CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मुड अन!

मुड अन!

मुड अन!जस्तै दुःख–कष्टमा पनि हाँस्न सक्ने भनेर संसारमै कहलिएको जाति हो नेपाली। अभाव, गरिबी, प्राकृतिक प्रकोप र सारा प्रतिकूलताबीच पनि नेपालीको अनुहारमा मुस्कान छुट्दैन।
वैशाख १२ को शक्तिशाली भुइँचालोले धेरै थोक भत्काए पनि नेपालीको सहन गर्ने क्षमता भत्काउन सकेको छैन, संघर्ष गर्ने सामर्थ्य भत्काउन सकेको छैन। अहिले नेपालीहरू जीवनलाई सहज र सामान्य बनाउन लागिसकेका छन्। पीडा भुलेर रमाउन थालिसकेका छन्। धनबहादुर खड्का र अनिल यादवले जिन्दगीलाई पुनः स्वाभाविक लयमा फर्काइरहेका नेपालीका दिनचर्या अवलोकन गरेका छन्।
...
लाउडस्पिकरमा गीत बजिरहेको थियो– दिल हे पानी पानी।
मुड अन!गीतको तालमा झुमिरहेका थिए तन्नेरीहरू। कति एकअर्कालाई पानी छ्यापाछ्याप गरिरहेका थिए, कति आफ्नै सुरुमा पौडिँदै थिए। अनि कोही चिप्लेटी खेल्दै थिए। कृष्टि लामा र उनका साथीहरूले त्यो पौडी पोखरीलाई डिस्को बनाइरहेका थिए । त्यही हिन्दी गीतमा मस्त नाचिरहेका थिए।

महाभूकम्पपछि जनजीवन सामान्य लयमा फर्किरहेको जनाउ दिने दृश्य हो यो। भक्तपुर, साँगास्थित फन पार्कमा पुग्दा गएको शनिवार कम्तीमा हजारभन्दा बढी व्यक्ति 'फन' गरिरहेका थिए। भुलिरहेका थिए, भूकम्प र पराकम्पनका त्रासदी । त्यहाँको वातावरण यस्तो थियो, मानौँ देशले महाभूकम्प भोगेकै छैन। भूकम्पपछि प्रचण्ड गर्मीमा फेरिएको मौसमसँगै आफ्नो मनस्थिति फेर्न तन्नेरीदेखि वयस्कसम्म त्यहाँ पुगेका थिए।

'दिल हे पानी पानी'को तालसँग पानीमा कम्मर मर्काइरहेकामध्ये कृष्टिलाई सोधियो– त्रास हट्यो? आफ्नै तालमा रमाइरहेकी उनी लजाइन् र बिनाउत्तर बाहिर निस्किइन्। सँगै निस्कए उनका साथीहरू। स्विमिङ पुलको डिलमा बसेर उनीहरूले मोबाइलबाट तस्बिर खिचे। उनीहरूका गतिविधि पछ्याउँदै हामीले तस्बिर खिच्यौँ।

केही बेरपछि फेरि सोधियो– भूकम्पपछि रमाइलो गर्न निस्केको पहिलोपल्ट हो? कृष्टि बल्ल खुलिन्। उनले एक महिना लामो त्रासबाट पहिलोपल्ट मुक्ति खोज्दै आइपुगेको बताइन्। भनिन्, 'कति डराएर बस्नु? सबै मुड अफमा छन्। यो पार्क खुलेको छ कि छैन भनेर हेर्न आएको, खुलेको रहेछ।' सात जनाको हुल बाँधेर आएका उनीहरू त्यतिखेर चकित भए, जब पौडीपोखरीमा त सम्हालिनसक्नु मान्छे छन्।

पेप्सिकोला, काठमाडौँकी सिम्रन राई फन पार्क पहिलेदेखि नै आइरहन्थिन्। यसपल्ट उनलाई त्यो ठाउँ नौलो लाग्यो। भन्छिन्, 'लामो समय घरबाट ननिस्किँदा त यही दुनियाँ नि नौलो लाग्ने रै'छ।' घर वरिपरि नै एक महिना लामो समय गुजारेकी उनलाई सबै त्रासमा होलान्, त्यसैले कोही रमाइलो गर्दैनन् भन्ने लागेको थियो। तर, त्यहाँ पुगेपछि उनी पछुताएकी थिइन्, 'अस्ति आएको भए पनि हुने रहेछ, सबै रमाइलो गर्न थालेका रहेछन्। आफू मात्रै झोक्राएर बसियो।' उनको 'ग्याङ'मा छ जना थिए। बेलुका ५ बजेसम्म पानी छ्यापाछ्याप गरे, तस्बिर खिचे अनि मात्रै घर फर्किए।

भूकम्पले कतिका आफन्त खोसेको छ, कतिका घर भत्काएको छ। धेरैको मन नराम्ररी चर्काएको छ। पौडी पोखरीमै भेटिएकी काभ्रेकी रमिता सपाकोटाको पनि घर चर्किएको छ। तर, उनी चर्किएको मनमा लिउन लाउन त्यहाँ आइपुगेकी थिइन्.। भनिन्, 'घर कसको चर्किएको छैन, पीर कोसँग छैन? सधैँ रोएर भएन। जे हुनुथ्यो, भैहाल्यो।'

जस्तोसुकै दुःख र विपद्मा पनि हार नखाने जात मानिन्छ नेपालीलाई। महाभूकम्पले दिएका सारा दुःख पखालिने गरी पौडिँदै थिए, गौशालाका रमेश बस्नेत। सिन्धुपाल्चोकमा रहेको पुर्ख्याैली घर ध्वस्त भएको बताए। तर, उनी आफ्नी प्रेमिकासँग रमाइलो गर्न त्यहाँ पुगेको थिए। उनकै छेउमा एक जोडीले पानीमै सेल्फी खिच्यो। उनीहरूलेे सेल्फी खिच्दै गरेको दृश्यतिर हामीले पनि क्यामेरा सोझ्यायौँ। आफ्नो उक्त पोजिसनको तस्बिर खिचिरहेको देखेर उनीहरू लजाए। फेरि पानीमै रमाइलो गर्न थाले।

निर्धक्क ठमेल
राजधानीका धेरैको पीर, चिन्ता र तनाव बिसाउने मुख्य थलो हो, ठमेल। पर्यटकले समेत थोरै भए पनि रात्री जीवन चाख्न पाउने ठमेल भूकम्पपछि केही दिन सुनसान भएको थियो। साना गल्ली र ठूलठूला घर भएकाले मान्छेहरू भित्र छिर्न डराउनु स्वाभाविक थियो। यद्यपि, केही पुराना घरबाहेक भूकम्पमा क्षति कम बेहोर्ने ठाउँ यो पनि हो।

सोमवार साँझ कलंकी, काठमाडौँकी माया विष्ट पाँच वर्षीया छोरीसहित साथीहरूसँग ठमेलको फेसेज लाउन्ज एन्ड बारमा हाँसीखुशी खानपिन गर्दै थिइन्। भूकम्पको डरले धेरैले घरकै सेरोफेरो संसार बनाइरहेका बेला कलंकीबाट ठमेल पुगेकी विष्टले भनिन्, 'बच्चासहित मुड फ्रेस गर्नैका लागि बाहिर निस्केकी हुँ।' भूकम्प आयो वा आइरहन्छ भनेर घरमै अल्भि्कएर बसेर मात्रै केही नहुने उनको धारणा थियो। 'भूकम्पले क्षति नपुर्याकएको भवनमा भएका रेस्टुरेन्टमा बसेर खानपिन गर्नलाई डराउनु पर्दैन,' उनी निर्धक्क थिइन्। कलंकीमा बुटिक व्यवसाय गर्दै आएकी उनले आफ्नो पसल पनि खोलिसकेको बताइन्।

आफन्तको भरोसा
'डर जति पाल्यो उति हुर्किने रहेछ,' बाफल, काठमाडौँकी अस्मिता भण्डारीको अनुभव हो यो । उनी पनि ठमेलमै भेटिएकी थिइन्। मनमा डेरा जमाएर बसेको डर हटाउन उनी त्यहाँ पुगेकी थिइन्। 'घर भूकम्पका कारण कोल्टिएको छ,' उनले भने, 'आफन्तको घरमा बसिरहेकी छु। तर, पीरले टाउकोमा हात लगाएर घरमै बसेर हुँदैन।' ठमेलकै एक रेस्टुरेन्टमा साथीहरूसँग रमाइलो गर्दै थिइन् उनी। उनको मान्यता छ, 'जे भयो त्यसलाई बिर्सेर अब नयाँ तरिकाले अघि बढ्नुपर्छ।'

भूकम्पले पीर थुपारेर गएको छ। तिनलाई पन्छाएर मात्रै अघि बढ्न खोज्दा एउटा जीवन प्रशस्त नहुने धारणा सञ्जीव श्रेष्ठको छ। काठमाडौँ, अनामनगरस्थित भेटघाट रेस्टुरेन्टमा भेटिएका उनले ललितपुर पाटनस्थित पुर्ख्याैली घरलाई टेको दिएर राखेका छन् । भूकम्पले चर्किएको घरलाई उनी आफैँले काठ खाजेर टेको दिए। चर्किएको उनको मनलाई भने अनामनगर घर भएका उनका आफन्तले टेको दिइरहेका छन्। उनीसँगै रहेका रविन महर्जनले भने, 'उहाँलाई आजको स्थितिमा ल्याउन दुई हप्ता लाग्यो। जति बेला पनि 'के गर्ने अब' भनेर तनाव दिनुभयो। अहिले रमाउन थाल्नुभएको छ।' दुई हप्तादेखि आफन्तले सञ्जीवलाई विभिन्न ठाउँमा घुमाउने र उनीभन्दा पीडित बनेकाहरूको कुरा सुनाएर हाँसीखुशी जीवनतिर डोर्यातइरहेका रहेछन्। 'भूकम्पबाट प्रभावित बनेकालाई सक्दो रमाइलो वातावरणमा भुलाउन लैजानुुपर्छ,' रविनले भने।

ठमेलमै रहेको फुल मुन क्याफे एन्ड पबमा एक हुल युवायुवती पूरै टेबल ओगटेर रमाइरहेका थिए। लाइभ म्युजिक सुन्दै खानपिन गरिरहेका उनीहरूको अनुहारमा त्रासकोे धर्सो कतै देखिँदैनथ्यो। लाइभ म्युजिक प्रस्तुत गरिरहेको ब्यान्डले 'गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ' गाउँदा उनीहरू जोशिएर उफ्रिन्थे। त्यो उफ्राइमा दोहोरो नशा थियो, एउटा गीतको र अर्को मदिराको। सोही समूहका एक सदस्य सन्जोगले भने, 'डरलाई जित्ने भनेकै हामी जस्ता तन्नेरीले हो।' यही कारणले साथीहरू मिलेर रमाइलो गर्न निस्केको बताए। सन्जोगकै साथी रमिला पनि रमाइलो गर्ने वातावरण 'क्रिएट' गर्नैका लागि साथीहरू मिलेर फुल मुन आएको बताउँदै थिइन्। 'भूकम्प आउँछ भन्दै एक्लै बसेर डिप्रेस्ड हुनुभन्दा साथीहरूसँग रमाइलो गर्दै आ–आफ्नो नियमित काममा फर्किनुपर्छ,' रमिलाको मान्यता छ।

कामै रमाइलो
डीके मोबाइल इन्टरप्राइजेजका प्रबन्धक दीपेन्द्र पाण्डे ठमेलको एक क्याफेमा रमाइरहेका थिए। धुम्बाराही, काठमाडौँका स्थानीय बासिन्दा पाण्डेको घरलाई भूकम्पले कुनै असर पुर्याेएको छैन। न्युरोडमा रहेको पसल पनि सद्दे छ। 'मलाई खासै तनाव छैन, त्यही भएर रेस्टुरेन्ट खुल्न थालेदेखि खानपिनका लागि साँझतिर ठमेल आइरहेको छु,' उनले भने, 'सधैँ भूकम्पको डर र त्रासमा बसेर जीवन त चल्दैन नि। आउँछ कि भनेर डराउनुभन्दा सतर्क भएर दैनिक कामकाजमा फर्किनु राम्रो हुन्छ।'

हरेक मान्छे डर र चिन्ताले ग्रस्त छ। नयाँ काम आँट्ने कुरा त परै जाओस्, गरिरहेको काममा समेत फर्किन कठिन मानिरहेको छ। भूकम्पले नयाँ नेपाल निर्माणमा भाँजो हालिरहेको पाण्डेले बताए। 'सरकारलाई मात्रै केही गरेन भन्नु हुँदैन, हामीले आफ्नो काम मात्रै गर्यौँा भने पनि यो समयमा सरकारलाई सपोर्ट हुन्छ,' उनले सुझाव दिए।

सबै अवस्थामा काम तनावको कारक हुन सक्दैन। कामसँग पनि रमाइलो जोडिएको हुन्छ। कामले समेत डर–त्रास र पीर–चिन्ता भगाउन सहयोग गर्न सक्छ। ठमेलकै नशा डान्स बारमा नृत्य गर्ने कुमार लामाले भूकम्पपछि काममा 'इन्जोय' गरिरहेको बताए। उनले भने, 'घरमा एक्लै बस्नुभन्दा काममा आउँदा तनाव कम हुन्छ, साथीभाइ भेटिन्छन्। गफगाफ हुन्छ।' डान्स बार रहेको भवन सुरक्षित भएकाले उनले नियमित काममा आइरहेको बताए।

नशामै नृत्य गर्ने श्याम मोक्तानको त दोलखाको घर र रानीवनमा रहेको डेरा दुवै भूकम्पको मारमा परेका छन्। डेरा नजिकैको खाली ठाउँमा त्रिपालमा बस्दै आएका छन् उनीहरू। नियमित काममा आइरहेका छन्। उनले भने, 'घर र डेरा भत्किए भन्ने पीर कति गर्नु? अब नियमित काम गरेर पैसा कमाएर फेरि बनाउने हो।'

डान्सर आयशा राईलाई साथीहरूसँग बस्दा डर कम लाग्ने भएका कारण काममा आइरहेको बताउँछिन्। 'डान्स हेर्न खासै दर्शक नआए पनि आफैँ मिलेर नाच्दै रमाइलो गर्छाैं,' उनले भने, 'पहिलेभन्दा त्रास निकै कम भइसक्यो।' उक्त डान्स बारकै वेटर अञ्जली लामा लाउड म्युजिक बजाएर दाइ–दिदीहरू नाच्न थालेपछि डर भाग्ने बताउँछिन्।

त्रासले ठमेल पस्न धेरै हिचकिचाइरहेको नशाका सञ्चालक रमेश कार्कीलाई थाहा थियो। तर, उनले ठाने, 'पीरको समयमा मान्छेको मन बहलाउने ठाउँ समेत बन्द गर्नु हुँदैन।' उनले काम गर्ने स्टाफलाई समेत मन बहलाउन सजिलो होस् भनेर ग्राहक नहुँदा पनि राती दुई घण्टाका लागि डान्सबार सञ्चालन गर्ने गरिएको बताए। 'सबै स्टाफलाई गाडीमा राखेर डान्सबारसम्म ल्याउने र राती खाना खुवाएर पठाउने व्यवस्था गरिएको छ,' उनले भने।

मनोविद् तथा मनोचिकित्सकहरूले भूकम्पबारे आवश्यकताभन्दा बढी सोच्ने र एकोहोरो भएर भूकम्पबारे कुरा गरिरहने बानी छाड्न सुझाएका छन्। 'नियमित काममा व्यस्त बनाएर पनि आफूलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ। यो आफ्नो मनोवैज्ञानिक व्यवस्थापनको निजी उपाय हो,' वरिष्ठ मनोरोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले भने।

सन्तानका लागि घुमफिर
शनिवार दिउँसो ललितपुर, जावलाखेलस्थित चिडियाखाना पुगेका थियौँ। आफ्ना छोराछोरीसहित पुगेकी थिइन्, वनस्थली, काठमाडौँकी अस्मिता न्यौपाने। भूकम्पअघि निकै चकचक गर्ने छोराछोरी अहिले शान्त देखिएपछि उनी घरबाहिर लिएर घुमाइरहेकी छिन्। उनले भनिन्, 'छोराछोरी डराइरहेका छन्। घुम्न गएपछि आनन्द मान्छन्।' छोराछोरीलाई भूकम्पको त्रास देखाएर गल्ती गरेको महसुस हुँदै छ उनलाई। भनिन्, 'छरछिमेक जम्मा भयो, भूकम्पका कुरा गर्योा। यसले त छोराछोरीको दिमागमा उल्टो असर पारेको रहेछ।'

साँगास्थित पौडीपोखरीमै हामी तस्बिर खिचिरहेका थियौँ। बेन्चमा बसिरहेकी काठमाडौँ, कालोपुलकी सुनीता प्रधानले बोलाइन्। आफ्ना दुई छोरा र श्रीमान् पानीमा रमाइरहेको तस्बिर लिइदिन आग्रह गरिन्। उनका श्रीमान्ले छोरासँगै राखेर पोज दिए। हामीले भूकम्प बिर्सेर रमाइलो गर्न थालेको कति भयो भनेर सोध्यौँ। 'बच्चाहरू डराउन थालेपछि उनीहरूलाई भुलाउन हामी यसरी घुमिरहेका छौँ,' उनले भने। उनको पनि घर थोरै चर्किएको छ। शनिवारसम्मै पालमा बसिरहेका थिए उनीहरू। इन्जिनियरले 'बस्नलायक' ठहर्याउए पनि छोराहरू डराएपछि पालमै बसिरहेको बताए। उनले भने, 'पहिले उनीहरूको मन ढुक्क बनाएर घरभित्र पस्छौं।'

रमाइलो र उल्लास मान्छेको जीवनशैलीको अभिन्न अंगजस्तै भइसकेको छ। जसले तनावग्रस्त मनस्थितिलाई तरोताजा बनाउने काम गर्छ। जति धेरै मान्छे तनावमा हुन्छ, त्यति नै रमाउने वातावरण पनि जरुरी भएको नर्भिक अस्पतालका मनोचिकित्सक डा. दीपप्रकाश मल्ल बताउँछन्। भन्छन्, 'यस्तो अवस्थामा एक्लोभन्दा परिवारका साथ बस्दा र घुम्दा राम्रो हुन्छ। व्यायाम, खेलकुद र मनोरञ्जनमा लाग्नुसमेत उचित हुन्छ।' बालबालिकामा भूकम्पले पारेको असरलाई कम गर्न रमाइलो वातावरण सिर्जना गर्नुपर्ने उनको सुझाव छ।

खुला ठाउँमा मन खोल्दै
एक महिनाभन्दा लामो समय भूकम्पले दिएको त्रास भुल्न चाहनेको संख्या ठूलै छ। काठमाडौँ, दरबारमार्गस्थित शेर्पा मल र त्यो वरपरका क्याफेमा मेला नै लागेको थियो। मन खोलेर रमाउन खुला ठाउँ खोज्दै आउनेका कारण क्याफेरिना सामान्य अवस्थामा भन्दा खचाखच थियो। त्यसैगरी खुला ठाउँ र एकतले भवन मात्रै रहेका अनामनगरको बाजेको सेकुवा र भेटघाट रेस्टुरेन्ट जस्ता ठाउँमा पनि पहिलेको भन्दा भीड बाक्लो देखिन थालेको छ।

बाजेको सेकुवामा भेटिएका रमेश बस्नेतले भने, 'ठूलो भूकम्प आउँदैन भन्ने लागे पनि रमाइलो अर्न (गर्न) मनले सक्दो सुरक्षित ठाउँ खोज्ने हैछ (रहेछ)।' त्यसैगरी एकतले घरभित्र रहेको कमलपोखरीको एक डान्सबारमा पनि नाच हेर्नेको संख्या राम्रै थियो। तर, दरबारमार्गका सधैँ खचाखच हुने ठूला भवनमा रहेका रेस्टुरेन्ट, डान्स बार र दोहोरी साँझमा भने मान्छे पस्न सकेका छैनन्। माथिल्लो तलामा रहेका रमाउने स्थल पनि यतिबेला कमैको रोजाइमा परिरहेको ठमेलमा शनिवार राति देखिन्थ्यो।

दिनरात उस्तै चमकदमक रहने ठमेलमा अहिले प्रायः भुइँतला र एकतलामा मात्रै उज्यालो देख्न सकिन्छ। बानेश्वरको एलिना क्याफेमा भेटिएकी सम्झना सत्यालले भनिन्, 'एकतले छ, त्यसैमा अगाडि भाग्न मिल्ने ठाउँ छ। त्यसैले कफीका लागि अहिले हामी यहाँ आउने गरेका छौँं।' एक निजी कम्पनीमा कार्यरत उनी बानेश्वर चोकबाट सुरक्षित ठाउँ खोज्दै त्यहाँ पुगेकी थिइन्।

हल खुलेका छन्। तर, दर्शक छैनन्। विशेषगरी थुप्रै फिल्म हल सपिङ मलका माथिल्लो तलामा भएकाले पनि दर्शकले रमाइलोको यो विकल्प अपनाउन सकेका छैनन्।

शनिवार दिउँसो साढे २ बजे राजधानीस्थित कुमारी हल पुग्दा त्यहाँ दर्शकको बाक्लै उपस्थिति थियो। 'भूकम्पपछि यस्तो भीड आजै भएको हो,' त्यहाँ कार्यरत सेक्युरिटी गार्डले भने, 'आज अलि बढी छन्, झन्डै साढे तीन सय जतिले टिकट काटे होलान्।'

'कति भूकम्पसँग डराएर बस्नु? अब त रमाइलो गर्नुपर्छ,' शनिवार गोपीकृष्ण मुभिज, चाबहिलमा फिल्म हेर्न आएका असलराज घिमिरेले भने, 'अब जीवनलाई सामान्य बनाउनुपर्छ। पीडा र डरलाई भुल्नुको विकल्प पनि त छैन।' घिमिरेको दोलखामा रहेका दुवै घर भूकम्पले भत्काएको रहेछ। तर, उनको रमाइलो गर्ने मन र भविष्यका आशाहरू भत्किएका छैनन्। त्यहीँ फिल्म हेर्न आएका निरज उपाध्यायले भने, 'रमाइलो गर्न मन छ नि, तर भित्र पस्न डर लाग्छ। अँध्यारो कोठा छ। भूकम्प आएपछि कता भाग्नु? उसले (सँगै रहेकी केटीलाई देखाउँदै) भनेपछि आउनैपर्यो्।'

सधैँ तनाव लिएर बस्दा शरीरले बढी 'स्ट्रेस हर्मोन' रिलिज गर्ने र यस्तो हर्मन बढी रिलिज भएमा उच्च रक्तचाप हुने तथा मिर्गौला, मुटु र मस्तिष्कका तन्तुमा समेत असर पर्ने मनोविद्हरू बताउँछन्। आफूलाई भुलाउनतिर नलाग्ने हो भने त्रासले तनाव उत्पन्न गर्ने 'कोटिर्सोल'लगायत हर्मोन बढाउँछ। तनावले यस्तो हर्मोन निरन्तर बढाइरहने भएकाले मानसिक समस्यासहित अन्य गम्भीर खालका स्वास्थ्य समस्यासमेत आउन सक्नेतिर डाक्टरहरू सचेत गराउँछन्।

'ठमेलको रौनक फर्काउनु छ'

राम गिरी, रेस्टुरेन्ट व्यवसायी

मैले ठमेलमा रेस्टुरेन्ट व्यवसाय गर्न थालेको लामो समय भइसक्यो। राजदरबार हत्याकाण्डपछिको समय, जनआन्दोलन, संकटकाल आदिमा पनि ठमेलको रौनक कायमै थियो। ठमेल राती कति बजेसम्म खुल्नुपर्छ? र, यति बजेपछि बन्द हुनुपर्छ जस्ता विवादले यहाँको व्यवसायलाई असर पुर्यामउँदै आएको छ। यो नेपालको मुख्य पर्यटकीय केन्द्र हो भन्ने हामी सबैलाई थाहा छ।

वैशाख १२ गतेको महाभूकम्पपछि हामीमा थप नयाँ चुनौती थपिएको छ। सम्पूर्ण देश नै यो महाविपित्तबाट पिल्सिएको अवस्था छ। यस्तो बेलामा ठमेलको रौनकलाई पुरानै अवस्थामा फर्काउन व्यवसायीले धैर्यपूर्वक काम गर्न जरुरी छ।

ठमेलमा म अहिले फेसेज लाउन्ज बार र रकर्स रेस्टुरेन्ट सञ्चालन गरिरहेको छु। ठमेल सातदोबाटोमा रहेको रकर्समा विभिन्न थिमका रेस्टुरेन्ट सञ्चालनमा छन्। वैशाख १२ गते महाभूकम्प आउँदा म स्वयम्भूस्थित घरमा थिएँ। भैँचालोले घरमा कुनै क्षति नपुर्यामएपछि म तुरुन्तै ठमेल आएँ। रेस्टुरेन्ट भएका दुवै भवन सही सलामत देखेपछि गरेर खाने ठाउँ बचेछ भनेर खुशी लाग्यो। तर, साँघुरा सडक र घरैघर भएको ठमेलबाट धमाधम मानिसहरू सुरक्षित ठाउँतिर गइरहेका थिए। म भने रकर्स रेस्टुरेन्ट रहेको भवनको पहिलो तलामा रहेको फुल मुन क्याफे एन्ड पबको अवस्था नियाल्न थालेँ। फुल मुनमा एउटा गिलास र कप पनि महाभैँचालोको धक्काले ढलाउन सकेको थिएन। मैले फुल मुनका कर्मचारीसँग सल्लाह गरेर सम्भव भएजति साथीहरू जम्मा भएर दालभात र कुखुराको मासु पकाएर विदेशी पर्यटकलाई सर्भिस गर्ने निधो गरेँ।
वाल सिस्टमको पूरै घर भाडामा लिएर इन्जिनियरको सल्लाहअनुसार फलामका बिम तथा पिलर हालेर घर रिनोभेट गरिएकाले फुल मुन भएको घर केही हुन पाएन। ठमेलमा धेरै भौतिक क्षति नभएकाले पनि हामीले नियमित काम गर्न सक्यौँ। १२ गतेदेखि एक दिन पनि बन्द नगरी हामीले फुल मुनमार्फत ग्राहकलाई सेवा दिइरहेका छौँ। फेसेज चाहिँ केही दिन बन्द गरेका थियौँ। अहिले लाइभ म्युजिक पनि सुरु गरेका छौँ। राष्ट्रभक्तिका गीत सुन्दै ग्राहकले खानाको स्वाद लिन पाउनुहुन्छ। अहिले नेपाली ग्राहक पनि आउन थालेका छन्। फुल मुन पुरानै अवस्थामा सञ्चालन हुन थालिसकेको छ। ग्राहकहरू भूकम्पको डर र त्रास हटाउन रेस्टुरेन्ट आएको बताउनुहुन्छ। हामी केही समय भए पनि मन भुलाउन आउने ग्राहकलाई सक्दो सेवा गरिरहेका छौँ। फुल मुनमा काम गर्ने कर्मचारीहरूले पनि साथ दिइरहनुभएको छ। हामी अब बिस्तारै पुरानै अवस्थामा फर्किने कोसिस गरिरहेका छौँ।
साभार : शुक्रबार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis