CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बिहीबारदेखि world cup फुटबल .. यसरी हुँदैछ |

बिहीबारदेखि world cup फुटबल .. यसरी हुँदैछ |

आगामी बिहीबारको मध्यरातदेखि ब्राजिलमा २० औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता प्रारम्भ हुँदैछ। सारा संसारको ध्यान केन्दि्रत गर्न सफल यो प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र युरोपबाट छनौट भएको क्रोएसियाबीच हुनेछ। ब्राजिलका १२ वटा सहरका १२ वटा रंगशालामा सञ्चालन हुने यो प्रतियोगिता सबैभन्दा लामो समय अर्थात् ३० दिनसम्म
चल्नेछ। यो प्रतियोगितालाई रंगशाला मै पुगेर ३३ लाख ३४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् भने टेलिभिजनमार्फत विश्वभरिका करिब ४ अर्ब दर्शकले हेर्नेछन्। प्रतियोगिता अवधिभर यसले सारा विश्वलाई एक सूत्रमा बाँध्ने अनुमान गरिएको छ।

सन् २०११ देखि सञ्चालित विश्वकप फुटबल प्रतियोगिताका लागि भएको छनौट खेलमा ६ वटै महादेशका २ सय ७ राष्ट्रले सहभागिता जनाएका थिए, जसबाट ३१ राष्ट्रले फाइनल चरणको टिकट प्राप्त गरे। आयोजक भएका नाताले ब्राजिलले सोझै फाइनल चरणमा प्रवेश पायो। छनौट चरणमा एसियाबाट जापान, इरान र दक्षिण कोरिया छनौट भए भने अस्ट्रेलिया एएफसीको समूह बी उपविजेता भएर छनौट भयो। अफ्रिकी महादेशबाट अल्जेरिया, क्यामरुन, घाना, आइभोरिकोस्ट र नाइजेरिया छनौटका रूपमा भएका थिए। 



के भन्छन् नेपालीहरू?

आगामी बिहीबारदेखि फुटबलको महाशक्ति ब्राजिलको घरेलु मैदानमा विश्वकप-२०१४ सुरु हुँदैछ। यससँगै विश्वभर छरिएर रहेका लाखौं-करोडौं फुटबल समर्थकको ध्यान पनि अहिले ब्राजिलमै केन्दि्रत छ। सबै देशका दर्शकहरू आफूले समर्थन गरेको टिमले जितोस् भन्ने चाहन्छन् भने यो टिमले जित्छ कि त्यो टिमले जित्छ भन्ने अनुमान गर्नेहरूको पनि कुनै कमी छैन। विश्वकपको ज्वरोले विश्वको कुना-कुनामा आफ्नो प्रभुत्व जमाइसकेको छ। नेपाल पनि उक्त ज्वरोबाट अछुतो रहन सकेको छैन। नेपाली सर्वसाधारण मात्र होइन, राष्ट्रिय टोलीका खेलाडी तथा प्रशिक्षकहरूसमेत आफ्नो समर्थन रहेको राष्ट्रको समर्थन गर्न फुटबलको महाकुम्भको प्रतीक्षा गरिरहेका छन्।

नेपाली राष्ट्रिय टोलिका कप्तान सागर थापा पनि फुटबलको महाकुम्भको प्रतीक्षामा छन्। यसपलि फुटबलका ठूला खाले प्रतियोगिता नेपालमा नभएको र खेल पनि राति हुने भएकाले मस्तले खेल हेर्न पाउने बताउँछन् थापा। थापालाई मन पर्ने टिम हो— इंग्ल्यान्ड। इंग्ल्यान्डलाई समर्थन गर्नु त छँदै छ, तर पनि उनी ब्राजिलले यस पालिको विश्वकप जित्ने अनुमान गर्छन्।  थापा भन्छन्- 'मलाई मन पर्ने टिम त इंग्ल्यान्ड नै हो, यस पटक इंग्ल्यान्डले जित्नुपर्ने हो। टिम राम्रो छ, तर पनि यस्ता ठूलो प्रतियोगितामा राम्रो प्रर्दशन गर्न सक्दैन।' ब्राजिल सधैं उत्कृष्ट टिम हो। यस पटक घरेलु मैदानमै खेल हुने भएकाले पनि ब्राजिल प्रमुख दाबेदार रहेको थापा बताउँछन्।

