CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » समयको ऐनामा पुरुषको बदलिँदो छवि

समयको ऐनामा पुरुषको बदलिँदो छवि

पितृसत्तात्मक सामाजिक परिवेशमा पुरुषको छविमा हिजोआज विस्तारै परिवर्तन आइरहेको महसुस गर्न सकिन्छ। उनीहरूको नारीप्रतिको उदार दृष्टिकोण र सहयोगी प्रवृत्ति सकारात्मक सामाजिक परिवर्तनको संकेत हो, यद्यपि यो परिवर्तन अचानक भने आएको होइन।
पहिले घरमा कुनै ठूलो निर्णय लिनुपर्दा एकाधिकार मात्र श्रीमान्मा हुन्थ्यो तर समयसँगै पुरुषको यो व्यवहारमा पनि धेरै परिवर्तन आएको छ। अब उनीहरू कुनै पनि निर्णय आफ्नी श्रीमतीमाथि जबर्जस्ती थोपर्दैनन्। परिवारसित जोडिएका हरेक मामिलामा श्रीमतीको पनि सहमति आवश्यक भएको छ। वर्षौंको संघर्षपछि पूर्वीय परिवेशका नारीले अब आफ्नो अस्तित्व पहिचान गर्न थालेका छन्। जब उनीहरू पुरुषका साथमा मिलेर आफ्नो गृहस्थी बसाउँछन् तब उनीहरूलाई पनि श्रीमान्को घर आफ्नै जस्तो अनुभव हुन्छ। नारीको मेहनत एवं आत्मविश्वासले पुरुषलाई उनीहरूको दृष्टिकोण बदल्न बाध्य तुल्याएको छ। अब पुरुषलाई शासकको साटो सहयोगी बन्न प्रेरित गरेको पाइन्छ।



अचानक आएको होइन यो परिवर्तन

इतिहास साक्षी छ-थुपै्र महान् पुरुषले सतीप्रथा एवं बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध आवाज मात्र उठाएका थिएनन्, तिनले विधवा विवाह र नारी शिक्षाजस्ता सामाजिक सुधारतर्फ कदम पनि चालेका थिए। तुलनात्मक रूपमा पुरुषहरू नारीप्रति कम संवेदनशील भए पनि अहिले विस्तारै उनीहरूमा नारीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको देख्न सकिन्छ।



परिवर्तनको सानो सुरुवात


समयसँगै पुरुषको मनमा लिङ्गमा आधारित भेदभावको पर्दा हट्न थालेको छ। कुनै पनि ठूलो सामाजिक परिवर्तनको सानो प्रारम्भ घरबाटै हुन्छ। पारम्परिक ढाँचामा श्रीमान् नै परिवारका मुखिया हुन्छन्। उनको सहमतिबिना नारीले कुनै पनि कदम उठाउन सम्भव हुँदैन। पचासको दशकमा अधिकांश परिवारका छोरीहरू स्कुल जान थाल्नुको पछाडि तिनका पिताको प्रयास, इच्छा र स्वीकृति नै ठूलो कारण भएको पाइन्छ।



घट्दो असमान व्यवहार

नारीको बढ्दो सक्रियताका कारण पुरुषको काँधबाट पारिवारिक जिम्मेवारीको बोझ पनि थोरै कम भएको छ। अब ऊ केही घरेलु मामिला पूर्णरूपमा श्रीमतीका लागि छोड्छ, कारण उसलाई आफ्नो जीवनसंगिनीमा पूर्ण भरोसा हुन्छ। ऊ के मान्छ भने उसको कुनै पनि निर्णय परिवारका लागि सकारात्मक हुन्छ। यस सम्बन्धमा मनोवैज्ञानिकहरू भन्छन्, 'आजको प्रोफेसनल लाइफमा पुरुषको व्यस्तता बढ्दै गएको छ। उनीहरूले सधै नयाँ-नयाँ चुनौतीको सामना गर्नुपर्ने हुन्छ। स्वयंलाई अब्बल साबित गर्न दिनरात कडा परिश्रम गर्नुपर्छ। यस्तोमा श्रीमतीले तिनलाई घरेलु जिम्मेवारीबाट मुक्त गर्छन् भने उनीहरू पनि तनावमुक्त भएर आफ्नो सम्पूर्ण ध्यान करियरमा लगाउँछन्।



बदलिँदो समयको आवश्यकता

आजका नारीहरू पुरुषको दृष्टिकोण उदार हुँदै गएकोमा खुसी छन्। पुरुषले नारीप्रतिको आफ्नो परम्परागत दृष्टिकोण बदल्न त्यति सहज थिएन। अहिले आर्थिक आत्मनिर्भरताले महिलाहरूको आत्मविश्वास बढाएको छ। आजका नारीहरू तीव्र रूपमा अघि बढ्दैछन्। कतिपय पुरुषलाई यो परिवर्तन मन परेको छैन, तर समयसँगै पाइला मिलाएर अघि बढ्नु उनीहरूको बाध्यता भएको छ। समाजशास्त्रीहरूका अनुसार पछिल्ला केही दशकमा एसियाली नारीहरू तीव्र गतिमा अघि बढिरहेका छन्। अब उनीहरू आफ्ना अधिकारप्रति जागरुक छन्। अहिले पुरुषले पनि नारीको यो नयाँ छविलाई स्वीकार गर्न थालेका छन्। अब महिलाले स्वयं अघि बढेर बाहिरका काममा सहयोग गर्नुपर्छ भने पुरुषले पनि आफ्नो व्यवहार एवं दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ।



नयाँ जमानाको नयाँ सोच


समयका साथमा सार्वजनिक जीवनमा नारीको सहभागिता बढ्दै गएको पाइन्छ। अहिलेसम्म नारीको परिचय आमा, बहिनी, दिदी, श्रीमती आदिमा सीमित थियो। अब कार्यालयमा अलग-अलग परिवेशबाट आएका नारीहरू काम गर्छन्। महिलाहरूको सम्पर्कमा आएपछि पुरुषलाई नारी जीवनसित जोडिएका समस्या बुझ्ने अवसर प्राप्त हुन्छ। महिलाको सम्पर्कमा आएर पुरुषको सोचको दायरा पनि विस्तृत हुन पुगेको छ। उनीहरूलाई पहिलोपटक अनुभव भएको छ कि कुनै पनि नारी मात्र आमा, दिदी-बहिनी, श्रीमती वा प्रेमिका हुँदैनन्, उनीहरूको आफ्नै परिचय तथा अस्तित्व पनि हुन्छ। उसलाई कुनै सम्बन्धका कारण मात्र नभई, उसको आफ्नो क्षमता, दक्षताका कारण पहिचान प्राप्त हुन्छ। यो आफैंमा एउटा क्रान्तिकारी परिवर्तन हो जसले पुरुष प्रधान समाजका कतिपय गलत धारणालाई जरैदेखि खारेज गरिदियो। यो खुल्ला सोचका कारण पुरुषवर्गको सोचमा परिवर्तन आयो, दृष्टिकोणमा परिवर्तन आयो। अब ऊ नारीलाई देवी बनाएर पूजा गर्नुको साटो, उनलाई आफूजस्तै मानवका रूपमा बुझ्छ। ऊ विकासको मूलधारमा नारीलाई आफ्नो साथ लिएर अघि बढ्दैछ र उसको स्वतन्त्र व्यक्तित्वलाई सहजतापूर्वक स्वीकार गर्न थालेको छ।



दाम्पत्यको अर्थशास्त्र

श्रीमान्-श्रीमतीको सम्बन्ध कतै न कतै रूपैयाँ-पैसाबाट पनि प्रभावित हुन्छ। जबसम्म श्रीमती आर्थिक आवश्यकताका लागि आफ्ना श्रीमान्माथि निर्भर थिइन्, उनका सामु श्रीमान्का हरेक कुरा मान्नुबाहेक अरु कुनै बाटो थिएन। जब श्रीमतीले घरबाहिर निस्केर काम गर्न थालिन् तब उनको अलग पहिचान बन्न पुग्यो। अब उनलाई श्रीमान् सामु हात फैलाउने आवश्यकता पर्दैन। परिवारको आवश्यकता पूरा गर्ने काममा उनको बराबरी सहभागिता छ। यस्तोमा पुरुषलाई यो अनुभव भएको छ कि घर र बाहिरको जिम्मेवारी एकसाथ निर्वाह गरिरहेकी श्रीमती श्रीमान्भन्दा बढी मेहनत गर्छिन्। त्यसैले उसको नजरमा श्रीमतीको इज्जत-सम्मान बढेको छ। आर्थिक आत्मनिर्भरताले महिलालाई सम्मानपूर्वक शिर उठाएर जिउन सिकाएको छ।



पुरानो पुस्ता पनि उदार

आजभन्दा दुई-तीन दशकपूर्व कुनै छोराले बुहारीलाई सहयोग गर्दा आमाबुबालाई राम्रो लाग्दैनथ्यो तर अहिले त्यस्तो छैन। पुरानो पुस्ताले परिवर्तनलाई सहजतापूर्वक स्वीकार गरेको मात्र छैन, स्वयं पनि बदल्नका लागि तयार देखिन्छ। पछिल्ला ५० वर्षयता हाम्रो समाज निकै परिवर्तन आएको पाइन्छ। परिवारमा पुरानो र नयाँ पुस्ताको जीवनशैलीमा पर्याप्त अन्तर देखिन्छ। केही नयाँ कुरामा हामी त्यति सहज छैनौं। यद्यपि आफ्ना सन्तानको खुसीका लागि तिनलाई स्वीकार गर्ने पूर्ण प्रयास गर्छौं। परिवर्तन एकाएक हुन गाह्रो हुन्छ तर विस्तारै परिवर्तन हुँदै जान्छ।



मिडियाको भूमिका


टिभी सिरियल, सिनेमा तथा विज्ञापनहरूमा नारीप्रति पुरुषको उदार दृष्टिकोण स्पष्ट रूपमा देख्न पाइन्छ। आजभोलि टिभीमा देखाइने कतिपय विज्ञापनमा पुरुषलाई खाना बनाइरहेको, शिशुको नेपी परिवर्तन गरेको तथा वासिङ मेसिनमा कपडा धोइरहेको देख्न पाइन्छ। वास्तवमा यी प्रचारका माध्यम समाजका ऐनाजस्तै हुन्छन् जसमा हामी आफ्नो छवि स्पष्ट रूपमा देख्न सक्छौंं। विज्ञापन बनाउनेहरू पनि आजका पुरुष पहिलेको तुलनामा नारीप्रति बढी संवेदनशील छन् भन्ने कुरा राम्रोसँग बुझ्छन्। पुरुषले महिलाको समस्या बुझ्ने प्रयास गर्छन्। जहाँ एकातिर व्यक्तिको यही भावनालाई समेट्दै कम्पनीहरू आफ्नो प्रोडक्ट बेच्दैछन् भने अर्कातिर यस्ता विज्ञापनबाट समाजमा के सन्देश जाँदैछ भने वास्तवमै आजका पुरुषहरू नारीको खुसीको ख्याल राख्छन्।



लोभ्याउँदो केयरिङ छवि


परम्परागत धारणाअनुरूप नारी र पुरुषको व्यक्तित्वलाई अलग-अलग रूपमा प्रस्तुत गरिएको पाइन्छ। आमरूपमा महिलामा विनम्रता, सेवा एवं करुणाको भावना पाइन्छ। घरको कामकाज एवं शिशुको हेरचाहमा श्रीमतीलाई सहयोग गर्छन्। महिलाहरूका साथमा उनीहरूको व्यवहार अत्यन्त शालीन र सहयोगपूर्ण हुन्छ। मनोवैज्ञानिकहरूका अनुसार हरेक युवती आफ्नो भावी लाइफ पार्टनरमा यस्तै खुबी खोज्छन्। समयको आवश्यकतालाई बुझ्दै आजका युवाहरूले पनि आफूभित्र यी गुण विकसित गर्ने प्रयास गरेको पाइन्छ। यो एउटा सफ्ट स्किल हो, जुन पर्सनल मात्र नभई प्रोफेसनल लाइफमा पनि सहयोगी साबित हुनसक्छ।
साभार : ईकान्तिपुर 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis