" बालबालिकालाई स्वस्थ राख्न पोषणयुक्त खानेकुरा चाहिन्छ । तर विभिन्न विज्ञापनहरुमा 'क्याल्सियम धेरै भएको, बच्चालाई दुई गुणा बढी अग्लो गराउन’ जस्ता महँगा खानेकुराहरुचाहिँ चाहिँदैन ।"
अहिले पत्रपत्रिका र टिभीमा बालबालिकाको पोषणको बारेमा समाचार आइरहन्छ । सरकारले पनि २ वर्षसम्मको बालबालिकाको पोषणका लागि विशेष कार्यक्रम बनाएको छ । बच्चाहरूको मस्तिष्कको विकास गर्नका लागि दुई वर्षसम्म विभिन्न किसिमका पोषणयुक्त खानेकुरा ख्वाउनुपर्छ भनेर छलफल गरिन्छ । यसै कुरालाई ध्यानमा राखेर कतिपय विज्ञापनहरूमा 'बच्चाको विकासका लागि फलानो भोजन ख्वाउनुस् । यसले बच्चाको जाँचमा पहिलो नम्बर ल्याउँछ' भनेर
भन्छन् । अनि त्यस्ता भोजनमा 'विशेषगरी आइरन, भिटामिन ए क्यालसियम, प्रोटिन मिलाएको हुन्छ' भनेर भनिन्छ । स्वास्थ्यकर्मीले पनि बच्चालाई स्वस्थ राख्न आइरन, भिटामिन चाहिने भनेर भन्छन् र विज्ञापनमा दिइने खानामा पनि यस्ता सबै कुरा पाइन्छन् भनेर रेडियो, टिभीमा आएपछि, मातापिताहरू हो यो विज्ञापनको कुरा त साँच्ची नै रहेछ भन्ने ठानेर दौडेर प्याकेटमा, सिसीमा राखेका अति महँगा खानेकुरा किन्नुहुन्छ ।
हो, बालबालिकालाई स्वस्थ राख्न पोषणयुक्त खानेकुरा चाहिन्छ । तर विभिन्न विज्ञापनहरूमा 'क्याल्सियम धेरै भएको, बच्चालाई दुई गुणा बढी अग्लो गराउने' जस्ता महँगा खानेकुराहरूचाहिं चाहिँदैन ।
यस्ता भ्रमपूर्ण विज्ञापनले गर्दा हामीहरू बढी पैसा खर्च गर्छौं । तर बालबालिकाको बढ्दो शरीरलाई क्याल्सियमको जरुरत पर्छ, त्यसैले सिसी वा प्याकेटमा राखेका महँगो खानेकुरा खाउ भन्ने गलत विज्ञापनको स्वास्थ्यकर्मी, पोषण विशेषज्ञ र उपभोक्ता मञ्चका व्यक्तिहरूले विरोध गर्दैनौं । हामी बढी पैसा तिरेर प्याकेटमा पाइने खानेकुरामा बढी पोषण क्याल्सियम पाइन्छ भनेर त्यसकै पछि दौडन्छौं । किनभने हामीलाई प्रायः थाहा हुँदैन कि क्याल्सियम पाइने खानेकुराहरू त हाम्रो घरमा छ्यापछ्याप्ती पाइन्छन् । क्याल्सियम पाइने खानेकुरामा नै लौह तत्त्व, प्रोटिन, खनिज तत्त्व आदि पनि पाइन्छ र साथै शरीरलाई त सूक्ष्म मात्रामा चाहिने भिटामिनहरू पनि पाइन्छन् । प्रायः स्वास्थ्यकर्मीले पनि अभिभावकलाई लौह तत्त्व (फलामको चक्की) भिन्नै, क्याल्सियम चक्की भिन्नै, भिटामिनका चक्की भिन्नै किनेर खानु भन्छन् र मानिसहरू औषधी पसलमा गएर चक्की किन्छन् । आम जनताहरू औषधीको रूपमा नै क्याल्सियम, आइरनका चक्की खानुपर्छ भन्ठान्छन् । नजिकको तीर्थ हेंला भन्ने उखान हाम्रो बालबालिकालाई खाना दिने बारेमा ठ्याक्कै लागु हुन्छ । किनभने घरको सस्तो खानामा त यी सबै हुन्छन् ।
रेडियो र टिभीका विज्ञापनमा कुनै मानिसले त्यस्तो महँगो खाने सामान एक महिनामा पाँच सय तिरेर पाउँछ भने घरका खानामा त रु. ५० मा नै त्यति क्याल्सियम पाइन्छ । तर विज्ञापनको भ्रमले हाम्रो दिमागले चक्कर खान्छ र हामीलाई कसैले पनि भन्दैन कि गुन्दु्रक, कर्कला, ज्वानो, दूध, दही क्याल्सियम पाइने खानेकुरा हुन् ।
क्याल्सियमले हाड बनाउन मद्दत गर्छ । दाँत बनाउन मद्दत गर्छ । तर क्याल्सियमलाई राम्रोसँग पोषण गर्नका लागि भिटामिन डीको जरुरत पर्छ र यो सूर्यको किरणमा पाइन्छ । नाङ्गो छालामा एक दिनमा १५-२० मिनेट सूर्यका किरण परेपछि सजिलोसँग शरीरलाई चाहिने भिटामिन डी पाइन्छ । यस्तो तथ्यचाहिं विज्ञापनमा कतै पनि भनिँदैन, न हामी स्वास्थ्यकर्मीहरूले भन्छौं ।
त्यसैगरी घरमा पाइने दाल, बोडी, राजमा सिमी आदिमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ भन्ने कुरा बाआमालाई सायद कसैले बुझाउनसकेको छैन । त्यसैले साना नानी र हुर्कने बालबालिकालाई प्रोटिन पुग्दैन, त्यसैलेे बाहिरकै महँगा खानेकुरा खान दिने बाआमाको ध्याउन्न हुन्छ । यसले महँगाइको जमानामा हाम्रो बजेटमा त फरक पार्छ नै, त्यस्ता बाहिरको खानेकुराहरूमा भएको खानाले बच्चालाई अति नै कम प्रोटिन प्राप्त हुन्छ ।
गाउँघरमा भटमास, दाल पर्याप्त भएको ठाउँमा पनि बट्टाका भोजन नै किनिन्छ, प्रोटिन दिने निहुँमा ।
त्यसैगरी बढ्दो उमेरका बालबालिकालाई स्वस्थ राख्न आइरन अथवा लौह तत्त्वको भूमिका हुन्छ भन्ने कुरा पनि विज्ञापन गरिन्छन् । आयरनको कमी भएपछि बच्चा बिरामी पनि जानकारी दिइन्छ ।
तर बच्चाको शरीरमा लौह तत्त्व पुर्याउन बाहिरका खानेकुरा खानै पर्दैन, हाम्रो घरमा नै पर्याप्त आइरन भएका खानेकुरा पाइन्छन् । कोदो, फापर, हरियो तरकारीहरू लट्टे, कर्कलो आदि आइरनका धेरै राम्रा स्रोत हुन् । फेरि शरीरमा आइरन राम्रोसँग शोषिन भिटामिन सीको पनि जरुरत हुन्छ । तरकारी, दाल फलामको भाँडामा पकाएर खाँदाखेरी कागतीसँग वा गोलभेँडाको अचारसँग लौह तत्त्व प्रदान गर्छ । यो तथ्यचाहिं विज्ञापनमा पनि भनिँदैन, स्वास्थ्यकर्मीले पनि भन्दैनन् ।
आजकल धेरैजसो मानिसहरूको घरमा फलामको भाँडाको चलन हटिसकेको छ । तर यस समस्या समाधान गर्न सफा खाना पकाउँदा प्रेसर कुकरमा सफा फलामको टुक्रा, हालेर पकायो र पाकेपछि फलामको टुक्रा झिकेर खाना खाइयो भने पनि यसले पनि लौह तत्त्व दिन्छ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. नीलम अधिकारीसँग छलफल गर्दा उहाँले घरेलु खानेकुरामा नै बढी जोड दिनुपर्छ भन्नुहुन्छ- 'मैले बालबालिकालाई टनिक र भिटामिन दिन्न । आमाबाबुलाई घरकै खानेकुरा ख्वाउनमा जोड दिन्छु ।'
क्याल्सियम, प्ा्रोटिन र आइरनजस्ता तत्त्व त हाम्रो दैनिक भोजनमा नै पर्याप्त मात्रामा पाइन्छ, बाहिरबाट किनेर खानै पर्दैन भन्ने तथ्यचाहिं स्वास्थ्यकर्मीहरूले साधारण जनतासम्म पुर्याउनसकेका छैनौं । सरकारको कृषि मन्त्रालयले अनुसन्धान गरेर निकालेको भिन्न अन्नहरूमा घरमा बनाइएका खानेकुराहरूमा -जस्तै ः गुन्द्रुक, मस्यौरा) आदिमा पनि प्रशस्त क्याल्सियम पाइन्छ भन्ने जानकारी दिइएको पुस्तिकाहरू पनि छन् । तर ती पुस्तिकाहरू ज्ानताको हातसमक्ष पुगेका छैनन् ।
अहिले विज्ञापनमा कुनै बट्टामा राखेको वस्तु दूधसँग खाएपछि मात्रै बच्चाले भिटामिन डी पाउन सक्छ भन्ने कुरा दोहोर्याइन्छ । तर यो गलत विज्ञापन हो । किनभने क्याल्सियम त घरका खानेकुरामा धेरै पाइन्छन् र क्याल्सियम शोषण गर्न सूर्यको किरण नै चाहिन्छ । केही खानेकुरा खाएर मात्र क्याल्सियम शरीरले प्राप्त गर्न सक्दैन ।
भिटामिनको अति राम्रो स्रोत सूर्य जताततै जहिले पनि पाइन्छ । तर यो कुरा पनि कतै पनि विज्ञापनमा आउँदैन । बालबालिकाको भोजन र विज्ञापनसम्बन्धी धेरै नै भ्रमहरू जनमानसमा पर्न गएको छ । तर बालबालिकाको भोजनका लागि बाहिरबाट कुनै खास वस्तु किन्नै पर्दैन ।
बालरोग विशेषज्ञहरूसँग छलफल गर्दा के स्पष्ट भएको छ भने बालबालिकाको मस्तिष्क तिखो पार्ने कुनै खास व्यापारिक भोजन हुँदैन । बालबालिकालाई स्वस्थ राख्न घरका खानेकुरा नै पर्याप्त छन् । आफू जे खाइन्छ, त्यही दिनुपर्छ । यति सजिलो कुरा आमाबाबुलाई बुझ्न गाह्रो छ र ?
डा. अरुण उप्रेती , कान्तिपुर