'मद्यपान’ केवल व्यवहारजन्य समस्या मात्र होइन, न त यो केवल धार्मिक या सांस्कृतिक दृष्टिकोणले हेर्न सकिने 'खराब बानी’ मात्रै हो ।
काठमाडौ, फाल्गुन १३ - 'डाक्टरसाब ! मेरा श्रीमान्लाई जसरी पनि बचाइदिनुपर्यो ....!, एउटा चिरपरिचितझैं लाग्ने स्वर मेरो कानमा पर्यो । एउटी २२ वर्षे विवाहित युवती मेरो ओपीडीको ढोकाअगाडि थिइन् । उनका २६ वर्षीय श्रीमान्, एक मिनिबस चालक, जसको मद्यपानजन्य मानसिक समस्याको विगत ३ वर्षदेखि मैले उपचार गरिरहेको थिएँ । उपचार क्रममा तिनले पूर्ण रूपमा रक्सी सेवन छाडिसकेका पनि थिए तर ४ महिनादेखि तिनी सम्पर्कमा भने आएका थिएनन् । तीन महिनादेखि
तिनले हाम्रो सल्लाहानुसार प्राप्त औषधिहरू छाडिसकेका रहेछन् र पुनः मद्यपानमा उद्यत भएर बिहानैदेखि पिउन थालेछन् । अहिले भने मद्यपान गरेर गाडी चलाउँदा दुर्घटना हुन गई अचेतावस्थामा आकस्मिक कक्ष पुर्याइएका रहेछन् ।
उपरोक्त घटनाले मद्यपानका बहुपक्षीय समस्यालाई उजागर गराउँछ । अत्यधिक मद्यपान वास्तवमा एक मानसिक रोग नै हो, यसका स्वास्थ्यजनित अवयव भने अनेकौं छन् । विश्व स्वास्थ्य संगठनको सन् २००१ एवं २००४ का सर्भेक्षणहरूले विश्वको कूल जनसंख्याको ८० प्रतिशत कुनै न कुनै बहानामा मद्यपानतिर उन्मुख भएको आकलन गरेका छन् जसमध्ये ५-१० प्रतिशतलाई मद्यपानजन्य रोगहरूले आक्रान्त नै पारेको देखिन्छ । सन् १९९३ को विश्व विकास तथ्यांकले त मद्यपानजन्य समस्याले विश्वव्यापी रोगको २ प्रतिशत अनुपात ओगटेको जनाएको थियो, विगत २ दशकयता त्यो दरमा अझै वृद्धि नै भइरहेको छ । त्यस्तै अस्पतालमा भर्ना भएका पुरुषमध्ये एक तिहाइमा अनि दुर्घटना भई आकस्मिक कक्षमा ल्याइपुर्याइएका रोगीमध्ये ४० प्रतिशतमा मद्यपानजन्य समस्या पाइएको अध्ययनले दर्साएका छन् । 'सिरोसिस' नामक कलेजोको रोग त मद्यपानमा अभ्यस्तमा १०-१५ प्रतिशतकै अनुपातमा पाइएको छ ।
'मद्यपान' केवल व्यवहारजन्य या स्वभावजन्य समस्या मात्र होइन, न त यो केवल धार्मिक या सांस्कृतिक दृष्टिकोणले हेर्न सकिने 'खराब बानी' मात्रै हो । 'जातले पाएको' या 'मतवाली' समुदायमा मात्र व्याप्त छैन यो । अचेल त किशोरहरू, महिलाहरू एवं ठूलाठालु-धनीमानी समाजमा समेत व्यापक रूपमा फैलिएको छ यो रोग । सन् २००६ मा बैंग्लोरमा गरिएको सामाजिक सर्भेक्षण होस् या २००३ मा मानसिक रोगीहरूमाझ नेपालमै भएको अध्ययन होस्, दुवै शोधकार्यका रिपोर्टहरूले ँदक्षिणपूर्वी एसियाली राष्ट्रमा मद्यपानजन्य समस्या महामारीझैं फैलिएको भन्ने अन्य अध्ययनका तथ्यांकहरूले नै पुस्ट्याएका छन् । २-१० प्रतिशत मानसिक रोगीहरूको अस्पताल भर्ती मद्यपानजन्य समस्याका कारण नै हुने गर्छ किनभने रक्सी छोड्ने र पुनः सुरुवात गर्ने प्रक्रिया मद्यपानजन्य रोगको एक लक्षण नै हो ।
जैविक एवं आनुवंशिक अध्ययनहरूले यो समस्या पारिवारिक सदस्यहरूमाझ व्याप्त हुन सक्ने तथ्य प्रमाणित गरिसकेका छन् । त्यस्तै, रासायनिक तत्त्व -न्युरोट्रान्स्िमटर, हर्मोन) एवं मस्तिष्कका केही भाग प्ानि यसका लागि जिम्मेवार रहने कुरा पनि प्रकाशमा आइसकेका छन् । म्ानोसामाजिक कोणबाट विश्लेषण गर्दा बाल्यावस्थादेखिकै पारिवारिक प्रभावले व्यक्तित्व निर्माणमा पारेको असर, साथीसँगीबीचको रहनसहन एवं संस्कृतिको प्रभाव, कार्यस्थल एवं सहकर्मीहरूसँगको सामाजिक जमघट अनि डिप्रेसन, म्यानिया, एङजाइटी आदिजस्ता मानसिक रोगहरूले खेल्ने भूमिकालाई समेत दृष्टिगोचर गर्नुपर्ने हुन्छ ।
यस्ता चुनौतीहरूको चाङ बोकेको मद्यपानजन्य समस्याको समाधान के त ? माथिका बहुपक्षीय कारकतत्त्वहरूलाई मध्यनजर गर्दा समष्टिगत प्रयासबाट मात्र यी समस्याहरूको हल निकाल्न सकिन्छ । अहिले सहर-सहर, गल्ली-गल्लीमा खुलेका पुनःस्थापना केन्द्रहरूले के यी सब पक्षहरूमा ध्यान पुर्याएका छन् त ?
मनोचिकित्सक, मनोविश्लेषक, मनोवैज्ञानिक सामाजिक कार्यकर्ता, फिजिसियन एवं नर्सहरूको टोलीको सामूहिक प्रयासद्वारा यसमा अन्तरनिहित स्वास्थ्य समस्या निराकरण गर्न सकिन्छ । धार्मिक व्यक्तित्वहरू (पुजारी, पादरी आदि) को यसको उपचारमा उल्लेखनीय भूमिका हुन सक्छ भन्ने कुरा 'एल्कोहोलिक एनोनिमस' नामक अभियानले पश्चिमी राष्ट्रहरूमा पाएको लोकपि्रयता एवं सफलताले नै पुष्टि गर्छ । त्यस्तै राजनीतिकर्मी एवं सुरक्षा अंगहरूको यसको नियन्त्रणमा रहने भूमिका हाम्रै देशमा चालिएको 'मापसे अभियान' का कारण मद्यपानजन्य हिंसा एवं दुर्घटनामा आएको उल्ल्ोखनीय न्यूनताले नै दर्साउँदैन र ?
डा. अजय रिसाल , कान्तिपुर