन सक्ने आशंका गरएिको छ। डायरीमा असई विदुर दुई हजार, नाम उल्लेख नगरी हबलदार पाँच हजार रुपियाँ भनेर टिपिएको स्रोतको भनाइ छ।

ग्राहकलाई रेस्टुराँमा युवतीसँग फोटो खिचाएर 'ब्ल्याकमेलिङ्' गर्दै लुटेको पनि पाइएको डीएसपी मनोज केसी बताउँछन्। भन्छन्, "दुवैतिर युवतीद्वारा अँगालो हाल्न लगाएर फोटो खिच्ने र इन्टरनेटमा हालिदिने भन्दै धम्कीसमेत दिँदा रहेछन्।" बेइज्जतीको डरले पीडितसमेत खुलेर समस्या राख्न नसक्ने हुँदा लुटपाटको यो शैली टिकेको केसीको विश्लेषण छ।



पृष्ठभूमि नै आपराधिक

लोहोरो सिलौटो रेस्टुराँका सञ्चालक धनबहादुर खड्काको पृष्ठभूमि नै विवादास्पद रहेको प्रहरी अभिलेखमा पाइएको छ। विभिन्न मुद्दामा पटक-पटक पक्राउ परेर छुटेका व्यक्ति हुन्, खड्का। रामेछाप नवाडीका खड्काले मानव बेचबिखन मुद्दामा ०६४ देखि ०६७ सम्म तीन वर्ष जेल सजाय भोगेका थिए।

यसअघि काठमाडौँको ज्याठामा रेस्टुराँ सञ्चालन गरेका खड्काले त्यहाँ पनि ग्राहकलाई नै लुट्न थालेपछि प्रहरीले पक्राउ गरेको थियो भने रेस्टुराँ बन्द भएको थियो। त्यसपछि खड्काले आफ्ना भतिजा दीपक खड्कासँग मिलेर सोह्रखुट्टेमा मुस्कान डान्स एन्ड बार खोले। दीपक पनि चेलीबेटी बेचबिखन मुद्दामा पक्राउ परेपछि डान्स बार बन्द भयो। त्यसपछि ग्राहकलाई लुट्ने आफ्नो पुरानो सूत्रलाई परमिार्जित गर्दै युवतीहरूसमेत राखेर लुटपाट धन्दा चलाउन थाले। "नेपाल आउने प्रायः भारतीय पर्यटक नेपाली युवतीसँग सम्बन्ध राख्न खोज्छन्," वृत्तका एक प्रहरी अधिकृत भन्छन्, "सुन्दरीमार्फत पर्यटक लोभ्याएर खड्काले सहजै लुटपाट गर्ने गरेका रहेछन्।"

साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis