nabil-bankधनगढी, २५ मङ्सिर। नेबिल बैंक लिमिटेड महेन्द्रनगर शाखाको जिप हिजो दिउँसो नियन्त्रणमा लिई रकम लुटपाट भएको घटनामा छानबिनका लागि प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ।
जिपमा रहेका बैंकका कर्मचारीसहित घटनास्थल आसपासका २०
जनालाई छानबिनका लागि नियन्त्रणमा लिइएको क्षेत्रीय प्रहरी कार्यालय दीपायलका प्रहरी नायब महानिरीक्षक नारायण बास्ताकोटीले बताउनुभयो।
लुटेराहरुको खोजीका लागि कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितको नेतृत्वमा टोलीसमेत गठन गरिएको बास्ताकोटीले बताउनुभयो।
नेबिल बैंकको महेन्द्रनगरस्थित शाखाबाट नगद लिएर धनगढीतर्फ आउँदै गरेको मे१च १४६ नं. को जिपलाई कैलाली मालाखेती गाविसको चौकीडाँडाबाट सात–आठ जनाको अपरिचित समूहले नियन्त्रणमा लिई रु दुई करोड ३० लाख ६० हजार लुटेर फरार भएका थिए।
उक्त रकम धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न ल्याइँदै थियो। सो समूहले जिपलाई सडकबाट झन्डै एक किमी दक्षिणतर्फको जङ्गलमा लिएर चालक र अन्य कर्मचारीलाई हतियार देखाएर रकम लुटेको बताइएको छ।
जिप चालक दिलबहादुर चन्दले आफूसहित गाडीमा रहेका चारजना कर्मचारीलाई लुटेराको समूहले कञ्चटमा पेस्तोल देखाउँदै जङ्गलतर्फ लगेर रकम लुटेको बताउनुभयो।
रकम लुट्नुअघि बैंकको सेक्युरिटी गार्डजस्तो पोशाक लगाएको एक जनाले सडकमा गाडी रोकेलगत्तै अन्य पाँच/छ जना पनि गाडीभित्र प्रवेश गरेको र एक जनाले आफूलाई पेस्तोल देखाउँदै आफैँ गाडी चलाएर जङ्गलतर्फ लगेको चालक चन्दले बताउनुभयो।
पूर्व–पश्चिम राजमार्गमा पर्ने घटनास्थल चौकीडाँडा नजिकै मानव बस्ती भएको र दिउँसै जिप नियन्त्रणमा लिई रकम लुट्ने साहस गरेको घटना सुनियोजित र रहस्यमय हुनसक्ने आशङ्का गरिएको छ।
साभार :विक्ली नेपाल