गत वर्ष नेेपालमा सम्पन्न साफ च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका नेपाली राष्ट्रिय टिमका लेफ्ट ब्याक रबिन श्रेष्ठ ब्राजिलको समर्थक भएकाले ब्राजिलले नै यस पटकको विश्वकप जित्ने बताउँछन्। 'ब्राजिल सधैं राम्रो टिम हो। त्यसमाथि यसपालि उसकै गृहमैदानमा खेल हुँदैछ र यस पटकको ब्राजिलको टिम सन्तुलित पनि छ।' रबिन यस पटकको विश्वकपमा सर्जियो रामोस, मार्सेलो एवं नेयमारले उत्कृष्ट प्रदर्शन गरेर ब्राजिललाई कीर्तिमानी छैटौं पटक विश्व कप जिताउन सफल हुने विश्वास व्यक्त गर्छन्।

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक कृष्ण थापा तथा यू- १६ का प्रशिक्षक बालगोपाल महर्जन ब्राजिल र जर्मनी दुवैका समर्थक हुन्, तर पनि दुवैमध्ये विश्वकप जित्ने पहिलो रोजाइको टिम भने ब्राजिल नै हो।

'पहिलेदेखि नै म जर्मनीको समर्थक हुँ र जर्मनीले जित्नेमा पनि आशावादी छु, तर पनि ब्राजिललाई दाबेदार देख्छु। एक त ब्राजिलको टिम नै बलियो छ, त्यसमाथि यस पटक उसकै घरेलु मैदानमा विश्वकप हुँदैछ,' थापा बताउँछन्।

युवा टोलीका प्रशिक्षकबालगोपाल महर्जन पनि आफूले समर्थन गरेको जर्मनीबाहेक ब्राजिललाई नै विश्वकपको दाबेदारका रूपमा लिन्छन्। जर्मनी पनि उत्कृष्ट र सन्तुलित छ। यो सिजनका विभिन्न लिगमा खेल्ने खेलाडीहरूको प्रदर्शन पनि राम्रो छ। अनुभवि खेलाडीहरूको बाहुल्यता रहेको र आफ्नो क्षमताअनुसार खेल प्रदर्शन गरे जर्मनीले पनि विश्वकप जित्न सक्ने महर्जनको ठम्याइ छ। ल्हाम र पोडोलस्कीजस्ता खेलाडीले जर्मनीका लागि उत्कृट प्रदर्शन गर्ने महर्जन बताउँछन्।



ब्राजिलमा विश्वकप, नेपालमा रमझम


पुसको पहिलो साता काठमाडौंको दशरथ रङ्गशालामा सार्वजनिक प्रदर्शन गरिएको विश्वकप फुटबलको ट्रफी हेर्न उर्लिएका खेलप्रेमीहरूको भीड देख्दा सबै नेपाली फुटबलप्रेमी भएको अनुमान लगाउन गार्‍हो थिएन। विश्वकप फुटबल विजेताले प्राप्त गर्ने ट्रफी टेलिभिजनको पर्दामा मात्र देख्न पाएका नेपालीहरूका लागि त्यो एउटा ऐतिहासिक अवसर थियो। 'फिफा वल्र्डकप ट्रफी टुर' अन्तर्गत एकदिने यात्रामा नेपाल आइपुगेको उक्त ट्रफी छुने सौभाग्य राष्ट्रपति डा.  रामवरण यादवले पाएका थिए। रंगशालामा भेला भएका अन्य सयौं खेलाडी तथा खेलप्रेमीहरूले उक्त ट्रफी हेर्ने अवसर मात्र पाए। 

ट्रफी हेर्नका लागि रंगशाला पुगेका खेलप्रेमीहरूको भीड देख्दा नै नेपालीहरूले ब्राजिलमा विश्वकप फुटबल सुरु हुने दिन गन्न थालिसकेको अनुमान गर्न सकिन्थ्यो। नेपालीहरू खेलकुदको राजाका रूपमा लिइने फुटबल खेलको यो कुम्भमेला टेलिभिजनमा हेर्न आतुर छन्। फुटबल प्रेमीहरूले आ-आफ्नै तरिकाले खेल हेर्ने योजना बुनिरहेका छन्। नेपालका कतिपय बार, रेस्टुराँ, खुला सार्वजनिक स्थानहरूमा राखिएका ठूलो पर्दा र घर-घरका टेलिभिजन पर्दा अघि बसेर धेरै फुटबल प्रेमीले ब्राजिलका विभिन्न रंगशालामा हुने खेल हेरेर मनोरञ्जन लिनेछन्। 

विश्वकप सुरु हुनुपूर्व नै कतिपय रेस्टुराँमा गायिका साकिराले गाएको विश्वकप गीत 'लालाला' गुञ्जन थालिसकेको छ। सपिङ मल तथा स्पोर्ट्स फेसन वेयरसम्बन्धी पसलहरूमा ३२ राष्ट्रका जर्सी सजिएका छन्। राजधानीमा खुलेका करिब एक दर्जन फुटसल सेन्टरमा ठूलो पर्दा राखेर विश्वकप देखाउने तयारी भैरहेको छ। कतिपय फुटबल क्रेजीहरू एकआपसमा बाजी थाप्न थालिसकेका छन्। कतिपयले आफ्नै घरमा आफूले समर्थन गरेको टिमको झन्डा नै फरफराएका छन्। कतिपयले हरेक खेललाई रेस्टुराँ वा सार्वजनिक स्थानमा राखिएका ठूलो पर्दामा सामूहिक रूपमा हेर्ने सोच बनाएका छन्। 

विश्वकपको पूर्वसन्ध्यामा नेपाली चलचित्र हलहरूमा लागेको चलचित्र 'वल्र्डकप इन नेपाल' ले पनि वातावरण तताएको छ। बालबालिकाको फुटबल खेल्ने चाहनालाई केन्द्रबिन्दु बनाएर प्रकाश थापाको निर्माण तथा रामशरण पाठकको निर्देशनमा बनेको उक्त चलचित्रले विश्वकपप्रति नेपाली फुटबल प्रशंसकहरूको क्रेजलाई झल्काउँछ। 



फुटसल सेन्टरमा विश्वकप 

पछिल्लो समयमा राजधानीमा करिब डेढ दर्जन फुटसल सेन्टर खुलेका छन्। विश्वकप फुटबलको अवसरमा कतिपय यस्ता सेन्टरले ठूलो पर्दामा विश्वकप फुटबलको सम्पूर्ण खेल देखाउने योजना बनाएका छन्। ठमेलको एरिना फुटसल, चाबहिलको हाम्रो फुटसल, भृकुटीमण्डप फनपार्कभित्र रहेको फुटसल सेन्टरमा विश्वकप देखाउने तयारी भैरहेको छ। विश्वकप हेर्न फुटसल सेन्टर उपयुक्त स्थान रहेको हाम्रो फुटसल सेन्टरका साजन काफ्ले बताउँछन्। हरियो प्लास्टिकको कार्पेटमा बसेर खुला रूपमा विश्वकप हेर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए। यस्ता फुटसल सेन्टरमा सशुल्क विश्वकप हेर्न पाइनेछ। 



सार्वजनिक स्थानमा ठूलो पर्दा


फुटबल क्रेजीहरूको ठूलो पर्दामा विश्वकप हेर्ने इच्छालाई स्थानीय संघसंस्था र क्लबहरूले पनि पूरा गर्दैछन्। कतिपय गाउँ तथा टोलमा रहेका सार्वजनिक भवन तथा खुला स्थानहरूमा लगाइने ठूलो पर्दामा सामूहिक रूपमा विश्वकपका खेलहरू हेर्न पाइनेछ। काठमाडौंको वसन्तपुर डबली, ललितपुरको मंगलबजारमा कृष्णमन्दिरको प्रांगण, मैतीदेवी मन्दिरनजिकको खुला स्थानका साथै ठूला सपिङ कम्प्लेक्सहरूलगायत दर्जनौं स्थानमा ठूलो पर्दा राखेर सामूहिक रूपमा विश्वकप हेर्ने व्यवस्था मिलाउने तयारी भैरहेको छ। कतिपय ठाउँमा ठूला व्यापारिक संस्था एवं कर्पोरेट हाउसहरूको प्रायोजनमा ठूलो पर्दा राखेर विश्वकप हेर्ने अवसर जुराइएको छ। 



बार र रेस्टुराँहरूमा तयारी


यसैगरी सुविधासम्पन्न रेस्टुराँ तथा स्पोर्ट्स बारहरूले पनि ठूलो पर्दामा विश्वकप फुटबल देखाउने तयारी गरिरहेका छन्। अधिकांश खेल नेपाली समयअनुसार मध्यरातदेखि बिहानको समयमा परेकाले केही कठिनाइ भए पनि भव्य तयारी भैरहेको छ। रेस्टुराँ  तथा बारका भित्ताहरूमा सहभागी देशका झन्डा तथा चर्चित खेलाडीहरूको तस्बिरहरू झुन्डयाइएका छन्। बारहरूमा साकिराको फुटबल गीत गुञ्जन थालिसकेको छ। ८० जनालाई फुटबल देखाउने क्षमता भएको नयाँ बानेश्वरको ओ-टु स्पोर्ट्स बारमा दुईवटा पर्दा राखेर विश्वकप फुटबल देखाउने तयारी भैरहेको छ। दरबारमार्ग, ठमेल, जावलाखेल, झम्सीखेल, बौद्धलगायतका सुविधा सम्पन्न रेस्टुराँहरूमा विश्वकपको रौनक सुरु भैसकेको छ। १ सय ६० जना क्षमता भएको झम्सीखेलको एफसी स्पोर्ट्स बार तथा ६० जना क्षमता भएको जावलाखेलको फाइभ क्राउनमा विश्वकप फुटबल देखाउने तयारी भैरहेको सञ्चालक राजन चित्रकारले जानकारी दिए। मध्यरात र बिहानीको समय परेकाले प्रशासनसँग अनुमति लिने काम पनि भैरहेको चित्रकारले बताए। 



टेलिभिजनको व्यापार


विश्वकप फुटबलको प्रत्यक्ष असर नेपालको टेलिभिजन र जर्सीको व्यापारमा पनि देखिएको छ। विश्वकप सुरु हुनुपूर्व नै टेलिभिजनको खरिदमा नयाँ अफर सुरु भैसकेको छ। नयाँ-नयाँ मोडलका एलइडी टेलिभिजनको खरिदमा भारी छुट तथा उपहारको व्यवस्था गरिएको छ। सोनी टेलिभिजनको आधिकारिक विक्रेता नेपा हिमा ट्रेड प्रालिले नयाँ योजना सुरु गरिसकेको जानकारी दिएको छ। सोनी ब्रान्डका कुनै पनि ब्राभिया टेलिभिजन खरिदमा स्योर सट पुरस्कारको व्यवस्था मिलाएको छ। हाइसेन्स टेलिभिजनको आधिकारिक विक्रेता नबिन डिस्टि्रब्युटर्स प्रालिले 'हाइसेन्स हाइटेक विश्वकप अफर' सुरु गरिसकेको छ। जसअन्तर्गत टेलिभिजन खरिद गर्दा ७ सयदेखि १५ हजारसम्मको छुट पाइनेछ। यता कलर्सका उत्पादनको आधिकारिक विक्रेता युनिभर्सल इलेक्ट्रोकमले विश्वकपलाई लक्ष्य गर्दै १९, २४ र ३२ इन्चको टेलिभिजन किन्दा कलर्सकै एफ७एन मोडलको मोबाइल निःशुल्क प्रदान गर्नेछ। सामसुङ टेलिभिजनको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले पनि प्रत्येक टेलिभिजनको खरिदमा ठूलो नगद छुट दिने योजना सार्वजनिक गरेको छ।  



रंगीबिरङ्गी जर्सी


विश्वकप फुटबलको रन्कोमा जर्सी फेसनले बजार तताएको छ। पुमा, रिबक, एडिडास, नाइकी, जुमाजस्ता चल्तीका कम्पनीहरूले विभिन्न देशका आकर्षक जर्सीहरू भित्र्याएका छन्। समर्थकहरूले रोजी-रोजी जर्सी, फुटबल तथा जुत्ताहरू खरिद गरून् भनेर कतिपय कम्पनीले विश्वकप अफर सुरु गरिसकेका छन्। धेरै नेपाली ब्राजिल, जर्मनी, अस्ट्रेलिया, इङ्ल्यान्डका प्रशंसक तथा समर्थक भएकाले यिनै देशका जर्सी सेटले बजार तताएको छ। राजधानीको दरबारमार्ग, सेर्पा मल, सिटी सेन्टर, सिभिल मल, काठमाडौं मल, केएल टावर, युटिसीजस्ता व्यापारिक केन्द्रमा जर्सीको व्यापार बढेको छ। अनलाइन व्यापार गरिरहेको सेलसाथीले १ हजार ३ सय ५० रुपैयाँका जर्सी सेटहरू बिक्री गरिरहेको छ। सेलसाथीले होम सर्भिसको पनि व्यवस्था मिलाएको छ।

- युवराज गौतम





विश्वकप फुटबलको उमङ्ग




अहिले 'फिफा विश्वकप- २०१४ ब्राजिल'ले सबैको ध्यान खिचेको छ। सामाजिक सञ्जाल फेसबुक, युट्युव, मिग, निम्बुज एवं पत्रपत्रिकाहरू फुटबलमय बन्ने नै भए। चिया गफ, चौतारी, जमघट सबैमा विश्वकप फुटबल-२०१४ कै कुरा।

विश्वकपको उमङ्ग अहिले सहर बजार हुँदै गाउँका कुना कन्दरासम्म फैलिएको छ। आगामी बिहीबार जून १२ देखि ब्राजिलमा हुने विश्वकप-२०१४ लाई नै लक्षित गरेर मोरङको पथरीमा ३५/४० जना युवाको सक्रियतामा समूह नै बनेको छ— एलएक्स ब्वाइज। 'विश्वकप फुटबल-२०१४ सँगै सामाजिक कार्य गर्ने सोच आयो,' व्वाइजका अध्यक्ष गोपाल साँवा भन्छन्- 'विश्वकपलाई प्रोजेक्टरमार्फत पथरी रंगशालामा देखाएर सामाजिक कामको सुरुवात गर्ने तयारी गरेका छौं।' उक्त समूहले अर्थ संकलन गरी प्रोजेक्टर, जेनेरेटरजस्ता सामग्री खरिद पनि गरिसकेको छ। अहिले विश्वकपको सन्दर्भमा यस्तो तयारी भैरहेको देख्दा विश्वकपको उमङ्ग देशभर नै छाएको जो-कोहीलाई आभास हुन्छ। पथरी बजारदेखि २ किलोमिटर दक्षिणमा सक्रिय देवीगन्ज युवा समूहले पनि देवीगन्ज चौकमै ठूलो पर्दा राखी प्रोजेक्टरमार्फत गाउँका बूढापाका, केटाकेटी आदि सबैलाई विश्वकपको मज्जा दिने तयारी गरेको छ।

अहिले लोडसेडिङ र केबुलको कुनै भरोसा नभएकाले डिस होम, जेनेरेटर, प्रोजेक्टरजस्ता सामानहरू खरिद गरी तयारी अवस्थामा छन् फुटबल क्रेजीहरू। मोरङको बेलबारीस्थित बेलबारी फुटबल क्लबले पनि प्रोजेक्टरबाट स्तरीय पर्दामा विश्वकप देखाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। यसैगरी विराटनगरस्थित फिलगुड रेस्टुराँ एन्ड बारले पनि आफ्ना पाहुनाहरूका लागि प्रोजेक्टरमार्फत विश्वकपको प्रत्यक्ष खेल हेर्ने तारतम्य मिलाएको छ। धरानस्थित घोपा क्याम्प अगाडि तथा धरान देशीलाइनका स्थानीय युवाको सक्रियतामा प्रोजेक्टरबाट विश्वकपका खेलहरू देखाउने तयारी भैरहेको छ।

विश्वकपको सर्वत्र चर्चा भैरहेको बेला पथरीका पूर्णबहादुर कार्कीले ब्राजिलमै पुगेर प्रत्यक्ष फुटबल हेर्ने अवसर प्राप्त गरेका छन्। नयाँ वर्षको अवसरमा यामाहा विनिङ एक्सप्रेस अफरअन्तर्गत कार्कीले मोटरसाइकल खरिद गर्दा उक्त अवसर प्राप्त गरेका हुन्। कार्की भन्छन्- 'प्रोजेक्टरमार्फत विश्वकप हेरेर आनन्द लिने सोच थियो मोटरसाइकल खरिद गर्दा ब्राजिलमै गएर प्रत्यक्ष हेर्ने मौका पाउँदा एकदमै खुसी र हषिर्त छु।' पूर्वका इटहरी, भेटेडार, विराटचौक, धनकुटा, दमक, केर्खा, झिलझिले, सुरुङ्गा, बिर्तामोड, इलाम, भद्रपुर, काँकडभिट्टा आदि स्थानमा प्रोजेक्टरमार्फत नै सार्वजनिक रूपमा विश्वकप हेर्ने तयारी भैरहेको छ।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis