मेरा एकजना मिल्ने मित्रले ‘जावलाखेलको कुनै वकिलको कार्यालयमा भैरहेको खास बैठकमा जाउँ, ठूलाबडा मान्छेहरु आउँछन्’ भन्यो । शनिवारको दिन परेकोले म उनीसंग गएँ । त्यहाँ एकजना व्यक्तिले बोर्डमा डल्लो बनाएर त्यस भित्र यू लेख्यो । त्यस डल्लाका तल, अर्को डल्लो बनायो । त्यसमा विश्वासिलो साथी भन्दै एफआर लेख्यो । अर्का पटि्ट अर्को डल्लो बनायो । परिवारको विश्वास पात्र भनेर एफएम लेख्यो । त्यस पछि एफआर र एफएम लेखेको तल पनि त्यसै गरी दुईदुईवटा डल्लाहरु थप्दै बीचमा एउटा धर्को तान्यो । माथी सिरानीमा राईटको आर र लेफ्टको एल भनेर लेख्यो । डल्लाहरु दाँयाबाँया दुबै तर्फ समान रुपले बढाउँदै लग्यो । दुबैतिर पाँचपाँच भएपछि जोडा मिल्छ र जोडा मिल्ने बित्तिकै चारसय डलरको चेक आउँछ भन्यो । त्यो चेक
कुनै पनि बैंकमा लगेर खातामा जम्मा गरे नेपाली रुपैयाँ त्यतिबेलाको लगभग ३७ हजार पाईने सपना बाँड्यो । त्यो सबै गर्नका लागि शुरुमै ३७५०० सय तिर्नु पर्ने अनि बिजनेश सेन्टर अपरेटर, बिसिओ इन्टरनेटमा खुल्ने प्राविधिक जानकारी दियो । त्यो पैशा वाफत, पुरातात्विक महत्वको नेपाल राष्ट्र बैंकले जारी गरेको सुनको असर्फी र त्यस असर्फीका साथमा रहेको सानो सर्टिफिकेट पनि देखायो । जसमा भुपू गर्भनर सत्यन्द्र प्यारा श्रेष्ठको हस्ताक्षरपनि थियो । जुन असर्फी कुनैबेला राष्ट्र बैंकले बेचेको थियो, अब पाउँदैन पनि भनियो । तर यतिबेला, सोही कम्पनीले बेचीरहेका लेडी डायना, महात्मा गाँधी, वुद्ध, भूटानको ड्रयागन र चुम्बकीय शक्तिबाट चल्ने गजबको घडीमा सोही सिक्काहरू जोडिएका अरु सिक्काहरु पाउने लालच बाँडियो । जुन सिक्काको न्यूमिस्मेटिक भ्यालू कालान्तरमा अत्यधिक मूल्य पाउने, पुरातात्विक महत्व हुने पनि भनियो । यो सबै सुनेर, म एकछिन छक्क परें ।
तर जसले त्यतिबेला रकम तिर्छन्, उनीहरुलाई वुद्धको तस्वीर, महात्मा गाँधीको तस्वीर भएको चारतोला सूनको असर्फी मात्र दिईने बतायो । छिट्टै राजा बिरेन्द्रको तस्विर भएको पनि माग गरिसकेको बतायो । त्यहाँ उपस्थित केहीले वुद्धको तस्वीर अंकित सुनको सिक्का भरखर पाएको पनि देखाए । कसैले महात्मा गाँधीको देखाए ।
मैले त्यसभन्दा दुई वर्ष अगावै दिल्लीमा एकजना मेरा पञ्जावी मित्र श्रवण नूरले, त्यस्तै कुनै खुफिया क्यामराको नेटवर्क मार्केटिंग गर्ने कार्यक्रममा लगेको कुरा याद भयो । त्यसमा पनि केही यस्तै विषय वस्तु थियो । उनले मलाई त्यसमा लाग्न भनेका पनि थिए । त्यतीबेला भारतमा त्यही खुफिया क्यामराले खिचेको कुनै सैनिक अफिसरको सेक्स स्क्यान्डलको कारणले तहल्का डटकमको खुब चर्चा पनि थियो । तर मैले नेपालमा त्यसको उपलब्धी नहुने देखेर भारतमा मात्र गर्न पाउने सो व्यापार नेपालमा गर्न ठीक ठानिन । मसंग त्यतिबेला मोदीको जागिरको पैशाले खान, लाउन र परेको बेला आवश्यक थोक किन्न पुगेको पनि थियो ।
मोदीकै जागिरको सिलसिलामा, दिल्ली जाँदा केही साबुन, स्याम्पू र टूथपेस्टहरु बेच्ने एमवे नामको कम्पनीका दिल्लीमा ठूल्ठूला होर्डिंगहरु लागेका र भारतमा एमवेले विधिवत कम्पनी खोलेको, भारतमा डाइरेक्ट सेलिंग एसोसिएन पनि खुलिसकेको कुरा हाम्रा रिजनल म्यानेजर आरएस चौहानले भनेका पनि थिए । उनले केही हदसम्म त्यसको थप जानकारी राखेकाले हामीले त्यो पद्धतीमा सबैजना लाग्ने पनि सोचेका थियौं । तर हामीलाई मोदीको कामले कहिल्यै फूर्सद पनि भएन । आम्दानी यति राम्रो थियो कि ती नेटवर्कले भन्दा बढी हामी कम्पनीको त्यस्तै खालको कानूनी सेल्स इन्सेन्टिभ कमाउँथ्यौं । संगै मेरो गारमेण्टको व्यवसाय पनि चलेकै थियो । त्यसैले दिल्लीमा सुनेका त्यी दुबै कुराहरु मेरा मित्रले लगेको जावलाखेलको कार्यक्रममा पुनः स्मरण गरेर बसें । केही प्रतिप्रश्न पनि गरें । लगभग दुई घण्टामा सपना देख्ने देखाउने कार्यक्रम सकियो ।
कार्यक्रम सकिए लगतै एकजना रामेश्वर नाम गरेको व्यक्तिले आफ्नो परिचय दिए । उनी खानेपानी विभागका निर्देशक थिए । विदाको दिन पनि विभागको पहेंलो प्लेटको रातो मारुती जिप्सीमा सवार भएर त्यो व्यक्तिगत काममा आएका थिए । मैले मेरो भिजिटिंग कार्ड दिएँ । उनले पनि दिए । त्यसको भोलीपल्टै उनी मेरो कार्यालय क्याम्प काठ्माण्डौं, माईतीघरमा फोन गरेर आए । आउने वितिकै मेरो नागरिकता नंबर सोधे । मैले ‘मसंग अहिले पैशा छैन पख्नुस्, म पैशा र नागरिकता एकै पटक दिन्छु । मलाई थप अध्ययन गर्न दिनुस्’ भनें । उनले मलाई त्यो कम्पनीको आधिकारिक वेभसाईट दिए । त्यसको नाम गोल्डक्वेस्टडटकम थियो ।
त्यतिबेला मेरो कार्यालयमा पनि इनेटको इन्टरनेट थियो । बजारमा भन्दा धेरै सस्तो । किन कि म स्वयं इनेटको मार्केटिंग कन्सल्टेण्ट भएर बजारमा ६ रुपैयाँ प्रति मिनेटमा बेच्दै गरेको वर्ल्डलिन्क र मर्कन्टाईलको बजारलाई १४४४ प्रति महिना अनलिमेटेड इन्टरनेट दिएर अघिल्लो वर्ष नै थुप्रै ग्राहकका लागि सुपथ बनाइदिएको थिएँ । मेरो कार्यालयमा पनि सोही लाईन थियो । एकहप्ता पुरै अध्ययन गरें । ठिकै लाग्यो । त्यसैबीच, रामेश्वर जी फेरी आएर ‘अब तपाइँको र्फम भरौं है’ भने । मैले ‘पैसा अझै दिन सकिन्न, केही दिन पख्नुस्’ भन्दा थुप्रै मान्छेहरु मेरा तल राख्ने तयारी भैरहेकोले मलाई चाँडै नेटवर्कमा आउन ललाईफकाई गर्न थाले । पछि लागे पनि राम्रो गर्न सकिने रहेछ । त्यसैले पछि लागेको व्यक्ति पनि सहजै माथिल्लो दर्जाको आम्दानी पाउन सक्ने कुरा बुझिसकेको थिएँ र हतार गरिन । अनि रामेश्वरले नै भन्दै नभनेको विश्वास गरे र मलाई त्यति पैसा लगानी गरिदिन्छु, एक महिनामा दिनु भने । देशभर द्वन्द मच्चिइरहेकोले मेरो हालतपनि अलि कमजोर नै थियो । लालचले मनमा डेरा पनि जमायो ।
ठूलो मान्छेले, पटकपटक धाएर त्यति भने पछि, मैले मेरो नागरिकता नम्बर दिएँ । उनले मेरो हस्ताक्षर पनि लिए । मेरो बिसिओ बन्यो भनेर कुनै नम्बर पनि दिए । त्यसको केही हप्ता पछि, बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा गोल्डक्वेस्टका नेट वर्करहरुको ठूलो भेला थियो । त्यसमा भारत र नेपालका लागि विशेष अधिकार प्राप्त कुनै कर्मचारी पनि थिए । पाँचसयको प्रवेश शुल्क तिरेर मलाई पनि रामेश्वर र रामेश्वरकी बहिनी रश्मी श्रेष्ठले हौस्याए । म पनि घाँटीमा पाँचसयको पास भिरेर बिआइसिसी छिरें । अहो, त्यहाँ भित्र हातमा मोबाईल भएका, टाइसूट लगाएका बाहेक अरु म जस्तै केही थिए । जब कि त्यतीबेला मेरो समेत निजी मोबाईल थिएन, पेजर थियो । अचम्मको भिड, खचाखच मान्छे । एकसे एक जानेमानेका, ठूला पदवाला, इन्जिनीयर, चिकित्सक, पत्रकार, सरकारी तथा गैरसरकारी संस्थानका कर्मचारी देखि लिएर सानातिना व्यवसायीहरु जस्लाई म राम्ररी चिन्थें, धेरैलाई भेटें ।
पुरै कार्यक्रमभरी भएका एकएक कुराहरु डायरी टिप्दै गएँ । कतिपय कुराहरु, मलाई अझै पनि याद छन् । मानिसहरुलाई हौस्याउनका लागि एकजना इन्द्र गुरुंगले अनेक थरी चुट्किला र प्रेरक लोक तथा लघु कथाहरु सुनाए । त्यसमध्ये एउटा कथा स्वर्गमा बस्ने मानिस र नर्कमा बस्ने मानिसका हातमा लामालामा चम्चा बाँधिएका, नर्कले हात खुम्च्याउन नसकेर खान नपाएर मर्न लागेका, तर स्वर्गकाहरूले एकअर्कालार्इ ख्वाएकाले हट्टाकट्टा र खुसी रहेको कथा पनि थियो । वास्तवमा मन छुने कथा थियो । मध्यान्तर भयो, खानाको समेत व्यवस्था थियो ।
तर खानाखाने ठाउँमा व्यवस्थापन फितलो थियो । खाना पनि पुगेन । भोकाएका टाइसूटधारीहरु, खानका लागि तँछाड मछाड गर्दै भित्री स्वभाव देखाइरहेका थिए । उता सहयोग र मित्रताको हुंकार भरेर त्यस्ता कथा सुनाउनेहरू केही सिता भात र मासुका चोक्टाका लागि लुछाचुंडी र टेबल फालाफाल गरिरहेका थिए । भएको सबै खाना रित्तियो, हामी संयम लिएर बसेकाहरु आखिर भोकै रह्यौं ।
त्यहाँ मानिसहरुले खान नपाउँदा व्यवस्थापन पक्षका नाईकेहरुको गाइँगुइँ कुरा काटेको पनि सुनियो । त्यसपछि मनमा अलि चस्को पस्यो । भोलीपल्ट रामेश्वरकी बहिनीले मलाई फोन गरेर पैसा माग्न थालिन् । दाईले एक महिना भित्रमा दिनु भनेकोमा बहिनीले १० दिन नबित्दै मागिन् । फेरी अर्को शंका उब्ज्यो । लगभग २० दिन अर्थात एकमहिना पछि रामेश्वरकी श्रीमतीले फोन गरिन् । मानौं मैले उनको कुनै सामान उधारो किनेको थिएँ र पैसा दिन नसकेकोले मारवाडीले तकादा गर्ने शैलीमा भनिन्, “तपाईंले अहिलेसम्म एउटा मान्छे पनि डाउनलाईनमा राखेन । पैसापनि दिएन । भोलीसम्म मान्छे नहाले पनि पैशा दिनु भनेर रिसाएर भनिन ‘नत्र बिसियो रद्ध गरिदिन्छु।’ मैले ‘हुन्छ भाउजू, रद्ध गरेर तपाईंको पैशा फिर्ता आउँछभने त्यै पैशा लिनु । तर म अझै यो काममा मान्छे हालिहाल्ने पक्षमा पनि पुगेको छैन र लगानी पनि गर्दिन । त्यो त रामेश्वर दाईले त्यसो भनेकोले मैले नाइ भन्न नसकेर वहाँले पैसा हालिदिन्छु’ भन्दा स्वीकारेको पनि वताएँ । भाउजूको शैली आक्रामक थियो ।
मैले तत्काल रामेश्वर दाईलाई फोन गरेर गुनासो गरें । थामथुम पार्न थालें । त्यसपछि थप शंका लाग्यो । मलाई दिएको बिसियोमा के के कुरा उल्लेख छ त भनेर त्यसको होमपेजमा हेर्न थालें । त्यो नम्बर छैन भनेर आयो । फेरी रामेश्वरलाई फोन गरें । मेरो नाम र नम्बर त छैन भन्छ नि । अनि केको पैशा तिर्नु भयो भनी सोधें । तपाईंको नाम बिसियोमा हुन्न, यूबिसीमा हुन्छ भन्यो । त्यो यूबिसी भनेको अनक्वालिफाईड बिजनेस सेन्टर रहेछ । जुन एक महिनाका लागि कम्पनीले नै उधारो दिएको । पाँचपाँच जना दायाँबायाँ मान्छे थप्न सकेमा त्यस पछि मात्रै सुनको सिक्का पाउने । पैसा तिर्नेले शुरुमै सुनको सिक्का पाउने र एकम्याच भए पछि चारसय डलरको चेक पाउने रहेछ । एकमहिना बितेपछि स्वतः रद्ध भएर जाने भएकोले मेरो पनि रद्ध भैसकेको रहेछ । तर, दाइभाउजू र बहिनीले धम्काएर नसक्दा ललाइ फकाइ यसले एकदिन मान्छे अवश्य हाल्छ र मालामाल भैइन्छ भन्ने ठानेर मलार्इ अनेक कार्यक्रममा प्रस्तोताको रूपमा लगि नै रहे । मेरो प्रस्तुति देखेर उनीहरू निकै खुसी थिए ।
तर मलाई पूर्ण विश्वास भयो, त्यो धन्दा नेटवर्कको नाममा सरासर ठगी हो । थप जानकारीका खोज्नका लागि मैले छम्दभेषी पत्रकारको रुप धारण गरें । नयाँ सडकमा गएर डिजिटल भ्वाईस रेकर्डर किनें र कम्मरपेटीमा मोबाईल बोकेको जस्तरी बोक्न थालें । एलजीको सो रेकर्डरले लगातार ८ घण्टासम्म रेकर्ड गथ्र्यो । तिनीहरुका हरेक कार्यक्रमहरु, काठमाण्डौ मात्रै होईन, चितवन, पोखरा, बुटवलसम्म आफ्नै गाडी लिएर पुगें । कतिपय ठाउँमा त मलाई उनीहरुले गरेको कार्यक्रमहरुमा मोटिभेटरका रुपमा बोल्न लगाए । पैसा पनि दिए । हो मा हो मिलाउँदै सावधान हुनुपर्ने कथाहरु सुनाउँदै हिडें । उफ्रिनु भन्दा अगावै खरायो र फट्यांग्राहरु खुम्चिने सन्दर्भ जोड्दा मलाई मञ्च दिनेहरु नै रिसाए । मैले त्यसो भनिदिनाले लाग्न भनेर पैसा बोकेर आएका मानिसहरु पनि सोचेर मात्रै लाग्छु भनेर गए । मनमनै खुसी लाग्थ्यो ।
लगभग एक सय भन्दाबढी त्यस्ता कार्यक्रमहरुका विभिन्न व्यक्तिहरुका आवाज सहितका प्रमाण जुटाइ सकेपछि मैले सरकारी निकायहरुसंग सोधखोज शुरु गरें । जहाँजहाँ गएँ त्यी रेकर्डहरू सुनाएँ । पहिलो भेट नेपाल राष्ट्र बैंक विदेश विनिमय विभागका निर्देशक कृष्ण बहादुर मानन्धरसंग भयो । गोल्डक्वेस्टको बारेमा पत्रकार आयो भन्ने सुनेर उनले भेटन मानेनन् । अनि पिए मार्फत म अन्तरवार्ता लिन आएको होईन । त्यसले कसरी ठग्छ भनेर धेरै कुरा पत्ता लगाएर त्यो रोक्ने सम्बन्धमा जानकारी दिन आएको हुँ भनेपछि उनले मलाई लगभग चार घण्टा समय दिए । त्यस भेटमा पत्ता लाग्यो कि सत्येन्द्र प्यारा श्रेष्ठको हस्ताक्षर रहेको सुनको सिक्काको वास्तविकता ।
खासमा उनी गर्भनर हुँदा जर्मनीको एमएस मार्लर एण्ट मिन्ट भन्ने मुद्रा छाप्ने कम्पनीलाई सुनको असर्फी बनाउने अनुमती दिएको रहेछ । त्यसको उत्पादनमा कुनै खोट देखिएकोले उक्त हस्ताक्षर भैसकेको अडर रद्ध गरेको । त्यसैले त्यहाँ गर्भनरको हस्ताक्षर सहितको प्रमाणपत्र पनि रहेको । तर राष्ट्र बैंकले रद्ध गरेको उक्त असर्फी सक्कली सुनको भएकोले अक्शन डटकममा राखेको । त्यहाँबाट गोल्डक्वेस्टका सञ्चालकहरुले किनेर त्यसको आडमा अरु पनि वुद्ध र महात्मा गाँधीका नक्कली सुनका सिक्काहरु बजारमा ल्याएको कुरा उनलार्इ थाह रहेछ । बुझ्दै जाँदा केही सिक्काहरु बनाउन बुटवलको कुनै बाँडालाई अडर दिएको पनि पछि प्रहरी अनुसन्धानबाट खुल्यो ।
त्यसरी राष्ट्र बैंकबाट उक्त कम्पनीलाई प्रतिबन्धित गर्नुपर्ने पत्र तयार गराएर अर्थ मन्त्रालय पठाउन लगाएँ । चलानी नम्बर लिएर अर्थ मन्त्रालय र त्यहाँबाट चलानी नम्बर लिएर गृह मन्त्रालयमा पत्र पठाउन लगाएर म भने हनुमान ढोकाका प्रहरी अधिकृतहरुलाई ठगी धन्दाका बारेमा बुझाउन थालें । गृहले प्रतिबन्दको घोषणा गर्नेभन्दा अधिल्लो रातमै तत्कालिन गोल्डक्वेस्टका मूख्य सञ्चालकहरुका घरघरमा प्रहरी भ्यान लिएर पुगें । सबैभन्दा पहिले रामेश्वर लाल श्रेष्ठ नै समातिए । उनी समातिएको हल्ला लगतै बहिनी रश्मी श्रेष्ठ, इन्द्र गुरूंग लगायत अधिकांश भाग्न सफल भए । त्यही रात मल्ल होटलमा बसेकी फिलिपिनो महिला र भारतीय नागरिक (नाम याद भएन) पनि समातिए । समातिएको बिहान गृहले प्रतिबन्द लगाएको समाचारसंगै त्यी समातिएका र फरार रहेका राजु तिलिजा लगायतका व्यक्तिहरुको पनि नाम उल्लेख थियो ।
यतिबेला त्यी १० वर्ष अगावैका नेटवर्क मार्केटिंगका नाममा ठग्नेहरुको याद ताजा हुनुको पनि कारण छ । त्यो कारण अगाडीका यादहरुमा कतै न कतै अवश्य खुल्ने छ ।
समग्रमा मल्टिलेबल सिस्टममा चल्ने एमवेको नक्कल गरेर सरलिकरण गरेको भन्दै बनाईएको बायनेरी नामको उक्त प्लान ठग्नका लागि सरलीकरण गरिएको एक नयाँ प्रयोग थियो । त्यस पछि त्यसैका ठगहरु नयाँ नयाँ प्रयोग लिएर पनि बजारमा आए । कसैले म्याट्रीक सिस्टम भने । कसैले बायनेरी र म्याट्रीक दुबै मिसाएर बनाए । कसैले एमवैकै जस्तो मल्टिलेवल पनि बनाए । तर अधिकांश बन्द भए । एमवेकै स्वरुपमा चल्ने कम्पनीहरु अहिलेपनि एमवे लगायत विश्व बजारमा सूचारु छन् । डेनमार्कमा मात्र त्यस्ता विश्व विख्यात कम्पनीका ११ वटा डेनिस डिएसएमा सूचीकृत छन् । डेनिस भाषामा Direkte Salgs Foreningen भनिन्छ । यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।
- पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क
साभार : http://www.nepalplus.com/archives/23687
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !