काठमाडौ, - बलिउडमा एकपछि अर्को फिल्मले बक्स अफिस कलेक्सनको रेकर्ड ब्रेक गरिरहेका छन् । एक सय करोड क्लबबाट आम्दानी दुई सय करोड भारुमा सरेको छ । तर नेपाली फिल्मको बक्स अफिस रेकर्ड भने सर्वाधिक आम्दानी गर्नेमा नभई फ्लप हुनेमा
चलिरहेको देखिन्छ ।
गत वर्ष रिलिज १२० फिल्ममा मुस्किलले पाँच फिल्मले मात्रै लगानी उठाएर समग्र उद्योग धानेका थिए । तर चालू वर्षको सात महिना बितिसक्दा पनि एउटै फिल्मले हिटको ट्याग नपाउनुले अवस्था झन् दयनीय बन्दै गइरहेको छ । वैशाख ६ मा 'बधशाला' फिल्मले रिलिज खाता खोलेको यो वर्ष कात्तिकसम्म करिब ६७ फिल्म रिलिज भए । जसमा 'होस्टेल' र 'काली' फिल्मले मात्रै लगानी सुरक्षित गरेको स्रोत बताउँछ । वितरक सुनिल मानन्धर पनि उक्त दाबीलाई बल पुग्ने गरी उक्त दुई फिल्मले मुस्किलले लगानीभन्दा ५/१० लाख रुपैयाँ बढी कमाइ गरेको हिसाब निकाल्छन् ।
उनी 'बधशाला', 'हिम्मत २', 'एटीएम', 'कर्कश' र 'प्रतिकार' फिल्मलाई लगानीको नजिक पुग्ने फिल्म मान्छन् । 'त्यसबाहेकका ९० प्रतिशतभन्दा बढी फिल्मले त नेपालभरबाट पाँच लाख रुपैयाँ पनि उठाएका छैनन्,' मानन्धरले ठोकुवा गरे । कलेज होस्टेलको जीवनीमा आधारित हेमराज बीसी निर्देशित फिल्म 'होस्टेल' लाई युवा दर्शकले रुचाएका थिए । योंगस्टरले नै लिड गरेको उक्त फिल्मले मल्टिप्लेक्सका दर्शकलाई तान्दा रेखा थापाको पुलिस चरित्रले लिड गरेको 'काली' ले भने सिंगल स्त्रिmन दर्शकलाई लोभ्याएको थियो ।
गत वर्षदेखि नेपाली फिल्म बन्ने क्रममा ह्विम नै आयो । रंगमञ्चका कलाकारलाई लिएर बनाइएको फिल्म 'लुट' ले अत्यधिक दर्शक तानिदिएपछि स्थापित धेरै मान्यता भत्किए । स्टारडम र लगानीमा फरक ढंगले व्याख्या गर्न थालियो । फिल्मको कलात्मक पाटोलाई बेवास्ता गर्दै अधिकांश फिल्मकर्मी सानो बजेटमा नयाँ अनुहार लिएरै धमाधम फिल्म बनाउन उक्सिए । पछिल्लो डिजिटल प्रविधिका कारण पनि आँखा चिम्लेर फिल्म निर्माणमा हाम फाल्ने धेरै भए । परिणाम दर्शकले पछिल्लो वर्षदेखि देखाइरहेका छन् । बाँकी वर्ष पनि मासिक १० फिल्मका दरले नै अझै पुगनपुग ५० फिल्म रिलिज हुनेछन् ।
व्यनवसायिक सफलता नपाए पनि वर्षको आधाआधी नाघ्दासम्म विषयवस्तुमा भने केही नयाँपन देखिन थालेको छ । अथवा, परम्परागत सूत्रबद्ध कथाहरू परिवर्तन हुँदै गइरहेका छन् । 'बधशाला', 'उमा', 'राजनीति' जस्ता फिल्मले राजनीतिक र द्वन्द्वको कथा वाचन गर्ने प्रयास गरेको देखियो भने 'साँघुरो', 'अन्तराल', 'नेपथ्य', 'ढुवानी' जस्ता फिल्मले सामाजिक विषयवस्तुलाई उठाउन खोजे । सुरज भुसाल निर्देशित फिल्म 'मौन' ले आवाजविहीन संवादबाटै दर्शकलाई कथा भन्ने नयाँ प्रयोग पनि यसै वर्ष भयो ।
नेपाली फिल्मको पाँच दशक लामो इतिहासमा फिल्म नीति बनाउने प्रयास यसै वर्ष भएको छ । सूचना मन्त्रालयको पहलमा थालिएको उक्त कदमलाई अन्तिम रूप दिने क्रम सम्भवतः यसै वर्ष सकिनेछ । तर सोही मन्त्रालयको मातहत रहेको चलचित्र विकास बोर्डले ल्याउन लागेको कम्प्युटर प्रणालीसहितको बक्स अफिस र फिल्म तथा हलको वर्गीकरणको प्रयास भने पूरा हुन पाएको छैन । केही फिल्मकर्मीले सिर्जनालाई वर्गीकरण गर्न नहुने अडानसहित मुद्दा दायर गरेपछि बहसमा छ । यस वर्ष विकास बोर्ड निकै विवाद र चर्चामा रह्यो । बोर्ड अध्यक्ष भएपछि धर्मेन्द्र मोरवैताले धरानमा नेपाली फिल्मको महोत्सव गरेर अपजस कमाए भने घोषणा भइसकेको राष्ट्रिय अवार्ड गर्न नसकेर निरीह बने ।
फिल्मले आम्दानी नगरिरहेका बेला अवार्ड कार्यक्रम भने बढिरहेका छन् । स्टारडम खस्कँदै गइरहेका बेला नायक जीवन लुइँटेल र रेखा थापा भने अवार्डमा दोहोरिने पात्र बने । फिल्म नचलेर कन्तविजोग बनिरहेको उद्योगका फुर्सदिला कलाकार भर्खरै सम्पन्न संविधानसभा निर्वाचनबाट भने मज्जैले मिडियामा छाए ।
मतदाता नामावलीमै सूचीकृत नभएकी रेखा थापा उम्मेदवार बन्ने भन्दै खुट्टा उचाल्दै हिंडिन् भने भुवन केसीले भने पाएको उम्मेदवारी टिकट पनि फिर्ता गर्नुपर्यो । 'पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको' लाइनलाई भने उनले अझै छोडिसकेका छैनन् । कुनै बेला हूल बाँधेर एमाओवादी प्रवेश गर्ने कलाकारको लहर यसपालि कांग्रेसमा बढी देखियो ।
स्टारडम हराएर खत्तम भयो
सुनील मानन्धर
वितरक
कुनै बेला राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती लिएपछि काठमाडौंमा केही नभए पनि दस लाख रुपैयाँ आँखा चिम्लेर आउँथ्यो । अहिले आएर त स्टारडम पनि भएन । निखिल र विराज पनि पलायन नै भए । अन्तिम-अन्तिममा आएर त तिनैका फिल्म पनि चल्न छोडेका थिए । तीन/चार वर्षअघि उनीहरूको स्टारडम चरम अवस्थामा थियो । हाउसफुल हानिहाल्थ्यो । अहिलेभन्दा गाली गरेजस्तो होला तर जबदेखि 'लुट' र 'चपली हाइट' फिल्म चले, त्यसबेलादेखि नै नेपाली फिल्म उद्योगमा फिल्मको कमाइ तल झरेको हो ।
तर, यसको दोष ती फिल्मलाई भन्दा बढी तिनको सिको गरेर प्रयोग गर्ने फिल्ममेकरको हो । नयाँ कलाकार भएको 'लुट' चलेपछि स्टारडम हरायो, अनि 'चपली हाइट' ले चाहिँ फिल्मको बजेटलाई घटाउने काम गर्यो । नयाँलाई चान्स दिने नाममा धेरै निर्माताहरू डुबे । विराज, निखिल पनि सुरुवातमा सोलो हिरोको रूपमा आएका थिएनन् । उनीहरूका फिल्ममा गेस्ट भूमिकामै भए पनि राजेश हमाल राखिन्थ्यो । अथवा निखिल र विराज राखेर फिल्म बनाइएको हुन्थ्यो । त्यो बेला तीनजनामा दुईजना ज्वाइन्ट हुन्थ्यो हुन्थ्यो । त्यसरी चलेका थिए फिल्म । फेरि त्यो बेला एक्सन चल्थ्यो । स्टन्ट चल्थ्यो ।
स्टारडम भन्ने त्यसै बन्ने होइन । त्यो बेला विराज वा निखिलको फिल्म आउने भन्नेबित्तिकै अरू फिल्म आउँदैनथे । सिंगल चल्न पाउँथ्यो । तर अहिले त सबै नयाँ भए । एकले अर्कालाई नमान्ने भएकैले फिल्म जुधाउन थालियो । पछिल्लो समय आर्यन सिग्देलले स्टारडम बनाउन खोजेका थिए । तर उनको सुरुको फिल्मदेखि पछिल्लोसम्म एउटै गेटअप र स्टाइलमा एउटै भयो ।
मैले थाहा पाउँदा वर्षमा २५ फिल्म पनि बढी हुन्थ्यो । रिलिज डेट पाउन गाह्रो हुन्थ्यो । तर अहिले एक सय २० सम्म फिल्मले डेट पाउँछन् । त्यसैले फिल्म धेरै बन्नुमा निर्माताको मात्रै पनि दोष छैन । हलवालाको पनि उत्तिकै दोष छ । सात/आठवटा स्त्रिmन भएका हलमा फिल्म बाँडिने भएपछि आम्दानी पनि स्वतः बाँडियो । निर्माताले त धेरै फिल्म बनाएर गल्ती गरेकै छन्, हलले पनि आफ्नो सौता आफैंले हालेका छन् । हरेक स्टेसनमा एकभन्दा बढी हल छन् । तर मल्टिप्लेक्सको महँगो टिकटले चाहिं फाइदा पुर्याएको छ । यस्ता हलमा दुई दिन राम्रो चल्यो भने पनि पैसा उठ्छ ।
धेरै बन्ने टे्रन्ड यही सालमै प्याकअप हुन्छ । २०७१ सालमा धेरै भए ५० देखि ६० फिल्म मात्रै रिलिज हुन्छन् । तर ती फिल्म पनि एक्सपेरिमेन्ट टाइपकै छन् । रेगुलरचाहिं कमै छन् । फिल्म चल्नु पनि जुवाजस्तै । हरेक वर्ष दुई फिल्मलाई मात्रै दाउ लागेको देखिन्छ । तासमा पनि खेल्न त सबै जुवाडे एकसेएक नै हुन्छन् तर जसलाई दाउ लाग्यो उसैले पैसा जित्ने हो । फिल्म पनि जुवाजस्तै हो ।
साभार : एकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !