करिब सात महिनाअघि सर्वोच्चमा मेरो भ्रष्टाचारको मुद्दामा सुनुवाइ हुँदै
थियो, फैसला सुन्न अदालत गएँ। चाहेको भए भागेर हिँड्न सक्थेँ, तर त्यसो
गरिनँ। किनकि, मलाई एक इन्च पनि लागेको थिएन विपक्षमा फैसला होला भन्ने।
फाइलमा जे थियो त्यहीअनुसार फैसला भएको भए मैले मुद्दा जित्ने थिएँ। तर,
त्यसो भएन। अनेक शब्दहरू तानतुन गरेर मलाई भ्रष्टाचारी सावित गरियो। मलाई
यहाँ पुर्याउनेमा अन्य पार्टीका त धेरै थिए नै आफ्नै पार्टीका मान्छेको
पनि हात छ।
फैसलापछि अदालतबाट सीधै डिल्लीबजार ल्याइने थाहा
हुनेबित्तिकै घरबाट आवश्यक सामान मगाएँ। बेलुकी चार बजेको थियो फैसला
हुँदा। अदालतबाट सोझै यहीँ ल्याए। मान्छेलाई लाग्यो होला, राजनीति गरेको
र
पटक–पटक मन्त्री भएको मान्छे भ्रटाचारको आरोपमा जेल पर्दा रातभरि चिन्ता र
सुर्ताले निदाएन होला भन्ने। तर, मलाई त्यस्तो केही भएन। सधैंझैँ त्यो रात
पनि नौ बजे नै निदाएँ।
परिवारलाई सम्झनु स्वाभाविकै हो। त्यो त
भावनात्मक कुरा भयो। तर, मलाई अब जेल परेँ, सबै कुरा खत्तम सकियो, परिवारले
के गर्लान् भन्ने चिन्ता भने थिएन। कहिले पनि पारिवारिक काममा मैले सहयोग
नगरेकाले त्यस्तो लागेको होला। दुईछाक खानका लागि भ्रष्टाचार गर्नुपर्ने
परिवार होइन मेरो। बाबुबाजेको सम्पत्तिले खान–लाउन पुग्छ।
जेल परेको
दोस्रो दिन श्रीमती भेट्न आइन्। उनलाई देख्दा म कत्ति पनि भावुक भइनँ।
सामान्य लाग्यो। उनले पनि सामान्य रूपमै लिइन्। उनीसँग मेरो प्रेमविवाह
भएको हो। बाहुनको छोरी बिहे गरेको थिएँ। बिहे गरेको तीन दिनमै जेल परेँ।
त्यसैले म जेल पर्नु उनका लागि नौलो कुरै थिएन। अहिले प्रत्येक शनिबार
श्रीमती भेट्न आउँछिन्। शनिबार भीडभाड अलि कम हुन्छ।
जेलभित्र पनि मेरो
दैनिकी उस्तै छ, जो जेलबाहिर थियो। बिहान चार बजे उठ्छु। नित्यकर्मपछि
हरेक दिन नुहाउँछु। दैनिक आधा घन्टा पूजामा बिताउँछु। एकछिन जेलको वरिपरि
घुम्छु। आधा घन्टा प्राणायाम गरेर बिताउँछु। दाह्री सधैं काट्छु। कोठामा
एउटा टेलिभिजन छ। नेपाली, हिन्दी र अङ्ग्रेजी समाचार हेर्छु। साँझ बिहान
पत्रपत्रिका पढ्ने गर्छु।
जीवनमा धेरैपटक जेल परेँ, अनेकौँ मुद्दा
खेपँे। बाँकी यही भ्रष्टाचारको थियो, यो पनि खेप्दै छु। चोरी, डकैती,
हातहतियार खरखजाना, आगजनी, राजकाजलगायतको मुद्दामा पटकपटक जेल परेकै हुँ।
त्यसैले मलाई जेल नौलो र अनौठो लागेको छैन। कुनै बेला जन्मकैदको सजायसमेत
पाएको थिएँ।
स्कुल पढ्दादेखि नै राजनीति गरेका कारण जेल परँे। पार्टीका
लागि धेरै योगदान गरँे। तर, पार्टीले मेरा लागि केही गरेन। आफ्नो एउटा
कार्यकर्तालाई अप्ठ्यारो पर्दा पार्टीले सहयोग गर्नुपर्थ्यो, गरेन। त्यसमा
मलाई साह्रै दुःख लागेको छ। पार्टीले चाहेको भए केही सहयोग गर्नसक्ने ठाउँ
थियो।
दिनमा कति भेट्न आउँछन्, गिन्ती नै हुँदैन। यस्तै दुई–तीन सयजति
हुन्छन् होला। भेट्न आउनेसँग पनि वर्तमान राजनीतिकै बारेमा कुरा हुन्छ।
जीवनमा राजनीतिबाहेक केही गरिनँ। त्यसैले कुरा पनि राजनीतिका बाहेक केही
हुँदैन।
जेलले दिएको खानाको सुविधा लिएको छु। सुगर, प्रेसरजस्ता रोग
छन्। त्यसैले बिहान उसिनेको चामलको भात र तरकारी खान्छु। साँझ रोटी खान्छु।
जेलभित्र रहेको पसलमा यहाँको चामल साट्ने गरेको छु। हप्तामा एक दिन दाल
खान्छु। तरकारी, मासु र फलफूल किन्नुपर्दैन। भेट्न आउनेले ल्याउँछन्,
त्यसैले पुग्छ।
यहाँ भित्र सबैले चिन्छन् मलाई। व्यवहार राम्रै छ।
मन्त्रीज्यू, नेताज्यू जस्ता शब्दले सम्बोधन गर्छन्। प्रशासनको व्यवहार पनि
राम्रो छ। सधैं लगाउने, खाने कुरामा उही जीवनशैली छ, कुनै परिवर्तन छैन।
लामो
समय गृहमन्त्री भएँ। चारजना आईजीपीसँग काम गरँे। उनीहरूले भनुन्, कसैसँग
मैले केही मागेको भए। मलाई भ्रष्टाचारी बनाउन लाग्नेहरूको हालत देखिँदै छ
सरकारमा बसेर के–के गर्दै छन् भनेर। हिसिला यमीले भन्थिन्, 'भ्रष्टाचारीलाई
कारबाही गर्यौँ।' तर उनको हालत जनताले बुझ्दै छन्।
मलाई जेल परेकोमा
कुनै आत्मग्लानि छैन। राजनीतिक जीवनमा केही धब्बा लागेकोमा भने अलिकति दुःख
लागेको छ। यहाँबाट निस्केपछि ती सबै दागहरू निमिट्यान्न पार्नेछु। हिजोका
दिनमा म कोहीसँग धक मान्थँे होला, अब कसैसँग धक मान्नुपर्ने वा गुलामी
गर्नु जरुरी छैन। निष्पि्कक्री राजनीति गर्छु।
धेरैलाई लागेको थियो।
मङ्सिर १४ मा निर्वाचन हुन्छ, खुमबहादुरलाई यही बेला सकाउनुपर्छ भन्ने। तर,
निर्वाचन भएन। धेरैलाई थाहा थियो, बाहिरै छाडेर मलाई रोक्न सकिँदैन भन्ने,
त्यसैले यहाँ ल्याए। उनीहरूको सपना साकार हुन पाएन। मलाई जेठमा पनि
निर्वाचन होला भन्नेमा विश्वास छैन। - घटना र विचार , फागुन १६ बाट साभार |