CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राशी अनुसार तपाईंको गरिखाने बाटो !

राशी अनुसार तपाईंको गरिखाने बाटो !

राशीले निर्धारण गर्छ तपाईंको गरिखाने बाटोकाठमाडौं । वर्तमान युग प्रतिस्स्पर्धाको युग हो। यस युगमा विद्यार्थी र अभिभावकका लागि के कस्तो विषयको ज्ञान प्राप्त गरेर सजिलै रोजगारी र व्यवसायको मार्गप्रशस्त हुन्छ भन्ने बारेमा दुबिधा उत्पन्न हुन्छ। हुन त यस विज्ञान र प्रविधिको आधुनिकतम युगमा मान्छे सूचनाप्रविधिको सहयोग लिएर वा रोजगार/शैक्षिक परामर्शदाता वा नातागोताका अनुभवी र विद्वद्जनहरूबाट सल्लाह र सुझाव लिएर आफ्नो ज्ञान र सीप
बटुल्ने तथा पढ्ने बाटो तय गर्दछन्। अनि अध्ययन पुरा भएपछि वा अध्ययन अपुरो भैदिंदा पछुताउन र मनले इच्छाए झैं जागिर वा व्यवसाय नभेट्नाले गुनासो गर्ने गर्दछन्। उनीहरूलाई यो क्षेत्रमा जाँदा राम्रो हुन्थ्यो वा त्यो क्षेत्रमा जाँदा राम्रो हुन्थ्यो भन्ने सोच/चिन्ता बेलाबेलामा भैरहन्छ। आआफ्ना जागिर र व्यवसायमा सफल र प्रतिष्ठित व्यक्तित्वहरूको जन्मकुन्डलीउपर लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्रले गरेको अनुसन्धान र विश्लेषणबाट के पत्ता लागेको छ भने अधिकांश सफल व्यक्तिहरूले आफ्नो अध्ययन र रोजगारीको क्षेत्र राशी र लग्नानुकूल चयन गरेका थिए र त्यसकै परिणामस्वरूप उन्नतिको शिखर चुम्न सफल समेत भएकाहुन्।

मेषलग्न

(क्रोधी र महत्वाकांक्षी हुने गर्दछन् मेष लग्न भएका मानिसहरू)
मेष लग्नका जातक हेर्दा दुब्लापातला अर्थात् धेरै मोटो पनि होइन र अनि त्यति पातलो नै पनि होइन, तर भित्रबाट बलिया र कठोर हुने गर्दछन्। मेष लग्न चर लग्न हो अर्थात् चलायमान। यस्ता व्यक्ति एकै ठाउँमा अडिएर बस्न सक्दैनन् निरन्तर क्रियाशील हुनु यिनीहरूको स्वभाव जस्तै हुन्छ। लग्नको मालिक मंगल भएका कारणले सेनापति झैं अनुशासनप्रिय हुने गर्दछन्। यिनीहरूलाई कुनै पनि काममा चुप लागेर बस्न मन पर्दैन। यिनीहरू एकै पटक धेरैवटा काम प्रारम्भ गर्दछन्, प्रतीक्षा गर्न मन पर्दैन त्यसैले छिट्टै परिणाम प्राप्त नहुँदा कामलाई बीचमा नै छोड्ने प्रवृत्ति हुन्छ र यसै स्वभावका कारण कुनै पनि काम पूरा गर्न सक्दैनन्। मेष लग्नको अग्नि तत्त्व हुन्छ त्यसैले यस्ता मानिसलाई मसालेदार खानेकुरा मन पर्छ। मसालेदार भोजन गर्नाले यस्ता मानिसलाई पित्त र पेटसम्बन्धी समस्या हुने गर्दछ। यस्ता मानिसले आफ्नो खानेकुरामा मरमसला कम भएको भोजन उपयोग गर्नु पर्छ र जतिसक्दो धेरै पानी खानु पर्छ। अग्नि तत्त्व हुनाले यस्ता मानिसलाई अत्यधिक रिस उठ्छ तर जति छिट्टो रिस उठ्छ त्यति नै छिट्टो सेलाउँद पनि। यस्ता मानिसले आफ्नो क्रोधमा नियन्त्रण गर्ने प्रयास गर्नु पर्छ र धैर्य धारण गर्नु पर्छ, अन्यथा व्यर्थमा विरोधीको संख्या बढ्न थाल्नेछ। मेष लग्नको चिह्न भेडो हुन्छ जसरी भेडाले विचार नगरी आफ्नो शत्रुमा आक्रमण गर्छ त्यसरी नै मेष लग्न भएका मानिसहरू पनि सोच्दै नसोची, शत्रुको शक्तिलाई ख्यालै नगरी काम गर्दछन्। आफ्ना नातागोतामा सुमधुर सम्बन्ध कायम राख्न यस्ता मानिसले आफ्नो वाणी र व्यवहारमा विनम्रता ल्याउनु पर्छ। यिनीहरू अत्यधिक महत्वकांक्षी हुने गर्दछन्। आफ्नो महत्वकांक्षाको परिपूर्तिका लागि यिनीहरू निरन्तर मिहिनेत गर्दछन्। यस्ता मानिसलाई योजना बनाउन मन पर्छ, नेतृत्व गर्न चासो राख्छन् तर कसैको निर्देशनमा काम गर्न मन पर्दैन। मेष लग्नका जातक सफा मन भएका हुने गर्दछन् र जस्तै भए पनि भन्नु पर्ने कुरो अगाडि नै भन्छन्। यस लग्नका जातक पुलिस, सेना, फायरमैन, खेलाड़ी, धावक र साहसिक कार्यसँग नजिक हुन्छन्। अन्वेषणमूलक स्वभाव हुनाले ऊ अनुसन्धाता, ज्योतिषी, तान्त्रिक, मन्त्रविद् र खोजकर्ता पनि हुन्छ। त्यसैले गुप्तचर विभाग, पौडीवाज, चिरफारको चिकित्सक(सर्जन), ठेकेदार(कन्ट्र्याक्टर) जस्ता पेशामा पनि ऊ संलग्न हुनसक्छ। यस लग्नका व्यक्तिले पानी धेरै खानु पर्छ अनि आफूभित्रको आवेग र क्रोधलाई नियन्त्रित राख्नसक्नु पर्छ अनि मात्र आफ्ना कार्यक्षेत्रमा सफलता पाउन सक्दछन्। विपरीत परिस्थितिलाई आफूअनुकूल बनाउने क्षमता यस वर्गका व्यक्तिहरूमा देखिन्छ।

वृषलग्न

(सुन्दर वस्तुप्रति सजिलै आकर्षित हुने गर्दछन् बृष लग्न भएका मानिसहरू)
वृष लग्न शीतलस्वभाव, वातप्रकृति, नैसर्गिकरूपमा स्वार्थी, लोक व्यवहारमा निपुण, अर्द्धजल लग्नका रूपमा परिचित छ। बृष लग्नका जातकको होचो कद, तर आकर्षक व्यक्तित्व हुन्छ। स्थिर लग्न हुनाले यिनीहरूको स्वभाव स्थिरतायुक्त हुन्छ। यस्ता व्यक्तिले जस्तै भए पनि काम गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। राशि चिह्न गोरु भएका कारणले यस्ता व्यक्ति अत्यन्त मिहिनेती हुने गर्दछन् र निरन्तर काम गरी रहनु यिनीहरूको नैसर्गिक व्यवहार हो।यिनीहरूलाई फकाएर जे पनि गराउन सकिन्छ तर कर गर्दा यस्ता व्यक्तिले केही पनि टेर्दैनन्। अनि कसैको सहायता गर्दा आफ्नो पूर्ण शक्ति प्रयोग गर्दछन्। यस्ता व्यक्ति जिद्दी हुने गर्दछन्, यिनीहरूले आफ्नो जिद्दीपन त्याग्नु पर्छ। पृथ्वी तत्त्व हुनाले सहनशील हुन्छन्। अत्यधिक मिहिनेत गर्ने र निरन्तर नरोक्किइकन काम गर्ने आफ्नो बानीले यिनीहरू आफ्नो खुराकमा पनि ध्यान पुर्याउन सक्दैनन् र यस्ता मानिसलाई ग्यास्टिकसित सम्बन्धित रोग हुनसक्छ। कामसँग यस्ता मानिसले आफ्नो खानाखुराकीमा पनि ध्यान दिनु पर्छ। लामो समयसम्म भोको नबसेर बीचबीचमा थोरथोरै खानेकुरा खानुपर्छ। शुक्रको प्रभाव हुनाले आफ्नो कार्यस्थलमा यिनीहरू हरेक आधुनिक प्रविधिको उपयोग गर्दछन्। यिनीहरू आफ्नो पहिरनमा अलि धेरै ध्यान दिन्छन्। समयसँगै रहनसहनमा यिनीहरू परिवर्तन गरी रहन्छन्। योजनाबद्ध तरिकाले काम गर्न यस्ता मानिसलाई मन पर्छ। प्रत्येक वस्तुलाई उचित स्थानमा राख्नु, हातमा लिएको प्रत्येक काम पूर्ण गर्नु, प्रत्येक सुन्दर वस्तुप्रति सजिलै आकर्षित हुनु यस्ता मान्छेको विशेषता हो। संगीत, कला, चलचित्र, नाटक, ललितकला, राजनीति, धार्मिक क्षेत्र, सरकारी उच्च प्रशासक, प्रबन्धक, नेतृत्व आदि कार्यबाट यस लग्नका व्यक्तिहरूले सफलता प्राप्त गर्दछन्।
मिथुनलग्न
(बहुमुखी प्रतिभाका धनी हुने गर्दछन् मिथुन लग्न भएका मानिसहरू)
मिथुन लग्नमा बुधको प्रभाव हुन्छ। यस लग्नमा जन्मने मानिसहरू बहुमुखी प्रतिभाका धनी हुने गर्दछन्। यिनीहरूको मस्तिष्क सदैव विचारमग्न र गतिमान रहने गर्दछ त्यसैले हरेक समय केही न केही यिनीहरूको मस्तिष्कमा संचरण भई रहन्छ। यिनीहरूको व्यक्तित्वमा सुकोमलता र बालसुलभ क्रियाकलाप हुन्छ जसले सबैलाई आफूतर्फ आकर्षित गर्दछ। लग्नको मालिक बुध भएका कारणले गाह्रोभन्दा गाह्रो कामलाई पनि यिनीहरू आफ्नो बुद्धिकौशलले सजिलो तुल्याउँदछन्। जुन विषयमा जति गहिरो ज्ञान हुन्छ त्यसप्रति यिनीहरूको झुकाउ त्यति नै धेरै हुन्छ, त्यसैले गणित जस्तो कठिन विषयप्रति यिनीहरूको झुकाउ धेरै हुन्छ। यिनीहरूको ठट्यौलो स्वभाव हुन्छ कति पटक त मानिसहरूले यिनीहरूको ठट्टालाई सजिलै बुज्न सक्दैनन् र यिनीहरूसित रिसाउँछन् पनि। मिथुन लग्नका जातक मध्यम कदका हुने गर्दछन्। शारीरिक श्रम यिनीहरूको व्यक्तित्वको पाटो बन्दैन किनभने धेरजसो कामको व्यवस्थापन यिनीहरू बुद्धिकौशलले सम्पन्न गर्दछन्। द्विस्वभाव लग्न हुनाले यिनीहरूको स्वभावमा पनि दोहरोपन यवास्तवमा लचीलोपनद्ध हुन्छ। समयका अनुसार आफ्नो व्यवहारलाई परिवर्तन गर्नु अथवा हरेक परिस्थितिमा आफूलाई परिवर्तन गर्नु, वातावरणलाई आफूअनुसार परिवर्तन गर्नु वा स्वयं वातावरणअनुसार परिवर्तित हुनु यिनीहरूको स्वभावको विशेषता हुने गर्दछ। मिथुन लग्नको चिह्न स्त्रीण्पुरूषको जोडी, जसमा पुरूषको हातमा गदा र स्त्रीको हातमा वीणा छ, त्यसैले कहिले यस्ता व्यक्तिले कठोर स्वभाव र कहिले साह्रै कोमल व्यवहार लिने गर्दछन्। मिथुन लग्नका जातक एक्लै बस्न सक्दैनन्। यस्ता मानिसलाई साथीहरूसँग बस्न राम्रो लाग्छ। यिनीहरू हरेक आयु वर्गका व्यक्तिसँग मित्रता गर्न पनि सक्छन् र त्यसलाई निर्वाह गर्न पनि सक्छन्। यिनीहरू हरेक किसिमको वातावरणमा आफूलाई बदल्न सक्छन्। प्रत्येक किसिमको भोजन यस्ता मानिसलाई मन पर्छ। यिनीहरू मिश्रित प्रकृतिका भएका कारण यस्ता मानिसलाई रोग पनि मिश्रित अर्थात् धेरै किसिमका नै लाग्ने गर्दछन्। यस्ता मानिसले खानेकुरामा विशेष गरी घरभन्दा बाहिरको खानेकुराको परहेज गर्नु पर्छ। आफ्नो बहुमुखी प्रतिभाका कारण यिनीहरूले कतिपय क्षेत्रमा प्रसिद्धि हासिल गर्दछन्। यिनीहरूको व्यवहारिक ज्ञान राम्रो हुन्छ। कुनै पनि व्यक्तिबाट आफ्नो कुनै काम कसरी गराउनु पर्छ, त्यस्ता व्यवहार कुशलता यस्ता मानिसलाई राम्ररी आउँछ। हरेक चीजलाई सिक्ने र पाउने लालसा यिनीहरूमा हुने गर्छ। यिनीहरू खाली बस्न सक्दैनन्। हरेक समय व्यस्त हुनु र केही नयाँ गर्ने चाहना यिनीहरूमा हुने गर्छ। यिनीहरूको हँसिलो स्वभावले यस्ता मानिसलाई हरेक ठाउँमा लोकप्रिय बनाउँछ। मिथुन लग्नको जातकको स्वभाव मधुरभाषी, ठट्यौलो र आफ्न धारणा, विचार र आदेश अर्कामाथि थोपर्ने खालको हुन्छ। यस्तो मानिसले एउटा राम्रो सेल्सम्यान, व्यापारी, प्रबन्धक आदिको भूमिका निर्वाह गर्नसक्छ। यस्ता व्यक्तित्वहरू ठूलठूला योजनाविद् पनि बन्न सक्दछन्।

कर्कटलग्न

(कुनै कार्यलाई गर्ने अडान लिएपछि गरिकन छाडछन् कर्क लग्न भएका मानिसहरू)
जलतत्त्वयुक्त, शीतल र सौम्य स्वभावका मानिसको प्रायः कर्कट लग्न हुन्छ। लग्नमा चन्द्रमाको प्रभाव हुनाले यिनीहरू अति संवेदनशील हुने गर्दछन्। कर्क लग्न जुन जलतत्त्व हो, त्यसैले जसरी पानीले आफ्ना लागि बाटो आफैं बनाउँदछ त्यसरी नै कर्क लग्नका व्यक्तिहरू पनि आफ्नो काम फत्ते गरी छाड्छन्। यो चर लग्न हो त्यसैले निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो। यस्ता मानिसलाई जलीय स्थाननजिकै बस्न प्यारो लाग्छ। जाडो ठाउँमा बस्नु र ठण्डी वस्तुको सेवन गर्नु यस्ता मानिसलाई धेरै मन पर्छ। ठण्डी वस्तुको अत्यधिक सेवन गर्नाले यस्ता मानिसलाई कफसम्बन्धी समस्या हुन्छ त्यसैले यस्ता मानिसले गर्मी वस्तुको सेवन पनि गर्नु पर्छ। कर्क लग्नका जातक जसका साथ भावनात्मक रूपले जोडिन्छन्, तिनको सुरक्षा गर्नु आफ्नो जिम्मेबारी मान्दछन् तिनका लागि केही गर्न पनि तैयार रहन्छन् र जुन कुरा वा व्यक्तिसित शत्रुता हुन्छ तिनलाई बर्बाद गर्न बाँकी पनि राख्दैनन्। निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो, सुखसुविधा नगरी निरन्तर काम गर्नाले यिनीहरूको स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ। यस्ता मानिसले आफ्नो कार्यप्रणालीमा सुधार गर्नु पर्छ र थोरै समय सुखसुविधाका लागि पनि निकाल्नु पर्छ। कर्क लग्नका जातक पातला र मध्यम कदका हुने गर्दछन्। जसरी गंगटो यकर्क राशिको प्रतीक चिह्नद्ध जल र भूमि दुबै ठाउँमा समायोजन हुनसक्छ त्यसरी नै कर्क लग्नका व्यक्ति पनि हरेक परिस्थितिमा आफूलाई बदल्न सक्छन्। यिनीहरूको जीवनशैली ऐश्वर्यपूर्ण हुने गर्दछ। यस्ता व्यक्ति अत्यन्त धैर्यवान हुने गर्दछन्, गाह्रोभन्दा गाह्रो समयमा पनि डराउँदैनन्। यिनीहरू अत्यधिक भावनामय हुने गर्दछन् त्यसैले यिनीहरूको निर्णय कति पटक त गलत पनि हुनपुग्छ। यिनीहरूको स्वभावमा कति पटक त जिद्दीपन आउँछ। यस्ता मानिसले आफ्नो स्वभावको यस नकारात्मक पक्षलाई त्याग्ने प्रयास गर्नु पर्छ। कर्क लग्न भएका मानिसहरूको जिम्मेबारी सीधै टाउकामा नपुगुन्जेल यिनीहरू गम्भीर हुंदैनन् तर कुनै कामलाई गर्ने अडान लिए भने त्यसलाई चाहिं गरी छाडछन्। यस लग्नमा जन्मिएका जातकको जीवनमा आकस्मिक परिवर्तन आउँछ। यस लग्नका जातक संवदेनशील र भावुक हुने गर्दछन् र यिनले जीवनमा उतारचढावको सामना गर्नुपर्दछ। वनस्पति विज्ञान, बागवानी, प्रकृतिसँग सम्बद्ध कुनै विशिष्ट ज्ञान, मनोविद्, हास्यव्यङ्ग्यको कलाकार, जलसेनाको कर्मचारी वा त्यस्तै सामुद्रिक कामहरू, फोटोग्राफी आदि जस्ता काम यस लग्नका लागि सहज हुन्छ। कर्कट राशीका मान्छेले एउटाभन्दा बढी आयस्रोतको छनोट गर्नु, बारम्बार कार्यक्षेत्र फेर्नु र लागूपदार्थ र मादकपदार्थको सेवन गर्नु अति नै खराब हुन्छ र यस्ता मान्छेले जीवनमा अत्यन्त निराशा व्यहोर्नु पर्छ।

सिंहलग्न

(अत्यन्त तेजस्वी, आत्मविश्वासी र अनुशासनप्रिय हुने गर्दछन् सिंह लग्न भएका मानिसहरू)
गरमस्वभाव, अग्नितत्त्व, भ्रमणप्रिय र निर्जल लग्न हो, सिंह लग्न। सिंह लग्नका जातक अत्यन्त तेजस्वी र आत्मविश्वासी हुने गर्दछन्। अग्नि झैं नै ऊर्जावान हुने गर्दछन्, कुनै पनि कार्यलाई गर्न पछि पर्दैनन्। जुन काम प्रारम्भ गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। नीति बनाउन र त्यसलाई अमल गर्न यिनीहरू मन पराउँछन्। अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा आफूले निर्माण गरेको विधि, नियम र अनुशासनलाई राम्ररी पालना गर्ने र अन्यलाई पनि पालना गर्न लगाउने बानी हुन्छ। आफ्नो मानसम्मान यिनीहरूलाई धेरै मन पर्छ। यदि यस्ता मानिसले कुनै वाचा गरे भने पूर्णरूपले पालना पनि गर्दछन्। यस्ता व्यक्ति सबैसँग घुलमिल गर्न पनि सक्दैनन् र अरुले यिनलाई उस्तो मन पनि पराउँदैनन्। यिनीहरू आफ्नो स्तरअनुकूलका व्यक्तिहरूसँग बसउठ गर्न मन पराउँछन्। यो लग्न स्थिर लग्न भएकाले यिनीहरूको स्वभाव र व्यवहारमा पनि स्थिरता नै हुने गर्दछ। जुनसुकै कामलाई प्रारम्भ गरेपछि त्यसमा अन्त्यसम्म जोडिनु यिनीहरूको विशेषता हो।यस्ता व्यक्तिले अरु व्यक्तिसित जस्तो व्यवहार गर्दछन्, त्यस्तै व्यवहारको अपेक्षा आफ्ना लागि पनि होस् भन्ने चाहन्छन् र यस्ता नहुँदा रुखो व्यवहार देखाउन पनि पछि पर्दैनन्। सिंह लग्नको मालिक सूर्य हो, त्यसैले यस लग्नका व्यक्ति राजसी स्वभावका हुने गर्दछन्। सुखसुविधायुक्त जीवन मन पर्छ। अर्कालाई काम गर्न लगाउनु यिनीहरूलाई मन पर्छ, तर आफूचाहिं काम गर्दैनन्। राम्रै भए पनि अरुले गरेको काम यिनीहरूलाई मन पर्दैन। यस्ता मान्छे अरुको काम, विचार वा निर्णयमा छिट्टो सहमत हुंदैनन् तर आफ्नो अभिभावकत्व र संरक्षण स्वीकार्ने व्यक्तिलाई पूर्ण रूपले सहायता गर्दछन्। यस्ता व्यक्तिले मानसिक र प्रशासनिक काम राम्ररी गर्दछन्, शारीरिक काम गर्न यिनीहरूलाई मन पर्दैन। सिंह लग्नका व्यक्ति जुन कुरा वा व्यक्तिसित माया वा प्रेम अथवा मित्रता गर्दछन् उसमा केवल आफ्नो नै अधिकार भएको ठान्दछन् र यस्ता व्यक्ति ईष्र्यालु स्वभावका हुन्छन्। सिंह लग्नका जातक मध्यम कद र सन्तुलित व्यक्तित्वका व्यक्ति हुने गर्दछन्। यिनीहरूको शारीरिक गठन सन्तुलनयुक्त हुन्छ। यस्ता व्यक्ति दयालु प्रवृत्तिका हुने गर्दछन्, सबैका निमित्त समान व्यवहार यिनीहरूको मनमा हुन्छ। यस्ता व्यक्ति आफ्नो संस्कार र परम्परासित अलि धेरै जोडिएका हुन्छन्। तिनलाई पालना गर्नु यिनीहरूको स्वभाव हुन्छ। धेरै रिसाउनु र मरमसलायुक्त राजसी भोजन गर्नु यिनीहरूको स्वास्थ्यका लागि हानिकारक सिद्ध हुनसक्छ। आफ्नो खानेकुरा र क्रोधमा नियन्त्रण राख्नु राम्रो हो। यस्ता मानिसलाई पित्तसम्बद्ध रोगको कठिनाइ हुनसक्छ। धेरै पानीको सेवन गर्नुपर्छ। आफ्नो राजसी र ऐश्वर्यशाली जीवनशैलीमा नियन्त्रण राख्नु राम्रो हो। यस लग्नमा जन्मिएका मान्छे साहसी, स्पष्टवादी, धैर्यवान् र आत्मविश्वासी हुन्छन्। ख्याति प्राप्त लेखक, डाक्टर, क्यामिस्ट, प्रशासक र बौद्धिक कार्य गर्ने विद्वान् र दार्शनिक आदिमा सिंह लग्नको मुख्य भूमिका हुन्छ।

कन्यालग्न

(अत्यन्त बुद्धिमान, रचनात्मक र सफा मनका हुने गर्दछन् कन्या लग्न भएका मानिसहरू)
यस लग्नको स्वामी बुध ग्रह हो। कन्या लग्नमा उत्पन्न जातक मध्यम कदका हुने गर्दछन्। लग्नमा बुधको प्रभाव हुनाले यिनीहरू अत्यन्त बुद्धिमान हुने गर्दछन्। यिनीहरूको व्यक्तित्वले प्रत्येक व्यक्तिलाई आफूतर्फ आकर्षित तुल्याउँदछ।यिनीहरूको मस्तिष्क अत्यन्त रचनात्मक हुन्छ। सधं नवीनतम विचारलाई मनन गर्नु र त्यस्तै काम गर्नु यिनीहरूको स्वभाव हो। पृथ्वी तत्त्व हुनाले जसरी पृथ्वी सबैलाई धारण गर्दछ त्यसरी नै यिनीहरूभित्र पनि सहनशीलता पुर्ण रूपले भरिएको हुन्छ। यिनीहरू जतिसम्म सहन सकिन्छ, सहन्छन् र हरेक कुरालाई सहन गर्ने बानीले गम्भीर रोगलाई निम्त्याउँदछन्। वायु प्रकृति हुनाले यिनीहरू आफूलाई हरेक परिस्थितिमा बदल्न सक्छन्। जतिसुकै कठिन समस्या भए पनि यिनीहरू आफ्नो मानसिक सन्तुलन नियन्त्रित राख्न चाहन्छन् र समस्यादेखि डराउँदैनन्। यिनीहरू सबैलाई साथमा लिएर हिंड्ने प्रयास गर्दछन्। प्रत्येक व्यक्तिलाई खुसी पार्ने प्रयास गर्दछन् जुन कसैका लागि पनि सम्भव छैन। यिनीहरू साह्रै सफा मनका व्यक्ति हुन्छन्। यिनीहरू छलकपट जान्दैनन्, तर कुनै कार्यलाई गर्न जस्तो रणनीतिको आवश्यकता हुन्छ त्यसको उपयोग गर्दछन्। यिनीहरूलाई आफूसित जोडिएका प्रत्येक व्यक्तिले स्नेह गर्दछन्। प्रत्येक कामको लाभहानि विचार गरेर नै यिनीहरू काम गर्दछन्। यिनीहरूको आचरण शुद्ध र सफा हुन्छ। कसैप्रति पनि आफ्नो मनमा कुनै नराम्रो विचार राख्दैनन्। सबैलाई क्षमा गर्ने बानी, विपरीत परिस्थितिमा पनि धैर्य राख्ने र समस्याको समाधान गर्ने क्षमता आदिले यस्ता मानिसलाई विशिष्ट व्यक्तित्व बनाउँछ। यिनीहरू आफ्नो समस्या सबैलाई भन्दैनन् र जतिसुकै ठूलो समस्या भए पनि यस्ता मानिसलाई देख्दा यिनीहरू कठिनाइमा छन् भन्ने लाग्दैन। सबै खाले भोजन यस्ता मानिसलाई मन पर्छ। जीवनको एउटा कालखण्डमा यिनीहरू केही नयाँ खानेकुरा मन पराउँछन्, तर अर्को भागमा यिनीहरू आफ्नो खानेकुराप्रति अत्यन्त जागरूक हुनपुग्छन् र आफ्नो स्वास्थ्यलाई ध्यान राख्दै भोजन छान्छन्। यस्ता मानिसलाई गीतसंगीतको रुचि हुन्छ, जसलाई पूरा गर्न यिनीहरू आफ्नो घरमा पूर्ण व्यवस्था गर्दछन्। यिनीहरू आवश्यकता पर्दा सबैको मद्दत गर्दछन्। हरसम्भव सहायता गर्न यस्ता व्यक्ति तैयार रहन्छन्। द्विस्वभाव लग्न हुनाले यिनीहरू कहिलेकाहीं धेरै भावुक हुने गर्दछन्, अनि कहिले यत्ति कठोर हुनपुग्छन् कि अरु मानिसहरू छक्क पर्छन्। यस्ता व्यक्तिले सबैका लागि धेरै गर्दछन्, तर सट्टामा उचित व्यवहार नपाउँदा उदास र दुःखी हुनपुग्छन्। यिनीहरूको स्वभावमा अत्यन्त कोमलता र अर्काका लागि ममता हुने गर्दछ, तर स्वभावको यही कोमलता यिनीहरूको व्यक्तित्वको नकारात्मक पक्ष पनि बन्नपुग्छ, जुन अन्य मानिसले सदुपयोग गर्दछन्। हरेक कार्यलाई समयमा गर्नु र प्रत्येक वस्तुलाई त्यस्को सही स्थानमा राख्नु यिनीहरूको स्वभाव हो। लग्नेश बुध भएका कारण यस्ता व्यक्तिले भाषामा राम्रो पकड र वाणीको कुशलता अनि कुनै पनि कुराको तर्कपूर्ण तथ्य चाहन्छन्। कुनै पनि कुराको ठोस तर्कविना यस्ता व्यक्तिले त्यसलाई स्वीकार गर्दैनन्। प्रारम्भमा सबै कुरो सहनु र एक दिन अचानक रिस देखाउनु यस्ता मानिसका लागि र सामु हुने अर्को व्यक्ति दुबैका लागि घातक हुन्छ, त्यसैले समस्यालाई सुरुमा नै मेट्दै हिंड्ने बानी बनाउनुपर्छ। पुस्तकको अध्ययन गर्नु, पण्डित्याइँ गर्नु, वित्त र वाणिज्यको क्षेत्रमा काम गर्नु, लेखक, कवि, अध्यापक, सल्लाहकार, ज्योतिषी, कृषक र शोधकर्ता हुनु यस लग्नको विशेषता हुने गर्दछ, त्यस्तै यिनीहरूको आयातनिर्यात, एकाउन्टस, ढुवानी, खेलकुद, यातायात र ठेक्कापट्टा-दलाली आदिमा समेत रुचि हुने गर्दछ।

तुलालग्न

(नवीन चिन्तन, परीक्षण र भोगविलासिता मन पराउने गर्दछन् तुला लग्न भएका मानिसहरू)
तुला लग्नको स्वामी शुक्र भएका कारण व्यक्तिको व्यक्तित्वमा शुक्रको प्रभाव देखिन्छ। यस लग्नमा जन्म लिने व्यक्तिको ठूलो अनुहार, सुन्दर र विशाल आँखा, घुंघरु परेको कपाल, मध्यम कद र सामान्य शरीर हुन्छ। यिनीहरूको अनुहारमा एउटा विशेष आकर्षण हुन्छ, त्यसैले मानिसहरू यस लग्नमा जन्म लिने व्यक्तितर्फ आकर्षित हुन पुग्छन्। यिनीहरूको स्वभाव सौम्यतायुक्त हुन्छ किनभने यिनीहरूको स्वभावमा सबै कुरा सन्तुलित तुल्याई हिंड्ने बानी विद्यमान हुन्छ।यस्ता व्यक्ति जति सौम्य देखिन्छन् आवश्यकता पर्दा त्यत्ति नै कठोर पनि बन्न पुग्छन्। यस्ता मान्छे समान व्यवहार मन पराउने गर्दछन् र सबैलाई साथमा लिएर हिंड्ने प्रवृत्ति भएका कारण सबैसँग समान व्यवहार गर्दछन्। यस्ता व्यक्तिलाई भोग विलासका वस्तु उपभोग गर्न र किनमेल गर्न ज्यादा मन पर्छ। नवीन प्रविधि यस लग्नमा जन्म लिने व्यक्तिले मन पराउने गर्दछन्। यस्ता व्यक्ति नवीनतम चिन्तन र परीक्षण गर्ने यक्रिएटिवद्ध हुने गर्दछन् र संगीत, गायन, नृत्य, अभिनय आदि विषय मन पराउँछन् र यस्ता व्यक्तिका गुण पनि यस लग्नमा जन्म लिने व्यक्तिमा विद्यमान रहन्छन्। यस्ता व्यक्ति आफ्नो साजसज्जा र पहिरनमा विशेष रूपले ध्यान दिन्छन्। यिनीहरू राम्रो लाउने र मीठो खाने कुरामा सौकिन हुने गर्दछन्। यिनीहरूलाई वायुतत्त्व सम्बन्धी कठिनाइ हुने गर्छ। तुला लग्नका साथै शुक्र बलवान् हुँदा यिनीहरूको कामवासना तीब्र हुन्छ, साथै यिनले आफ्नो कार्यक्षेत्रमा चित्रकारिता, संगीत, नृत्य आदि रचनात्मक कार्यमा रुचि देखाउँदन्। यस्ता व्यक्तिको साथीभाइको सूचीमा विपरीत लिंगीको संख्या बढी हुने गर्दछ। यस्ता व्यक्ति आधुनिक वा परम्परागत जस्तो भए पनि हरेक वातावरणमामा छिट्टो समझौता गर्दछन्। प्रत्येक समयमा यिनीहरूको फरक रूप देख्न पाइन्छ। यस्ता मनिसहरूमा छिटो उत्तर दिने अद्भूत क्षमता हुन्छ। यिनीहरूमा राजसी रहनसहन, खानपान आदि गुण पाइन्छन्। यस्ता व्यक्ति राम्रो व्यापारी बन्ने गर्दछन्। यस्ता व्यक्ति एकै ठाउँमा अडिएर बस्न सक्दैनन्। यिनीहरूलाई प्रत्येक समयमा कुनैनकुनै कामको आवश्यकता हुने गर्दछ, नत्र यिनीहरूको समय आफ्नो रुचिलाई पूरा गर्न व्यतीत हुन्छ। यस्ता व्यक्ति आदर्शवादी हुने गर्दछन् र साहित्यप्रिय भएका कारण यिनीहरूको लेखन क्षमता पनि राम्रो हुने गर्दछ। यिनीहरूको वायु तत्त्व भएका कारण यस्ता मानिसहरूले प्रायशः योजना बनाउँदै गरेको भेटिन्छ तर त्यसमा कार्यान्वयन गर्न सक्दैनन्।
यस लग्नको मालिक शुक्र ग्रह भएका कारण यस्ता जातकले राजनीतिज्ञ, ज्ञानी, न्यायप्रिय, कहिलेकाँही घृणितकार्यमा समेत लिप्त हुने, गुप्तचर, धावक, चित्रकार, सुनार, महँगामहँगा वस्त्र र आभूषणको व्यापारी, गणितज्ञ, औषधी व्यवसायी वा डाक्टर भएर आफ्नो जीवनयापन गर्दछन्।

वृश्चिकलग्न

(राम्रो नेतृत्व शक्ति भएका हुने गर्दछन् वृश्चिक लग्न भएका मानिसहरू)
वृश्चिक लग्नमा जन्मने जातक अत्यन्त साहसी, उत्साही, पराक्रमी व उद्यमी हुने गर्दछन्। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा मंगलको प्रभाव देख्न पाइन्छ। यस्ता व्यक्ति अग्ला र पातला हुने गर्दछन्। स्वभावमा उग्रता भएका कारण नेतृत्व शक्ति राम्रो हुन्छ तर स्थिर स्वभाव भएका कारण जीवनमा स्थिरता हुने गर्छ। हरेक कामलाई अडिएर गर्दछन्। जल तत्त्व भएका कारण पानी जसरी कहिले अति नै शान्त र कहिले अति नै उग्र हुन्छ, त्यस्तै स्वभाव प्राप्त हुन्छ यस लग्नमा जन्म लिने व्यक्तिमा पनि। त्यसैले यिनीहरूले आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्छ किनभने प्रायशः यस्ता मानिसहरूले आफ्नै नोक्सान गर्दछन्। बिच्छुको चिह्न यस लग्नको प्रतीक हो, त्यसैले बिच्छुले पछाडिबाट ठुंगे झैं यिनीहरू पनि प्रतिशोधको भावनाले ग्रस्त भई पछि बदला लिन्छन्, जुन कहिलेकाहीं खतरनाक प्रमाणित हुन्छ। यस्ता व्यक्ति धेरै छिटो घुलमिल हुन्छन् र सबैमा आफ्नो स्थान बनाउँछन्। यस्ता व्यक्तिको स्मरणशक्ति राम्रो हुन्छ र केही पनि भुल्दैनन्। यस्ता व्यक्तिमा सहन शक्ति धेरै हुने गर्दछ। यस्ता व्यक्तिलाई चटपटे खानेकुरा मन पर्छ। तर यिनीहरूले अमिलो र पिरो खानेकुरा नखाँदा राम्रो हो, यसबाट शरीरमा पित्त प्रकृति बढ्नाले कठिनाइ हुनसक्छ। स्वभावले रिसाहा भए पनि यिनीहरू मनका नरम हुन्छन्। यिनीहरूलाई व्यवस्थापन मन पर्छ। अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा उदारताको गुण पनि प्राप्त हुन्छ। यस्ता व्यक्ति चंचल मस्तिष्क भएका र धेरै भावुक प्रकृतिका हुने गर्दछन्, त्यसैले यिनीहरूलाई ससाना कुरा बिज्छन्। यिनीहरूले आफ्नो भावनामा नियन्त्रण गर्नुपर्छ र समयमा भोजन गर्नु पर्छ। यिनीहरूको हातमा व्यवस्थापन हुँदा त्यसलाई राम्ररी सम्हाल्दछन्। यस्ता व्यक्ति दृढनिश्चयी हुने गर्दछन् त्यसैले आफ्नो निर्णयमा अडान लिन्छन्। कहिलेकाहीं यस्तो प्रकृति हानिकारक पनि प्रमाणित हुन्छ किनभने यस्ता मानिसहरू आफ्नो गलत निर्णयमा पनि स्थिर रहन्छन्। यिनीहरूले कुनै प्रिय वा वरिष्ठ साथी र नातेदारले सम्झाइबुझाइ गरेमा आफ्ना निर्णयलाई पुनरावलोकन गर्नुपर्छ। जति प्रतीक्षा गर्नुपरे पनि यस्ता मानिसहरू योजनाबद्ध तरिकाले काम गर्दछन्। यिनीहरूमा धैर्यता र संयमता प्रशस्त हुने गर्दछ। यिनीहरूको साहसिक कार्यमा गहिरो रूचि हुन्छ। सैन्यसेवा, रहस्यात्मक विषय, ज्योतिष, तंत्र-मंत्र, दर्शनशास्त्र, मनोचिकित्सा आदि क्षेत्रमा यस लग्नका व्यक्तिहरू सफल हुन्छन्। यिनीहरू राजनीतिका असल खेलाडी र कूटनीतिज्ञ पनि बन्न सक्दछन्।

धनुलग्न

(धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन् धनु लग्न भएका मानिसहरू)
यस लग्नका जातक सिद्ध स्वभावयुक्त, पित्तप्रकृति र अधिकार प्रिय हुन्छन्, ज्ञानसम्बन्धी विषय र धार्मिक क्रियाकलाप यिनीहरूको रुचिको क्षेत्र हो। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा देवगुरु बृहस्पतिको प्रभाव देख्न पाइन्छ, त्यसैले यस्ता मानिसहरू आस्तिक हुन्छन् र दर्शनशास्त्रमा रूचि राख्दछन्। यिनीहरूको छाती पुष्ट र ठूलो हुन्छ र मोटो शरीरका साथै कद सामान्य हुन्छ। यिनीहरूको कफ प्रकृति भएका कारण धेरै छिटो मौसमी परिवर्तनको प्रभाव पर्दछ, यिनीहरूले सादा पानी र आयुर्वेदिक दबाइको प्रयोग गर्नु उचित हुन्छ। यस्ता व्यक्तिको आध्यात्म र ज्योतिषप्रति रूचि हुने गर्दछ। यस्ता व्यक्ति सबैभन्दा श्रेष्ठ, ज्ञाता र बुद्धिमान् हुने गर्दछन्। चिनामा देवगुरु बृहस्पति बलियो स्थितिमा छ भने त यस्ता व्यक्तिमा आफ्नो ज्ञानका सम्बन्धमा अहंकार पनि हुन्छ, अनि स्वयं आफै आफ्नो ज्ञानको बखान गर्न मन पराउँछन्। यस्ता व्यक्ति आफ्नो कुरामा गम्भीर हुन्छन्, धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन्। यस्ता मानिस राम्रो सल्लाहकार बन्न सक्छन्, तर यिनीहरूले कसैले नमागी सल्लाह दिंदै हिंडनु हुंदैन, यसो गरेमा आलोचनाको पात्र हुनु पर्नेछ। यिनीहरूको वित्त व्यवस्थापनसम्बद्ध सल्लाह राम्रो हुन्छ, यस्ता मानिसहरूले आम्दानीखर्चको हिसाबकिताब राम्ररी राख्न सक्छन्। यस्ता व्यक्तिमा निरन्तर आफ्नो लक्ष्यप्रति केन्द्रित रहने गण हुन्छ र जबसम्म त्यसलाई प्राप्त गर्दैनन्, तबसम्म शान्तिले बस्दैनन्। यस्ता व्यक्ति प्रत्येक समयमा प्रसन्नचित्त अवस्थामा रहन्छन्। यस्ता व्यक्तिको ज्यादातर रूचि आफ्नो पारम्परिक व्यवसायलाई अघि बढाउनुमा हुन्छ।यिनीहरूमा दूरदर्शिताको गुण पनि पाउन सकिन्छ त्यसैले यिनीहरूको कार्यमा हानिको मात्रा कम हुन्छ। यस्ता मानिसहरू ईश्वरप्रिय भएका कारणले गलत कामबाट टाढा बस्न चाहन्छन् र कहिलेकाहीं चिन्तित पनि हुनपुग्छन्। यस लग्नमा जन्म लिने व्यक्ति आदर्शवादी हुनाले उत्साही हुन्छन्। यिनमा छलण्कपटको भावना हुँदैन। यिनीहरू गुलियो र मिठो खानेकुरामा धेरै चासो राख्छन्, त्यसैले यस्ता व्यक्ति मोटा हुने गर्दछन् तर यिनीहरूले गुलियो पदार्थको सेवन घटाउँदा स्वास्थ्य सबल हुने देखिन्छ। कहिलेकाहीं अन्य मानिसहरूले यिनीहरूलाई अर्काका विरुद्ध भडकाउने प्रयास गर्दछन्, तर यस्ता मानिसहरूले आफ्नो सुझबुझ र समझदारीको परिचय दिंदै यी कुरामा वास्ता गर्दैनन्। यस्ता मानिसहरू इमानदार र धनसंयमी हुने गर्दछन्, त्यसैले लेखा र व्यवस्थापनको कलामा यिनीहरू प्रवीण हुन्छन्। समाजसेवी, कथावाचक, कर्मकाण्डी, सम्मानको आकांक्षा राख्ने, ड्राइभर, भूगर्भविद्, साहित्यकार आदि हुनु यस लग्नको वैशिष्ट्य हो।

मकरलग्न

(हँसिला, खर्चिला र समझदार हुने गर्दछन् मकर लग्न भएका मानिसहरू)
यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। शनिको सम्पूर्ण गुणदोष यस लग्नमा विद्यमान हुन्छ। यिनीहरूको आँखा गहिरो र सुन्दर हुन्छ।यिनीहरूको कद अग्लो तर शरीर पातलो हुने गर्दछ। मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ। यस्ता मानिसहरू जति मिहिनेती हुने गर्दछन्, कहिलेकाहीं त्यति नै अल्छी पनि हुनपुग्छन्। यस्ता व्यक्ति दृढ़ निश्चयी र संयमी हुने गर्दछन्। जीवनमा आइपर्ने बाधासित डराउँदैनन्, बरु तिनलाई डटेर सामना गर्दछन्। यस्ता मानिसहरूले बदला लिनु पर्यो भने पछि पर्दैनन्। यिनीहरू हँसिला हुन्छन् र अर्काको सक्दो मद्दत गर्दछन्। खर्च गर्न हिचकिचाउँदैनन्, तर जीवनयापनमा सरलताका निम्ति यिनीहरूले बचत गर्ने बानी बसाल्नुपर्छ। यस्ता मानिसहरूमा थोरै समयमा जस्तोसुकै परिस्थितिमा पनि आफूलाई परिवर्तित तुल्याउन सक्ने गुण हुन्छन्। यिनीहरू जीवनमा प्रशस्त इच्छा गर्दछन् र यिनीहरूका तीमध्ये अधिकांश इच्छा पूर्ण पनि हुन्छन्। यी निहुरिएर र आँखा झुकाएर हिंड्ने गर्दछन्। यस लग्नमा जन्म लिने व्यक्तिको ठूलो टाउको र लामो नाक हुन्छ। आफूसामुको मानिस जति बुज्जगी हुन्छ, यस लग्नमा जन्म लिने व्यक्ति त्यति नै समझदार हुन खोज्छन्। यस्ता व्यक्ति नराम्रा विचार सहन गर्न सक्दैनन्। हरेक विषयमा यिनीहरूको रूचि हुन्छ र हरेक क्षेत्रमा सफलता पाउन खोज्छन् अनि मिहिनेत र लगनशीलताले सफलता हासिल पनि गर्छन्। यिनीहरूले न्यायिक क्षेत्रमा चासो राख्छन् र कहिले कसैलाई धोका दिंदैनन्। यस्ता व्यक्ति असफल भएमा धेरै छिटो निराश हुनपुग्छन् तर केही बेर एकान्तमा बसेपछि सोचविचार गरेर निराशाबाट मुक्त हुन्छन्। यस्ता व्यक्ति फाल्तु कुरामा अल्मलिदैनन् र भविष्यप्रति सचेत हुन्छन्। यस्ता मानिसहरू परोपकारी हुने गर्दछन् र अनुशासन मन पराउँछन्। आफ्नो सिद्धान्तलाई निर्वाह गर्दछन्। धैर्य र अनुशासन यस लग्नको गुण हुने गर्दछ। यस लग्नका जातक राजनीति, रङ्गमञ्च, लागुपदार्थ वा मादक पदार्थको क्रयविक्रयकर्ता, उच्च सरकारी पदाधिकारी, श्रेष्ठ पौडीवाज आदि हुने गर्दछन्।

कुम्भलग्न

(आफ्नो काममा अर्काको हस्तक्षेप मन पराउँदैनन् कुम्भ लग्न भएका मानिसहरू)
कुम्भ लग्नको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। यस्ता व्यक्ति अग्ला, पातला, सुन्दर र आकर्षित हुन्छन्। कम्मर थोरै झुकेको वा अलिकति निहुरिएर हिंड्नु यिनीहरूको बानी हुन्छ। यिनीहरूको आँखा गहिरो हुने गर्दछ र तल हेरेर हिंड्छन्। यस्ता व्यक्ति सफा मन भएका र महत्त्वकांक्षी हुने गर्दछन्। आफ्नो कामा कसैको हस्तक्षेप सहन सक्दैनन्। यस्ता व्यक्ति परोपकारी र उँदार हुने गर्दछन्। यस्ता व्यक्तिमा चिडचिडे स्वभाव पनि हुने गर्दछ र सामूहिक भावना हुन्छ। त्यसैले यस्ता मान्छेका पनि धेरै हुन्छन्। यिनीहरू धेरैजनाको अघिपछि हिंडडुल गर्दछन्। प्रत्येक समयमा पछिे बसेर काम गर्न मन पराउनाले यस्ता व्यक्तिले आफूले गरेका कामको जस पनि पाउँदैनन्। यस्तो मान्छे अलि लजालु स्वभावको हुन्छ। त्यसैले भीडभाडमा र धेरै जना भएको ठाउँमा आफ्ना कुरा भन्न सक्दैनन्। जीवनमा सफलताका लागि यिनीहरूले खुलेर आफ्ना कुरा राख्न सक्नुपर्छ। यस्ता व्यक्ति जति लेख्न सक्छन्, यिनमा त्यति वाक्कौशल हुंदैन, यिनीहरूलाई धेरै छिटो रिस उठ्छ, जति छिटो रिसाउँदन् त्यत्ति नै छिटो शान्त पनि हुन्छन्। यस्ता व्यक्तिको साहित्यमा रूचि हुन्छ र राम्रो साहित्यकारका रूपमा पनि अगाडि आउँदन्। यिनीहरूले आफ्नो व्यवहारमा थोरै परिवर्तन गर्नु पर्छ। अर्काको कुरा सुन्ने र आफ्ना कुरालाई खुलेर बोल्ने बानी बसाल्नु पर्छ। यस्ता व्यक्ति कठोर परिश्रमी हुने गर्दछन् तर कहिलेकाहीं अल्छी पनि हुनपुग्छन्। यिनीहरूले आलस्यलाई त्यागेर कार्यक्षेत्रमा निरन्तरता दिनु राम्रो हो।यस्ता व्यक्ति विषयको गहिराइमा डुबेर सोच्दछन् र यिनीहरूको सोच अन्य मानिसहरूको सोचभन्दा भिन्न हुन्छ त्यसैले मानिसले यिनीहरूको कुरालाई सजिलै बुझ्दैनन्। यस्ता व्यक्ति अध्यात्मका प्रति रूचि होस् भन्ने चाहन्छन् र यिनीहरूको दर्शनशास्त्रमा पनि विशेष रूपले रूचि हुन्छ र आफ्नो दिनचर्यामा पनि त्यसलाई समावेश गर्दछन्। यस्ता व्यक्ति धेरै मन्द गतिका र संघर्षशील हुने गर्दछन्। यस्ता व्यक्तिमा सबैभन्दा भिन्न व्यवहार र संयमशीलता हुने गर्छ। कहिलेकाहीं यिनीहरूको स्वाभिमान अहंकारमा परिवर्तित हुन पुग्छ।अतः प्रत्येक समयमा आफ्नो स्वाभिमानलाई महत्त्व दिनहुँदैन।कहिलेकाहीं अर्काको खुसीलाई पनि ध्यानमा राखेर काम गर्नुपर्छ। गुप्तविद्याको अध्ययन गर्ने, शोधकर्ता, राम्रो सल्लाहाकार, चित्रकार, राजनीतिज्ञ, नयाँ मार्गदर्शन गर्ने, धर्मज्ञाता, प्रोफेसर, समाजसेवी वा कुनै मंदिर र मठको मठाधीश आदि हुनुमा कुम्भ लग्नको महत्त्वपूर्ण भूमिक हुन्छ।

मीनलग्न

(राम्रो वक्ता, गुरु र सल्लाहकार हुने गर्दछन् मीन लग्न भएका मानिसहरू)
मीन लग्नका जातकहरूको एउटै हुन्छ – जसरीतसरी ऐशोआराम जिन्दगी बाँच्ने। यस लग्नका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन्। मीन लग्न भएका व्यक्तिको व्यक्तित्व गुरुसमान हुन्छ। मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा र थोरै मोटोपन हुने गर्दछ। यस्ता व्यक्ति थोरै जिद्दी, धार्मिक र संयमी हुने गर्दछन्। गुरुसमान आदर र सम्मान पाउने गर्दछन्। धेरै छिटो मानिसहरूमाझ आफ्नो स्थान सुरक्षित तुल्याउँदछन्। अनुहारमा एउटा तेज हुन्छ। यस्ता व्यक्ति राम्रो वक्ता, गुरु र सलाहकार बन्ने गर्दछन्। अलिकति पारम्परिक हुने गर्दछन्। यिनीहरूलाई सजिलै रिस उठ्दैन, तर रिसाएपछि कसैले नियन्त्रण गर्न सक्दैन। यस्ता व्यक्ति गम्भीर हुने गर्दछन् र सबै कुरा बिर्सन सक्छन् तर आफ्नो परम्परा र सिद्धान्तलाई बिर्संदैनन्। धर्मका विरूद्ध आफूपनि केही गर्दैनन् अर्कालाई पनि गर्न दिंदैनन्, थोरै महत्वाकांक्षी पनि हुने गर्दछन्। यिनीहरूलाई स्वतन्त्रता मन पर्छ, तर आफूभन्दा ठूलाद्वारा गरिएको निर्देशनलाई पालना गर्दछन्। अलिकति लोभी पनि हुन्छन्, तर आफ्नो स्वार्थमा खर्च गर्न पछि पर्दैनन्। आत्मविश्वासी हुन्छन् र आफ्नो आत्मविश्वासका कारणले नै सफलता र सम्मान प्राप्त गर्छन्। धार्मिक ग्रन्थ र साहित्यप्रति यिनीहरूको रूचि हुन्छ र राम्रो गुरु बन्न समर्थ हुन्छन्। प्रायशः मानिसहरू आफ्ना समस्या देखाउँदै यस्ता मानिसहरूकहां आउँदन् र यीसँग सल्लाह प्राप्त गरी खुसी हुने गर्दछन्। धार्मिक कार्यमा धन खर्च गर्न पछि पर्दैनन् तर धनसंचय गर्ने कला पनि यिनीहरूमा हुन्छ। आफ्नो कार्यलाई गर्न दक्ष र दृढ़ निश्चयी हुने गर्दछन्। यसै कारण कार्यलाई समयभन्दा पहिले नै गर्नु यिनीहरूको विशेषता हो। यस्ता व्यक्तिले सम्मान गर्न राम्ररी जान्दछन्। यस्ता व्यक्ति आफ्नो उमेरभन्दा ठूलठूला अर्थात् परिपक्व कुरा गर्दछन्, श्रवणयोग्य र रमणीय हुन्छ। यिनीहरूको कार्यप्रणाली सादा र सरल हुन्छ तर यस्ता व्यक्ति प्रायशः ज्ञान बाँड्दै जीवन बिताउँदछन्। व्यापार र वाणिज्य कर्ममा निपुण, बौद्धिक कार्य गर्ने, पर्यटनव्यवसाय, समाजसेवी, कर्मकाण्डी पण्डित, शैक्षिकसंस्थाको प्रमुख वा संस्थापक, प्रवचनकर्ता आदि कार्यमा दक्ष व्यक्तित्वहरूको प्रायः मीन लग्न हुने गर्दछ।
यसमा मुख्यतया मेषदेखि मीनसम्मका १२ वटा लग्नका आधारमा व्यवसायिक क्षेत्रको निर्धारण गरिएको छ, राशीगणना चन्द्रमाका आधारमा पूर्वीय ज्योतिषशास्त्रबमोजिम नाम (न्वारानको नाम)का आधारमा गरिएको भए त राशीका आधारमा पनि केही हदमा यो विवरणले काम गर्दछ। यो स्थूल विभाजनमात्र हो, सूक्ष्म विश्लेषणका लागि दशमभाव, दशमांश कुंडली, लग्न र पञ्चम भाव आदिको विस्तृत अवलोकन पछि मात्र विज्ञ ज्योतिषीले तपाईंको रोजगारी, पेशा वा व्यवसायका बारेमा समुचित निर्णय र मार्गदर्शन प्रदान गर्ने गर्दछन्। त्यसैले यस विवरणमा आफैंले आफ्नो क्यारिएर छान्न सजिलो होस् भनेर बताइएको मात्र हो तर यसको निर्क्यौल गर्न ज्योतिषको सामान्य ज्ञान हुनु आवश्यक हुन्छ वा त्यस्तो ज्ञानको अभावमा आफूस्वयं विज्ञ ज्योतिषीकहाँ गई परामार्श लिनु राम्रो हुनेछ।
-कृष्णप्रसाद कोइरालाकाे ज्योतिषसाथी व्लगबाट
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis