एक पटक इतिहास सम्झिउँ है।
२०३० साल जेठ २८ गते
बिहान ८ बजे शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान
विराटनगरबाट काठमाडौँ उड्दै थियो। त्यसमा यात्रुहरु मात्र हैनन्, नेपाल
राष्ट्र ब्याङ्कको ३० लाख भारतीय
रुपियाँ पनि थियो। पूर्व क्षेत्र र
भारतबाट जम्मा हुने त्यो रकम काठमाडौँस्थित राष्ट्र ब्याङ्कको केन्द्रीय
कार्यालयमा ल्याइँदै थियो। विमानमा सशस्त्र क्रान्तिका लागि खर्च जुटाउन
हाइज्याक गर्ने योजनाका साथ तीन जना कांग्रेस कार्यकर्ता चढेका थिए।
गिरिजाप्रसाद कोइरालाको कमान्डमा सुशील कोइराला र दुर्गा सुवेदीले भारत,
फारबिसगन्जमा बैठकपछि प्लेन हाइज्याक योजनालाई अन्तिम रूप दिएका थिए। कति
रकम राजधानी लगिँदैछ, लैजाने प्रक्रिया कस्तो हुन्छ, कहिले लैजाँदैछजस्ता
कुरा निकट रहेका राष्ट्र ब्याङ्कका कर्मचारीबाट लिइएको थियो। विमान उडेको
केही बेरमै पाइलटको कठालो समातेर पेस्तोल तेर्स्याउँदै जहाजलाई
भारतको फारबिसगन्जमा उतार्न भने। उतारेर रकम राखिएका तीन वटा बाकस निकाले।
कांग्रेस कार्यकर्ताहरुले ज्यानै जोखिममा राखेर त्यो खतरनाक काम गरेका
थिए। हङ्गामा भयो ३० लाख भारु लुटिएपछि।
अब वर्तमानमा फर्किउँ। ४० वर्षपछि आज देशको पश्चिमी छेउमा रहेको
जिल्लास्थित महेन्द्रनगरबाट धनगढीतर्फ गाडीमा लगिएको नबिल ब्याङ्कको रकम
समाचारमा सुनिए अनुसार निकै सजिलै लुटिएछ। अनि रकम पनि लाखमा हैन, करोडमा
रहेछ। २ करोड ३० लाख ६० हजार आम्मामामा….!
यसरी लुटिएको रहेछ
त्यति धेरै रकम बोकेर गुडेको गाडीमा जम्मा चार जना चढेका रहेछन्- सुरक्षा
गार्ड गंगादत्त भट्ट, ड्राइभर दिलबहादुर चन्द, सहायक स्तरका कर्मचारी
सत्यमान तामाङ र नबिल ब्यांकका अडिटर शुक्रराज भट्टराई।
बाटोमा दुई ट्राफिक प्रहरीले गाडी रोकेर लाइसेन्स चेक गरेछन्। एक जना त
गाडीमै चढ्न पो खोज्छन् बा। ब्याङ्कको गाडीमा कहाँ चढ्न पाइन्छ भनेर विरोध
गर्दा पेस्तोल तेर्स्याएपछि बल्ल उनीहरुले चाल पाएछन्- यी ट्राफिकहरु त
नक्कली पो रैछन्। अब उनीहरुले सबको हात बाँधे, आँखा र मुखमा पट्टी लगाइदिए।
जंगलछेउ पुर्याएर पैसाको बाकस निकाले। पैसा लिन अरु पनि मोटरसाइकल चढेर
आएका रहेछन्। सबले पैसा झोलामा हाले र कुलेलम ठोके। (विस्तृत विवरण, नक्सा र फोटो यहाँ क्लिक गरी हेर्नुस्)
कस्तो लापरवाही त बाब्बा !
त्यत्रो पैसा डेढ घण्टा टाढाको जंगलसमेत रहेको बाटोबाट लैजानु पर्दा समेत
जम्मा एक जना गार्ड रहेछन्। त्यो पनि ब्याङ्ककै कर्मचारी हैन रहेछ,
आउटसोर्सिङबाट ल्याइएका पो रे! ड्राइभर पनि आउटसोर्सिङवाला नै।
त्यही भएको एक जना गार्डसँग पनि भुत्ते खुकुरीबाहेक अरु केही हतियार
रहेनछ प्रहरीका अनुसार। ल भो त अब। लुटेराहरुलाई भने कहाँबाट कति बजे कति
पैसा कसरी आउँदैछ भन्ने एकएक थाहा रहेछ। ब्याङ्कका कोही न कोही नमिलीकन यति
धेरै जानकारी लिन संभव होला र ?
आजभोलि यी निजी ब्याङ्कवालाहरुलाई आउटसोर्सिङ पो भूत चढेको छ। केही अघि
तल्ला तहका कर्मचारीहरुले सेवा सुविधा बढाउन माग गर्दै आन्दोलन गरेपछि
उनीहरुले ड्राइभर, सेक्युरिटी गार्डजस्ता सेवा अर्कै कम्पनीबाट अर्थात्
आउटसोर्सिङबाट लिन थालेका छन्। हो, अहिले जमाना आउटसोर्सिङ कै छ। तर
ब्याङ्क जस्तो सुरक्षामा संवेदनशील हुनुपर्ने संस्थाले महत्त्वपूर्ण विषय
यसरी आउटसोर्सिङ गर्दा परिणाम कस्तो आउला त ? यो घटनाको बारेमा त अनुसन्धान
भइरहेको छ। भोलिपर्सि यस्तै आउटसोर्सिङवालाबाट पनि यस्तै किसिमका अपराध
नहोला भन्ने के ग्यारेन्टी ? आखिर उनीहरु ब्याङ्कका कर्मचारी हुँदैनन्,
ब्याङ्कका कर्मचारीले भन्दा निकै थोरै तलब पाउँछन्। ब्याङ्कका कर्मचारीसरह
सुविधा पनि पाउँदैनन। अनि धन देखेपछि महादेवको त तीन नेत्र खुल्छ रे।
आखिरमा बीमा भइहाल्छ !
आजको घटना त काठमाडौँभन्दा धेरै टाढा एकान्त ठाउँमा भएको छ। राजधानी मै
कान्तिपथस्थित नबिल ब्याङ्कको शाखामै २०६१ साल मंसिर २९ गते एक १७ वर्षीय
किशोर निरन्जन खनालले पुलिस भिनाजुको चोरेर ल्याएको पेस्तोलको भरमा ब्याङ्क
लुटिदिए। टन्नै सुरक्षा गार्ड हुन्छन् त्यहाँ। तर एउटा पेस्तोलकै भरमा
उनले ६० लाख रुपियाँ लुटे। पछि २०६६ सालमा उनै खनाल व्यापारीहरुको अपहरण गरी फिरौति माग्ने खतरनाक समूहका रुपमा देखिए।
ब्याङ्कको रकम स्थानान्तरण गर्दा वा यस्ता लुट डकैतको बीमा गरिएको
हुन्छ। ब्याङ्कलाई क्षति भएको रकम बीमा कम्पनीले बेहोर्ने गर्छ। यही भएर
पनि ब्याङ्कहरुले सुरक्षा व्यवस्थामा उति साह्रो ध्यान नदिएका हुन् कि!
अचम्मै छ। करोडौँ रकम पनि एउटा खुकुरीको भरमा पठाउँदा रहेछन्। आउटसोर्सिङको
एक जना खुकुरी बोक्ने गार्डबाट करोडौ रकमको सुरक्षा हुने ठान्दा रहेछन्।
गार्ड बहादुर भएर लुट्न नसक्दा
र, जाँदाजाँदै नबिल ब्याङ्कको एउटा असफल डकैति कान्डको सम्झना पनि।
घटना थियो २०६३ जेठ १७ गतेको। बिहान साढे ११ बजेतिर काठमाडौँको
जोरपाटीस्थित नबिल बैंकमा हतियारसहित १५ जनाको समूहमा आएका व्यक्तिहरुले
बैंकमा लुटपाट गरे। भाग्ने क्रममा हतियारबाट फायर खोली भाग्दै गर्दा बैँकका
गार्डले पनि प्रतिकार गरेका थिए।
बैंक डकैतिलाई असफल पार्ने बैंकका बहादुर सुरक्षा गार्ड ५६ वर्षका प्रेम
तामाङ घाइते भए। उपचारका लागि लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !