CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ट्याक्सीहरुले यसरी ठग्छन तैपनि उनीहरुलाई सदाबहार उन्मुक्ति

ट्याक्सीहरुले यसरी ठग्छन तैपनि उनीहरुलाई सदाबहार उन्मुक्ति

  • यात्रु ठग्ने ट्याक्सी चालकलाई जरिवाना मात्रै

महानगरीय ट्राफिक प्रहरी महाशाखा, वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय र गुणस्तर तथा नापतौल विभागको संयुक्त अनुगमन टोलीले पुसको पहिलो साता यात्रुमाथि ठगी गरेको आरोपमा १ हजार १ सय ट्याक्सी चालकलाई कारबाही गर्‍यो। यो संख्या उपत्यकामा चल्ने सम्पूर्ण ट्याक्सीको करबि २० प्रतिशत हो। यसै आर्थिक वर्षको पाँचमहिने अवधिमा दुई हजारभन्दा बढी ट्याक्सीले सवारी कानुन मिचे, जुन उपत्यकामा चल्ने ट्याक्सीको ३१ प्रतिशतभन्दा बढी हो। अर्थात्, सहरभरि धुइँपताल खोज्दासमेत यात्रु नठग्ने ट्याक्सी भेटाउन मुस्किल छ।

नियमन निकाय सक्रिय भएका बेला ठगीको यस्तो भयावह तथ्यांक देखिँदा पनि जरिवाना तिराएर मात्रै छाडिँदै आएको छ। हालसम्म एक जनालाई पनि राज्यले ठगी मुद्दा चलाएको रेकर्ड छैन। जतिसुकै बढी भाडा असुल्दा पनि ट्याक्सी चालकले सदाबहार उन्मुक्ति पाउँदै आएका छन्। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, "राज्यले नै जरिवाना लिईर् ठग्न छुट दिएजस्तो भएको छ। एक हजार कमाएर एक सय जरिवाना तिर्‍यो भने पनि उसलाई नौ सय रुपियाँ फाइदा हुने भएपछि किन ठग्दैन ?"

तोकिएभन्दा बढी भाडा लिने ट्याक्सी चालकलाई सवारी तथा यातायात व्यवस्थापन ऐन, कालाबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, उपभोक्त संरक्षण ऐन लगाएर कडा कारबाही गर्न सक्ने प्रावधान छ। तर, अहिलेसम्म सरकारले गरेको कडा कारबाही भनेको पाँच हजार रुपियाँसम्म जरिवाना र मिटर जफतसम्म मात्र हो।

यातायात व्यवस्था कार्यालयले पाँच हजार र नापतौल विभागले दुई हजार रुपियाँ अधिकतम जरिवाना तिराउँछ। मिटरसम्बन्धी समस्या देखिएमा ट्राफिक प्रहरीले कारबाहीका लागि गुणस्तर तथा नापतौल विभागमा पठाउँछ। गत आर्थिक वर्षमा ४२ वटा ट्याक्सीको मिटर जफत भएकामा यस वर्षको अघिल्लो पाँच महिनामा एउटाको मात्रै जफत भएको छ। अधिकतम जरिवाना दुई हजार रुपियाँ तिर्नेको संख्या २ सय ८३ मात्रै छ।

अधिकांश ट्याक्सीले अर्थिङ् (चालकहरूको भाषामा छुस) गरेर मिटरमा बढी भाडा उठाउने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ। तर, नापतौल विभागसम्म पुग्दा त्यो समस्या नै गायब पारिन्छ। जस्तो ः ट्राफिक प्रहरीले कात्तिक र मंसिर महिनामा दुई दर्जन ट्याक्सी चालकलाई अर्थिङ् गरेर बढी भाडा असुलेको आरोपमा कारबाही गर्न विभाग पठाएको थियो। तर, विभागको रेकर्डमा भने भदौ महिनायता एउटै ट्याक्सीले अर्थिङ् गरेको देखिँदैन। गत साउनमा अर्थिङ् गरेकामा एउटा ट्याक्सीलाई चाहिँ कारबाही भएको विभागको तथ्यांकमा उल्लेख छ।

अर्थिङ् गरेको पुष्टि भएमा अहिलेसम्मकै सबैभन्दा कडा मानिएको कारबाही मिटर जफत हुने हुँदा यहीँनेर ट्याक्सी चालक, व्यवसायी र विभागका कर्मचारीबीच चलखेल हुने गरेको विभाग स्रोत बताउँछ। विभागका एक अधिकारी भन्छन्, "मिटर जफत हुने भएपछि मिटरको अन्य पक्ष बिगि्रएको देखाएर प्राविधिक समस्या भन्दै कारबाहीको प्रकृति फितलो बनाइन्छ। जसले गर्दा मिटर जफतको संख्या नदेखिएको हो। अर्थिङ्को समस्या जस्ताको तस्तै छ।"

विभागको ट्याक्सी/टेम्पो एकाइका निर्देशक विकास ध्वन्जु पनि डिजिटल प्रविधिमा गएपछि ट्याक्सीको मिटरमा अर्थिङ् गर्न सजिलो भएको बताउँदै यो समस्या ठूलो रहेको स्वीकार्छन्। अर्थिङ्को समस्या म्यानुअल मिटरमा भन्दा डिजिटलमा बढी देखिएको उनको अनुभव छ।

म्यानुअलमा अर्थिङ् गरेर यात्रु सहजै ठगेको भन्दै एक दशकअघि सर्वोच्च अदालतको आदेशपछि सबै ट्याक्सीमा डिजिटल मिटर जडान गरिएको थियो। तर, डिजिटल प्रविधिमा गएपछि सर्वोच्चले भनेजस्तो अर्थिङ्को समस्या समाधान हुनुको सट्टा झनै बल्झियो। ध्वन्जु भन्छन्, "एक सेकेन्डमै पटक-पटक सिग्नल पठाएर अर्थिङ् गर्न सकिन्छ। म्यानुअल मिटरमा जस्तो दाँत काटिराख्न नपर्ने भएपछि जतातिरबाट सिग्नल पठाउने तार जोडे पनि हुन्छ।"

तोकिएको मूल्यभन्दा बढी लिएमा त्यसलाई कालाबजारी भएको मानिन्छ। यातायात सेवाका लागि लाग्ने शुल्क वा भाडाबापतको टिकट निर्धारति मूल्यभन्दा बढी लिएमा त्यसरी लिएको रकम जफत गर्ने तथा एक वर्षसम्म कैद अथवा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। कालोबजारी ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीलाई मुद्दा चलाउने अधिकार हुन्छ।

नापतौल विभागको ट्याक्सी/टेम्पो एकाइका निर्देशक ध्वन्जु भने निम्न आय भएका चालकलाई कालोबजारीमा मुद्दा चलाउँदा उनीहरूका परिवारमा झन् ठूलो संकट पर्ने भएकाले नरम कारबाहीमा जानुपरेको तर्क गर्छन्। "जेल हाल्दा परिवारको बिल्लीबाठ हुन सक्छ। कारबाही मात्रै समस्या समाधानको उपाय होइन," उनी भन्छन्।

ट्याक्सी विभागमा ल्याएपछि मिटर परीक्षणका लागि कम्तीमा पनि दुई दिन लाग्ने हुँदा त्यो अवधिमा गुमेको ट्याक्सीको कमाइ नै पर्याप्त कारबाही भएको समेत उनको जिकिर छ। भन्छन्, "जरिवाना रकम हेर्दा सानो देखिए पनि दुई दिनको कमाइ गुम्ने हुँदा त्यो उनीहरूका लागि ठूलो नोक्सान हो," उनको तर्क छ।

सरकारले दिउँसोको समयमा प्रतिकिलोमिटर ३७ रुपियाँ र राती ९ बजेदेखि बिहान ६ बजेसम्म ५५ रुपियाँ ५ पैसा लिन पाउने गरी भाडादर निर्धारण गरिदिएको छ। तर, कल फास्ट, अर्थिङ् गरेर ट्याक्सी चालकले दोब्बरभन्दा बढी भाडा लिने गर्छन्। साथै, मिटरमा नगई मोलमोलाइका आधारमा भाडा निर्धारण गरेर समेत यात्रुबाट बढी भाडा असुल्छन्।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका भनाइमा सरकारले नयाँ ट्याक्सी थप्न रोक लगाएकाले समेत ट्याक्सीवालाको बजारमा मनोमानी बढेको हो। भन्छन्, "बजारको प्रतिस्पर्धाको बाटो थुनेर राज्यले नै ठग्न प्रेरति गररिहेको छ।" हाल सात हजार ट्याक्सी रहेकामा मुस्किलले ६ हजार सञ्चालनमा हुन सक्ने नापतौल विभागको अनुमान छ।

ट्याक्सी चढ्दा ठगिने कुरा अहिले 'ओपन-सेक्रेट'जस्तै बनिसकेको छ। ट्याक्सी चालकविरुद्ध गरिएको अभियानरूपी कारबाहीको तथ्यांकले समेत यही देखाउँछ। महाशाखाको तथ्यांक अनुसार गत वर्षको पुसमा चलाइएको अभियानमा १ हजार ३ सय ८२ ट्याक्सी कारबाहीमा परेका थिए। यस वर्षको पुसमै चलाइएको अनुगमन अभियानको एक सातामा त्यति नै ट्याक्सीले बदमासी गरेको भेटियो। तथ्यांकले समस्या झनै चर्किएको देखाउँछ। महाशाखाका आयुक्त प्रहरी नायब महानिरीक्षक -डीआईजी) केशवप्रसाद अधिकारी भन्छन्, "हामीले अभियान चलाउन्जेल नियन्त्रण भएजस्तो हुन्छ। अभियान रोकिएपछि फेरि समस्या बढेर जाने प्रवृत्ति देखिएको छ।"

जरिवाना तिरेर उन्मुक्ति पाउने फितलो कानुनी कारबाहीले यस्तो प्रवृत्ति ज्याद्रो बन्दै गएको डीआईजी अधिकारीको अनुभव छ। भन्छन्, "ठगीमा मुद्दा नचलाई समस्याको स्थायी समाधान नआउने भो। त्यसैले हामी अब बढी भाडा लिने ट्याक्सी चालकलाई सामाजिक अपराध मानेर मुद्दा प्रक्रिया अगाडि बढाउँछौँ।"

यसरी ठगिन्छन् यात्रु

ट्याक्सी चालकले मिटरमा अर्थिङ् गरेर छोटो दूरीमै बढी पैसा उठाउँछन्। डिजिटल मिटरमा ट्याक्सीका विभिन्न भागबाट सिग्नल पठाएर बढी पैसा उठाउने गरिन्छ। हर्न बजाउँदा, ब्रेक लगाउँदा, गेयर बदल्दा, म्युजिक, रेडियो बजाउँदासमेत बढी पैसा उठ्ने गरी अर्थिङ् गरिएको हुने गुणस्तर तथा नापतौल विभागको ट्याक्सी/टेम्पो एकाइका निर्देशक विकास ध्वन्जु बताउँछन्। भन्छन्, "जतिचोटि छोयो, उतिपटक पैसाको मिटर बढ्छ। एक सेकेन्डमै निकै बढी पैसा उठ्न सक्छ।"

बढी भाडा उठाउने अर्को विधि कल फास्ट हो। प्रतिदुई सय मिटर वा दुई मिनेट गुड्दा एक कल हुन्छ। प्रतिकल मिटरमा ७ रुपियाँ ४० पैसा उठ्नुपर्ने हो। तर, ट्याक्सी चालकले त्यसभन्दा बढी रकम उठ्ने गरी मिटरमा सेटिङ् गरेका हुन्छन्। मिटरको पल्स प्रोग्राममा गएर यस्तो सेटिङ् मिलाउन सकिन्छ। अहिले सबैभन्दा बढी कल फास्टबाटै रकम दोब्बर उठाउने गरेको पाइन्छ। विभागका अनुसार गत आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै ५ सय २० जना ट्याक्सी चालक यही कसुरमा कारबाहीमा परेका थिए भने यस वर्ष ६६ ट्याक्सी चालकले यस्तो कारबाही भोगे। यसबाहेक मिटर बिगि्रएका नाममा समेत मोलमोलाइमा भाडा निर्धारण गरेर यात्रु ठग्ने गरिएको छ। नयाँ व्यक्तिलाई लामो रुट लगेर समेत बढी भाडा लिने गरेको पाइन्छ।
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis