जीवनकालमा विभिन्न देशमा भोगेका अनुभवहरु मसँग शेयर गर्दथे। उनीहरुले जीवनभरी भोगेका कुराहरु सविस्तार मलाई बताउँदै जाँदा एक किसिमको आनन्दको अनुभूति हुन्थ्यो। यद्यपी उनीहरुले भोगेका पीडाहरु सुन्दा कता कता आफ्नो पनि आङ सिरिङ्ग हुन्थ्यो।
फरकफरक देशबाट आएका व्यक्तिहरुले फरकफरक किसिमको अनुभवहरु बताइरहँदा मलाई तमाम नयाँ कुराहरु जान्ने अवसर त छँदैथियो, त्यसका साथै सजीव इतिहास आफ्नो अगाडि छर्लङ्ग भएर पोखिएको हो कि भन्ने पनि लाग्थ्यो। म पनि निकै रुची राखेर सोधी रहन्थे। मलाई सधैं बृद्धबृद्धाको क्लब जानुपर्थ्यो। आफूमा नम्र स्वभाव भएकाले होला मैल धेरै जेष्ठ नागरिकहरुसँग चाँडै चिनजान गर्ने अवसर पनि पाए।
मेरो त्यो रोजगारी पनि थियो। एकातर्फ बिहान सधैं क्लब जानु पर्दा मलाई इतिहास सिक्ने मौका मिल्थ्यो भने अर्कोतर्फ म आफ्नो बाल्यकाल सम्झँदा सम्झनाले भावविह्ल पनि हुन्थे। सानोमा स्कुल गएको सम्झना आउँथ्यो। क्लबमा पनि हरेक पिरियड छुट्दा अर्को पिरियड सुरु हुन्थ्यो, जसले मलाई बाल्यकालमा स्कुल गएको सम्झना ताजा पनि गर्दथ्यो।
हरेक साता क्लबबाटै धेरै ठाउँ घुम्न जानु पर्दा अझ रमाइलो हुन्थ्यो, त्यसले मलाई स्कुले जीवनमा बनभोज गएको याद पनि दिलाउँथ्यो।
त्यसै बेला डिना नामकी एक बृद्ध आमालाई केयर गर्ने मौका मिल्यो। डिनासँग मेरो करिब दुई वर्षको बसाइ भयो। उनी दोस्रो विश्वयुद्धको प्रत्यक्ष अनुभवी थिइन्। डिनाका सात दाजुभाइ दिदीबहिनी रहेछन्। १९३७ तिरको कुरा हो, जब जर्मनमा जातीय तथा धार्मिक द्वन्द्व भयो अनि यहुदीहरु मार्नका लागि हिटलरले आफ्ना सैनिकहरु परिचालन गर्यो, त्यसबेला डिनाको उमेर १३ वर्षको मात्र रहेछ। डिना ८ क्लासमा पढ्दै रहिछन्, एक दिन राती गाडीमा आएका जर्मन सैनिकहरुले डिनाको आँखा अगाडि सबै परिवारलाई विभत्स हत्या गरेर डिनालाई मात्र बाँकी राखेछन्। अनि सैनिकहरुले जबर्जस्त डीनालाई लिएर गएछन्। द्वन्द्व करिब सात वर्ष लगातार चल्यो। ६० लाख यहुदीहरुको विभत्स हत्या भयो । डिनाले सधै मसँग गहभरी आँसु पारेर त्यो द्वन्द्व अवधिभर भएका कहालीलाग्दा र तीता अनुभव सुनाई रहन्थिन। म भावुक बनेर सुनिरहन्थे। उनले सविस्तार बताइ रहँदा आफैंले पनि त्यो द्वन्द्वभोगी रहेको छु कि भन्ने भान पनि हुन्थ्यो। जब डिनालाई जर्मन सैनिकले साथमा लगेर गए, त्यसपछि सैनिकले जेजे भने त्यो मान्नु पर्दथ्यो रे! उनीहरुले यौन शोषणदेखि चरम शोषणसम्मका सबै शोषणहरु खेप्नु पर्दथ्यो।
दिनमा दुई पिस पाउरोटी मात्रै दिएर दिनभरी काममा लगाइँदो रहेछ। धेरैपटक काम गर्न नसक्दा डिनाले पटकपटक त कोर्रा खाएर बसेकी थिइन। अहिले पनि डिनाको शरीरमा त्यसबेला खाएका कोर्राहरुका निलडाम देखिन्छन्। उनका निलडाम हेर्दा सधैं आफ्नो आङ पनि सिरिङ्ग सिरिङ्ग हुन्थ्यो। कयौं दिनहरु भोकभोकै बसेर शोषणमा परेको उनले बताउँथिन्।
डिनाका आँखा अगाडि परिवारको विभत्स हत्या भएको र जर्मन सैनिकको शोषणमा परेका डिनाका ७ वर्षका कथाहरु यहाँ उल्लेख गर्न चाहेर पनि उल्लेख गर्न सकिन्न। डिना हरेक दिन रुन्थिन मलाई तीता कथाहरु बताई रहन्थिन। आफन्तको वियोगमा उनले तड्पिएर आँखामा आँसु बगाइरहँदा कताकता नेपालमा चलेको सशस्त्र द्वन्द्वले १५ हजार नेपालीको हत्या भएको घटना स्मरण गराउँदथ्यो।
उनी भन्थिन्– 'मैले जति बिर्सन खोज्दा पनि बिर्सन सक्दिन, आज युद्ध इतिहास बनेको छ तर मनमा शान्ति मिलेको छैन।' शान्ति भएको ६५ वर्षभन्दा बढी भइसक्यो तर पनि डिनाका ती युद्धका घाउहरु अझै ताजा छन्। डिना त युद्धकी एक प्रतिनिधि मात्र हुन् डिनाजस्ता अनगिन्ति मानिसहरुले अहिले पनि त्यो पीडा बिर्सन सकेका छैनन्।
त्यसबेला केही यहुदीहरु जमिनमुनि सुरुङ खनेर सुरुङमै बसेर ज्यान जोगाउन सफल भएका रहेछन्। कयांै यहुदीहरुलाई महिनौ बन्दी बनाइ भोकभोकै सुकेको लौरोजस्तो पारेर भइ मारेका रहेछन्। कयौं यहुदीहरु भागेर विभिन्न देशमा विस्थापित भएका रहेछन्, लाखौंको संख्यामा यहुदीहरु मारिए, चरम हत्या भएको रहेछ।
नेपालमा एउटा युद्धले १५ हजारको ज्यान लिएको छ। फेरि जातीय द्वन्द्व अघि सारेर नेताहरु देशमा भयाभव संकटको दिशातिर अघि बढ्न खोजिरहेका छन्। यदि हामीले संसारका कयौं पाठहरु सिक्दै समुन्नत नेपालको परिकल्पना गर्ने हो भने संसारकै सुन्दर अनि सानो मुलुक आगामी केही वर्षमै धेरै प्रगति गर्न सक्छ। तर विडम्बना मानिसको रगतमा होली खेल्न रमाउनेहरु सहजै देशलाई शान्तिपूर्ण ढंगले अगाडि बढ्न कहाँ देलान् र?
--- कल्पना मैनाली
